संखुवासभा सामुहिक हत्या प्रकरणः

प्रहरीलाई साग-सब्जी जुटाइदिने र युट्युबमा अन्तर्वार्ता दिने लाेकबहादुर नै ६ जनाकाे हत्यारा!

तेजन खड्का

संखुवासभा

गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका-१ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भयो।

परिवार नै सखाप हुने गरी भएको सो हत्याकाण्डको अनुसन्धानको लागि नेपाल प्रहरीको पूर्ण शक्ति नै परिचालन भयो। अनुसन्धानको ५ दिन सम्म सामूहिक हत्यामा संलग्न हत्यारालाई प्रहरीले पत्ता लगाउन सकेको थिएन।

हत्यारा भने अनुसन्धानमा खटेका प्रहरीहरूलाई नै उल्टै अनुसन्धानमा सघाईरहेको जस्तो भूमिका खेलेर प्रहरीहरूको समूहसँगै घुलमिल थिए। उनी थिए मृतक तेजबहादुर कार्कीका नजिकैका छिमेकी २५ वर्षीय लोकबहादुर कार्की। शुक्रवार अनुसन्धान टोलीले लोकबहादुरलाई नियन्त्रणमा लियो। उनलाई सुरु देखिनै प्रहरीले शङ्काको घेरामा राखेको थियो।

तर ठाेस प्रमाण फेला नपरेको कारण उनलाई समयमै पक्राउ भने प्रहरीले गरेन। अन्तिममा आएर प्रहरीसँगै रहेका लोकबहादुर कार्की पक्राउ परे।

अझै भन्ने हाे भने लोकबहादुरलाई मृतक तेजबहादुरको शव सडक छेउमा लडिरहेको देख्ने पहिलो व्यक्तिसमेत भनिएको थियो।

त्यसैले रिपोर्टिङका लागि पुग्नेहरु पत्रकार तथा स्थानीयले उनलाई खोजे। उनले पनि घटनाबारे अन्तर्वार्ता दिएका छन्, जसका क्रममा बाहिरकै मान्छे आएर हत्या गरेको आशंका गरेका छन्।

'बडाउ तेजबहादुरको दुश्मनी कोहीसँग थिएन' एउटा अन्तर्वार्तामा उनले भनेका छन्, 'गाउँघरमा त्यस्तो शंकाको मान्छे कोही छैन मेरो विचारमा।बडाउ एकदमै सहयोगी समाजसेवी हुनुहुन्थ्यो।'

तर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले 'सुनचाँदी पैसा घरमै रहेछ भनेको छ नि' भन्ने प्रश्नमा उनले भने, ‘रिसइबीले नै हो कि जस्तो छ। यो घटना गम्भीर छ।’

एउटा परिवारको पुरै वंश सखाप हुने गरी भएको सामूहिक हत्याकाण्डले सबैको ध्यान तानेको थियो। यो क्रममा घटनास्थलमा पुगेका सञ्चारकर्मीहरूलाई समेत उनै लोकबहादुर कार्कीले सहजीकरण समेत गर्ने गर्दथे।

यहाँसम्म कि उनले अनुसन्धान टोलीलाई खाना पकाउन पनि सघाइरहेका थिए। उनीहरूलाई सागसब्जी जुटाउन पनि सहयाेग गरिरहेका थिए।उनले बडाबाबु (तेजबहादुर कार्की)सहित ६ आफन्त गुमाउनुपरेकोमा बिलौना गर्दै तेजबहादुर सामाजिक काममा अग्रसर भएर काम गर्ने व्यक्ति रहेको बताउँदै आएका थिए।

घटना घटेको दिन मृतक तेजबहादुर कार्कीलाई पहिलो पटक उनैले देखेर हल्ला खल्ला गरेका थिए। अन्ततः तीनै लोकबहादुर कार्की सामूहिक हत्याकाण्डको दोषी बने।

लाेकबहादुर मृतक तेजबहादुर कार्कीका साइनोमा भतिजो हुन्। मृतकको घरदेखि करिब १०० मिटरको दुरीमा हत्यारा कार्कीको घर पर्दछ।तेजबहादुर सोमबार बिहान खेताला खोज्न निस्किएका बेला बाटो ढुकेर आक्रमण गरी हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ। उक्त घटना देखेपछि बडीआमा कमला, भाउजू रञ्जना, हजुरआमा पार्वता, भतिज दीपेन र भतिजी गोमा कार्कीको हत्या गरेको बयान दिएको अधिकारी बताउँछन्। तेजबहादुरले आफुलाई हेपेर बोली व्यवहार गर्ने गरेकाले उनको ज्यान लिएको लोकबहादुरले बताएको जनाइएको छ। प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी लाेकबहादुर शङ्काको घेरामा थिए। घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन्। तर घरका अन्य सदस्य पनि आएपछि अरूलाई पनि मार्न बाध्य भएको भनेका छन्।घटनामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार आफन्त लोकबहादुलाई पक्राउ त ग¥यो  तर, एक जनाबाट बिहान यस्तो घटना कसरी सम्भव भयो भन्ने प्रश्न उब्जिएको छ।

को हुन लोकहादुर?

हत्या गर्ने लोकबहादुरले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेको थिए। छिमेकी चन्द्रबहादुर थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि वर्षदिन नपुग्दै गाउँमा फर्किएका थिए।

६ वर्ष अगाडि मलेसिया गए पनि १० महिनामा विदेश जाँदाको ऋणसमेत नतिरी फर्किएको थापाको भनाई छ। त्यसको डेढ बर्षपछि पुनः वैदेशिक रोजगारीको लागि कतार पुगे। तर त्यहाँबाट पनि नौ महिना नपुग्दै घर फर्किए।

राति कहिल्यै घरमा बास नआउने, कहिले राति घरबाटै हराउने, गाउँका बेकामे केटाहरुसँग बिनाकाम डुलिहिँड्ने लाेकबहादुरकाे विशेषता रहेछन्।आमाको गत चैत २६ गते निधन भएपछि बुवा र भाइसहित तीन जना बस्दै आएका थिए।

संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक

 संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो।

लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन्।


को हुन् ६ जनाकै हत्या गर्ने लोकबहादुर,लखेटी-लखेटी किन मारे ? यस्तो छ नालीबेली

प्रकाशित मिति: : 2021-09-12 06:34:00

प्रतिकृया दिनुहोस्