नेकपा (एस)ले थप्यो चार जना पदाधिकारी [नामसहित]

File Photo
File Photo

नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी संख्या थप गर्ने निर्णय गरेको छ।

स्थायी कमिटी बैठकले एक उपमहासचिव र तीन सचिव थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार उपमहासचिवमा जगन्नाथ खतिवडा र सचिवमा गरिमा शाह, जीवराम श्रेष्ठ र भागवत विश्वासीलाई मनोनीत गरिनेछ।

केन्द्रीय सदस्य नामावली सार्वजनिक गर्न गृहकार्य गरे पनि भोलि केन्द्रीय सचिवालयले नामावली टुंगो लगाउने र भोलि वा पर्सि नाम सार्वजनिक गर्ने उनले बताए। नेकपा (एस)को ३०१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ।

पार्टीले अनुशासन, लेखा र निर्वाचन आयोगमा ३५ सदस्यीय हुने निर्णय गरेको छ। ती आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवको पद राख्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए।

केन्द्रीय विभाग २५ सदस्यीय, स्थानीय तहका कमिटीमा अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक र उपसचिव दुई गरी छ पदाधिकारी व्यवस्था गरिएको उनले जानकारी दिए। नेकपा (एस)ले जिल्ला कमिटी १०१ सदस्यीय गठन गर्ने निर्णय गरेको छ।  

बैठकले विजय गुरुङको संयोजकत्वमा सम्पर्क कमिटी पनि गठन गरेको छ।

पार्टीले केन्द्रीय कार्यालयसमेत गठन गरेको छ। महासचिव  वेदुराम भुसालको संयोजकत्वमा गंगालाला तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल र जगन्नाथ खतिवडा रहेका छन्। 

यस्तै पार्टीले दैनिक कार्य सञ्चालन गर्नका लागि महासचिव भुसालको संयोजकत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको छ।

बैठकले पार्टीको चुनाव चिन्ह कलम राख्ने निर्णय गरेको छ। उनले प्रदेश नम्बर १ र बागमती प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीले पाउने सहमति गठबन्धन दलबीच भइसकेको जानकारीसमेत दिए। 

प्रकाशित मिति: : 2021-10-07 19:44:00

प्रतिकृया दिनुहोस्