मेलम्ची बाढी–२

भागेर ज्यान जोगाएका मेलम्चीका बाढीपीडित भन्छन्– अब बाँच्ने कसरी ?

कमल प्रभात

सिन्धुपाल्चोक

मंगलबार साँझ मेलम्ची नदीमा बाढी आउँदा मेलम्ची नगरपालिका–४ का रामकृष्ण खड्का रोपाइँको काम सकेर खाजा खादै थिए। बेलुका करिब ६ बज्नै लाग्दा मेलम्ची नदी उर्लिएर आयो गाउँमा, र सुरु भयो भागा–भाग। 

मेलम्ची नदी किनारमा रहेको उनको घरमा बाढी पस्न लागेपछि उनी खादै गरेको खाजा छाडेर परिवारका सदस्यलाई सुरक्षित स्थानमा पुर्याएर।

उर्लिदै आएको बाढीले घरलाई पूरै डुवाई सक्दा उनले ८७ वर्षीय बुबा र ९७ वर्षीया आमासँगै घरका सबैलाई सुरक्षित स्थानमा लगि सकेका थिए।

छण भरमै उनको घर पूर्ण रुपमा डुब्यो। सबै सामान बाढीले बगायो। उनको परिवारको ज्यान जोगियो। त्यसदिन रामकृष्ण छिमेकीको रोपाइँमा गएका थिए। दुई मिनेट पनि घर फर्किन ढिला गरेको भए वृद्धा बाबुआमाको अवस्था जे पनि हुन सक्थ्यो।

बुधबार बिहान बिएल नेपाली सेवाको टोली रेपोर्टिङको लागि त्यहाँ पुग्दा रामकृष्णको मलिन अनुहार आफ्नो डुब्दै गरेको घर तर्फ सोझिएको थियो। बाढीको छालले उनको घरलाई हानिरहेको थियो, उनी हेरिरहेका थिए। त्यतिबेला बाढीले उनको घर छेउमा बन्दै गरेको अयुर्वेद अस्पतालकाेभवन क्षतविक्षत पारीसकेको थियो। 

मंगलबारको साँझ् उनको जीवनको सबैभन्दा कठिन समय बन्यो। त्यो सम्झिदाँ अहिले पनि उनको आँखा रसाउन थाल्छन्।

‘त्यो दिन म धन्न मेलाबाट छिटै आएछु, ढिला भएको भए बिस्तारामा रहेका बाबुआमाको अवस्था के हुँथ्यो होलारु’ भक्कानिदै रामकृष्णले भने,‘अब ज्यान त जोगियो, अरु त जे होला होला।’

रामकृष्ण बाढीबाट परिवारलाई बाचाउन सफल भएकोमा खुशी छन्। तर, उनको खुशीमा पीडाको चिसो बतास चलिरहेको छ। बाढीले क्षतविक्षत भएको आफ्नो घरतर्फ इशारा गर्दै भन्छन्,‘३५ लाख खर्च गरी बनाएको यो घरको बैंकमा ऋण छ। कसरी तिर्ने रु त्योभन्दा पनि ठूलो कुरा वर्षाभरी बाढी आयो भने कहाँ बस्ने ?’

उनको परिवार अहिले सेनाको व्यारेकमा बसेको छ। पुनः बाढी आउन सक्ने आशंका त छदै छ, त्यसमा पनि उनको घर मर्मत गरेर बस्न मिल्ने अवस्थाको बनाउन धेरै समय लाग्नेछ।
त्यस अवधिभर घरबाहिर बस्नुपर्ने बाध्यता छ, उनको परिवारलाई। 

उनको परिवार घरबाहिर बस्दा धेरै समस्या उत्पन्न हुनेछ। वृद्धा बाबुआमाको स्वास्थ्य अवस्था राम्रो छैन। स्वास्थ्यको धेरै ख्याल गर्नुपर्ने हुन्छ।
 
त्यस्तै, बाढीले मेलम्ची बजारका लक्ष्मण गौतमको परिवारलाई विस्थापित गरेको छ। मेलम्ची खोला छेउमा रहेको उनको घर बाढीले तहसनहस बनाइदिएको छ। उनको परिवार अहिले नगरपालिकाले व्यवस्थापन गरेकोे इन्द्रेश्वर माध्यमिक विद्यालयमा बसेको छ। उनको परिवार पनि वर्षा नसकिएसम्म घरमा फर्किन सक्ने अवस्था छैन। 

मेलम्चीबासीले बाढीबाट ज्यान जोगाउन सफल भए पनि अब कसरी बाँच्ने भन्ने समस्यामा परेका छन्। अधिकांश पीडितहरु घरबिहिन भइने हो कि भन्ने चिन्तामा छन्। धेरैको खेत बाढीले बगाएको छ। 

मंगलबार मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका दुई सय घर परिवार विस्थापित भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताएका छन्। 

उनीहरुको अहिले नेपाली सेनाको व्यारेक र इन्द्रेश्वर माध्यमिक विद्यालयमा क्याम्प बनाएर बस्ने व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए। 

उनीहरु सबैको घर डुवानमा परेका छन्। डुवानमा परेका धेरै घरको तत्काल मर्मत गर्न सकिने अवस्था छैन्। केही घरहरु त पूर्ण रुपमा क्षति नै भएका छन्। डुवानमा परेका घरहरु तत्काल मर्मत गर्न सक्ने अवस्था नरहेको र थप बाढी आउन सक्ने सम्भावना रहेकोले पीडितलाई कहाँ बसाल्ने र के खुवाउने भन्ने चुनौती थपिएको मेलम्ची नगरपालिका प्रमुख डम्बर बहादुर अर्यालले बताए।
 
‘तत्कालको लागि त हामी पीडितलाई क्याम्प बनाएर राखेका छौं। वर्षाको समय भएकोले लामो समयसम्म उनीहरुको बस्ने व्यवस्थापन कसरी गर्ने भन्नेमा योजना बाउँदैछौं।’, नगर प्रमुख  अर्यालले भने।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी ढकालले बाढीपीडितलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल जारी रहेको बताएका छन्। 

बिएल नेपाली सेवासँगको कुराकानीमा प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘उनीहरुको बस्ने व्यवस्थापन कसरी गर्ने भन्नेमा  छलफल जारी छ। प्रदेश सरकार र केन्द्र सरकारलाई व्यवस्थापनको लागि भनेका छौं। तर, कुनै निर्णय भएको छैन्।’

अहिलेसम्म बाढीमा परेर वेपत्ता भएका तीन जनाका शव फेला परेको छ। जसमध्ये दुई जना चिनियाँ र एक जना भारतीय नागरिक हुन्। २० जना मानिस वेपत्ता रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ८४ जनाको उद्धार भएको छ भने दुई जना उपचारत छन्। 

अहिले पनि वेपत्ता भएकाहरुको खोजी कार्यमा लागेकोले पीडितको बासको व्यवस्थापनमा केही ढिला हुन सक्ने देखिएको छ। त्यसले कोरोना महामारीको यो समयमा दीर्घ रोगी तथा वृद्धाहरुमा थप समस्या आउन सक्ने सम्भावना  त छदैछ। पीडितलाई अब कसरी बाँच्ने भन्ने समस्याले समेत सताउन थालेको छ।

फाेटाे भिडियाे  : शनि शाक्य

प्रकाशित मिति: : 2021-06-18 19:08:00

प्रतिकृया दिनुहोस्