नेपालको पश्चिमाञ्चल क्षेत्रको उत्तरमा पर्ने राक्षस ताल, मानसरोवर ताल, कैलाश पर्वत, खोचरनाथ, छायाँनाथलगायत मनोरमस्थल भएको राता तालले सुशाेभित।
पातरासी हिमाल, चंखेली लेख, ५ सय ५ किलोमिटर लम्बाई भएको कर्णाली नदी (करनाली), गिडीदह, शंख दह, हुड्के दह, ठाकुर्ज्युल दहजस्ता ताल/तलैया, जवा, हिमा खोला, झरनाजस्ता विभिन्न खोलानालाले परिपूर्ण, भरिपूर्ण।
डाँडाकाँडा, वन, जंगल, ओडार, गुफा, गुम्बा, बौद्ध विहार, चैत्य, कृतिखम्बा, विजयस्तम्भ, वनौषधि, बहुमूल्य जडीबुटी, पौष्टिक, स्वादिष्ट खाद्य सामग्रीहरु, कस्तुरी मृग, हिमचितुवा, राष्ट्रिय पन्छी डाँफे, जंगली जनावर, घोडाघोडी, चौरी गाई, विभिन्न पशुपन्छी, ओैषधिजन्य सिलाजितजस्ता पदार्थले सुशाेभित छ, कर्णाली।
प्रकृतिले सोभायमान, सुशाेभित, सूसम्पन्न, खस साम्राज्यको राजधानी र खस भाषाको उद्गम थलो, नेपाली राष्ट्रिय भाषाको जननी स्थल, प्राचिनकालदेखिको राजमाता, सभ्यताले सम्पन्न जननी, सिंजा नगरकी जननी कनका सुन्दरी देवीकै नामबाट अहिले उच्च मा.वि, मा.वि, यहाँ अवस्थित देवी देवताले भरिएको पूण्यभूमि सिंजा लुड्कु मा.वि.मा परिचित रविकिरण निर्जीव नामका व्यक्ति प्रधानाध्यापकको नियुक्ति लिएर आइपुग्नुभयो।
त्यसबेलाको शैक्षिक अवस्था अतिअविकसित थियो। शिक्षा, स्वास्थ्य, संचार, बाटोघाटो, खानेपानी, खाना लगाउने जनजिविकाको सवालमा अभावै अभावले भरिएको कठोर र कष्टकर जीवन बिताउन कर्णालीबासी बाध्य थिए।
बेसाहारा जनताको पक्षमा भगवान भरोसा मात्रै थियो।
आजाभोलि कुनै उपमा दिनुपर्यो भने ‘कर्णालीका जस्तो’ भन्ने गरिन्छ। भने, त्यसबेला ‘बिनाबाटोको कर्णाली’ भन्ने गरिन्थ्यो। २००८ सालमा दैलेख निवासी शेरसिंह भन्ने व्यक्तिको नेतृत्वमा आएको जमातले जुम्ला कब्जा गरी कैदी बन्दीलाई छोडी मुक्त गरेपछि मात्रै प्रजातन्त्र आएको थाहा भयो।
राजधानी काठमाडौंबाट १ सय ६९ कोषमा पहुँच पुग्ने/नपुग्ने यसैबाट अनुमान गर्न सकिन्छ। कर्णाली अञ्चललाई त्यसबेला १८ दरा २२ पाखा भनेर कामकाज चलाउनको लागि विभाजन गरिएको थियो। कामकाजको नेतृत्व जुम्लाबाटै हुने गर्दथ्यो।
त्यसबेला श्री ३ राणा शासनबाट राजकाज चल्थ्यो। शासन सत्ता उनकै हातमा थियो। राजा श्री ५ नामात्रका थिए। राजपरिवारको तलब भत्ता तोकिएबमोजिम हुने गर्दथ्यो। एकपटक राजा त्रिभुवनलाई खान/लाउन समस्या हुँदा सुनको थाल बिक्री गरी खर्च चलाउनु परेको थियो।
