हिमालमा मधेसी न्यानाे- १

'आफ्नाे रुचिले बगाएको पसिनाकाे गन्धमा पनि सुवास भेटिने रहेछ'

'कमल दाई, नमस्कार ! कता हुनुहुन्छ? भेटाैंला भनेकाे।'
'(उताबाट हाँसेकाे आवाज आयाे।) सर म काममा छु। यतै आउनुस् न।'

उनकाे कामदेखि प्रभावित भएकाे म उनीबारे लेख्ने साेचिरहेकाे थिए। भेट्ने समय मिलिरहेकाे थिएन। उनले काम गर्दाका साना-साना 'भिडियो क्लिप' लिएकाे थिए। सँगै नम्बर पनि। 'नमस्कार'काे बदलामा उनी हाँसेपछि मनमा खुल्दुली लागेकाे थियाे। भेट हुनेबित्तिकै साेधिहाले।

उनकाे जवाफ थियाे, 'हामी काम गर्ने मान्छेलाई नमस्कार कसले गर्छ र सर? बरु हामी सबैलाई नमस्कार गर्छाैं।'

कामदारहरुकाे एउटा छुट्टै वर्ग छ। सर्वहारा वर्गका महान गुरु कार्ल मार्क्सकाे भाषाकाे कमल चाैधरी मजदुर वर्गमा पर्छन्। त्याे कामदार वर्ग हाे। हुनेखाने वर्गले निम्न वर्गकाे श्रम शाेषण गरेर दमन गरिरहन्छ। आत्म-सम्मानमा ठेस लगाइरहन्छ। ज्यालादारी गर्ने श्रमिकहरुले उचित ज्याला पाए पनि उचित सम्मान पाउन सकेका हुँदैनन्।

त्यसैले कमल चाैधरी जस्ता निम्न वर्गीय श्रमिकलाई सम्मान पाउन कम्तीमा याे शासन व्यवस्थामा आकाशकाे फल जस्तै हाे। कसैले सम्मान गरिहाले पनि सित्तिमित्ति पत्याउँदैनन् र हाँसिदिन्छन्।

'मालिककाे जमीन सिंचाइ हुनेगरी पसिना बगाउँदा पनि घरमा वर्षभरी पुग्ने अन्न आउँदैनथ्याे। यस्ताे अवस्थामा पढ्ने-लेख्ने सपना मनमा बाहेक हकिकतमा सजाउन कहाँ पाउनु?'

मैले देखेका धेरै श्रमिक मध्ये उनी धेरै शान्त श्रमिक हुन्। उनकाे शान्त स्वभादेखि म प्रभावित भएकाे छु। तर उनकाे शान्त स्वभाव अशान्त बनेका धेरै क्षणहरु छन्। अर्थात् उनकाे मनरुपी शान्त तलाउमा धेरैपल्ट ढुंगा हानिएकाे छ। याे त्यही कथा हाे। जाे शान्त भएरै हिमालसम्म सेवा गर्न आइपुगेको छ र पटक-पटक अशान्त बनेकाे छ।

राजापुर नगरपालिका- ८ बर्दियाका कमल चाैधरी ०३९ सालमा जन्मेका हुन्। हाल उनी ३९ वर्षका भए। चार कक्षासम्म पढेका उनी त्यसपछि कहिल्यै स्कुलकाे ढाेकासम्म गएनन्।

'किन ?' भनी गरेकाे प्रश्नकाे जवाफमा उनले भने, 'म जहिलेदेखि जान्ने भए, त्याे भन्दा धेरै अगाडिदेखि बुबा जमिनदारकाे घरमा कमैया बसेकाे देखें। मालिककाे जमीन सिंचाइ हुनेगरी पसिना बगाउँदा पनि घरमा वर्षभरी पुग्ने अन्न आउँदैनथ्याे। यस्ताे अवस्थामा पढ्ने-लेख्ने सपना मनमा बाहेक हकिकतमा सजाउन कहाँ पाउनु? मनकाे सपना पूरा नभएको मलाई स्कुलकाे ढाेकासम्म जाने आँटै आएन।'

