स्वराेजगार-५

'काेराेना आएपछि कमाइ बन्द भयो' (भिडियाे)

याे कथा जुम्लाकाे चन्दननाथ -७ मिचाकाे हाे।

कथा २०६३ साल साउन महिनाबाट सुरु भएकाे छ। तर यसकाे अन्त्यकाे कुनै ठेगान छैन। 

त्याे दिन सम्झिदा उनका आँखा रसाउँछन्। उमेर ११ वर्षकाे थियाे। उनी छ कक्षा पढिरहेका थिए। उनी मतलब मिचाका मनाेज नेपाली।

किताब र कापी भरिएकाे झाेलाले काँध झ्याँकेकाे थियाे। घर पुग्नेबित्तिकै बिसाएर अन्नि(अर्नी) खाने साेचिरहेका थिए। तर, घर पुग्दा रुवाबासी चलिरहेकाे थियाे।

आमा थला परेकाे महिना दिन बितिसकेकाे थियाे। आमा के कारणले थलिइन्? मनाेजले आज पनि थाहा पाउन सकेका छैनन्। तर आमाकाे मधुरा आँखाले छाेरा-छाेरीतिर टुलु-टुलु हेरेकाे उनलाई याद आइरहन्छ। भाइ बहिनीहरु केही बाेल्दैनथे। बाेल्न त अरु पनि बाेल्दैनथे। उनलाई पनि बाेल्न खासै मन लाग्दैन थियाे।

राम्राे विद्यार्थीमा गनिएका मनाेज स्कुल छुटाउन चाहँदैनथे। तर कक्षामा आमाका मुधुरा आँखा र मलिन अनुहारको  यादले  उनी टाेलाइरहन्थे। हाफ टाइममा साथीहरु खेल्न जाउँ भन्थे। उनी हाँसेर जान्थे। हाँस्दा-हाँस्दै हाँसाे राेकिन्थ्याे र आमाको याद आउँथ्याे। ममतामयी आमाका मधुरा आँखा र मलिन अनुहारले उनकाे बाल-सुलभ मन छिनछिनमा परिवर्तन भइरहने बर्खामासकाे माैसम जस्ताे हुन्थ्याे। छुट्टि हुँदा आमा सम्झिदै घर पुग्थे।



विदेशीकाे भारी बाेकेर मालिक बनेका नाेर्बु (भिडियोसहित)



घर पुग्दा रुवाबासी चलेकाे दिन उनकी आमा बितेकी थिइन्। किताब र कापीकाे झाेलाले गलेका काँध काटिए जस्ता भए। उनी उभिरहे मात्र। न आमा भनी रुन सके, न कसैसँग बाेल्न नै। त्याे क्षण उनी आज पनि सम्झिन्छन् र भावुक हुन्छन्।

आज उनी पच्चीस वर्षका भए। याे उमेरमा आइपुग्दा उनी पलम्बिङका सिपालु मिस्त्री भएका छन्। उनकाे बजार इन्डियाकाे हिमाञ्चल छित्कुलमा छ। त्याे सीप उनले जुम्लामा पनि देखाउन थालेका छन्।

आमा बितेपछि स्कुलकाे हाजिरीमा मनाेजकाे नाममा धेरैजसो 'ए' संकेत लाग्न थालेकाे थियाे। 'ए' माने एप्सेन्ट। कहिले एप्सेन्ट त कहिले प्रिजेन्ट हुँदै दुई वर्ष बिते। आमा बितेकाे पनि दुई वर्ष भइसकेकाे थियाे। घरमा नाैली आमा आएकी थिइन्। नाैली आमाकाे व्यवहार पनि नाैलाे नै थियाे। जुन उनले बितेकी आमाबाट कहिल्यै भाेगेनन्।

पढाइ बिग्रिदै गएकाे थियाे। त्यही बीचमा उनले पढाइ छाेडे। बाबू रक्सी खाइरहने। नाैली आमा अनेक खालका व्यवहार देखाइरहने।

'कापी, किताब, झाेला, स्कुल ड्रेसकाे अभाव हुन थालेपछि बीचैमा पढाइ छाेडेर सुर्खेत हिँडेकाे थिए,' उनले भने, 'हामीले नजाने पनि सजिलै सिक्ने भनेकाे भाडा माझ्न हाे। चार महिना हाेटलमा भाँडा माझे। फेरी जुम्ला आए।' 

