नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पूर्वमन्त्री अमरसिंह पुनले दावी गरेका छन्।
१४ औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा रोल्पा सभापतिसमेत रहेका पुनले आफू पनि प्रदेश सभापति पदको आंकाक्षी भएको स्पष्ट पारेका हुन्।
महाधिवेशनको सरगर्मी बढेसँगै कांग्रेस नेताहरूले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको विभिन्न पदमा आ–आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन्।
शीर्ष नेताहरूसँगको भेटवार्तापछि बुटवल आएका पूर्वमन्त्री पुनले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको संगठनमा उर्जा थप्न आफू सभापति हुनुपर्ने बताएका छन्।
‘तल्लो तहबाट काम गरेर आएको इमान्दार कार्यकर्ता हुँ। युद्वले छिया–छिया बनाएको रोल्पा जिल्लाको संगठनलाई माथि उठाउने काम गरे,’ रोल्पा सभापति पुनले भने, ‘युद्वताका माओवादीबाट संगठन बनाउँदा रोल्पामा दुःख भोगे, संघर्ष गरे। यसकारण पनि लुम्बिनीका सबै नेता/कार्यकर्ताको भावना मैले समेट्न सक्छु। स्वभाविक रुपमा प्रदेश सभापतिको उम्मेदवार हुँ।’
कांग्रेसभित्रको युवा पुस्तामा लोकप्रिय मानिने पूर्वमन्त्री पुनलाई कोइराला परिवार, वरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेताहरू चन्द्र भण्डारी, गगन थापाको समर्थन रहेको उनीनिकट स्रोतले बताएको छ। पछिल्लोपल्ट लुम्बिनीका जिल्ला-जिल्लामा पुगेर उनले नेता/कार्यकर्तासँग संवाद गर्ने अभियान थालेका छन्।
लुम्बिनी प्रदेशका प्रायः जिल्लामा माओवादी युद्वको समयमा संठनमा खटेर लागेका नेता/कार्यकर्तामाथि दुःख दिने काम गरेको उनको भनाइ छ। उनले भने, ‘युद्वको नाममा माओवादीबाट लुम्बिनी प्रदेशलाई पछाडि पार्ने काम गरियो। कांग्रेसको संगठनसँगै प्रदेशको विकास पनि गर्नुछ।’
नेपालको सबैभन्दा पूरानो राजनीतिक दल नेपाली कांग्रेस यतिबेला महाधिवेशनको चटारोमा रहेको छ। कांग्रेसले श्रावण १२ देखि वडा तह हुँदै भदौ १६–१९ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
महाधिवेशनको मिति नजिकिदै गर्दा कांग्रेसमा नेतृत्वको लागि स्थानीय तहदेखि केन्द्रीयसम्म उम्मेदवारी दिनेहरूको होडबाजी नै सुरू भएकाे छ।
पार्टी नेतृत्वको लागि विभिन्न समूहहरूको सक्रियतासमेत ह्वात्तै बढेको नेता तथा कार्यकर्ता बताउँछन्। कांग्रेसको नेतृत्वले देशको शासन व्यवस्था र लोकतन्त्रमा पनि प्रभाव पार्ने हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले विशेष चासोको साथ हेरिरहेका छन्।
कांग्रेस केन्द्रीय सभापतिमा अहिलेसम्म संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा र उनकै विश्वासिलो पात्र मानिएका उपसभापति बिमेन्द्र निधीले तयारी थालिसकेका छन्।
देउवाले उपसभापति निधीलाई आफ्नाे पक्षमा सहयोग गर्न अपिल गरे पनि निधि देउवाकाे कुरा मान्न तयार छैनन्। देउवालाई नेता निधीले पछि हट्न नसक्ने ठाडो जवाफ दिइसकेको उनीनिकट स्रोत बताउँछ।
यता पौडेल समूहमा नेतृत्वको लागि हानथाप चलिरहेको छ। पौडेल समूहमा वरिष्ठ नेता पौडेल, महामन्त्री शसांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रिय सदस्य शेखर कोइराला, केन्द्रिय सदस्य सुजाता कोइराला र केन्द्रिय सदस्य एवम् नेविसंघ पूर्व अध्यक्ष कल्याण गुरुङले सभापतिका लभिङ सुरु गरेका छन्।
तेह्रौं महाधिवेशनमा तेस्रो वैकल्पिक धारको नेतृत्व गरेको कृष्ण सिटौला समूह भने अहिले पर्ख र हेरको रणनीतिमा छ। धेरै आकांक्षी भएको पौडेल समूहलाई सभापतिको उम्मेदवार चुन्नसमेत सकस परेको छ।
देउवाको विकल्प पहिलो सर्त बनाएको पौडेल समूहमा एउटा मात्र साझा उम्मेदवार बनाएर जानुपर्नेमा दोस्रो तथा तेस्रो तहका नेताहरूको जोड छ। यी नेताहरूमध्ये एक हुन् अमरसिंह पुन। पुन पूर्व मन्त्री एवं कांग्रेस रोल्पाका सभापति समेत हुन्।
उनी कोइराला परिवारको निकट रहँदै आएका छन्। पुन कुनै समय कांग्रेसका पूर्वसभापति एवम् पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको 'राइट ह्यान्ड'काे भूमिकामा देखिन्थें। कोइरालामार्फत् पाएकाे जिम्मेवार सकुशल निभाएका पुन पछिल्लाे समय पौडेल समूहकाे व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्।
पुनको भूमिका अहिले थप बढेर गएको पाैडेलनिकट नेताहरू बताउँछन्। नेताहरूबीच समन्वयकारी भूमिका निर्वाह गर्न माहिर पुन अहिले सबैलाई मिलेर जान दबाब सिर्जना गरिरहेका छन्। उनले सभापतिका आकांक्षीहरूलाई भेटेर देउवाको विकल्प दिनसक्नुपर्नेमा सुझाव दिएका छन्।
नेता पुनले विभिन्न सर्कलमा बाक्लो छलफल अगाडि बढाएको उनीनिकट स्रोत बताउँछ। सभापतिका आकांक्षीहरूलाई एक ठाउँ बसाएर ´म` भन्दा पनि हामी, कांग्रेस, लोकतान्त्रिक व्यवस्था र देशको भविष्यमा साझा धारणामा केन्द्रित बनाउन दिनहुँ छलफलमा सक्रिय छन्।
पूर्वमन्त्री पुनले कोइराला परिवारबाट सभापतिका आकांक्षी मानिने डा. शेखर, डा. शसांक र सुजाता कोइरालालाई एकढिक्का हुन सुझाएका छन्। कोइराला परिवारको एकता लागि उनले विभिन्न छलफल सुरु गरिरहेका छन्।
संस्थापनइतर समूह एकजुट भएर महाधिवेशनमा होमिए नेतृत्व लिन सकिने भन्दै पौडेल लगायतका नेतालाई छिटोभन्दा छिटो साझा उम्मेदवार घोषणा गर्न सुझाव दिएको नेता पुनले बताए।
सधैँ पर्दा पछाडीको अदृश्य पात्रको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पुन सभापति देउवाविरुद्ध गठबन्धन बनाउन दौडधुप गरिरहेका छन्। उनको यो भूमिकालाई अर्थपूर्ण रुपमा हेरेको कांग्रेसीहरू बताउँछन्।