प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबराले सर्वोच्च अदालतको ‘फूलकोर्ट’ र नेपाल बार एसोसिएसनको संयुक्त बैठक डाकेका छन्।
सर्वोच्च अदालतले सरकारमा हिस्सेदारी खोजेपछि देखिएको समस्याबारे छलफल गर्न यस्तो बैठक डाकिएको हो।
नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसँग सर्वोच्च अदालतमा भएको छलफलपछि उक्त बैठक बसेर छलफल गरिने भएको हो।
बैठकमा सहभागी बारका कोषाध्यक्ष रुद्र पोखरेलले दिएको जानकारीअनुसार, सोमबारको चिया समय (साढे १ बजे) पछि उक्त बैठक बस्न लागेको हो।
बारको प्रतिनिधिमण्डलसँगको बैठकमा प्रधानन्यायाधीश राणाले आफूले प्रधानमन्त्रीसँग जेठानका लागि मन्त्री नमागेको बताए।
‘मेरो जेठी श्रीमतीको मृत्युपछि ०४० सालदेखि नै मेरो त्यो परिवारसँग सम्बन्ध छैन। त्यसैले मन्त्री मागेको भन्ने कुरा बेकार हो’, प्रधानन्यायाधीश राणाले भनेका थिए।
बैठकमा गोलाप्रथाबाट मुद्दा तोक्नेबारे पनि छलफल भएको थियो। त्यसबाहेक अहिले न्यायालयका बारेमा उठेका समस्त विषयमा छलफल भएको पोखरेलले जानकारी दिए।