प्रेम गरेको बहानामा बम्बैको कोठीमा बेचेजस्तो भयो माओवादी आन्दोलन: विप्लव (भिडियाे)

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले माओवादी आन्दोलन थाहै नदिई प्रेम गरेको बहाना गरेर बम्बै (मुम्बई)को कोठीमा बेचेको जस्तो भएको बताएका छन्। बुधबार पोखरामा अखिल क्रान्तिकारीकाे २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘गोरी बहिनीलाई विवाह गर्छु भनेर काठमाडौं ल्याएर रातारात बम्बै पुर्याए जस्तो भयो त,’ उनले भने, ‘थाहै नदिई प्रेम गरेको बहाना गरेर बम्बैको कोठीमा बेचेको जस्तो भयो, माओवादी आन्दोलन। हामी युवालाई जनवाद र साम्यवादको सपना देखाएर युद्ध मैदानमा होमेर नेताहरुले अहिलेको अलिशान जीवन बिताउँदा यही ठिक हो भन्ने कुरा, बाबुरामले कम्युनिस्ट आन्दोलन नै छोडेर हिड्ने कुरा यो नैतिक हुन्छ ?’

हजारौं मान्छेलाई बलिदानमा होमेर त्यो मोर्चा छोडेर भाग्न पाइन्छ? उनले प्रश्न उठाएका छन्। मोर्चा छोडेर भाग्ने कमाण्डर हुने या नहुने भन्दै उनले प्रश्न उठाएका छन्। त्यस्तो नेता कहिले पनि जनताको नेता नहुने उनले बताएका छन्।

कसैले नपत्याए पनि पार्टीभित्र आफूहरुले विद्रोह गरेको उनको भनाई छ।

‘एक जना नेताले भन्नु भएको छ। मलाई र मेरो प्रतिष्ठालाई २० वर्ष कसैले हल्लाउन सक्दैन,’ उनले भने,‘जनताले बनाएको नेताले,गाउँको झुपडीले बनाएको नेताले। किसान लडेर बनाएको नेताले कसैले हल्लाउन सक्दैन भनेर दम्भ देखाउन हुन्छ ?’

२० वर्ष होइन आफूहरुले विद्रोह थालेको २ वर्षमै सरकार ढलेको उनको दाबी छ। पार्टी नै बन्दैन भनेर ठोकुवा गरे पनि आफूहरुको विद्रोह थालेको उनले बताए।

‘पैसाले पार्टी बनाउने होइन। लालचले पार्टी बनाउने होइन,’ उनले भने, ‘बलिदान र संघर्षले पार्टी बनाउँछौं हामीले भनेका थियौं, हामीले बनायौं।’

देशलाई माया गर्ने बीच गएर अभियान छेडेको उनले बताए। जनताको जिम्म लिन नसक्ने राज्य आफूहरुले नमान्ने उनले बताए। खुन, पसिना चुस्ने दलालविरुद्ध लडेर आफूहरुको लडाई रहेको उनको भनाई छ। देशको लागि लड्दा ज्यानै गुमाउनु परे पनि गुमाउने भनेर आफूहरु निस्किएको उनले बताए।

अखिल क्रान्तिकारीको यो सम्मेलनमा देशैभरबाट विद्यार्थी कार्यकताहरु सामेल छन्।

प्रकाशित मिति: : 2021-09-22 18:38:00

प्रतिकृया दिनुहोस्