काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ २० गतेसम्मका लागि लम्ब्याइएको छ।
कोरोना संक्रमण अझै नियन्त्रणमा नआएको भन्दै जिल्ला प्रशासन काठमाडौंले निषेधाज्ञालाई थप कडाई नगर्ने निर्णय गरेको हो।
बुधबार मात्रै प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली, महानगरीय प्रहरी प्रमुख एसएसपी अशोक सिंह, महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईसहितको टोलीले काठमाडौं प्रवेश गर्ने मुख्य नाका थानकोटसहित बजार अनुगमन गरेका थिए।
एक महिना बढी लामो निषेधाज्ञापछि पनि कोरोना संक्रमण नियन्त्रणमा नआएपछि निषेधाज्ञा थप कडाई गरिएको प्रमुख जिल्ला अधिकारी पुराजुलीले बताए।
आजदेखि एक साता लम्ब्याइएको निषेधाज्ञामा दैनिक उपभोग्य खाद्यान्नका पसलसमेत बन्द हुनेछन्। यस अवधिमा कोही नागरिक समस्यामा परेमा प्रशासन तथा नगरपालिकामा खबर गर्न पनि पराजुलीले अनुरोध गरेका छन्।
‘यदि यो समयमा कोही खाद्यन्न लगायतका सामग्रीको अभावले समस्यामा पर्नुभयो भने नगरपालिका तथा वार्ड कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्छु।’, प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।
गत वर्षकोभन्दा फरक किसिमको कोरोना भाइरसको भेरियन्ट भएकाले निषेधाज्ञामा थप प्रावधानसहित कडाइ गर्नुपरेको पराजुलीको भनाइ छ।आजदेखि नयाँ थप गरिएको निषेधाज्ञामा एकसाताका लागि खाद्यान्न पसल पूर्ण रूपमा बन्द गरिनेछन्। सागसब्जी, माछामासु, दुध किनबेचको लागि बिहान ९ बजेसम्म समय तोकिएको छ। मालवाहक सवारी साधनलाई समेत सञ्चालनमा रोक लगाइएको छ।
बैंक तथा वित्तीय क्षेत्रलाई सीमित कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न भनिएको छ। स्वास्थ्य तथा अन्य तोकिएका अत्यावशकीय सेवालाई आवतजावतमा रोक लगाइएको छ।
अत्यावश्यक दैनिक उपभोग्य र इन्टरनेट सेवासम्बन्धी सवारी राति ९ देखि बिहान ९ बजेसम्म मात्रै सञ्चालन हुने भएका छन्। सरकारी कार्यालयबाट दिइने सेवा पनि स्थगित गरिएको छ।