बुबा एउटा मात्रकाे कमाइले घरमा खान नपुगेपछि उनले स्कुल छाेडेका थिए। तर आफै कमैया बन्न पुगे। दुई वर्ष उनी कमैया बसे। वर्षकाे १२ कट्टा धान दिने साैदा गरेकाे मालिकबाट लिएकाे धानले खान पुगेन।



'काेराेना आएपछि कमाइ बन्द भयो' 

राेप्नु छ- खेत, फलाउनु छ- मार्सी धान 



जमिनदारले पाँच/छ बिगा जमीनमा काम गरेपछि छेउछाउकाे पाँच/छ कठ्ठा जमीन चलाउन दिन्थ्याे। त्यसले खान पुग्दैन थियाे। याे हरेक कमैयाकाे नियति हाे। कामबापत् आएकाे अन्नले पेट नभरेपछि मालिकले ऋण दिन्थ्याे। उसैकाे घरकाे कामबाहेक अरु गर्न नपाइने भएपछि ऋणकाे बाेझ कहिल्यै नघट्ने, बरु बढिरहने। त्यसैकाे बदलामा जिन्दगी बन्धक भइरहने।

कम्लहरी र कमैयाकाे काेखबाट जन्मिएर कमैया र कम्लहरी नै जान्माउनुपर्ने भएपछि उनकाे मन अशान्त भयाे। जसरी स्कुल छाेड्दा अशान्त थिए, त्यसरी नै कमैया बस्दा पनि अशान्त नै भए।

उनका बुबा जिन्दगीभर कमैया बसेनन्। सरकारले एकदिन कमैया मुक्त घाेषणा गर्‍याे। मालिकहरुले कमैया राख्न नपाउने भए। मुक्तपछि बुबाकाे अनुहारमा स्वातन्त्रताका रेसाहरु चम्किला भएका थिए।

त्याे भन्दा धेरै अगाडि आफ्नै अनुहारमा स्वतन्त्रताका रेसा चम्काउन तल्लीन उनी अशान्त हुनु नियति थियाे वा चेतनाकाे दियाे? त्याे निष्कर्ष उनले हालसम्म निकालेका छैनन्। तर त्यतिबेला उनले एउटा कठाेर निर्णय गरे, 'मालिककाे घरबाट भागेर इन्डिया जाने।'

त्याे उनकाे माैन विद्राेह थियाे। तर जेलजस्ताे घरबाट भाग्नु कसरी? अनेक उपाए लगाएर एकदिन भागिछाेडे। त्यसपछि शिकारीले लखेटेकाे मृगझैं भागे। निकै टाढा पुगेपछि बल्ल सास फेरे। त्यसबेला उनकाे मनबाट स्कुल छाेड्दा उठेकाे ऐठन भाग्याे। उनी फुक्काफुल भए। आकाशमा उड्ने पंछीझैं स्वतन्त्र भए। उड्दै-उड्दै पुगे, इन्डियाकाे मसुरी।

'सर पसिना त जहाँ गए पनि बगाउनु नै थियाे। इच्छाले बगाउनु र करकापले बगाउनुमा फरक हुने रहेछ। आफ्नै रुचिले बगाएको पसिनाकाे गन्धमा पनि सुवास भेटिने रहेछ।'

त्याे थियाे सन्, १९८५ काे कुरा। उमेर १२ वर्ष। खान पुग्ने कामकाे लागि भागेर मुक्त भएका कमल चाैधरी घर बनाउने काममा लागे। एक वर्षसम्म लेबर काम गरे। त्यसपछि मिस्रीकाे पछि-पछि हिँडे। मिस्री बने। भारु साठीबाट सुरु गरेकाे ज्याला मिस्री बनेपछि असी पुग्याे। जमिनदारकाे चाैघेराकाे जीवनबाट मुक्त भएपछि पाएकाे पहिलाे पारिश्रमिक उनलाई सबैभन्दा प्रिय लाग्याे। उनी औधि खुसी भए।

