कोरोना संक्रमण फैलिएका कारण जिल्लामा निषेधाज्ञा छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले सुरक्षाका उपाय अवलम्बन गर्न उर्दी जारी गरेकाे छ।
मुख्य बजार र आसपास यसकाे चपेटामा परे पनि गाउँघरलाई यसले छाेएकाे छैन। छोओस् पनि कसरी? गाउँ यतिबेला सक्रिय भएन भने ब्रान्ड बनिसकेको कालीमार्सीका भात किसानकाे गाँस बन्दैन। मेडिकल व्यवसायी दुर्गा प्रर्साईंकाे भान्सामा ओलीहरुकाे ज्यूनार हुँदैन।
त्यसैले लकडाउन, निषेधाज्ञाले किसानलाई छुँदैन। र त चटाराे छ गाउँघरका किसानलाई। जसरी भएपनि राेप्नुछ खेत, फलाउनु छ मार्सी धान।
जेठ पहिलो सातादेखि नै गाउँमा मार्सी धान रोपाइँ सुरु भएको हुँदा सम्झिएका छन्, जनगायक जीवन शर्मा।
छेकेर छेकिन्न इतिहासको पाँग्रा,
चल्छ अघि बढ्छ, निरन्तर।
रोकेर रोकिन्न जनताको आँधि,
चल्छ हुरी आउँछ बसन्त।
जनगायक जीवन शर्माको यो गीतले भनेझैं बसन्त ऋतु आगमन अगाडिको हुरीमा जुम्ली किसानहरुले संसारकै अग्लो ठाउँमा फल्ने मार्सीधानको बीउ बताउने तयारी गर्दै गर्दा देशमा काेराेनाकाे दाेस्राे लहर सुरु भयो।
अघिल्लो साल उति असर नपरेकाेले खासै चिन्ता भएन। राजनीतिक खिचातानी काराेना भाइसभन्दा खतरनाक भएपछि जैविक भाइरसकाे असर भयानक भयाे। तर महामारीकाे डरभन्दा गाँसकाे आश बढी भएपछि किसानको गति रोकिएन। जसरी हुरीले बसन्त आउनलाई रोकेन।
जिल्लाका केही ठाउँमा कुल देउताका अनुसार धानको क्यालेन्डर मान्ने भए पनि धेरै ठाउँमा धानको क्यालेन्डर एउटै छ। जुन चैत १२ गते धान बताउने र नजिकको खोला, खाडल वा घरकै ठुला भाँडामा भिजाउने। १६ गते भिजाएको धानलाई उतारेर सुकाउने। भिजेको धान सुक्नै आँटेको बेला भान्साको एक कुनामा न्यानो गरी भोजपत्र र हरिया सल्लाका झुप्रा (सल्लीपिर) वा राडीपाखीले छोप्ने।
चार दिनसम्म साँझ बिहान चिसो मुलको पानी छर्कने। त्यसले बीउ अंकुराउन सहयोग गर्छ। न्यानो कपडाले छोप्दा अंकुराएको बीउलाई हुर्कन बल पुग्छ। चिसो पानी छर्कने र छोप्ने गर्दा बीउ बेर्नामा राख्ने भइसक्छ। २० गते बीउ बेर्नामा राखिन्छ।
जुम्लाका लागि चैत १२ को बारुवा, १६ को सोरुवा र २० गतेको बिसुवा ठूला पर्व हुन्। मष्टो मान्नेहरु प्रकृति पुजक हुन्। त्यसैले कामसँग जोडिएका पर्व जुम्लीका लागि खास भएका संस्कृति सम्बन्धका जानकार रमानन्द आचार्य बताउँछन्।
यसको अलवा सिंजाको रनुखानामा चार दिन भिजाएको बीउ सिधै लगेर छर्ने चलन छ। जसलाई रोप्नी माइको बरदान मान्ने गरिएको स्थानीय नवराज शर्माले बताए।
