अध्यादेशकाे पहिलाे शिकार जसपा, महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) दर्ता हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेलगत्तै जनता समाजवादी पार्टी (जसपा) भित्रको महन्थ ठाकुर समूहले नयाँ दल दर्ता गर्ने तयारी गरेको छ।

ठाकुर नेतृत्वको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखिने भएको हो। जसपा ठाकुर समूहका नेता लक्ष्मणलाल कर्णले बिएल नेपाली सेवासँगको कुराकानीमा बुधबारै नयाँ पार्टी गठनका लागि निवेदन दिने तयारीमा आफूहरु रहेको बताए।

‘राष्ट्रपतिबाट अध्यादेश जारी भएको सूचना पाएका छौँ, हामी आजै जनता समाजवादी पार्टी (लोकतान्त्रिक) पार्टी गठनका लागि निवेदन दिँदै छौँ’, कर्णले भने।

एमालेको माधव नेपाल समूहलाई नयाँ पार्टी गठनका लागि कानूनी व्यवस्था गर्न जारी भएको अध्यादेशको पहिलो शिकार जनता समाजवादी पार्टी भएको छ। जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ट्वीट गरी अध्यादेशको विरोध गरेका छन्।

प्रकाशित मिति: : 2021-08-18 14:41:00

प्रतिकृया दिनुहोस्