भन्छन्, 'सर पसिना त जहाँ गए पनि बगाउनु नै थियाे। इच्छाले बगाउनु र करकापले बगाउनुमा फरक हुने रहेछ। आफ्नै रुचिले बगाएको पसिनाकाे गन्धमा पनि सुवास भेटिने रहेछ।'

इन्डिया हुँदा सिमेन्टकाे काम सिके। घरकाे दिवाल लगाउन सिके। पलस्टर गर्न सिके। फिनिसिङ गर्न सिके। सिके बुट्टा भर्न। बिस्तारै उनी सिपालु मिस्री बन्दै गए। जमिनदारकाे घरमा मन नलगाइ दुई वर्ष काम गर्दा पनि केही सिकेनन्। तर आफ्नै मनले पराइ देशमा पसिना बगाउँदा एक वर्षमै बढुवा भएर मिस्री बने।

एक वर्षपछि इन्डियाकाे चम्बा गए। पछि गडुवाल गए। त्यहाँ पनि राम्राे काम मिल्याे। हरेक वर्ष, जसरी पनि माघीमा घर आउँथे।

माघीलाई थारुहरु आजादी तिहार पनि भन्छन्। त्यसदिन साहुले कामबाट मुक्त गराउँछन्। जमिनदारले 'आजबाट तेराे छुट्टी' भन्छ। एउटा मालिककाे घरमा काम गरिरहेकाे थारु अर्काे मालिककाे घरमा जान पनि पाउँछ। तर ऋण खाएकाे थारुले अर्काे मालिक राेज्दा त्याे मालिकले ऋण तिरिदिएकाे हुनुपर्छ। तर त्यसपछिका दिन सुखमय हुँदैनन्। तथापि थारुहरु माघीलाई आजादी तिहार भनिरहन्छन्।



'कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान अब्बल बन्न एक व्यक्तिकाे चमत्कारले सम्भव थिएन'

कर्णालीकाे 'एमबीबीएस' सपना 



माघीलाई आफ्नाे महान पर्व मान्ने हुनाले कमल चाैधरी माघी मनाउन घर आउने जाने गर्दा-गर्दा इन्डियाकाे देहेराधुन, हरीद्वार, ह्रिसीकेस गरिरहे। यस बीचमा उनले इन्डियामा १५ वर्ष बिताए। त्यसबेला उनकाे ज्याला बढेर दैनिक ३५० भारु पुगेकाे थियाे। याे आजभन्दा १० वर्ष अगाडिको कुरा हाे।

इन्डिया बस्दा कमाएका रुपैयाँले उनले दुई कठ्ठा जमीन किने। घर व्यवस्था राम्राे नभएका कारण उनले बिहे गर्न उति हतार गरेनन्। गाउँमा धेरैकाे सानैमा बिहे हुन्थ्याे। तर उनलाई लाग्थ्याे, 'बिहे गरेपछि श्रीमतीलाई अभाव हुन दिनुहुन्न।' दुई कट्ठा जमीन जाेडिसकेपछि उनी बिहेकाे लागि राजी भए। त्यसछि थप तीन कट्ठा जमीन जाेडे। त्यसैले वर्षभरीलाई खान पुग्छ।

पछि ठेकेदारहरुले ठग्न थालेपछि इन्डिया जान छाेडे। 'ठेकेदारले ३५ हजार खाइदियाे। आजभन्दा १० वर्ष अगाडिकाे ३५ हजार कम रुपैयाँ हाेइनन् सर,' उनले भने, 'बरु कम ज्याला हाेस् तर नेपालमै काम गर्ने साेच बनाए। बुटवल गए। त्यहीँ धेरै समय काम गरे। नारायणघाटमा पनि काम गरे।'

