वैचारिक लेखन तथा प्राध्यापन क्षेत्रमा क्रियाशील टीकाबहादुर बस्नेतले ‘माक्र्सवाद र उत्तर आधुनिकतावाद’ मार्फत् नेपाली साहित्य समाजले हाल खेपिरहेको वैचारिक रिक्तता र शून्यताको तलाउमा ढुङ्गा फ्याँकेका छन्। वैचारिक रुपमा शिथिल र दिग्भ्रमित देखिने नेपाली साहित्यका जटिल मोडहरू पहिल्याउँदै प्रगतिशील लेखनलाई नै अन्तिम निष्कर्षमा पुर्याएका छन्। माक्र्सवादी दृष्टि चेतनाबाट नेपाली साहित्यको साङ्गोपाङ्ग विश्लेषण गरिएको यो पुस्तकले नेपाली समाज र साहित्यको सैद्धान्तिक मनोदशालाई माक्र्सवाद र उत्तर आधुनिकतावादको तराजुमा अध्ययन गरिएको छ।
मूलतः दर्शन र समालोचना गरी दुई विधामा नेपाली समाज र साहित्यको व्याख्या गरिएको छ। दर्शनको प्रारम्भिक ज्ञान, माक्र्सवाद र उत्तरआधुनिकतावादबारे गहन विमर्शका साथै दर्शन र राजनीतिक पारिभाषिक शब्दहरूको संक्षिप्त विश्लेषण दर्शन खण्डका अध्यायहरू हुन्। समालोचनाअन्तर्गत मुलतः नेपाली राजनीतिक परिवर्तनमा प्रगतिवादी कविताको भूमिकाको खोज महत्त्वपूर्ण छ, भने प्रगतिवादी कवि नेत्रलाल अभागीको कविता यात्रा र प्रवृत्तिको गहन विश्लेषण र प्रगतिवादी नेपाली कवितामा ध्वनिको खोज निकै सान्दर्भिक अध्यायहरू हुन्।
जीवन र जगत्लाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण दर्शन हो। सोहीअनुरुप धारणा निर्माण र जीवन व्यवहारलाई निर्धारण गर्न दर्शनले भूमिका खेल्छ। विश्व ब्रम्हाण्ड ईश्वर, परमात्मा वा अदृश्य शक्तिबाट पैदा भएको चेतना वा आत्मालाई सृष्टिको आदितत्त्व मान्ने र संसारलाई अपरम्पार र अबोधगम्य ठान्ने दर्शन आध्यात्मवाद हो भने, पदार्थलाई सृष्टिको आदिम रुप र चेतनालाई पदार्थको विशिष्ट गुण मान्ने दर्शन भौतिकवाद हो।
आदिम साम्यवादी समाजको अन्त्य र दासयुगको आरम्भपछि पक्षधरता निर्माण भयो। वर्गीय भेदले निर्माण गरेको सर्वहारा वर्गको क्रान्तिमार्फत् वैज्ञानिक समाजवाद निर्माण गर्न सकिन्छ, भन्ने दृष्टिकोण नै माक्र्सवादी दर्शन हो। माक्र्सवादले सामाजिक वर्गहरू बीचको संघर्ष र पुँजीवादी अर्थतन्त्रमा आर्थिक सम्बन्धको परिभाषा निर्माण गर्छ र साम्यवादको परिकल्पना गर्छ।
पुँजीवादले उत्तर पुँजीवादमा प्रवेश पाएपछिको जुनस्वरुप निर्माण हुन्छ, त्यसलाई उत्तरआधुनिकतावाद भनेर बुझिन्छ। यसलाई हजारौँ परिभाषामा परिभाषित गर्न खोजिए पनि उत्तरआधुनिकतावाद मूलरुपमा आधुनिकतावादको विरुद्ध विकास भएको मान्यता हो। लेखकले पुस्तकमा पर्याप्त तर्क र तथ्यसहित माक्र्सवाद र उत्तरआधुनिकतावाद विपरित सिद्धान्त भएको पुष्टि गरेका छन्।
