पौडेल समूहमा 'मास्टर प्लानर' बन्दै नेता पुन, सहमतिको सुत्र खोज्दै दौडधुप

नेपालको सबैभन्दा पूरानो राजनीतिक दल नेपाली कांग्रेस यतिबेला महाधिवेशनको चटारोमा रहेको छ। कांग्रेसले श्रावण १२ देखि वडा तह हुँदै भदौ १६–१९ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

महाधिवेशनको मिति नजिकिदै गर्दा कांग्रेसमा नेतृत्वको लागि स्थानीय तहदेखि केन्द्रीयसम्म उम्मेदवारी दिनेहरूको होडबाजी नै सुरू भएकाे छ।

पार्टी नेतृत्वको लागि विभिन्न समूहहरूको सक्रियतासमेत ह्वात्तै बढेको नेता तथा कार्यकर्ता बताउँछन्। कांग्रेसको नेतृत्वले देशको शासन व्यवस्था र लोकतन्त्रमा पनि प्रभाव पार्ने हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले विशेष चासोको साथ हेरिरहेका छन्।

कांग्रेस केन्द्रीय सभापतिमा अहिलेसम्म संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा र उनकै विश्वासिलो पात्र मानिएका उपसभापति बिमेन्द्र निधीले तयारी थालिसकेका छन्।

देउवाले उपसभापति निधीलाई आफ्नाे पक्षमा सहयोग गर्न अपिल गरे पनि निधि देउवाकाे कुरा मान्न तयार छैनन्। देउवालाई नेता निधीले पछि हट्न नसक्ने ठाडो जवाफ दिइसकेको उनीनिकट स्रोत बताउँछ।

यता पौडेल समूहमा नेतृत्वको लागि हानथाप चलिरहेको छ। पौडेल समूहमा वरिष्ठ नेता पौडेल, महामन्त्री शसांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रिय सदस्य शेखर कोइराला, केन्द्रिय सदस्य सुजाता कोइराला र केन्द्रिय सदस्य एवम् नेविसंघ पूर्व अध्यक्ष कल्याण गुरुङले सभापतिका लभिङ सुरु गरेका छन्।

तेह्रौं महाधिवेशनमा तेस्रो वैकल्पिक धारको नेतृत्व गरेको कृष्ण सिटौला समूह भने अहिले पर्ख र हेरको रणनीतिमा छ। धेरै आकांक्षी भएको पौडेल समूहलाई सभापतिको उम्मेदवार चुन्न समेत  सकस परेको छ।

देउवाको विकल्प पहिलो सर्त बनाएको पौडेल समूहमा एउटा मात्र साझा उम्मेदवार बनाएर जानुपर्नेमा दोस्रो तथा तेस्रो तहका नेताहरूको जोड छ। यी नेताहरूमध्ये एक हुन् अमरसिंह पुन। पुन पूर्व मन्त्री एवं कांग्रेस रोल्पाका सभापति समेत हुन्।

उनी कोइराला परिवारको निकट रहँदै आएका छन्। पुन कुनै समय कांग्रेसका पूर्वसभापति एवम् पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको 'राइट ह्यान्ड'काे भूमिकामा देखिन्थें। कोइरालामार्फत् पाएकाे जिम्मेवार सकुशल निभाएका पुन पछिल्लाे समय पौडेल समूहकाे व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्।

पुनको भूमिका अहिले थप बढेर गएको पाैडेलनिकट नेताहरू बताउँछन्। नेताहरूबीच समन्वयकारी भूमिका निर्वाह गर्न माहिर पुन अहिले सबैलाई मिलेर जान दबाब सिर्जना गरिरहेका छन्। उनले सभापतिका आकांक्षीहरूलाई भेटेर देउवाको विकल्प दिनसक्नुपर्नेमा सुझाव दिएका छन्।

नेता पुनले विभिन्न सर्कलमा बाक्लो छलफल अगाडि बढाएको उनीनिकट स्रोत बताउँछ। सभापतिका आकांक्षीहरूलाई एक ठाउँ बसाएर ´म` भन्दा पनि हामी, कांग्रेस, लोकतान्त्रिक व्यवस्था र देशको भविष्यमा साझा धारणामा केन्द्रित बनाउन दिनहुँ छलफलमा सक्रिय छन्।

पूर्वमन्त्री पुनले कोइराला परिवारबाट सभापतिका आकांक्षी मानिने डा. शेखर, डा. शसांक र सुजाता कोइरालालाई एकढिक्का हुन सुझाएका छन्। कोइराला परिवारको एकता लागि उनले विभिन्न छलफल सुरु गरिरहेका छन्।

संस्थापनइतर समूह एकजुट भएर महाधिवेशनमा होमिए नेतृत्व लिन सकिने भन्दै पौडेल लगायतका नेतालाई छिटोभन्दा छिटो साझा उम्मेदवार घोषणा गर्न सुझाव दिएको नेता पुनले बताए।

सधैँ पर्दा पछाडीको अदृश्य पात्रको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पुन सभापति देउवाविरुद्ध गठबन्धन बनाउन दौडधुप गरिरहेका छन्। उनको यो भूमिकालाई अर्थपूर्ण रुपमा हेरेको कांग्रेसीहरू बताउँछन्।



'कांग्रेसलाई एक ढिक्का बनाएर हाक्न सक्ने नेतृत्व नै अहिलेको आवश्यकता हो'

प्रकाशित मिति: : 2021-06-28 08:30:00

प्रतिकृया दिनुहोस्