एमाले विधान महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि, माओवादी त्यागेका ५३२ जना

एमाले प्रथम विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी भएका छन्। केन्द्रीय कमिटीसहित विभिन्न १२ वटा क्षेत्रबाट प्रतिनिधि चयन भएर आएका हुन्।  

यसरी आएका प्रतिनिधिमध्ये नेकपा (माओवादी केन्द्र) छाडेर एमाले भएकामध्येबाट ५३२ जना छन्। १९६ जना केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू सहभागी हुँदा केन्द्रीय आयोग तथा परिषद्बाट २१३ जनाले सहभागिता जनाएका छन्। 

त्यस्तै, पार्टीका विभिन्न विभागबाट ३१० जना र जनसंगठनबाट २२० जना सहभागी भएका छन् भने प्रदेश कमिटीहरूबाट दुई हजार २७१ प्रतिनिधि सहभागी छन्। 

एमालेको उपत्यका विशेष कमिटीबाट प्रतिनिधित्व गर्दै १५८ जना सहभागी हुँदा विभिन्न सम्पर्क समन्वय कमिटीबाट ३६० जनाले सहभागिता जनाएका छन्। 

७७ जिल्ला कमिटीका पदाधिकारीहरू ३६४ जना प्रतिनिधि हुँदा १६५ निर्वाचन क्षेत्रबाट ४०७ जना महाधिवेशन प्रतिनिधि बनेका छन्। प्रवास कमिटीबाट १२६ जना सहभागी भएको विधान महाधिवेशनमा केन्द्रीय कमिटीले मनोनयन गरेका ५६६ जना प्रतिनिधि सहभागी छन्। 

७५३ स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष तथा प्रदेश र संघका निर्वाचित ९३४ जनप्रतिनिधिहरू महाधिवेशन प्रतिनिधि बनेका छन्।

प्रकाशित मिति: : 2021-10-01 17:57:00

प्रतिकृया दिनुहोस्