अहिले समयले काँचुली फेर्यो। पहिले जस्तो छैन समय। हिजो जस्तो होइन।
समय फेरिए पनि हामी फेरिएका छैनौं। महिलामाथि हुने विभेद् फेरिएको छैन। अनेक रुपमा फणा उठाएर डसिरहेको छ, विभेद्ले। बेलाकुबेला घोचिरहन्छ।
हालै सार्वजनिक कृति ‘पानीघट्ट’का लेखक सुरेश प्राञ्जली र हसिना बस्नेत कृतिको पोखरा संवादमा थिए। ३०/४० को दशकमा गण्डकी क्षेत्रको ग्रामीण भेगमा एउटी महिलाले विवाहअघि र पछि भोगेका दुखान्तमाथि लेखिएको पानीघट्टबारे लेखक प्राञ्जली र बस्नेतले विमर्श गरे।समय फेरिए पनि महिलामाथि हुने विभेद् नफेरिएको निष्कर्ष थियो संवादको।
०००
स्याङ्जाली लेखक प्राञ्जलीको मस्तिष्कमा ताजै छ, सानो बेला गाउँतिर बिहानैदेखि भारी बोकेर तलमाथि गर्ने महिलाहरु नै हुन्थे। गाउँको मास्तिर गुरुङ समाज। तल बाहुन गाउँ। बाहुन गाउँका लोकसेवा पढ्ने। गुरुङ गाउँका ठिटाहरु शारीरिक सुगठनतर्फ।
उनलाई याद छ, सानो बेलामै उनको गाउँदेखि तलपट्टी एक जना दाइले बिहे गरे। फरक समुदायकी केटीसंग। बिहे त गरे। तर, दुलही घरमा भित्र्याउन महाभारत भयो। आफ्नी श्रीमती घरमा भित्राउन उनले निकै ठूलो संघर्ष गर्नु पर्यो।
बल्लतल्ल घरकालाई राजी बनाएर प्रेमिका त भित्राए। उही त हो, नेपालीहरुलाई विदेश नपसि त अर्को हातमुख जोर्ने उपाय निस्किन्न। श्रीमती घर भित्राएको केही समयपछि उनी विदेशिन बाध्य भए। श्रीमती घर भित्राएर उनी लाहुर पसे। बिडम्बना, उनको उतै देहान्त भयो।
सुरेश महसुसस गर्न सक्दैनन्। शिवाय कल्पना ! त्यतिबेला ती महिलाको मनमा के बित्यो होला? जसलाई उनी सर्वस्व ठानेर आएकी थिइन्। ‘भाउजूको मनमा के गुज्रियो होला? उहाँले बगाएको आँसुले भित्रको पीडा पनि बग्यो कि आँसु मात्रै? मलाई हानिरह्यो,’ उनी भन्छन्, ‘यी कुराले पानी घट्ट लेख्न उर्जा मिल्यो।’
उपन्यास पढेर आफ्नै नलेखिएको डायरी त हैन जस्तो लाग्यो रे हसिनालाई। किताब सकाइ सकेपछि आफ्नो स्कुले जीवनसँग तुलना गरेको उनले सुनाइन्। ‘स्कुलमा यस्तै गरिन्थ्यो। कथा आफ्नै हो कि जस्तो लाग्यो। फोटो खिच्न गएर लुगा साटेको। त्यही बेला हो कि जस्तो लाग्याे,’ उनी भन्छिन्, ‘थुप्रै घटनाले काउकुती लायो।’
किताबमा मुल पात्र छिन् जुने अर्थात् जुनमाया। कथा बाचनमा जुनमायालाई नै किन ल्याएको? हसिनाको प्रश्न थियो यो।
कथा बाचन गर्न कथा कसले भन्नेमा फरक हुने बताउँछन्। ‘समाजको कथा कसले भन्ने फरक पार्दो रैछ। समाजको रेखा चिर्नुपर्ने थियो। जति समाज महिलाले बुझ्छन्, पुरुषले त्यो जटिलतामा बुझ्दैनन्। पुरुषले समाजको जटिलता पुरुष पात्रमार्फत गहिरिएर भन्न सकिन्न होला। जटिलता खेपेका उल्झन भन्न जुनमाया अर्थात् महिला पात्र नै चाहिन्थ्यो,’ उनले सुनाए।
विभेद्को स्वरुप अहिले कठोर भएजस्तो मान्छन्, लेखक प्राञ्जली। ‘स्वरुप परिवर्तन भएको छ। निर्ममता कठोर छ। दृस्टिकोणमा फरक तर विभेद उस्तै। त्यति अन्तर आएको छैन,’ उनी भन्छन्।
किताबको मुल पात्र जुनमाया (जुने) र रनबहादुर (रने)बीच प्रेम सम्बन्ध छ। प्रेम स्वच्छन्द छ रनेको। जुनेको काव्यात्मक शान्त खालको।
ब्राह्मण कुलकी जुने। महिला हुनुमा सुख-दुख दुबै खाले अनुभव छ। छोरी-छोरी जन्माउनुको अवहेलना र स्वीकारोक्तिको परिवेशबाट गुज्रेको छ कथा।
लेखक गनेस पौडेलले लेखकमा मिहीन साँस्कृतिक चेत किताबमा देखिने बताउँछन्। गुरुङ संस्कृति र अन्य जातिबारे पनि उत्तिकै चेत रहेको उनले सुनाए।
‘उच्च कोटीको सांस्कृतिक बुझाइ। गुरुङ संस्कृतिको हिन्दु प्रभाव र हिन्दु प्रभाव गुरुङबारे बुझ्न उपयोगी छ किताब,’ उनले भने।