बाँकेमा प्रचण्ड–नेपाल पक्षको नारा:

‘म केपी ओली, मेरो बयलगाडा’

संघीय लोकतान्त्रिक व्यवस्थाका लागि जनआन्दोलन र राजा विरोधी संघर्ष चलिरहेको बेला अहिलेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली ‘बयलगाडा चढेर अमेरिका पुगिदैन’ भनेर खिल्ली गडाउँथे । 

त्यतिबेला जनआन्दोलनको बलमा शताब्दी लामो राजतन्त्रको औपचारिक रुपमा अन्त्य भयो । राजा ज्ञानेन्द्रले राजगद्दी त्यागे। पछि जनताका प्रतिनिधिहरुले १० वर्ष लगाएर २०७२ मा नेपालको संविधान निर्माण गरियो ।

हिजो राजतन्त्रको पक्ष र गणतन्त्र तथा संघीयताविरुद्धमा नारा लगाउने ओलीलाई समयमा संघीय शासन लागु भएपछि त्यसको कार्यान्वयन गर्नुपर्ने स्थानमा पुर्‍याइदियो । त्यसो त सुरुदेखि नै ओलीलाई संघीयता मन पर्दैनथ्यो, लोकतन्त्र र गणतन्त्र मन पर्दैनथ्यो । 

धर्मनिरपेक्षता र समावेशिता पनि कहिल्यै मन पर्दैनथ्यो । उनका अभिव्यक्तिहरुले ती कुराको पुष्टि गर्दै आएका छन् । ओली दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा पुगिसकेपछि निरन्तर संघीयताविरुद्धमा अभिव्यक्ति दिँदै आएका थिए । 

अहिले उनले चालेको संविधान विपरितको कदमले व्यवस्था नै धरापमा परेको भन्ने आवाज सुनिन थालेको छ । प्रधानमन्त्री अध्यक्ष रहेको सत्ताधारी नेकपा राजनीतिक विभाजन भइसकेको छ । नेकपामा दुई गुट देखा परेको छ ।

५ पुसको ओलीको संसद विघटनको सिफारिसपछि दुई खेमा छन् । त्यतिबेलादेखि ओली पक्ष प्रधानमन्त्रीको कदमको बचाउमा छ भने अर्कोपक्ष ओलीको कदमको विरोधमा छ । 

यही क्रममा शुक्रबार बाँकेमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सांकेतिक रुपमा विरोध प्रदर्शन भएको छ । 

नेकपाको प्रचण्ड–नेपाल समूहले नेपालगञ्जमा बयलगाडा सहित विरोध प्रदर्शन  गरेको हो ।ओली इतर पक्षले गरेको प्रर्दशनमा गोरु सहितको बयलगाडामा लेखिएको छ,‘म केपी वली १ मेरो बयलगाडा ११’  जहाँ प्रधामन्त्री ओलीले बयलगाडा चलाइरहेका छन्। 

बाँकेमा पार्टीको केन्द्रीय कार्यक्रम अनुसार शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत संविधान बुझाउने रहेपनि बाँकेमा नेकपाका नेता कार्यकर्ताहरुले बयलगाडासहित सडकमा प्रदर्शन गरेका थिए ।प्रदर्शन विपी चोकबाट सुरु भएको बयलगाडासहितको प्रदर्शन जिल्ला प्रशासन कार्यालय बाँकेसम्म पुगेको थियो । 

विरोध प्रदर्शनमा नेकपाका केन्द्रीय सदस्य महेश्वर गहतराज अथक , जिल्ला अध्यक्ष आइपी खरेल, सचिव अशोक कोइराला लगायतका नेता कार्यकर्ताहरुको रहभागिता रहेको थियो ।  

उनीहरुले प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै चर्को नाराबाजी   समेत गरेका हुन् । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेका कारण त्यसको विरोधमा विरोध पत्रसहित संविधानको पुस्तक प्रधानमन्त्री ओलीलाई जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत पठाइएको छ । 

नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले  ओलीको कदम विरुद्ध निरन्तर आन्दोलनमा रहेको बताए । उनका अनुसार केन्द्रीय कमिटीको निर्देशनका साथै जिल्लामा समेत जिल्ला पार्टीको निर्णय अनुसार विरोधका कार्यक्रम निरन्तर चलिरहेका छन् ।
 

प्रकाशित मिति: : 2021-01-08 20:44:00

प्रतिकृया दिनुहोस्