स्कुल फेरि जान सक्ने स्थिति थिएन। नाैली आमाकाे नाैला-नाैला व्यवहार खेप्दै सुख दुःख गरे। जब मनमा आँट आउन थाल्याे, त्यसपछि उनी इन्डिया हिँडे। कुल्ली, पल्लादारी, भरिया उनका बायाेडाटा हुन्। यही बायाेडाटा इन्डियाका गल्ली र गल्छेयामा बिकाइरहेका थिए।

याे बायाेडाटा प्राप्तिकाे लामाे प्रकृया छ। जुन, आज हामी तपाईंहरुलाई देखाउँदैछाैं।

२०७१ सालमा बिहे भयाे। बाल-विवाह गरेका भए पनि गाउँघरकाे लागि याेग्यता पुगेका बेहुला थिए। बेहुला हुनु जिम्मेवार हुनु हाे। तर जिम्मेवारी निभाउन काम गरेर देखाउनु पर्छ। काम नसिकेकाकाे लागि बजारमा ठाउँ हुँदैन। त्यसैले उनी गाउँका दाजुभाइसँग इन्डिया जाने, व्यापार गर्ने, भारी बाेक्ने, थाेरै पैसा कमाउने, घर फर्किने गर्न थाले।

बायाेडाटा बन्न यसरी नै सुरु भएकाे थियाे। यसै सिलसिलामा उनी हिमाल्चलकाे छित्कुल पुगेका थिए। आज पनि त्यहाँ उनकाे याेग्यताकाे कदर भइरहन्छ।



'ओखर राेप्याे भने पेन्सन आउँछ' (भिडियो)



'त्यहाँ एकजना पुरन्चन पाठक नाम गरेका पलम्बर थिए। उनीले पाइप फिटिङ्सकाे ठेक्का लिएका थिए। हामी जुम्लीहरु उनकाे काम गर्न गएका थियौं,' उनले भने, 'म खासै गाह्राे काम गर्न नसक्ने भएकाले उनीतिर हेर्दै उनलाई चाहिएकाे सामान हातमा पुर्‍याउने गरिरहेकाे थिए। त्याे उनलाई चित्त बुझेछ। भाेलिपल्टबाट मलाई हेल्पर बाेलाए।' 

पाठकले सुरुकै दिन भारु तीन सय ज्याला ताेके। मनाेजले पलम्बिङकाे काम मन लगाएर गरे। मन लगाएर गरेकाे हुनाले हाेला काम छिट्टै सिके। याेग्यता बन्ने क्रम सुरु भयाे। उनले भने, 'काम राम्राे हुँदै गएपछि दुई महिनामै ज्याला बढाएर दिनकाे भारु पाँच सय पुर्‍याइदिए।'

उनी खुसी हुँदै काममा दत्तचित्त भएर लाग्न थाले। एक वर्ष पुरै काम गरेपछि अरु सालभन्दा राम्राे कमाइ भयाे। पाठकसँग बिदा मागेर घर फर्किए। उनले पनि फेरि आउँदा आफूलाई सम्झिनु भनेर बिदा दिए।

राम्राे कमाएर घर फर्किएका उनी फेरि पाठक खाेज्दै छित्कुल पुगे। पाठकले उनकाे जिम्मेवारी बढाएर काम दिए। एक हिसाबले मनाेजकाे बढुवा भयाे। पाठकले उनकाे रुचिलाई कदर गर्दै दक्ष मिस्रीकाे दर्जा दिएका थिए।  उनकाे पुरै साइड नै मनाेजले नै सम्हाल्न थाले। पाठक खुब खुसी भए।

कमाई निकै राम्राे हुन थाल्याे। त्यही बीचमा घरकाे याद आयाे। फेरि बिदा मागे। फर्किने बाचासहित जुम्ला हिँडे। केही समय जुम्ला बसेर लागे उतैतिर। उनलाई लागेकाे थियाे, यसपालि पाठकले मलाई फेरि बढुवा गर्नेछन्।