राष्ट्र संचालनमा जिम्मा राणाहरुकै थियो। उनीहरुका आफन्तहरु उच्च पदमा बसी राजकाज सञ्चालन गर्थे।
जुम्लामा १९७५ सालमा राणा बडाहाकिम र केही कर्मचारीका छोराहरु मात्रै पढ्न पाउँथे। अरु जनताका छोराछोरीको पढ्न पाउने कुरै छोडौं, यो त आकाशको फल बनेको थियो।
त्यसपछि पाठशालाको नाममा चन्दननाथ भाषा पाठशाला खोलियो। यस पाठशालाका लागि प्रथम गुरु बाग्लुङ गुराडाँडाका बालकृष्ण उपाध्याय र घनश्याम उपाध्याय थिए।
काँसीमा गई शिक्षा आर्जन गरी गाउँमा गएर पढाउने काम प्रायजसो दुल्ल काठेबढीका मान्छे हुन्थ्ये। यिनिहरुले बेद, पुराण तमसुक र अड्डाखानाकाे भर्पाई पनि गर्थे।
गाउँ–गाउँका प्रायजसो उच्च जातका ब्राह्मणहरुले चासो र चिन्ता भएका गाउँलेका छोराछोरीलाई पढाउने गर्दथे। परीक्षा लिनेबेला बडाहाकिमले भारतकाे गाैंडाबाट एक जना प्रतिनिधि बाेलाउँथे। मंसिरमा परीक्षा गरेर फागुनमा नतिजा प्रकाशन गरिन्थ्यो। परीक्षामा पाठ कण्ठ गरेर सुनाउनुपर्थ्याे भने सँगै हिसाब पनि गर्नुपर्थ्याे।
शिक्षाको अवस्था दयनीय थियो। त्यस्तो खालको शिक्षालाई गुरुकुल शिक्षा भन्ने चलन थियो। गाउँघरमा बाह्रखरी, जोर, घटाउ, गुणा, भाग जान्ने र तमसुक भर्पाई लेख्ने भए पढेलेखेकोमा गनिन सक्थे। २०१७ सालबाट गुरुकुल शिक्षा समाप्त भयाे।
पढ्ने सामग्री काठका पाटी, सिम्पाटीमा माटो राखेर काठका टुक्राले कखरा सिकाइन्थ्यो। भोजपत्रमा निगालोको कलमले स्थानीय पदार्थबाट बनाइएको मसीले पहाडी काजमा लेखेर गाउँघरमा पठनठान हुने गर्दथ्यो।
व्यवहारिक कागज लेख्दा दायाँ–बायाँ र लिखत साक्षी र कारणीको सही गर्न पर्दैन थियो। बरु साक्षीको रुपमा देबी देवताका नाम राख्ने गरिन्थ्यो।
१९७३ सालमा हुम्ला सदरमुकामलाई एउटा भाषा पाठशालाको लागि एउटा कोटाको दरबन्दी सरकारबाट दिइयो। हुम्लामा पढ्ने विद्यार्थी नभएर मुगुमा त्यो कोटा सारियो। त्यहाँका केही मानिसले शिक्षा आर्जन गरे।
चन्दननाथ जुम्ला सदरमुकाम खलंगामा २००८ साल भाद्र १५ गते प्रथामिक विद्यालयकाे स्थापना भयो। यसकाे नाम धेरैपल्ट परिवर्तन भयाे। जस्ताेकी चन्दननाथ भाषा पाठशाला, चन्दननाथ बहुउद्देश्यीय विद्यालय, चन्दननाथ नमुना माध्यमिक विद्यालय आदि।
२००९ सालमा झारझ्वाला, सिउना, रासकाेट, काेटघर र गैरागाउँमा नेपाल राष्ट्रिय प्राइमरी स्कुल (ने.रा.प्रा.वि) स्थापना भए। सहायता स्वरुप वार्षिक १२ सय रुपैयाँ आउने गर्दथ्यो। विद्यार्थी पढ्न नआउँदा गाउँ–गाउँमा गएर शिक्षकद्वारा घुम्ती स्कुल जस्तै गरी पढाएर जनचेतना जगाइएको थियो। २०१०-११ तिर परिमलाचाैरमा प्राथमिक विद्यालय थियाे। त्यहाँकाे प्रधानाध्यापक निरविक्रम शाह हुनुहुन्थ्यो।
