स्थानीय सेराेफेराे

नेपालगञ्जलाई महानगरपालिका बनाउने गरी काम गरेका छाैँ: उप–मेयर थापा मगर [भिडियाे]

बाँकेको एक मात्र उप–महानगरपालिका नेपालगञ्ज उपमहानगरपालिका मध्य तथा सुदुरपश्चिम क्षेत्रको एक महत्वपूर्ण बजार हो। आजभन्दा अघिल्लो पुस्ता बस्तु खरिद, विक्रिका लागि यही बजारमा भरपर्ने अवस्था थियो। मध्य तथा सुदुरपश्चिम क्षेत्रका नागरिक यही बजारमा पुगेर आफ्नो उत्पादित बस्तु बेच्ने र आवश्यक बस्तु खरिद गरी ल्याउन बजार हो, यो।

अहिले गाउँ–गाउँमा विकास पुगेसँगै अब भने नेपालगञ्ज बजारको भरपर्नु अवस्थाको अन्त्य भएको छ। तर, पनि मध्य र सुदुरको गेट वे का रुपमा यो क्षेत्र रहेको नै छ। अघिल्लो पुस्ताले देखेको नेपालगञ्ज बजार अहिले विकसित भएर आफ्नो स्वरुप परिवर्तन गरेको छ।

०७४ सालमा स्थानीय तहको निर्वाचन भएसँगै नेपालगञ्ज उपहानगरपालिकामा जनप्रतिनिधिले काम गर्न थालेको पाँच वर्ष पुग्न लागेको छ। संविधानका व्यवस्था भएअनुसार एक पटक निर्वाचित जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष मात्र हुन्छ। ०७४ सालमा निर्वातिन नेपालगञ्ज उप–महानगरपालिकामा के जनअपेक्षा अनुसार काम भएको छ ? जनप्रतिनिधि आएपछि भएका परिवर्तन के हुन् ? लगायत विषयमा नेपालगञ्ज उप–महानगरपालिकाका उप–मेयर उमा थापा मगरसँग गरिएकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छः


हामी नेपालगञ्ज उप–महानगरपालिकामा निर्वाचित भएर आएपछि दुई/तीन वटा कुरालाई प्राथामिकतामा राखेर योजनाहरु निर्माण गर्ने काम गर्‍यौँ। जसमा एउटा भौतिक निर्माण त थियो नै साथै सामाजिक अवस्थाको विकासका लागि पनि काम गर्‍यौँ। नेपालगञ्ज उप–महामनगरपालिका साँस्कृति बाहुल्यता रहेको ठाउँ हो। केही पछाडि रहेका समुदाय पनि छ। पछाडि पारिएका समुदायको आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा पहुँच बृद्धि गर्ने र सकेसम्म उहाँहरुलाई सीपमुलक तालिम दिने भन्ने हाम्रो उदेश्य थियो।

त्यस्तै शिक्षामा पनि काम गर्ने अर्को योजना थियो। शिक्षामा पनि विशेष गरेर मधेशी, मुस्लिम बाहुल्यता रहेको ठाउँ भएको हुँदाखेरी त्यस समुदायका महिलाहरु अलि बढी पछाडि रहेका थिए। उनीहरुलाई फोकस गरेर महिलाहरुलाई शिक्षामा पहुँच दिलाउनका लागि गर्लस् स्कुल र गर्लस् कलेज स्थापना गरेका छौँ। किनभने मुस्लिम समुदायमा महिला, पुरुषसँगै पढ्ने वातावरण छैन। उनीहरुको सहजताका लागि त्यस किसिमको स्कुल स्थापना गरेका हौँ।

भौतिक निर्माण अन्तर्गत नेपालगञ्ज उप–महानगरपालिकाभित्र हामीले १०० किलो मिटर पक्की सडक निर्माण गरेका छौँ। त्यसबाहेक साना–साना पिसीसीहरु, ग्रावेलहरु, घर–घरमा पुर्‍याउने लक्षअनुसार अगाडि बढाएका छौँ।

अर्को सामाजिक विषयमा बालविवाह, प्रौढ शिक्षा, खुला दिशा मुक्तको कुरा, आधारभूत स्वास्थ्य सेवाहरु प्रत्येकले पाउनुपर्ने कुराहरु, यो कुरालाई मध्य नजर गरेर उप–महानगरपालिकाले काम गरेको छ। त्यस्तै बालमैत्री नगर बनाउन बालमैत्री वडा घोषणा गर्न जरुरी सम्झिएर अहिले ११ वटा वडालाई बालमैत्री वडा घोषणा गरिसकेका छौँ। 

पूर्ण साक्षरका लागि पहल गरिरहेका छौँ। स्वास्थ्यमा पहुँच बृद्धि गर्न प्रत्येक वडाहरुमा स्वास्थ्य संस्थाहरु स्थापना गरेका छौँ। नेपाल सरकारले तोकेको आधारभूत स्वास्थ्य सेवाहरुमा स्थानीय सरकारले दिनुपर्ने जुन अधिकार छ त्यसलाई वडा कार्यालयबाट दिने प्रावधानहरु बनाएका छौँ।