'जुम्लामा धान रोप्ने, गोड्ने, बाली लग्याउने (संकलन गर्ने) जस्ता चलन सबै ठाउँमा उस्तै भए पनि बीउ उमार्ने तरीका यहाँको फरक छ,' उनले भने, 'सबैतिर घरमा उम्रीसकेको बीउ बेर्नामा छर्ने चलन छ भने यहाँ सिधै भिजाएको धान छर्ने गरिन्छ। हाम्रा पुर्खाहरुले यसलाई रोप्नी माइको बरादान भनेका छन्।'
यसै सम्बन्धमा सिंजामा प्रचलित गीत यस्तो छ:
जौ बाली धान बाली पाक्ता, भुजपातका (भोजपत्र) पाना,
धान छडेर बीउ उमार्दा, सिंजा रनुखाना।
(स्रोतः परिलाल विश्वकर्मा, सिंजा मोफ्ला)
रनुखानाको बीउ उमार्ने विधिमा विज्ञानको कुन पक्षले काम गरिरहेको छ भन्ने अनुसन्धान हालसम्म भएको छैन। यो विषयमा कृषि अनुसन्धान केन्द्रमा कुनै पनि खालको अभिलेख भेटिदैन। तुलनात्मक रुपमा गहिराे रनुखानकाे राेप्नि क्षेत्रमा ओैल लाग्ने भएकाेले पनि त्यस्ताे हुन सक्ने कृषि विज्ञहरुकाे अनुमान छ। तर हालसम्म लोक कहावत बाहेक अनुसन्धान गरेर बुझ्ने काम भएको छैन।
जुम्लाका आठवटै स्थानीय तहमा धान खेती हुन्छ। स्थानीयले निषेधाज्ञाको बेवास्ता गर्दै धान रोप्ने काम सुरु गरेको चन्दननाथ १० कि कमला सार्कीले बताइन्। उनका अनुसार अधिकांश गाउँका किसान ब्याडबाट बीउ निकाल्ने र रोपाइँ गर्ने काममा जुटेका छन्। 'अहिले त बिहानैदेखि राति अबेरसम्म खेतमै व्यस्त बन्न थालेका छौं,' उनले भनिन्, 'समयमै नरोपे के खाने?' गाउँमा रोगभन्दा भोकको पीर रहेको उनकाे भनाइ छ।
परा पूर्वकालदेखि नै जेठको पहिलो सातादेखि मार्सी धानको रोपाइँ हुने गरेको सुनारगाउँ मस्टाेका धामी पूर्णसिंह कठायतले बताए। 'परम्परादेखि नै बाजा बजाएर कालीमार्सी धानलाई ब्याडमा छर्ने, बीउ निकाल्ने र रोप्ने गरिरहेका छौं,' उनले भने, 'एक/दुई दिन भित्रै चन्दननाथ मन्दिरको पछाडिको सेरा डाबमा रोपाइँको गर्ने तयारी छ।' उनका अनुसार जुम्लाका अधिकांश खेतहरु ठूला हुने भएकाले एउटै खेतमा रोप्नको लागि न्यूनतम १० जना रोप्नेरीहरु लगाउनुपर्ने बाध्यता छ।
चन्दननाथ मन्दिरको खेत रोप्नको लागि स्वास्थ्यका मापदण्डहरु अपनाइने चन्दननाथ–भैरवनाथ गुठी व्यवस्थापन समितिका सचिव अंगत देवकोटाले बताए। 'कोरोना संक्रमणको डर भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर रोपाइँ गर्ने तयारी गरेका छौं,' उनले भने, 'चन्दननाथ बाबाले सुरु गरेको मार्सी धानको इतिहासलाई संरक्षण गर्नु हाम्रो दायित्व पनि हो।'
चैतकाे महिना बेर्नामा राखिएको बीउलाई जेठको पहिलो साताबाट रोपिने कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए। 'धान रोप्न ढिलो भए ६ महिने धानको चक्र नै विग्रन्छ,' उनले भने।