२०७२ बैशाख १२ गते भुकम्प आयाे। भुकम्पपछि काठमाडौंमा काम धेरै मिल्छ भन्ने, सुने। उनी उतै लागे। सुरुमा ठेकेदारमार्फत काम गर्दा १२ सय रुपियाँ ज्याल पाउँथे। तर पछि साहुसँग आफै सम्पर्क गरेर काम थालेपछि १४ सय ज्याला पाउन थाले। बिस्तारै कमाई राम्राे भयाे। त्यहाँ घर बनाउने कामका साथै टायल लगाउने काम पनि पाइन थाल्याे। जुन उनले इन्डिया हुँदा सिकेकाे अर्काे सीप थियाे।

काठमाडौंबाट नुवाकोट गए। काठमाडौं आसपासमा काम मिलिरहेकाे थियाे। त्यही बीचमा काेराेना आयाे। लकडाउन भयाे। लकडाउपछि काठमाडौंले काम दिन सकेन। शहर मजदुरहरुकाे लागि बिरानाे हुँदै गयाे। सधैँकाे लागि भनेर काठमाडौं छाेडे।

पछि घर नजिकै साना काम पाइरहेका थिए। भदाै १२ गते एउटा घरमा टायल लगाएर राति अबेर घर फर्किदै थिए। रातिकाे नाै बजेकाे थियाे। साइकलमा फर्किरहेकाे बेला स्पिडमा आएका दुईवटा बाइकहरुले ठक्कर दिए। लगत्तै उनीहरु भागे। उनकाे खुट्टा फ्याक्चर भयाे। उनी लामाे समय बिरामी भए। नेपालगन्ज गएर बैभव टण्डनकाे क्लिनिकमा उपचार गराए। सवा दुई लाख खर्च भयाे। ऋण लाग्याे। मन फेरि अशान्त भयाे।

'छाेरीलाई धित मरुन्जेल पढाउने साेच छ। ताकि घरमा खानाकाे अभाव भयाे भनेर मेराेजस्तै स्कुल छाेड्न नपराेस्,'

गाउँमा अत्यन्तै न्यून ज्यालाकाे पाइने हुनाले घरदेखि कतै एकान्तमा काम पाइन्छ कि भनेर खाेज्न थाले। संयाेग पनि त्यस्तै भयाे। गाउँकै एकजना चाैधरीले सम्पर्क गरेपछि उनी काम गर्ने भनि शान्त र एकान्त ठाउँ जुम्ला पुगे।

पछिल्लो समय जुम्लामा आरसीसीवाला घर बनिरहेका छन्। परम्परागत ढाँचाका घर बनाउनमा सिपालु जुम्ली मिस्री आरसीसी घरका लागि सिकारु भएका छन्। त्यसैले धेरैजसाे नयाँ घर बनाउने मजदुर बाँके, बर्दियाबाट आउँछन्।

त्यसै क्रममा जुम्ला पुगेका हुन्, कमल। जुम्लाले उनलाई काम दियाे। उनले जुम्लाको सेवा गरे। सुरुमै तीन महिना बढीकाे काम मिल्याे। त्यहीँ उनले आफ्नाे सीप देखाए। जुम्लामा बनिरहेका घरका भन्दा भिन्न र आकर्षक बुट्टा भरेर देखाए। त्यसपछि उनकाे माग बढिरहकाे छ। उनी अब दशैसम्म यतै बसेर काम गर्ने याेजना बनाइरहेका छन्।

नियमित काम गर्दा तीसदेखि चालीस हजार महिनामा बच्छ। हाल उनले खुट्टा फ्याक्चर हुँदाकाे ऋण पनि तिरिसकेका छन्।

अब उनका धेरै सपना छैनन्। एकदिन गाउँमा भएकाे कच्ची घरलाई पक्की बनाउने साेचेका छन्। एउटी छाेरी छन्, आठ कक्षामा पढिरहेकी। 'छाेरीलाई धित मरुन्जेल पढाउने साेच छ। ताकि घरमा खानाकाे अभाव भयाे भनेर मेराेजस्तै स्कुल छाेड्न नपराेस्,' उनले भने, 'सर शान्त हुन खाेजिरहेकाे छु।'

प्रकाशित मिति: : 2021-06-23 09:22:00

प्रतिकृया दिनुहोस्