नेकपा (एमाले)को केन्द्रीय सचिवालयले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्कासन गर्यो। यो त्यति अचम्मित हुने खबर होइन। आफ्ना कुनै प्रतिद्वन्द्वीलाई पार्टीमा टिक्न दिएन भने रावललाई कसरी टिक्न दिन्थ्यो? नेकपा (एमाले)को महाधिवेशनमा अध्यक्ष पदका लागि ओलीसँग प्रतिस्पर्धा गर्नेहरु ढिलो चाँडो पार्टीबाट बाहिरिएका छन्।
रावलले तीन वर्षअघि सौराहामा सम्पन्न पार्टीको दशाैँ महाधिवेशनमा पार्टी अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिए। उसो हेर्दा, २०६५ साल फागुनमा सम्पन्न एमालेको आठौँ महाधिवेशनबाट झलनाथ खनालसँग प्रतिस्पर्धामा ओली पराजित भएका थिए।
२०७१ असारमा सम्पन्न नवौँ महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गर्ने माधवकुमार नेपाल पराजित भएका थिए। पार्टीका नेतृत्वका साथै देश हाँकेका माधव र झलनाथ खनालजस्ता महारथि एमालेबाट निष्कासित हुनुपर्छ भने रावल कतिबेर टिक्न पाउँथे!
एमालेभित्र ओलीको विरोधमा उत्रनेहरु पार्टीभित्र ओझेलमा परेको, निष्कासनमा परेको वा अन्ततः पार्टी छोड्न विवश हुनुपरेको छ। राधाकृष्ण मैनालीले पनि अनेकौँपटक ओलीको कारण एमालेबाट बाहिरिनुपरेको प्रतिक्रिया दिँदै आएका छन्। राजनीतिक विश्लेषकमध्ये कतिपयले पार्टीभित्र ओलीले दम्भकारी नीति अपनाएर प्रजातान्त्रिक अधिकार खोसेको रुपमा व्याख्या गर्छन् भने कतिपयले पार्टीभित्र अनुशासन कायम राख्नका लागि सो कदम बाध्यतावश उठाउनुपरेको रुपमा विश्लेषण गर्छन्।
नेपाल कम्युनिष्ट पार्टीमा झण्डै आधा शताब्दी बिताएका भीम रावल निष्कासित हुनुपर्यो। उनीमाथि पार्टी हितविपरीत कार्य गरेको आरोप लगाइएको छ। एमालेमा रावल ओलीको विश्वासपात्र साथीको रुपमा चिनिन्थे। एकताका विपरीत परिस्थितिमा उनी ओलीको पक्षमा अडिग थिए।
२०५३ साल असोज ४ गते नेपाल–भारतबीच महाकाली नदीको जलाधार विकाससम्बन्धी सम्झौता भएको थियो। त्योबेलामा सन्धिको पक्षमा केपी ओलीको साथै भीम रावल पनि थिए। तर, वामदेव गौतमले सो सम्झौताले नेपाल ठगिएको भनेर पार्टीभित्र चर्को विवाद गरे। अन्ततः गौतमले पार्टी विभाजन गरी नेकपा(माले) को पुनः गठन गरेका थिए।
रावल पहिलोपल्ट २०५२ सालमा पर्यटन राज्यमन्त्री, २०५५ सालमा पर्यटनमन्त्री, २०६६ सालमा गृहमन्त्री र २०७२ सालमा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा रक्षामन्त्री बनेका थिए। सुदूरपश्चिमको एक प्रभावशाली नेताको पहिचान बनाएका रावल पार्टीको नवौं महाधिवेशनमा माधवकुमार नेपालको समूहबाट उपाध्यक्षमा भारी मतले विजयी भएका थिए। त्योबेलादेखि नै ओलीसँग उनको दूरी बढ्न थालेको थियो।
