आज महासचिव छान्दै नेकपा एकीकृत समाजवादी, क-कसको छ दाबी ?

नेकपा (एकीकृत समाजवादी)ले आज बिहीबार महासचिव चयन गर्दैछ। 

मंगलबारबाट जारी केन्द्रीय कमिटी बैठकले पार्टीको संरचना र अन्य पदाधिकारी टुंग्याउन अघि नै महासचिव चयन गर्ने तयारी रहेको नेकपा एसका प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले जानकारी दिए । महासचिवमा कसलाई ल्याउने भनेर छलफल चलिरहेको भन्दै खतिवडाले थपे, 'पुराना-नयाँ पुस्ता दुवैको दाबी छ। हामी छनोट गर्छौं ।'  

नेताहरूका अनुसार महासचिवका लागि वेदुराम भुसाल, राजेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, गंगालाल तुलाधार, प्रकाश ज्वाला र विजय पौडेललगायत नेताहरूले दाबी गरेका छन्। तीमध्ये भुसाल, पाण्डे र पौडेलको दाबी सशक्त रहेको नेकपा एसका नेताहरूले बताएका छन्।

 बुधबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रस्ताव सुझावसहित सर्वसम्मतले पारित गरिसकेको छ। 

बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा  बस्नेछ। नेकपा (एमाले) बाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो। पार्टीको हालसम्ममा देशका ५५ जिल्लामा कार्यसमिति गठन भइसकेको छ। 

प्रकाशित मिति: : 2021-09-23 09:10:00

प्रतिकृया दिनुहोस्