घामको घमन्जा

घामका यी विश्रृङ्खलित ‘गोला’हरू कति थेग्ला धरतीले?

Breaknlinks
Breaknlinks

घामका ताता गोलाले धरती सेकिइरहेका बेला बंगालको खाडीमाथि खेरिएको हावाको झोंक्का निकै शक्तिशाली भइरहेको थियो। 

आइतबार राति छाल बटुलिएर टकराउँदा–टकराउँदै बंगालको खाडीबाट उठेको सामुद्रिक आँधीका कारण भारत र बंगलादेशमा कम्तीमा ६५ जना मानिसको मृत्यु भयो। यसले दशौं लाख मान्छेको जनजीवन अस्तव्यवस्त बनाएको छ। 

मौसम प्रणालीमा हुने बदलाबका कारण सामुद्रमा उठ्ने ज्वारभाटाको सगोल रुप आँधी हो। जसले वर्षा अनि ठूलो हरीबतास निम्त्याउँछ र मानवीय अनि भौतिक बिनास गर्छ। 

त्यसको दुई दिनअघिमात्रै पपुवा न्युगिनीको एउटा गाउँमा पहिरो जाँदा एक हजार जनाभन्दा धेरै मानिसको मृत्यु भएको छ। पहिराले भत्काएका भग्नावशेषमुनि अझै २ हजारभन्दा धेरै मानिस पुरिएको हुनसक्ने सरकारी अधिकारीहरूले अनुमान लगाएका छन्। 

पृथ्वीका दुई फरक ध्रुवमा देखिएका यी आपदा(विपत्ति)हरूबीच धरतीको धेरै हिस्सा घामले प्याकप्याक भएको छ। 

अनुमानका ‘डिग्री’भन्दा निकै माथि भकभकिएको तातो धरतीलाई अघिल्लो वर्ष ‘उम्लिएको विश्व’ भनिएको थियो। सन् २०२३को जुलाई महिनालाई अहिलेसम्मकै तातो महिनाका रुपमा रेकर्ड गरियो। 

त्यो जुलाई ३ को दिन थियो जतिबेला पृथ्वी औसत तापक्रम १७.०१ डिग्री सेल्सियसमा नातिएको थियो। 

धरतीको यो तापमानले त्योभन्दा करिब ८ वर्षअघि अगस्ट महिनामा १६.९२ डिग्री सेल्सियसको रेकर्ड तोडेको थियो भने अघिल्लो वर्ष सन् २०१९भन्दा २०२३मा ०.२ डिग्री सेल्सियस तापक्रम बढिसकेको थियो। 

त्यो पृथ्वीमा अहिलेसम्मकै तातो महिना(जुलाई) थियो। जसलाई वैज्ञानिकहरूले करिब करिब १ लाख २० हजार वर्षयताकै सबैभन्दा ‘तातो’ महिना भनेका छन्। यतिधेरै तातो योभन्दा लगभग १७४ वर्षअघि पनि थियो। 

पृथ्वीको तापक्रमले एउटा त्यस्तो समयमा रफ्तार समाइरहेको छ, यही बेला विश्वका सारा देशहरू ‘नेट जीरो’को लक्ष्य समाउन दौडिरहेका छन्। आगामी सन् २०३० सम्म त्यो लक्ष्य भेट्ने एउटा बिसौनीमा बसेर फेरि पृथ्वीको तापक्रमलाई यो शताब्दीभरि १.५ डिग्री सेल्सियसमै कायम राख्ने वैश्विक हस्ताक्षरको समीक्षा गर्नेछन्। यो भनेको पृथ्वीको तातोपना धरतीमा औद्योगिक युग सुरु हुनुभन्दा अघिकै स्थितिमा कायम राख्नु हो। 

र, यो समयमा फेरि एकपटक धरतीको एउटा भाग यसरी तातिइरहेको छ कि २०२३को जुलाईले लेखेको त्यो रेकर्ड यसै वर्ष मेटिने हो कि भन्ने चिन्ता बैज्ञानिकहरूले गरिरहेका छन्। अनि सँगै पृथ्वीलाई तात्न नदिने विश्वप्रतीज्ञालाई थप चुनौती थपिने पनि चेतावनी दिइरहेका छन्। 

यतिबेला धरतीका धेरै भागहरू तातो ‘भुङ्ग्रो’जस्तै भएका छन्। सबैभन्दा बढी त अहिले एशिया प्रशान्त क्षेत्र बेस्सरी तातिइरहेको छ। भारत, पाकिस्तानलगायत धेरै देशमा अहिले तातो हावाको लहरले सारा प्राणीको जीवन उत्तिकै पोलिरहेको छ।  