२०७४ सालमा ओली प्रधानमन्त्री बनेपछि रावललाई मन्त्रीमण्डलमा समेटिएको थिएन। ओलीको विरुद्धमा २०७६ सालतिर माधव नेपाल– प्रचण्डहरु उत्रेपछि रावलले माधव नेपाललाई सघाएका थिए। नेपाल कम्युनिष्ट पार्टी नामको विषयको मुद्धामा सर्वाच्चको फैसलापछि एमाले र माओवादी पुनः आ–आफ्ना पुरानो अस्तित्वमा फर्के।
ओलीलाई हटाउनका लागि पार्टीभित्र विवाद चरमोत्कर्षमा पुग्यो। दुईपटक ओलीले संसद विघटन पनि गरेका थिए। अन्ततः पार्टी विभाजन हुने निश्चित भएपछि स्वयं रावलको नेतृत्वमा नयाँ पार्टी गठनका लागि विधान तयार पनि भयो। तर, रावल अन्तिम समयमा एमालेमै बस्ने निर्णयपछि माधव नेपालहरु ‘निल्नु न ओकल्नु’ अवस्थामा पुगेका थिए। माधव नेपालले आफूलाई अन्तिम समयमा रावलले धोका दिएको आरोप लगाउँदै आइरहेका छन्।
संस्कृतमा एउटा श्लोक यस्तो छ– आतुरे व्यसने प्राप्ते दुभिक्षे शत्रुसंकटे, राजद्वारे श्मशाने च यस्तिष्ठति स बान्धव।। अर्थात, असल मित्र उनै हुन्, जो विपत्तिमा, झैझगडा, अनिकाल परेमा राजकाजमा र कुनैपनि सङ्कटमा साथ दिउन् र मृत्युपछि आर्यघाट (श्मसान)सम्म पुगुन्। तर, रावलले माधवलाई धोका दिए, ओलीसँग रहने निर्णय गरेपनि उनीमाथि ओलीले विश्वास गरेनन्। रावल कसैको मित्र बन्न सकेनन्।
तसर्थ, उनी स्वयं धोकाको सिकार भए। हुन त, प्रचण्डलाई आर्यघाटसम्मको बचन दिएका ओलीले प्रचण्डलाई हठात् प्रधानमन्त्री पदबाट लडाएर स्वयं प्रधानमन्त्री बनेका थिए। रामचन्द्र पौडेलले २०६१ सालमा शेरबहादुर देउवालाई पार्टी फोर्नका लागि उचालेका थिए। देउवा अलग भएपछि पौडेल देउवालाई छोडेर काँग्रेसमै रहे।
उतिखेर देउवाले आफूलाई पौडेलले धोका दिएको आक्रोश पोख्थे। संस्कृतको उक्त श्लोक उनीहरुमाथि सटिक मिलेन। एकले अर्कालाई धोका दिने खेल जारी राखे। सत्ताको सुखभोगमा रमाउनका लागि छलप्रपञ्चकै राजनीतिको खेलले प्रश्रय पाइरहेका छन्।
संस्कृतको अर्को श्लोकले भन्छ, ‘अप्राप्यं नाम नेहास्ति धीरस्य व्यवसायिन।’ अर्थात् ‘जुन व्यक्तिमा साहस र लगन छ, उसको लागि कुनै कार्य असम्भव छैन।’ केपी शर्मा साहसिक व्यक्ति हुन्। गिरिजाप्रसाद काेइरालाजस्तै आँटिलो निर्णय गर्छन्। तर, गिरिजाबावुमा पार्टीभित्र आफ्ना विरोधीलाई समेटेर अगाडि बढ्ने कला थियो।
सुदूरपश्चिमका शेर कहलिएका रावललाई २०७९ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको टिकटबाट बञ्चित गरियाे। उनले ओलीको उक्त निर्णयको विरुद्धमा विद्रोह गर्ने आँट देखाउन सकेनन्। त्योबेलामा उनले विद्रोह गरेको भए अहिलेजस्तो हविगत हुने थिएन। विस्तारै विस्तारै पार्टीमा उनको पकड खुकुलो हुँदै गयो। उनी निस्तेज अवस्थामा पुगेपछि ओलीले आफ्नो राजनीतिक अस्त्रले प्रहार गरेको हुन्।
