कमला आचार्य आत्महत्या प्रकरण

मोरङको पथरी जङ्गलमा फेला परेकी कमलालाई कसले खान बाध्य बनायो मुसा मार्ने दबाई ? 

तेजन खड्का

उर्लाबारी

पुस १२ गते। समय दिउँसोको त्यस्तै १ बजेको हुनुपर्छ। जङ्गलभित्र कोही 'आन्टी आन्टी' भन्दै चिच्याइरहेको थियो। उनको रोदनसँगै आवाज आइरहेको थियो– 'पानी पानी' !! पीडाले छट्पटाइरहेकी उनी पानीका लागि बिलौना गरिरहेकी थिइन्।

आवाज किशोरीको थियो। सामुदायिक वन क्षेत्रमा घाँसदाउरा गर्ने महिलाहरु उक्त आवाज सुनेर डराए। कसैले तर्साएको पो हो कि ! त्यसपछि घाँस काट्न गएका महिलाहरु त्यो आवाजलाई पछ्याउँदै त्यहाँ पुग्छन्।

ब्यागको सिरानी लगाएर सुतिरहेकी किशोरी भेट्छन्। महिलाहरुले उनलाई बोतलबाट पानी खुवाउँछन्, उनका बारे सोधीखोजी गर्छन्। ती किशोरीले तीन दिनदेखि जङ्गलमै बसेको बताउँछिन्। भन्छिन्, 'साथीको घर गएर आएको, पेट दुखेर जंगलमै बसेँ। राति भयो, पेट दुखेर हिँड्न सकिनँ। तीन ठाउँ सरेर यहाँसम्म आइपुगेँ।'

त्यसपछि स्थानीयले आफन्त र प्रहरीलाई खबर गरे। प्रहरीले उद्दार गरेर पथरी हस्पिटल पुर्याए। पुसे झरी। यति चिसो मौसम। तीनदेखि यी किशोरी जङ्गलमा एक्लै कसरी बसिन् होला ? सुन्दा पनि जोकोहीको आङ जिरिङ्ग हुन्छ।

उक्त घटना हो, मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङ्गी सामुदायिक वन क्षेत्रमा कारुणिक रुपमा भेटिएकी १९ वर्षीया किशोरी कमला आचार्यको। उनको उपचारको क्रममा मृत्यु भइसकेको छ।

सुन्दरहरैँचा नगरपालिका–१ डिल्लीराम आचार्यको घरमा बस्दै आएकी थिइन्, कमला। डिल्लीराम उनका काका हुन्। ती किशोरीको १३ गते मङ्गलबार अपरान्ह ४ बजे विराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कमला उर्लाबारीको राधिकामा माविमा बालिविज्ञानको कक्षा १२ भर्खरै पास गरेकी छात्रा हुन्। इलाका प्रहरी कार्यालय पथरी प्रहरीले कमलालाई तत्काल पथरीको अस्पताल भर्ना गरेको थियो। पथरीको अस्पतालमा आफन्तले लुगा फेरिदिन खोज्दा गुप्ताङ्गमा रगत देखिएको थियो।

जङ्गलभित्र 'पानी–पानी' भन्दै छट्पटाइरहेको गरेको अवस्थामा फेला परेकी कमलाले आफूले मुसालाई दिने विष सेवन गरेको बताएकी थिइन्। किन विष सेवन गरेकी हुन् सोध्ने क्रममै बेहोश भएपछि आचार्यलाई थप उपचारका लागि विराट नर्सिङ होम, बिराटनगर लगिएको थियो।

काकाको घरबाट तीन दिनअघि पुस १० गते साथीकहाँ जाने भनेर हिँडेकी थिइन्– उनी। सुन्दरहरैँचा नगरपालिकाको कृषि शाखामा ६ महिनाको लागि ओजेटी गर्दै गरेकी राधिका माविका बाली विज्ञानका शिक्षक नवीन सुवेदीले बताए।

कमलाले भर्खरै कक्षा १२ पास गरेकी र उनी सुन्दरहरैँचा नगरपालिका कृषि शाखामा छ महिनाको ओजेटी सक्न एक महिना बाँकी रहेको थियो। सुन्दरहरैंचाको तीनदिने कृषि तालिममा सहभागी भएकी थिइन्। गत शुक्रबार र शनिबार लिएर बेलुका हिँडेकी उनी आइतबारको तालिममा उपस्थित नभएकी शिक्षक सुवेदीले जानकारी दिए।

शनिबारको तालिम सकेपछि कृषि शाखाको प्रमुख फणिन्द्र भण्डारीले विराटचोकको बुधबारेसम्म कमलालाई पुर्याेइदिएका थिए। कमला आचार्यको स्थायी घर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हो। उनी कृषि विषय बाली विज्ञान अध्ययन गर्न सुन्दरहरैंचा आफ्नो काकाकोमा बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय मोरङले जंगलमा कसरी युवती आइपुगिन्।

विष सेवन गर्न केही बाध्यता आइलाग्यो भन्ने विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। कमलाको दाह संस्कार गरिएको उनकी काकी अनीता आचार्यले बताइन्। उनी जंगलमा अचेत अवस्थामा भेटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै विभिन्न टीकाटिप्पणी सुरु भएको छ।

निशाले खिचेको कमलाको अन्तिम भिडियो

जङ्गलमा छट्पटिइरहेकी कमलाको भिडियो स्थानीय निशा पौडेलले खिचेर टिकटकमा हालेकी थिइन्। कमलाको उद्धारमा समेत खटेकी निशाले भिडियो अपलोड गरेको केही समयमै तीन लाख बढी 'भ्युज' गएको थियो। सो भिडियोमा उद्धार गर्न छोडेर किन भिडियो बनाएको भन्दै गाली आएपछि उनले डिलेट हानेकी छिन्।

अझ भिडियो आएको भोलिपल्टै कमलाको मृत्यु भएपछि स्थिति तातेको छ। यो विषय झनै चर्किएको छ। निशाले भनिन्, 'मैले भ्युज र लाइकको लागि पोष्ट गरेको होइन्। यो खबर देखेर मैले त केबल उनको उद्धार होस् भनेर पोष्ट गरेकी थिएँ।' उनले भिडियो डिलेट गरे पनि अन्यले सेभ गरेकाले यो सर्वत्र भएको छ।

कमलाको काका युवराज आचार्यले कमलाको उक्त घटना सुन्दा आर्चश्यचकित भएको बताए। 'साथीको घरमा जान्छु भनेर हिडेको कमला सम्पर्कबिहिन भएपछि खोधखोज गरिरहेका थियौँ। उनको फोन लागेपनि उठेको थिएन्। मलाई त कसैले लगेर यस्तो गरे जस्तो लाग्छ', काका युवराज आचार्यले भने, सोझी थिई। ज्ञानी थिई। पढाइमा निक्कै लगाभ राख्थी।'

उनले प्रशासनलाई सत्यतथ्य छानबिन गरी न्याय दिलाइदिन माग गरेका छन्। घटनाबारे इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले अनुसन्धान भइरहेको बताए। 'मृतकको पोष्टमार्टम तथा भिसेरा रिपोर्ट आउने क्रममा छ', उनले भने। 'कल डिटेल्स'का साथै मुसाको औषधि खाने अवस्था कसरी आयो भन्ने पनि खोजी भईरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2021-12-31 17:20:00

प्रतिकृया दिनुहोस्