भेरी अस्पतालका नर्सकाे भाेगाइ:

'आक्रमणकारीले घाँटी अँठ्याउन थालेपछि झ्यालबाट हाम्फालेर ट्वाइलेटमा लुक्यौँ' (भिडियाेसहित)

केही दिनअघि नेपालगञ्जस्थित रहेको भेरी अस्पतालमा कार्यरत नर्सहरुको लस्करै फोटो सामाजिक सञ्जालमा भाइरल भयो।

पीपीईसहित अस्पतालको भुइँमै निदाइरहेका थिए– ती नर्स।  त्यो फोटो हेरेर सबैले प्रशंशा गरे। विपतका बेला आफ्नो ज्यान दाउमा राखेर संक्रमितको सेवामा लागेका भेरी अस्पतालका तिनै नर्सका नर्समाथि बिहीबार राति अस्पतालभित्रै पसेर एक समूहले आक्रमण गर्यो।

तीन तलामाथि रहेर काम गरिरहेका नर्सहरु ज्यान जोगाउन झ्यालबाट हाम फाले। बिरामीले खचाखच गरिएको भेरी अस्पताल बिहीबार राति रणभूमिजस्तै बन्न पुगेको थियो। 

काम गरिहेको बेलामा राति करिब ९ बजेतिर काम गरिरहेका नर्सहरुमाथि ‘ग्याङ’ ले हमला गरेपछि युद्धमैदानको जस्तै हाहाकार भयो अस्पतालमा। नर्सहरुको भागाभाग  र रुवाबासी भयो। बिरामीका आफन्तले नर्सको ज्यानै लिने प्रयास समेत गरेको उनीहरुको भनाइ छ।

यस्तो थियो घटना

भेरी अस्पतालमा उपचार क्रममा दाङका ५४ वर्षीय डिल्ली रावतको मृत्यु भएपछि उनका आफन्तले चिकित्सक र नर्समाथि हमला गरेका थिए।

उनको ८ बजेतिर भेन्टिलेटर निधन भयो अनि ९ बजेतिर आफन्तले एक जना डाक्टर र तीन जना नर्सहरुमाथि हातपात गरेका थिए। कोरोना संक्रमणबाट थलिएका उनलाई स्वाथ्यकर्मीले अथक प्रयास गर्दा पनि बचाउन नसकेको अस्पतालले जनाएको छ।

आफूले उपचार गरेको बिरामी बचाउन नसके स्वाथ्यकर्मीहरु दुःखी थिए। अस्पतालको आकस्मिक कक्षमा डा.चन्द्रप्रकाश साहू, नर्सहरू सदीक्षा गैरे, बन्दना श्रेष्ठ र आश्वीन गुरुङ भारी मनले अरु बिरामीका उपचार गरिहेका थिए। त्यही बेला अस्पतालको ढोका फुटाएर मृतकका आफन्तसहितको समुह आयो। अनि सुरु भयो– कुटपिट र हातपात।

आतङ्ककारीको शैलीमा आकस्मिक कक्षमा छिरेको समूहले गरेको दुष्कर्म देखेर उठ्नै नसक्ने गरी थला परेका बिमारीहरुसमेत बेडमै सुतेर चिच्याएका थिए। 

अस्पताल परिसरमा खटिएको प्रहरीहरुको टोलीले तत्काल आक्रमणकारीलाई नियन्त्रण लिन सकेन। आफुहरु शौँचालयमा लुकेर ज्यान बँचाएको चिकित्सक र नर्सहरुले बताएका छन्।

‘अकस्मात १० जना भन्दा धेरै मानिसले अन्धाधुन्ध हामीमाथि कुटपिट गर्न थाले। हामीले केही नसोचि झ्यालबाट हाम्फाल्यौँ,’ आक्रमणमा परेकी नर्स सदीक्षा गैरेले भनिन्, ‘अवस्था यस्तो थियो कि हामीलाई ४-५ तल्लामाथिबाट पनि हाम्फाल्नुपर्ने थियो।’

प्रहरीले आक्रमणमा संग्लन तीन जनालाई नियन्त्रण लिएको र अन्य भने फहार भएको जनाएको छ। आफ्ना सहकर्मीमाथि भौतिक हमलापछि भेरी अस्पतालका स्वास्थ्यकर्मी शुक्रबार बिहानैदेखि आन्दोलनमा उत्रिएका छन्। अस्पताल परिसरमा नाराबाजी गरिरहेका छन्। उनीहरुले ‘अस्पतालमा राजनीति चाहिँदैन’, ‘नो सेक्युरिटी नो वोर्क’, ‘वि वाण्ट जस्टिस’ लगायतका नाराबाजीहरु लगाएका छन्। उनीहरुले आक्रमणकारीलाई कारबाही नभएसम्म आफूहरु काम नफकिर्ने अडान राखेका छन्।

‘हामीलाई मार्ने हिसाबले आक्रमण गर्नेलाई प्रहरीले कारबाही नगरेसम्म हामी काममा जाँदैनौं। यसअघि पनि आक्रमणका प्रयास भएका थिए। नर्सको सुरुक्षा ‘ग्यारेन्टी’ नभएसम्म काममा फर्किन सक्ने अवस्था छैन,’ बाँके नर्सिङ संघकी अध्यक्ष लक्ष्मी केसीले बिएल नेपाली सेवासँग भनिन्। 

राजनीतिक आडमा धाक–धम्की

आन्दोलनमा उत्रिएका चिकत्सकहरुले राजनीतिक आडमा अस्पतालमा पटक–पटक आक्रमण हुनेगरेको बताएका छन्। गत एक महिनामा मात्रै तीन पटक स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास भएको स्वास्थ्यकर्मीको दाबी छ। 

बिहीबारको घटना पनि राजनीतिक आडमा भएको आक्रमणबाट भागेर बाचेकी नर्स बन्दना श्रेष्ठको आरोप छ। उनका अनुसार, राति आक्रमण गर्न वार्डमा छिरेका आक्रमणकारीले मुख्यमन्त्री शंकर पोखरेको नाम लिएर जागिर खोस्ने धम्कीसमेत दिएका थिए।

व्यवस्थापनको कमजोरीका कारण कारण पटक–पटक अस्पतालमा आक्रमण हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन्। अस्पतालले एक सय बिरामी दुई जना नर्सको भरमा छोड्दिँदा हेर्नै नसेर बिरामीे गम्भीर अवस्थामा पुग्ने र त्यसको अपजश आफूहरुले भोग्नु परको अस्पतालमा कार्यरत नर्स सुमन गिरी श्रेष्ठ बताउँछिन्।

‘अस्पतालमा कारोनाका धेरै बिरामी थपिएका छन्। एक्लै सय जनाभन्दा बढी सङ्क्रमित आफैँले हेर्नुपर्छ। यस कारणले सङ्क्रमितको ज्यान जान्छ। अनि हामीले बिरामीका आफन्तको कुटाइ खानुपरेको छ,’ श्रेष्ठले भनिन्। 

प्रकाशित मिति: : 2021-05-28 23:18:00

प्रतिकृया दिनुहोस्