राजनीतिमा साहसिक निर्णय नलिनेहरु ओझेलमा परेका अनेकौँ उदाहरण छन्। अब रावलले आफ्नो सामर्थ्य देखाउनुपर्छ।
एकताका ओलीमै ‘एमाले’ देख्ने रावल एमालेबाट निष्कासनमा परेपछि अचेल ओलीलाई सत्तोसराप गरिरहेका छन्। राष्ट्रियस्तरका बामपन्थी नेतामाथि पार्टीले कारबाही, सुरक्षाकर्मीद्वारा पक्राउ, पार्टीबाट निष्कासनजस्ता घटना हुँदा बामपन्थीको नेताको राजनीतिक सूत्र ‘देशी विदेशी प्रतिक्रियावादी र भारतीय दलालको कारण आफूमाथि कारबाही भएको’ भन्ने वाक्यांस रावलले कहिले बोल्ने? भन्ने पर्खाइमा यो पंक्तिकार छ।
खरो स्वभावका उनी भारतको विरोधमा मनलाग्दी बोल्ने गर्छन्। गत बुधबार पत्रकारमाझ उनले प्रतिगामीसँग साँठगाँठ गरेको प्रतिक्रिया दिए। ओलीले भर्खरै चीन भ्रमण गरेका छन्। यदि, भारतको भ्रमणपछि रावलमाथि कारबाही गरेको भए रावलले आफूलाई निष्कासनका लागि भारतमा डिजाइन बनेको आरोप लाउन पाउँथे।
भीम रावलले गत बुधबार पत्रकार सम्मेलन गरेर आफ्नो भावी नीतिबारे जानकारी गराएको छ। ३१ पानाको लामो विज्ञप्तिमा उनले ३० पानामा ओलीको विरोध र प्रश्नमै खर्चिए। अब उनले राष्ट्रिय अभियानको रुपमा ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्ने घोषणा गरेका हुन्।
सो अभियानलाई राजनीतिक रुप दिँदै आगामी दिनमा नयाँ पार्टी स्थापना हुने लक्ष्य राखिएको देखिन्छ। नेपालमा बामपन्थी दल सबैभन्दा बढी फुट्ने र आवेशमा आएर नयाँ दल बनाउने परम्परालाई अब रावलले निरन्तरता दिने देखिन्छ। उनले देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यकता छ भनेर पत्रकारबीच धारणा राखेका हुन्।
सर्वहारा वर्गको उत्थान र मजदुर एकताको हकहितमा आवाज उठाउने उद्देश्यले स्थापना भएका कम्युनिष्ट पार्टीहरुभित्र सत्तामा वर्चस्व राखिराख्ने प्रवृतिले गर्दा अनेकौँपटक पार्टी विभाजित भएको हो। जनताको मुक्तिको नाममा स्थापित कम्युनिष्ट पार्टीमा व्यक्तिगत वर्चस्वको विवाद एवम् उच्च व्यक्तिगत महत्वाकाङ्क्षा र सत्तास्वार्थका लागि पार्टी विभाजन हुने गरेका छन्।
तर, उनीहरु अलग हुँदा एकअर्कालाई पार्टीभित्र सैद्धान्तिक विचलनजस्ता बामपन्थी शैलीको शब्दहरु प्रयोगमा ल्याउँछन्। एकअर्कालाई गद्दार, तानाशाही, निरङ्कुश, साम्राज्यवादी, विस्तारवादी, अवसरवादी, भारतीय दलाल, नवसामन्त, भ्रष्टाचारीलगायतका सटिक शब्दहरुले मनका आक्रोश पोख्ने गर्छन्।
नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्षको अवधिमा सो पार्टी दर्जनौँपटक फुटेको इतिहास छ। टुटफुटको विरासतीय श्रृङ्ख्लालाई नियालेर हेर्दा नेपालको राजनीतिमा पटक पटक सत्तामा पुगेका नेकपा(एमाले) पछिल्लो समय फुटेर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बन्यो।
कम्युनिष्ट पार्टीको इतिहास
पुष्पलालको अगुवाईमा २००६ साल वैशाख ११ गते कम्युनिष्ट पार्टीको स्थापना भयो। उनी पार्टीको महासचिव बनेका थिए। त्यससलगत्तै २००७ सालमा पार्टीभित्र ‘गणतन्त्र कि राजतन्त्र?’ ‘शान्तिपूर्ण आन्दोलन कि हतियारबद्ध आन्दोलन’ भन्ने बहसबाट सुरु भएको नीतिगत विवाद पुष्पलाल र तुलसीलाल अमात्यको अन्तरविरोधसम्म आइपुग्दा ‘कुन बाटो?’ र ‘अबको बाटो’ को विषय विवादमा परिणत भयो।
मुलुकमा प्रजातन्त्र स्थापनापछि त्यो विवाद मत्थर भएपनि पार्टी आन्तरिक शक्ति सञ्चयको लागि पार्टीभित्र गुटबन्दी सुरु भयो। वि.सं २०१० मा पार्टीको पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी र २०१४ सालको महाधिवेशनबाट डा. केशरजङ्ग रायमाझी महासचिव बनेका थिए।
२०१७ साल पुस १ गते राजा महेन्द्रले काँग्रेसको सरकारलाई अपदस्त गरी शासन हातमा लिएपछि डा. केशरजङ्ग रायमाझी पनि पक्राउमा परेका थिए। करिव नौ महिना कारागारमा बसेर राजा महेन्द्रको कदमलाई समर्थन गरेर बाहिरिएका थिए। त्यसपछि कम्युनिष्ट पार्टीको पहिलो विभाजन भयो। सो घटनापछि, पुष्पलाल, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह र मनमोहन अधिकारीले साम्यवादी विचारधाराको व्याख्यामा फरक फरक धारणा राख्न थालेका थिए।
२०१९ मा तेस्रो महाधिवेशनबाट तुलसीलाल अमात्य महासचिवमा निर्वाचित भएका थिए। उनी निर्वाचित भएपछि पार्टीभित्र रायमाझी समूह, तुलसीलाल समूह र पुष्पलाल समूह भनेर तीन समूह पार्टीभित्र देखापर्न थाल्यो। अर्कोतर्फ रायमाझीले छुट्टै तेस्रो महाधिवेशन गरेर आफू महासचिव भएको घोषणा गरेका थिए।
कम्युनिष्ट पार्टीभित्रको आन्तरिक कलह र गुट उपगुटको कारण कम्युनिष्ट पार्टी विलिन हुने खतरा मडारिन थालेको अनुभूति हुन थालेको थियो। रायमाझीको समूह अलग भएको एक वर्षपछि २०२५ मा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशन गराए। महाधिवेशनकै कारण पार्टी विभाजित भयो भनेर २०२८ सालमा मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठलगायतको नेतृत्वमा ‘केन्द्रीय न्युक्लियस’ गठन भयो।
२०२८ सालमा नेपाल कम्युनिष्ट आन्दोलनको दुईवटा प्रष्ट धार देखिन्थ्यो। पुष्पलाल समूहमा रहेको पूर्वकोशी प्रान्तीय समितिसँग आवद्ध झापा जिल्ला समितिले २०२७ को अन्त्यतिर सशस्त्र आन्दोलनको घोषणा गर्यो। जसलाई ‘झापा क्रान्ति’ भनेर चिनिन्छ।