त्यही आशामा उनी पाठक खाेज्दै हिमाञ्चल गए। तर उनी त बितिसकेका रहेछन्। आफ्ना गुरु बितेकाे खबर सुनेपछि निकै दुखी भए। पहिला दुबैजना मिलेर काम गरेका साहुसँग बुझे। उनी बित्नुको कारण यस्ताे रहेछ- 'दुई वटा दाँत साह्रै दुखेछन्। त्यसपछि अस्पताल गएर निकाली फालेछन्। सुर्तीका पारखी पाठकले घाउ भएकाे ठाउँमा सुर्ती हालेछन्। त्यसपछि घाउमा इन्फेक्सन भएछ। इन्फेक्सन बढेछ। क्यान्सर भएछ। घाँटीमा समातेछ। क्यान्सरले उनी बितेछन्।'

'मैले जीवनमा धेरै सम्झिने भनेकाे दुई जनालाई हाे। इन्डियामा गुरु र घरमा आमालाई,' उनले भावुक हुँदै भने, 'अब त यी दुबै सम्झनामा मात्रै रहे। म इन्डिया हुँदा आमा सम्झिन्थे। जुम्ला हुँदा गुरु। हरेक वर्ष आउने आमाकाे मुख हेर्ने दिन म कसकाे मुख हेरु? हरेक वर्ष दाेहाेरिने गुरु पुर्णिमा मेरा लागि फिक्का छ।'

त्यसपछि छित्कुलमा पलम्बिङ गर्ने मान्छेकाे अभाव भएछ। मनाेज पाठकले काम लिने साहुहरु भेट्न गए। उनीहरुले भने, 'काम धेरै छ। औजार किनेर काममा आउ।'

पाठककाे उत्तराधिकारीकाे रुपमा जुम्लाका मनाेज उदाए। त्याे साल तीन महिना लगातार काम गरेर मनाेजले  एक लाख पचास हजार भारु नेपालगन्ज पुर्याए। पछिल्लो वर्ष पाँच महिना बसे। साँढे चार लाख भारुका बिटा नेपालगन्जबाट सटही गरि जुम्ला पुर्याए।

मार्केट राम्राे बन्याे। छित्कुल टुरिष्ट एरिया भएकाे हुनाले नयाँ-नयाँ डिजाइनका बाथरुममा नयाँ-नयाँ आइटमका सामानहरु फिटिङ् गर्नुपर्थ्याे। काम धेरै पाइन्थ्यो। कमाई राम्राे हुन्थ्याे।



मीनबहादुर, जसले जुम्लाकाे गाउँमा देशकै ठूलाे फुजी-स्याउ बगैँचा बनाए

हरेक वर्ष उतै जाने र आउने गरिरहेका मनाेज अघिल्लो वर्ष फेरि आउने भनेर बाचा गरि जुम्ला फर्किएका थिए। 'त्यहाँका हाेटल साउजीहरु पलम्बर भनेर सम्मान गर्थे,' उनले भने, 'दिनभर काम गरेपछि हाेटलकाे आरामदायी बास पाइन्थ्यो। मालिकहरु खान दिन्थे। त्यसमाथि वर्षेनी पाँच सात लाख रुपियाँ घर पुग्न थालेपछि किन नजाने र भन्ने लाग्छ।'

अघिल्लो वर्ष जाने तयारी गर्दै गर्दा काेराेना आयाे। भारतबाटै मजदुरहरु विचल्ली परेर घर आइरहेकाे सुन्दा उनले घरकाे ढाेकाबाहिर पाइला उठाउन सकेनन्। 

जुम्लामै काम खाेजे। महिनाकाे एक दुईवटा बाथरुमकाे कामले उनकाे कमाई पुरा भएन। याे वर्ष त जसरी जान्छु साेचेका थिए। तर भारतकाे हालत काेराेनाकाे दाेस्राे लहरले साह्रै खराब भइदियाे। मन भारत पुगे पनि पनि ज्यान पुर्याउन सकेनन्।

आजभोलि मनाेज जुम्ला बजार र आसपासका गाउँहरुमा बाथरुमकाे काम गरिरहेका भेटिन्छन्। राम्रा हाेटलका बाथरुममा 'पाई फिटिङ्स'काे काम पनि आइरहेको छ। तर त्याे पर्याप्त छैन।

एक-दुई गरेर राम्राे हुँदै गएकाे खण्डमा यतै बसेर जीविका चलाउने साेचेका उनी अवस्था समान्य भएकाे खण्डमा पुरानै मार्केटमा फर्किने साेचिरहेका छन्। 

प्रकाशित मिति: : 2021-05-20 08:43:00

प्रतिकृया दिनुहोस्