सधैंकाे चुनावमा जस्तै यसपटक पनि अर्घाखाँचीकाे माहाेल राेचक बन्दैछ। विभिन्न राजनीति दलका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन्, जसबाट अर्घाखाँचीकाे चुनावी माहाेल कस्ताे हाेला भनेर विभिन्न आंकलनहरू गर्न सकिन्छ।
परेको बेला गधालाई पनि बा भन्ने नेपाली कथनजस्तै यतिबेला नेताहरुको अवस्था पनि ठिक यस्तै छ। जे गर्न जसो गर्न पनि तयार छन्, नेताहरू। चुनाव जिते वा हारेपछि जनतासँगको व्यवहार भने सर्प र न्याहुरी मुसोको जस्तै हुने गर्छ। कुन दुलाेमा लुक्छन् पत्तै नहुने। तर, चुनाव नजिकिएकाेले यतिबेला नेताहरू जनतालाई झुट र भ्रमको खेती गर्दै अनेक आश्वासन बाड्दै आफ्नो कोल्टामा पार्न घर–घरमा पुगिरहेका छन्।
तर, यसपटक पनि अर्घाखाँचीवासीले नयाँ अनुहार र याेग्य उम्मेदवार भने पाउन सकेनन्। जुन चेहरा र नामबाट अर्घाखाँचीका जनताहरु आजित भइसकेका छन्, उनै अनुहारहरू फेरि जनतकाे दैलाेमा झुल्किएका छन्। उनीहरुको झुटाे बाेली चरम लापरबाही र स्वार्थीपूर्ण राजनीतिले गर्दा आज अर्घाखाँचीको अवस्था दयनीय बन्न पुगेको छ। अर्घाखाँची भष्टचारको दह्राे अखाडा, विधि र कानुनको राजनीति दलको आधार र निर्देशनमा तय हुन्छ। अर्घाखाँचीमा कयौँ सामाजिक अपराध र विकृतिलाई राजनीति आड र पहुँचको आधारमा दबाइन्छ या त यसलाई कमजोर पारिन्छ, जसका उदाहरणहरु अनगिन्ती छन्।
सबै क्षेत्र कुनै न कुनै राजनीतिक दलको भागवण्डामा छ। हरेक संवैधानिक निकायदेखि स्वतन्त्र निकायसम्म राजनीतिक प्रभाव र दबाब छ। यही पत्रकारितामा पनि मुख्य धारका पत्रकार सामाजिक विषयमा मौन र पुर्णतया अन्धा छ्न्।
यस्तो विकराल समाजको परिस्थितिमा नेकपा (एमाले) उम्मेदवार टोपबहादुर रायमाझी हुन्। उनी डेढ दशकसम्म अर्घाखाँचीको राजनीतिमा हाबी रहे तर अर्घाखाँचीमा आमूल परिवर्तन गर्न सकेनन्। उनी आफ्नो निजी स्वार्थमा लिप्त र आफ्ना आसेपासेको स्यहार र संरक्षणमा लागे। टोपबहादुर रायमाझी पार्टी परिवर्तन गर्न निकै चतुर र चलाखी छन।
उनी जब परिस्थिति परिवर्तन हुन्छ सुरक्षित स्थानको खोजीमा हुन्छन्। उनी नेपका (मसाल) देखि नेकपा (माओवादी) हुँदै अहिले एमालेका नवआगन्तुक हुन्। बोली र कुरा मिठा भय पनि कार्य क्षमतामा उनी जहिलै असफल छन्। यतिबेला उनको एमालेमा अग्नि परीक्षा जस्तै छ, भइरहेकाे छ। जब अर्घाखाँचीको चुनावी गणित आफ्नो पक्षमा नभएपछि पुन: माओवादीमा फर्किनकाे लागि प्रचण्डकाे दैलाेमा समेत पुगेका खबरहरू बाहिरिएका थिए। त्यसैले त उनीमाथि अवसरवादी नेताकाे आराेप लाग्ने गरेकाे छ। एमालेमा आफ्नो अस्तित्व बचाउन उनलाई अहिलेकाे चुनाव जसरी पनि जित्नुपर्ने चुनाैति छ। उनलाई जिल्लामा केही कर्मठ एमाले कार्यकर्ताले जिल्लाको एमाले कब्जा गरेको आरोप पनि लगाउने गरेका छन्।
अर्कोतर्फ गठबन्धनकी साझा उम्मेदवार रूपमा निवार्तमान उप-सभामुख पुष्पा भुसाल चुनावी मैदानमा छिन्। उनी पनि बारम्बार कहिले प्रत्यक्ष त कहिले समानुपातिक तर्फबाट नेतृत्व गरेपनि जिल्लाको लागि केही मुसो पनि मारेकी छैनन् भन्ने आरोप छ।
उनी महिला नेतृत्व र साहासी भयपनि ठुला नेताहरूका अगाडि लम्पसार हुने, बार्गेनिङ गर्ने बानी रहेको उनका निकटमको भनाइ छ। पद र सत्ताको लागि उनमा जता पनि लाग्ने गुट परिवर्तन गर्ने बानी रहेको छ। व्यक्तिगत रुपमा राजनीतिको उचाइमा पुगे पनि जिल्लाको लागि केही नगरेको र कुनै ठोस निष्कर्ष दिन नसक्ने अनि ठाउँमा पुगेर पनि अर्घाखाँचीको लागि केही नगरेको आरोप छ। पुष्पा भुसाल जिल्लामा पनि त्यति लोकप्रिय पनि छैनन्, उनी जिल्लाकी ‘टुरिस्ट’ उम्मेदवार हुन्। कार्यकर्ता माझ पनि उनको लोकप्रिय त खासै छैन।
त्यस्तै केही महिनाअघि मात्रै खुलेका रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीबाट पत्रकार हरिप्रसाद भुसालले उम्मेदवारी दिएका छन्। केही दिनसम्म स्वतन्त्रबाट उठ्नुपर्छ भन्दै मान्छे भेला गर्ने उनी अन्तत: पार्टीकै धरातलमा उभिएका छन्। स्वतन्त्र भन्दै प्रचार गर्दै हिँडेका उनले रातारात पार्टीकाे टिकट लिएर जनतालाई जिल्ल पारे। अहिले जनताहरु भन्छ्न्,– सबै एउटा ड्याङ्ग्का मुला, जता काफल पाक्यो उतै चरी नाच्छे जस्तो पाराले राजनीतिक भविष्य कस्तो होला र ? जे गरेपनि जसो गरेपनि जनतालाई बेकुप बनायो यही हो राजनीति ?
अर्का स्वतन्त्रकाे नाम भजाउने दुर्गा बन्जाडे पनि हाम्राे नेपाली पार्टीकाे तर्फबाट उम्मेदवार बनेका छन्। उनकाे जिल्लाम न संगठन छ, न उनलाई कसैले चिन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि होमनारायण बेल्बासेलाई उठाएकाे छ। यसको पनि जिल्लामा संगठन कमजाेर छ। उम्मेदवार पनि राजनीतिमा त्यति परिपक्क छैनन्। अन्य केही उठे पनि सबै केही दिनको लागि नामको लागि मात्र हो। त्यसैले अर्घाखाँचीमा जुन जोगी आएपनि कानै चिरेकाे जस्तै भएकाे छ।