भारतको दिल्ली क्षेत्रमा अहिले ५० डिग्री सेल्सियसको वरिपरी ‘तातो’बोकेर हावा कुदिरहेको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले हिजो मंगलबार नरेला र मुङ्गेशपुरस्थित दिल्लीका दुई उपनगरीय क्षेत्रमा त्यहाँको ‍तापक्रम लगभग ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) मापन गरेको थियो। 

यो वर्ष अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा उच्च तापक्रम हो। मौसम विभागका अनुसार यहाँको तापक्रम अपेक्षाभन्दा ९ डिग्री बढी रहेको छ। 

सन् २०२२ को मे महिनामा दिल्लीको केही भागको तापक्रम ४९.२ डिग्री सेल्सियस (१२०.५ फरेनहाइट) पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतमा गर्मीयाममा तापक्रम उच्च रहने भएपनि पछिल्ला बर्षहरूमा लामो र अत्यधिक गर्मी हुने गरेको छ। 

खासमा धेरैले राजस्थान राज्यको तापक्रम ५०.५ डिग्री सेल्सियस मापन गरिएको र त्यहाँबाट आएको उष्ण लहरका कारण तापक्रम बढेको बताएका छन् । राजस्थानको मरुभूमि फलोदीमा सन् २०१६ मा ५१ डिग्री सेल्सियस तापक्रम पुगेको थियो। यो वर्षको तातो हावामा मात्रै आधा दर्जनभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। 

यद्यपि पृथ्वीका अरु भागहरू पनि यसअघि नै योभन्दा धेरै तातिइसकेका छन्। सन् २०२०को अगस्टतिर क्यालिफोर्निया ‘डेथ भ्याली’ ५५ डिग्री सेल्सियसमा बाफिएको थियो। त्यो भन्दाअघि फरनेस क्रिकको कतिपय भू–भागमा ५६.६ डिग्री सेल्सियस तापक्रम पुगिसकेको थियो। त्यो लगभग सन् १९१३ तिरको याम थियो। 

भारतका धेरै प्रदेशहरू तातो हावाको लहरमा लपेटिएका छन्। त्यसको असर नेपालमा परिरहेको छ खासगरी भारतीय जमिनसँग सिमाना गाँसिएका तराईका क्षेत्रहरूमा। 

सिमाना नजिकको नेपाली भूभाग अहिले ४० डिग्री माथिको ‘तातो’मा रन्थनिइरहेको छ। यो तातोले मान्छेमात्रै होइन धरतीलाई आश्रयस्थल बनाएका धेरै जीवप्राणीहरूलाई पनि उत्तिकै पोलिरहेको छ। यद्यपि हरेक प्राणीको शरीर फरक–फरक प्रकृतीको हुन्छ। कसैले धेरै तातो पनि सहनसक्छन् कतिपय थोरै तातोले पनि गलिहाल्छन्। 

खासमा मान्छेको शरीर ३७.५ डिग्री सेल्सियसको औसत तापमानमा सन्तुलित हुन्छ। यसमा दुई–चार डिग्रीमात्रै पनि तलमाथि भयो भने मान्छेको शरीरमा अनेकखाले क्रियाहरू देखिनसक्छन्। गर्मीको ‘बिमार’ पनि त्यही हो। ‘लु’ लागेर ढल्ने ज्यानको कहानी पनि त्यही नै हो। धरतीमा बहने यही ‘तातो’ले मान्छेको शरीरमा भएको औसत तापक्रमलाई बिथोलिदिन्छ, जसरी पृथ्वीको त्यो स्थिर तापक्रमलाई(१.५)लाई गिजोलिरहेको हुन्छ।

यो ‘तातो’ हावा प्राणी जीवनको ज्यानमै घात पनि गर्नसक्छ। अत्यधिक गर्मीकै कारण सन् १९९८ देखि २०१७ सम्मको अवधिमा विश्वभरि करिब डेढ लाख मान्छेको मृत्यु भएको तथ्याङ्क अघिल्लो वर्षमात्रै सार्वजनिक भएको थियो। जसमा मृत्युको कारण मात्रै तातो हावा थियो। त्यसमा अरु कारण खासै मिसिएका थिएनन्। अरू नै समस्यामा मिसिएर हरेक वर्ष तातो हावा लाखौं मृत्युको कारण पनि बनिरहेकै छ।  

मौसम वा अरु प्राकृतिक आपतविपतको पूर्वसूचना प्रणालीजस्तै यो तातोपनाकोबारेमा पूर्वानूमान वा अरु भविष्यवाणिका लागि अहिलेसम्म भरपर्दो प्रणाली विकास भइसकेको छैन। 