०००

नेपालगञ्ज उप–हानगरपालिका गेट वे पनि हो। साविकको मध्ये र सुदुरपश्चिमको गेटवेका रुपमा नेपालगञ्ज उप–महानगरपालिकालाई लिइन्छ। आर्थिक बृद्धिदर र पर्यटन पनि नेपालगञ्ज उप–महानगरको प्राथामिकतामा परेको छ। पर्यटकीय नगरिका रुपमा अगाडि बढाउनका लागि नेपालगञ्ज उप–महानगरपालिकालाई अगाडि बढाएका छौँ।

त्यसका लागि हामीसँग भएका ठूला–ठूला दुई वटा तालहरु वाटरपार्क र कान्ती ताललाई स्तर उन्नती गर्दै सञ्चालनमा ल्याएका छौँ। साना–साना पार्कहरु, चिडियाखाना पनि हाम्रो प्राथामिकतमा परेको छ।

त्यस्तै इन्टरनेश्नल एरपोर्टका लागि पनि पहल भइरहेको छ। नेपालगञ्ज त्यसै गेट वेका रुपमा रहेको ठाउँ हो र यहाँ अन्तराष्ट्रि पर्यटकहरु आउने हुँदा अन्तराष्ट्रिय उडान गर्ने गरी काम भइरहेको छ र काम धेरै अगाडी बढेको छ। 

नेपालगञ्ज उप–हानगरपालिकालाई महानगरपालिका बनाउने योजनामा छौँ। महानगरपालिका बनाउनका लागि नगरसभाबाटै प्रस्ताव पास गरेका छौँ। साथै त्यसको डिपिआर पनि बनाइसकेका छौँ। अहिले हामी त्यसको समग्र आर्थिक विश्लेषण, भौतिक, सामाजिक विश्लेषण गर्ने कामहरु गरिरहेका छौँ। 

०००

नेपालगञ्ज उप–महानगरपालिका औद्योगिक र पर्यटकीय नगरको रुपमा चिनिन्छ। जसले गर्दा यस उपहानगरमा कृषिका लागि जमिनहरु अलि कम छ। तर, पनि साविकका १० वटा गाविसहरु उपमहानगरमा जोडिन आएको हुँदाखेरी त्यस गाविसमा रहेका जग्गाहरुको जोतभोग, सही सदुपयोग गर्नेका लागि कृषिलाई प्राथामिकता दिँदै कृषि कार्यक्रमहरु लिएर आएका छौँ।

उप–महानगरपालिकामा कृषिका लागि सिंचाइको ठूलो समस्या छ। त्यसलाई निराकरण गर्नका लागि प्रत्येक वडामा कृषि समूह बनाउने र बोरिङको ब्यवस्था गरेर सिंचाइ गरेर कृषि उत्पादन बढाउने कार्यक्रम ल्याएका छौँ। साथै कृषिमा बढी उत्पादन गर्नेलाई अनुदानका कार्यक्रम पनि ल्याएका छौँ।

०००

युवाहरु भविष्यका कर्णधार भनिरहँदा वर्तमानमा उहाँहरुसँगको साझेदारी महत्वपूर्ण छ। त्यस कारणले सकेसम्म युवालाई शिक्षामा पहुँच र सीपमा अभिवृद्धि गर्ने गरी काम भइरहेको छ। युवालाई विदेश जानबाट रोक्न लागि उपमहानगरले ट्रेनिङ सेन्टरको स्थापना पनि गरेको छ। त्यसबाट सीप सिकाएर युवालाई स्वदेशमै रोजगार बनाउने काम पनि हाम्रो भइरहेको छ।

ट्रेनिङ सेन्टरमा युवालाई आवश्यक्ताका आधारमा तालिमहरु दिन्छौ।

०००

हामी निर्वाचित भएर आउँदा नेपालगञ्ज उप–महानगरपालिकामा फोहोरको व्यवस्थापनको एउटा ठूलो चुनौति थियो। त्यसका लागि हामीले एसियाली विकास बैंकसँगको आर्थिक सहयोगमा देशैभरीमा ल्याण्डफिल्ड (फोहोर फाल्ने ठाउँ) साइडको विकास गर्ने नेपाल सरकारले जुन योजना बनाएको थियो। त्यसमा देशैभरीमा नेपालगञ्ज उप–महानगरपालिकाले मात्र ल्याण्ड फिल्ड साइडको निर्माण गरेको छ। यो एउटा हाम्रो सफल काम हो, भन्ने मलाई लाग्छ। 

उत्पादित फोहोरलाई व्यवस्थापन गर्न ल्याड फिल्ड साइड निर्माण भएको छ। अबको करिब ४० देखि ५० वर्षसम्म त्यस साइडमा उत्पादित फोहोरलाई व्यवस्थापन गर्न सकिन्छ।

साथै फोहोरबाट केही आर्थिक उपार्जन गर्न पनि सकिन्छ भनेर प्राइभेट क्षेत्रसँगको साझेदारीमा काम पनि भइरहेको छ। स्वास्थ्य जन्य फोहोर पनि हाम्रो चुनौति थियो। यसलाई व्यवस्थापन गर्नका लागि पनि जिआईजेडको साझेदारीमा काम भइरहेको छ। र, यो दुई वर्षको योजना हो। हामी भए पनि नभए पनि यो काम अगाडि बढिसकेको छ।

प्रकाशित मिति: : 2022-01-09 17:43:00

प्रतिकृया दिनुहोस्