कविता

किसान स्केच

विशाल नाल्बो

दार्जीलिङ

किसान स्केच- एक

जब गाउँमा अनिकाल पस्छ 
ठिक त्यो बेला कि त दिल्लीले खान्छ 
कि त चेन्नईले खान्छ 
गाउँको रणमायाहरुको अर्ग्यानिक सपना। 

किन खान्छ?
सत्ता मौन छ। 

किसान स्केच- दुई

आमाले जीवनको दुइ एपिसोड
यै खेत खनेर बिताइन् 
जहाँ अहिले निर्माण भएको छ 
सयदिने रोजगारको आधा कल्चो बाटो। 

किसान स्केच- तीन

कृषक सन्चबीर लिम्बूको 
कोदो बारीको भित्तामा झुन्ड्याएको छ
'एजुकेसन फर्र अल'
लेखिएको सर्वशिक्षा अभियानको बोर्ड 

त्यही बोर्डको फेदमा बसेर 
सोधी बस्छ सन्चबीर लिम्बू-
अक्षर भनेको कस्तो हुन्छ? 
स्कूल भनेको कस्तो हुन्छ? 

किसान स्केच- चार

जब-जब यो देशको शिक्षा आयोगहरूले 
सर्वशिक्षा अभियानको घोषणा गर्छ 
तब-तब नै किन अशिक्षित हुन्छ हँ
गाउँको असंख्य सन्चबीर लिम्बूहरु?

किसान स्केच- पाँच

अदुवा कुहेर फ्रस्टेषण भएको 
किसानहरुको चेतनालाई ब्ल्याकमेल गर्छ 
साला यो कुच्चोको भाउ,

जब सुकाउरोमा परेर मर्छ अलैंची 
दिलमाया दिदीहरुको बैशालु सपनाले 
सुसाइड गर्छ अलैंचीको बोट-बोटमा झुन्डिएर। 

किसान स्केच-छ

फल्दै-फल्दैन कोदो 
दश रुप्पे के.जि छ कुच्चोको भाउ
अभावले जहिल्यै समाति बस्छ 
किसानहरुको स्कूल जाने छोरा-छोरीको खुट्टा 

यो कण्डोमको एड देखाउँने राष्ट्रिय टि भी च्यानलले
किन देखाउँदैन हँ अलैंचीको विज्ञापन?

प्रकाशित मिति: : 2021-03-20 17:29:00

प्रतिकृया दिनुहोस्

    हामी ले पनि सहभागी हुन सक्छौ हजुर

    • 3 बर्ष अगाडि
    • प्रेम शर्मा एकान्त प्रेमी