संखुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुलेको छ। यसअघि प्रहरीले हत्याकाण्डमा मुख्य आरोपी भन्दै लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।
तर, सो हत्याकाण्डमा अन्य चारजना आरोपीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ। हत्याका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप चारजनालाई सोमबार बिहान सार्वजनिक गरेको हो। हत्या घटनामा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीको संलग्नता देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
गत २१ भदौमा ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, आठ वर्षीय नाति दिवेन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो।
मृत्तक बुहारी रञ्जनाको मोबाइल लोकबहादुरको भाई नरेशको साथमा भेटिएपछि उनी माथि अनुसन्धान सुरु गरिएको थियो।
घटनाको अनुसन्धानका लागि संघीय एकाइ प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल,प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो डीएसपी रुगमबहादुर कुँवर, सङ्खुवासभा प्रहरी प्रमुख डिएस्पी लालध्वज सुवेदी नेतृत्वको टोलीले अनुसन्धान गरेको थियो।
घटनामा संलग्न लोकबहादुरलाई सार्वजनिक गरिएपछि स्थलगत अनुसन्धानको जिम्मा जिल्लालाई छोडेर फर्किएका थिए । अहिले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा सहितको टोली घटनास्थलमै खटिएका छन् ।
यसअघि पक्राउ परेका लोकबहादुरले आफूमाथि विभिन्न लाञ्छना लगाएको, हेपेकाले तेजबहादुरको हत्या गरेको र अन्यले पनि देखेकाले थप पाँच जनाको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको थियो।न्युज कारखाना