नेपालमा उत्तरआधुनिकतावादमाथि विमर्शको शिलशिला त्यति लामो पाइँदैन। नेपालमा उत्तरआधुनिकतावादको खास बहस दर्शन र साहित्यको क्षेत्रमा बढी हुने गरेको पाइन्छ। साहित्यमा यसको प्रभाव बलियो बन्दै गए पनि यसप्रति समालोचनात्मक दृष्टिकोणबाट प्रसस्त अध्ययन हुन बाँकी नै छ। आज प्रगतिशील विचारधारा अँगालेर कलम चलाउने लेखकहरूले समाज र सिद्धान्तको मृत्युको परिकल्पना गर्दै साहित्य निर्माण गरेका उदाहरण छन्।
लेखनमा निर्वाध स्वतन्त्रता र विधागत अस्पष्टतामा निर्माण भएको साहित्य अकविता, अनाटक, अउपन्यासले क्रमशः मूल्य गुमाउँछ। माक्र्सवाद र उत्तरआधुनिकतावादको संक्षिप्त विश्लेषण गरेको पुस्तकले सम्पूर्ण तर्क र तथ्यगत पूर्णता हासिल गरेको छ। माक्र्सवादी विचारधाराको अध्ययन, वहस र प्रयोग गर्ने नवपाठकका लागि यो पुस्तक छनौट बन्न सक्छ।
तर, यसले आधुनिकतावादको व्याख्या नगरी सिधै उत्तरआधुनिकतावादको विश्लेषण गर्छ। समाजसँगको अन्तर्सम्बन्ध र विपरितार्थ पृष्ठभूमिको अभाव छ। यो किताब संक्षिप्त भएका कारण माक्र्सवाद र उत्तरआधुनिकतावादका सहायक तर, अन्य गम्भीर विषयमा प्रवेश गरेको छैन। समग्र पाटाहरूको उत्खनन् गर्न भ्याएको छैन।
नेपाली कविता लेखनमा माक्र्सवादी चिन्तनको प्रयोग र यसको विकाशक्रममा उत्तरआधुनिकतावादको प्रवेश पुष्टि गर्न नेपाली राजनीतिक परिवर्तनमा प्रगतिवादी कविताको भूमिका अध्यायले मद्दत गरेको छ। प्रगतिवादी कवि नेत्रलाल अभागीका कविता यात्रा र प्रवृत्तिले त्यसको पुष्टि गर्ने सामथ्र्य राख्छ।
लेखकले मूलतः अभागीको दुई कृति ‘सतिसाल मात्र ठिङ्ग उभिन सक्छ’ (२०४२) र ‘वर्गप्रेम’ (२०६२) माथि विश्लेषण गरेका छन्। अभागीका कविता मुलुक परिवर्तनका अस्त्र थिए। राजनीतिक अनुशासनका शास्त्र थिए। अभागीका संग्रहले निर्माण गरेको निश्कर्षलाई लेखकले वर्ग पक्षधरता, वर्ग प्रतिवद्धता र वर्गसंघर्ष भनेका छन्।
वर्तमान कम्युनिष्ट आन्दोलनभित्रका राजनीति, कला साहित्य र संस्कृतिका मूल्यहरू निरन्तर विघटनको संघारमा छन्। दलित, आदिवासी, महिला तथा सिमान्तकृत क्षेत्र र समुदायहरू वैचारिक अभाव भोगिरहेका छन्। अनेक संघर्षबाट निर्माण भएको आजको समाज किन सैद्धान्तिक रुपमा दिग्भ्रमित छ? हरेक दशपन्ध्र वर्षमा लड्दै आएको वर्ग किन नेतृत्वविहीन छ? आजको लडाई के हो भने उत्तरआधुनिकतावादलाई परास्त गर्दै प्रगतिशील विचारधाराको लेखन, चिन्तन र निरन्तर अभ्यास हो।
कुनै पनि आन्दोलनले वैचारिक मार्ग निर्माण गर्न सकेन भने प्राप्त उपलब्धिको विघटन निश्चित प्रायः हुन्छ। माक्र्सवादको वैज्ञानिक सान्दर्भिकताबाट अल्मलिएर उत्तरआधुनिकतावादको अवैज्ञानिक मान्यतामा प्रवेश गरेको नेपाली साहित्यको व्याख्या हो–‘माक्र्सवाद र उत्तरआधुनिकतावाद’।
पुस्तक : माक्र्सवाद र उत्तरआधुनिकतावाद
लेखक :टीकाबहादुर बस्नेत
प्रकाशक : विएन पुस्तक संसार
मूल्य : ४२५