अहिलेसम्मकै भाग्यमानी यी मन्त्रीः बिहान नियुक्ति, दिउँसाे शपथ, साँझ झाेला 'प्याकिङ'

Breaknlinks
Breaknlinks

सरकार गठन भएको दुई महिनाभन्दा बढी भइसक्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अचानक नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्तको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरे।

राष्ट्रपति भण्डारीले पनि प्रधानमन्त्रीकै सिफारिशमा खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरिन्। यहाँसम्म कि सोही दिन दिउँसो नै राष्ट्रपति भवन शीतलनिवासमा सपथ कार्यक्रमसमेत सम्पन्न भयो।

अनपेक्षित तरिकाले सरकारमा नयाँ मन्त्री थपिएपछि सबैको मनमा एउटै प्रश्न उब्जियो- '७२औँ दिनसम्म शान्त बसेका प्रधानमन्त्री देउवालाई आखिर त्यस्तो के भयो ? जसको कारण ७३औँ दिनमा उनले एकाएक नारायण खड्कालाई मन्त्री बनाए? त्यो पनि परराष्ट्रमन्त्री !'

यदि मन्त्रिपरिषद्ले एकैचोटी पूर्णता पाएको भए यस्ता प्रश्नहरु जन्मन्नथे। तर भयो के भने, अरु मन्त्रालयको ढोकासम्म नढक्ढकाएर परराष्ट्र मन्त्रालयको भने कुर्सी नै फेरियो।

वास्तवमा खड्कालाई परराष्ट्रमन्त्री बनाउने पहिल्यैदेखि आन्तिरिक छलफल चलिरहेकोे थियो वा सरकारले नै आकस्मिक निर्णय गर्नुपर्यो, यसबारेमा भने सत्तागठबन्धनले मुख खोलेको छैन।

अझ एउटा रोचक कुरा त के छ भने, नियुक्त भएको दुई दिन पुरा नहुँदै पराष्ट्रमन्त्री खड्काले अमेरिका जाने ठूलाे अवसर प्राप्त गरे।

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्युयोर्क पुगेको बताइएको छ। प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, प्रवक्ता सेवा लम्साल, स्थायी प्रतिनिधि राई, महावाणिज्यदूत गौतमसहितका अधिकारी पनि छन्।

न्यूयोर्कमा पराष्ट्रमन्त्री खड्काले मन्त्रीस्तरीय बैठकहरुमा भाग लिने, विभिन्न देशका समकक्षीसँग दुईपक्षीय बैठक तथा राष्ट्रसङ्घका उच्च पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको प्रवक्ता लम्सालले जानकारी दिएका छन्।

त्यस्तै, पराष्ट्रमन्त्री खड्काले असोज ११ मा  ‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा पनि सम्बोधन गर्ने कार्यक्रम छ।

यसरी दुई दिनभित्रै भएको सरकारको गतिविधिलाई हेर्न हो भने प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालको तर्फबाट सहभागी हुने कुनै मन्त्री नभएपछि हतार-हतारमा खड्कालाई पराष्ट्रमन्त्री नियुक्त गरेको देखिन्छ।

यसैबीच सरकारको यो गतिविधिप्रति नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भने बलियो कटाक्ष प्रहार गरेका छन्। बिहिबार काठमाडौँमा आयोजना गरिएको एक सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले भने, '७२ दिनसम्म पनि राष्ट्रसङ्घको महासभा छ भन्ने कुरा थाहा नपाउनेसमेत सरकार हुँदोरहेछ। कठै नि !'

उनले थप्दै भने, 'खड्काजी पनि अहिलसम्मकै भाग्यमानी नेता हुनहुँदोरहेछ। बिहान मन्त्री बन्नु भो। दिउँसो सपथ लिनु भो। साँझ अमेरिका जानको लागि झोला प्याकिङ गर्नु भो।'

प्रकाशित मिति: : 2021-09-24 21:20:00

प्रतिकृया दिनुहोस्