कोरोनाले छाडेलगत्तै नायिका सुमिना दम्पती राहत बोकेर सिनेकर्मीको घर–घरमा (भिडियाेसहित)

डिल्ली पाण्डे

काठमाडाैं

एकातिर कोरोना महामारीको त्राश, अर्कातर्फ भोको पेट कसरी भर्ने भन्ने चिन्ता। यो विरोधाभाषपूर्ण अवस्थाले दैनिक ज्याला–मजदुरी गरी खानेहरुलाई नराम्ररी गाँजेको छ। 

महामारीको दोस्रो लहर बढेसँगै स्थानीय प्रशासनले निषेधाज्ञालाई झन्–झन् कडा पार्दै लगेको छ। दैनिक ज्याला मजदुरी गरी खाने नागरिकहरुमध्ये पनि चलचित्र क्षेत्र कोरोनाबाट सबैभन्दा प्रभावित भएको छ। 

हुनेखानेलाई त खासै समस्या छैन तर हुँदा खाने श्रमजीवी कामबिहीन भएको १४ महिना भइसकेको छ। यस्तो संकटकालीन अवस्थामा कसैको सानै सहयोगले पनि ठूलो राहत प्रदान गर्छ।
करिब एक दशक नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेकी नायिका सुमिना घिमिरे यति बेला घरमै छिन्। कोरोनाको दोस्रो लहरसँगै सुमिना र उनका पति रोशन सापकोटा पनि कोरोना संक्रमित भए।

पतिसँगै दुई हप्ता ‘होम आईसोलेसन’ बसेपछि सुमिना दम्पती कोरोनामुक्त भए। समिनाका पति रोशन तारा एयरलाइन्सका विमान–चालक हुन्। 

कोरोना संक्रमण भएर करिब दुई साता ‘होम आइसोलेसन’ बसाइमा सुमिनाले केही यस्ता समाचार देखिन्, जुन समाचारले उनलाई खिन्न बनायो। अनि उनले पतिसँग सल्लाह गरिन्– संक्रमण मुक्त हुनासाथ कोरोनाका कारण समस्यामा परेका चलचित्र प्राविधिकहलाईलाई सहयोग गर्ने। 

सुमिनाका पति पनि उस्तै सहयोगी मनका छन्। नेपालको दुर्गम क्षेत्रमा उडान गर्दै आएका पाइलट रोशन सापकोटा पनि समाज सेवामा रुचि राख्छन्। दुर्गममा कोही भोको अनुहार आइपुगे भने रोशनले जे–जति सक्छन्, सहयोग गर्छन्।
कोरोनामुक्त हुनासाथ सुमिनाले पति रोशनसँग सल्लाह गरिन् । चलचित्र क्षेत्रका मदजुरको भोको पेट भर्ने योजना बनाइन्।

उनले चलचित्र क्षेत्रमा रहेर रोजगारी गुमेका परिवार पाल्न कठिन भएकाहरुलाई एक महिना पुग्ने खाद्यान्नको व्यवस्था गरिन्। 

त्यो खाद्यन्न बोकेर आफैँ बुधबारको सिमसिमे झरीमा पति रोशनका साथ राहत बाँड्न हिँडिन्। 

घरमा सानी छोरी छिन् । कोरोना त्राश बढ्दो छ तर सुमिनाको मन मान्दैन । अनि आफैँ जोखिम महसुस नगरी घरदैलोमै पुगेर राहत वितरण गर्छिन्।

सुमिनाले बिएल नेपाली सेवासँगको कुराकानीमा भनिन्, ‘कोरोना भएर घरमा बसेका थियौँ। सिने क्षेत्रका प्राविधिकले खान नपाउने अवस्था भएको खबर सुनेँ। मन दुख्यो। श्रीमानसँग सल्लाह गरँे, राहत दिन हिडेँ।’

सुमिनाले आफूसँग बढी भएर राहत दिएकी पक्कै होइनन्। ‘देशमा सङ्कट परेका बेला हुनेले नहुनेलाई दिनु मानव धर्म हो, हामीले त्यसैलाई आत्मसात गर्यौँ’, उनले भनिन्, ‘समस्यामा परेकालाई सहयोग गर्न पाउँदा आफूलाई आनन्द अनुभूत भयो।’
भक्तपुरको लोकन्थली बस्ने चलचित्र प्राविधिक कुलदीप अधिकारीले भने, ‘रोजगारी पनि गुम्यो, परिवार कसरी पाल्ने भन्ने पिरलो थियो। हामीले खाद्यान्नसँगै आवश्यक स्वास्थ्य सामग्री, स्यानिटाइजर, मास्कलगायत सामग्री पायौँ। खुशी लाग्यो।’

सुमिनाले बुधबार ४० जना चलचित्र प्राविधिकलाई एक महिना बढीका लागि पुग्ने खाद्य सामाग्रीहरु उपलब्ध गराएकी छिन्।

श्रीमती सुमिनाको यो कार्यले आफुलाई पनि समाजसेवा गर्ने थप प्रेरणा मिलेको पाईलट सापकोटाले बताएका छन्।
 दुगर्म क्षेत्रमा उडान भर्दै आएका सापकोटा पनि समाजसेवी हुन्। उनले कर्णालीका कैयौं असायलाई सहयोग गरेका छन्। 

नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा सफलताको स्वाद चाखेकी सुमिनाको नेपाली चलचित्र क्षेत्रको विकासमा निकै महत्वपुर्ण भूमिका खेलेकी छिन्। दर्जनौ नेपाली चलचित्रमा अभिनय गरिसकेकी सुमिनाले आधा दर्जन भन्दा बढी अवार्ड हात पारेकी छिन्। उनले दुलही,भिमदत्त,माला लगायतकाचलचित्रमा अभिनय गरेकी छन्।

केही समय चलचित्र क्षेत्रबाट टाढा रहेकी सुमिना अबचलचित्र क्षेत्र विकास र केही नयाँआयाम कसरी ल्याउने भन्ने अध्यनमा लागेकी छन्। 

फोटो-भिडियो शनि शाक्य 

प्रकाशित मिति: : 2021-05-26 19:30:00

प्रतिकृया दिनुहोस्