विश्व मौसम विज्ञान संगठनका अनुसार अहिलेसम्म विकसित भएका पूर्वसूचना प्रणालीहरूले विश्वको एक तिहाइ भागलाई मात्रै तातोकाबारेमा पूर्वसूचना, अनुमान वा भविष्यवाणि अनि चेतावनी दिनसक्छन्। बाँकी विश्वका लागि पनि त्यस्ता सूचना प्रणालीको विकास गर्न संगठनले अपिल गरिरहेको छ। 

भारतका कतिपय ठाउँहरूमा यसवर्ष ५० डिग्रीभन्दा माथि तापक्रम पुग्ने पूर्वानुमानहरू सार्वजनिक भएका छन्। यस्तै पूर्वानुमानहरूले मध्यपूर्व तथा अफ्रिकी महाद्वीपहरूले आगामी शताब्दीका धेरै दिनहरू ५० डिग्री सेल्सियसको तातोमा पिरोलिनुपर्नेछ। 

भारतले यो उच्च तातो हावाको लहर कम्तीमा तीन दिनसम्म झेलिरहने छ। यो बितेका ३० वर्षदेखिको रफ्तार हो। आगामी ३० देखि ४० वर्षमा यसको अवधि १२देखि१८ दिनसम्म हुनसक्ने पूर्वानुमानहरू गरिएका छन्। विश्वका कतिपय सहरहरूमा अहिले गर्मीबाट हुनसक्ने असर रोक्नका लागि तयारी भइरहेका छन्। 

विश्व स्वास्थ्य संगठनले पनि तातोपनाबारे पूर्व चेतावनीको प्रणालीको विकासदेखि अब बन्ने भौतिक संरचनाहरूसमेत त्यस्तै प्रकारका हुनुपर्ने भन्दै चेताइरहेको छ। 

जलवायु परिवर्तनको यो एउटा डरलाग्दो सुरुवात हो। विज्ञहरूकाअनुसार पृथ्वीको यो तातोपनालाई १.५ डिग्री सेल्सियसमै अड्याइराख्न अझै सम्भव छ। मानवनिर्मित औद्योगिककरण(सन् १७०० को शताब्दी)को युग सुरु हुनुभन्दा अघिको त्यो तापक्रमलाई (१.४) बढ्न नदिनका लागि अब पनि कडा कदम चालिएन भने यो तातोपनाले पृथ्वीकै अस्तित्वमाथि धावा बोल्ने निश्चित छ।

वर्ष २०२२को एउटा अध्ययनअनुसार युरोपका ३५ देशहरूमा कम्तीमा ६१ हजार मानिसको ज्यान त्यही तातो हावाका कारण भएको थियो। सन् २०२३मा पनि यी देशहरूमा कम्तीमा २० हजार मानिसले तातो हावाकै कारण ज्यान गुमाइसकेका छन्।

बढ्दो कार्बन सत्सर्जनका कारण तातो भएको पृथ्वीले आफ्नो सतहमात्रै भुङ्ग्रो बनाइरहेको छैन। बरु यो तातोले समुद्रलाई पनि सेकिरहेको छ। त्यसकै कारण हो त्यसको सतह बढिरहेको छ। समुद्र सतहको बढोत्तरी अर्को सम्भावित विपदको सूचक पनि हो।

पृथ्वीमा उत्पन्न भएको करिब ९० प्रतिशत कार्बन सामुद्रिक सतहमा सञ्चित भएको छ। जसले समुद्रको करिब २००० मिटरसम्म अत्यधिक तातो बनाइरहेको छ र त्यो तातो अझ गहिराइसम्म घुसिरहेको छ। 

यसले पृथ्वीलाई अझ तातोमात्रै बनाएको छैन। त्यसले हिमालयका हिउँ पग्लिने दरलाई अझ बढाएको छ। जसका कारण समुद्रको जल सतहलाई खतराको विन्दुमा पुर्‍याउनसक्छ। हिउँ तालको विष्फोटले मानवजातिमा अर्को खतरा निम्त्याउनसक्छ।

केही अध्ययनहरूले आगामी २१०० को दशकसम्म हिमालयसँग गाँसिएका हिमनदीहरूले आफ्नो ८० प्रतिशत हिउँ गुमाइसकेका हुनेछन्।

यो पनि पढ्नुस्:
घामको घमन्जा–१
प्रकाशित मिति: : 2024-06-10 21:36:00

प्रतिकृया दिनुहोस्