शहरमा निषेधाज्ञाले तोकेको समयबाहेक अरुबेला हिँड्यो भने पुलिसले डण्डा लाउँछ। बन्द दैनिकीले शहरका मान्छेलाई ऋतु परिवर्तनको आभास हुन सकिरहेको छैन। शहरका लागि बसन्त आएकै छैन। तर, गाउँमा ग्रिष्म लागि सक्यो। गाउँ किसानहरुका कारण गुल्जार छन्।
जेठ ९ गते गुठीचाैर गाउँपालिका देपालगाउँकी काेइर्या सार्कीले आफ्नो रोपाइँ सकाइन्। उनको रोपाइँलाई सघाउन चन्दननाथ नगरपालिकाबाट उनकी बहिनी र दाईकी छाेरीहरु पुगिन्।
उनका श्रीमान पदमलाल सार्कीले घरकामबाट बिदा लिए। उनले खेत जाेते। आलि खन्ने, हिलोले आली चिप्लो बनाइ त्यहाँ भटमास लगाउन मिल्ने बनाए। यसो गर्दा धान रोपेको दोहोरो फाइदा लिन सकिन्छ।
उनको रोपाइँको तामझाम अघिल्लो दिनबाटै गरिएको थियो। रोप्नेरी महिला र जोत्नेलाई खानपानको व्यवस्था चाडबाडको जस्तै थियो। मुख्य बालीको रुपमा मानिएको धान रोपाइँलाई एक विशेष उत्सव जस्तै मानिने भएकाले पनि पदमलाले काम गरिरहेकाे ठाउँमा एकदिन बिदा मागे।
जुम्ला बजारमा डेरा गरी कर्णाली प्राविधिक शिक्षालयमा अनमी पढ्ने रिता शाही कोरोनाका कारण लकडाउन भएपछि सिंजा कनाका सुन्दरीस्थित आफ्नो घरमा १० घण्टासम्म हिँडेरै पुगिन्। केही दिन बजारमा बस्दासम्म स्थिति सामन्या हाेला जस्ताे लागेको थियो। तर दिन बित्दै जाँदा समस्या बल्झिदै जाने जस्तो मानेपछि उनी घरतिर लागिन्।
'केही समय घरको काममा भित्र बाहिर गर्दै बित्यो। त्यसबेलासम्म पनि गाउँमा कोरोनाको थोरै-थोरै डर थियो। जब जेठ लाग्यो त्यसपछि डर हरायो। समाजिक दुरी सुन्नुपर्ने शब्द जस्तै भएन, उनले भनिन्, 'जेठ लागेपछि अर्म पर्म गर्दै दिन गए। जौ भित्र्यायौं। त्यसपछि रोपाइँ चल्यो। एक दिन आराम नगरी रोप्न गइरहेकी छु। आज ७ दिन भए लगातर रोप्न जान थालेको।'
'हाम्राे एउटा राेपाइँ जेठ १२ भयाे। २४ र २७ गतेका राेपाइँ बाँकी नै छन्। त्यसबेला राेप्नकाे लागि पर्म लाउने र सुरकाे राेपाइँकाे परिम तिर्न गए। मैझारोको दिन फुपु चेलीहरुलाई बोलाएर खुवाउने चलन छ,' उनले थपिन्।
घरमा आमा, बुबा र भाइ छन्। बुबाको आधा शरीर चल्न छोडेको लामो समय भयो। रोपाइँको लागि चाहिने हलीको जोहो गर्न उनी छिमेकीकोमा रोप्न गइन्, बदलामा छिमेकी उनको जोत्न आइदिए। यसरी उनको रोपाइँ सकिन्छ।
जेठ १५ गते सदाझैं कृषि विकास कार्यालय जुम्लाका प्राविधिक लक्षिराम महतको रोपाइँ भयाे। उनको सुरुको रोपाइँ नै मैझारो भयाे। एक दिनमै रोपेर सकिने आठ रोपनी खेतमा रोप्नेरी ३० जनी जति राेप्नेरी चाहिएका थिए। दुई जना खनजोत गर्ने मान्छे पनि लगाउनुपर्याे।