२०२० सालमा चन्दननाथमा हाइ स्कुल पढ्ने केटीको संख्या नहुँदा हाइ स्कुल स्वीकृत हुन सकेन। त्यसपछि जनतालाई जगाउन र प्रभाव पार्न जुम्लाका स्थानीय युवाहरुले धोती चोलो लगाएर गाईजात्रामा नाच प्रदर्शन गरे। त्यसको अगुवाइ खडान्द चौलागाईले गर्नुभएको थियो। यसले अब पाठशालामा केटीको आवश्यकता छ भन्ने सन्देश दियो। त्यसपछि छात्राहरुले पठनपाठन गर्ने भए।
२०२० सालमा राजा महेन्द्रबाट शिलान्यास र उद्घाटन गरी २०२१ सालमा बहुउद्देश्यीय विद्यालयले स्वीकृति पायो। मा.वि.लाई वार्षिक १२ हजार सरकारबाट मसलन्द बापत छुट्टै रकम पठाउने गरिन्थ्यो। मा.वि.मा दुईजना तालिमप्राप्त शिक्षक थिए, दुईवटा पिउन र एक जना मुखियालगायत आवश्यकताअनुसार सहायक शिक्षक पनि राखिएको थियो। आना र माना भर्ना शुल्क थियो। लक्ष्मीनिधि उपाध्याय, रामप्रसाद आचार्य र यज्ञप्रसाद देवकोटा (पण्डित)ले भाषा पाठशालाको संचालन गर्नुभएकाे थियाे।
पाठ्यपुस्तक, पठनपाठनका सामग्री राष्ट्रिय पञ्चाय सदस्य अदनसिंह कठायतले काठमाडौंबाट जुम्लासम्म वसारपसार गर्ने गर्नुभएको थियो।
मा.वि.मा पढ्ने विद्यार्थीको अभाव थियो। पुगिसरी भएकाले जुम्लामा एसएलसी पास गर्न सकिदैन भनेर काठमाडौं पठाउने गर्थे। विद्यार्थीको अभावले ठूलो समस्या ल्यायो।
२०१७ सालमा पहिलाे एसएलसी पास गर्ने रासकाेटका धनबहादुर शाही हुनुहुन्थ्यो। २०१८ सालमा गजेन्द्र शाह, खडान्नद चाैलागाइ र पदमबहादुर महतले एसएलसी पास गर्नुभयाे।
एसएलसी पास गराउने उदेश्यले २०२३ साल चैत्र २३ गते हिमगरी प्रौठ स्कुलको स्थापना गरियो। धेरैजना विद्यार्थी भर्ना भए। पहिलो वर्ष आठ जना, दोस्रो वर्ष नौ जना र तेस्रो वर्ष १० जना भर्ना भए।
२०२४ सालमा नेपालगञ्जमा एसएलसी परीक्षा दिनुपर्ने हुँदा मा.वि.बाट ३ जना र हिमगिरीबाट दुई जनाले मात्रै परीक्षा दिए।
२०२५ सालमा जुम्लामै परीक्षा गर्ने निर्णाय भयो। त्यो निर्णयले मा.वि.बाट ६ जना र हिमगिरीबाट १० जनाले परीक्षा दिए। परिक्षामा सतप्रतिशत सफल भएपछि बल्ल जुम्लाबासीको घैंटोमा घाम लाग्यो।
२०२६ सालमा केटीले पनि एसएसली दिए। कालिकाेट गेलाकी नन्दाकुमारी शाही एसएलसी पास हुने पहिलाे केटी हुनुहुन्थ्यो।
२०२८ सालमा नयाँ शिक्षा लागू हुँदा २०२९ सालमा हिमगिरी प्रौढ मा.वि. आर्थिक अभावले खारेज भयो।
प्रस्तुति: महेश नेपाली