'अधिकांश गाउँकै महिलाहरु थिए। केही बिहे गरेका छोरी चेली पनि आए, अर्म पर्मले काम चल्याे,' उनले भने, 'पुरै गाउँमा कुन दिन कसको रोपाइँ हुन्छ भन्ने पहिले नै निर्धारण गरिएको हुन्छ। एक दिन एकको र अर्को दिन अर्कोको गरी रोपाइँ सकिन्छ।'
रोप्नेरीलाई (रोप्ने महिला) बिहान बेलुका खाना खुवाउनु पर्छ। दिउँसो अर्नी खुवाउनु पर्छ। अर्नीमा पुरी, आलु र कलाको तरकारी बताउने चलन उहिले देखिको हो।
चन्दननाथ -८ तलिउमका हस्त सार्की लगायत अधिकांश गाउँलेका धेरै खेत खोलाको पानीले रोप्नुपर्छ। गडकुले जस्तो खोलापानेका खेतले पानी पाउन गाह्रो हुन्छ। रोपाइँ सकेपछि हप्तौं पछि मात्र पानीको पालो पाइन्छ। त्यसैले धान पनि गतिलो हुँदैन। तर यो वर्ष पानीको उस्तो नपरेकाेले अलि समस्या छ। हिउँदमा हिउँ परेन। जेठमा साेचेजस्ताे पानी परेकाे छैन। पानी कम भएकाेले सालमा आफ्नो खेतमा पानी हाल्नलाई रिसा-रिस भइ झगडा हुने स्थिति रहेकाे उनले बताए।
'गाउँको एकजनासँग झगडा नभएको वर्ष छैन। यो वर्ष राेपाइँ सुरु भएको छैन। झगडा हुन्छ हाेला सायद,' उनले भने, 'पहिला पहिला पानी हालिदिने नरालाे हुन्थ्याे। उसले राेपेका खेत र राेप्ने खेतलाई पानी मिलाएर हालिदिन्थ्याे। तर अब नरालाे राख्ने चलन हराउँदै गएकाले जसकाे शक्ति उसकै भक्ति हुन थाल्याे।'
जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लाको सिंजा, पाँच सय, दानुअ, चौधबीस र असी दरा, खोलाका रोपाइँ भर्खर सुरु भएकाे हुनाले कति प्रतिशत खेतमा रोपी सकिएको भन्ने तथ्यांक छैन। जुम्लामा कालीमार्सी, लेकाली एक र तीन तथा चन्दननाथ एक र तीन जातको धान रोपाइँ हुन्छ।
मार्सी जुम्लाको रैथाने धान हो भने अरु सबै कृषि अनुसन्धान केन्द्रले विकास गरेका नयाँ जातका धान हुन्। कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले यो वर्ष जुम्लाका २७ सय पचास हेक्टर जमिनमा धान रोपीने अनुमान रहेको बताए। अघिल्लो वर्ष २८ सय हेक्टरमा धान रोपिएको थियो।
'अघिल्लो वर्षको तुलनामा यो वर्ष पचास हेक्टरले धान रोप्ने क्षेत्रफल घट्ने अनुमान गरेका छौं,' उनले भने, '५० हेक्टरमा तरकारी खेती गरिएको छ। जुम्लाको तलिचौर, कुडारी र रारालिहीका किसान तरकारी खेतितिर आकर्षित भएको हुनाले यो वर्ष धान रोप्ने क्षेत्रफल घटेको हो।'
कोरोनाको कारण रोपाइँमा असर नपरेको भएपनि रोपाइँसँग जोडिएको चोपाइँ संस्कृतिमा भने यसले केही असर गर्यो। यो वर्ष कतैपनि बाजा बजाएर खेतमा चोपाइँ हुन सकेकाे छैन।
जुम्लामा कसैको घरमा छोराको बिहे भयो वा छोरो जन्मियो भने त्यसले जेठको रोपाइँको बेला चोपाइँ उत्सव मनाउने चलन छ। ठूलो खेतमा नाच्ने, गाउने र बाजागाजासहित रमाइलो गर्ने, हिलो खेल्ने गरिन्छ।