२०३२ सालमा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (माले) गठन भयो। त्यसभित्र २०३४ सालमा मुक्ति मोर्चा र पूर्वको रातो झण्डा समूहलगायत साना साना बामपन्थी दलहरु एक्यबद्ध भएर २०३५को अन्त्यतिर नेपाल कम्युनिष्ट पार्टी (माले)को स्थापना भयो।
२०४६ सालको जनआन्दोलनपछि २०४७ सालमा नेकपा (माले) र नेकपा मार्क्सवादीबीच एकतापछि नेकपा (एमाले)को गठन भयो। एमाले गठनपछि विधिवत रुपमा दुईपटक विभाजित भएको छ। अब रावलले नयाँ पार्टी बनाएपछि आउँदो दिनमा एमालेको नेता र कार्यकर्तालाई आफूतिर तान्न सक्यो भने त्यो पनि विभाजन नै कहलाउँछ।
नेकपा(एमाले)को छैठाैँ महाधिवेशनमा वामदेव गौतमको फरक मत र महाकाली सन्धिको सम्बन्धमा पार्टीभित्र विवाद भयो। त्यसपछि वामदेव गौतमहरुले पार्टी फोरेर २०५४ सालमा पुनः नेकपा(माले)को गठन गरे। २०७७ सालमा एमाले फोरेर माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी गठन गरे।
किन टुटफुट हुन्छ कम्युनिष्ट पार्टी?
कम्युनिष्ट पार्टी टुटफुटमा पार्टीको सिद्धान्त, दर्शन वा स्कुलिङको कारणले नभई वास्तवमा व्यक्तिगत स्वार्थसँग नै जोडिएको विगतको व्यवहारबाट पुष्टि हुन्छ। आफ्ना प्रतिद्वन्द्वी एवम् विरोधको स्वरलाई बन्द गर्न नेतृत्वकर्ताले दबाब बनाउने गर्छन्। अर्कोतर्फ, आन्तरिक सङ्घर्ष गर्दागर्दै अवसर पाउनासाथ पार्टीमा विभाजन ल्याउने गरेको बुझिन्छ।
पार्टीको नेतृत्वमै रमाउने खोज्ने, नयाँ पुस्तामा सत्ता हस्तानान्तरण गर्न चाहने मनोवृति छ। हुन त यो काँग्रेस पार्टीमा पनि छ। प्रचण्ड विगत तीन दशकदेखि पार्टी नेतृत्व गरिरहेका छन्। माधवकुमार नेपालले १४ वर्षसम्म एमालेको नेतृत्व गरे। अब एकीकृत समाजवादीको नेतृत्व गरिरहेका छन्।
मोहनविक्रम सिंह ९० वर्षकाे उमेर हुँदा पनि उनी नेकपा मसालको नेतृत्व गरिरहे। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले पनि पार्टी नेतृत्व तीन दशकभन्दा बढी समयदेखि गर्दै आइरहेका छन्।
नेताहरुको समयानुकूल भाषा, बोली बचन फेरिने गर्छन्। बामपन्थी नेताको पनि जीवनशैली उच्चस्तरको छ। तर, नाराचाहिँ सर्वसाहाराकै दिन्छन्। यसो हेर्दा सम्भ्रान्त बामपन्थीको चक्रब्यूहमा बामपन्थी विचारधारा फसेको छ। पार्टीको दर्शन, सिद्धान्तको उपयोग सत्ताको भर्याङको रुपमा परिणत भएको छ।
सामन्तवादको अन्त्य गर्ने भनेर नारा घन्काउने अचेल पार्टीभित्र सामन्तवाद सोचलाई नै अङ्गालेका छन् भन्नुपर्दा अतिशयोक्ति नहोला। पार्टीको भवन निर्माणका लागि कुनै व्यापारीको रकम र जग्गा लिनु हुँदैन भन्ने कुरा सार्वजनिक गरेपछि एमालेका नेताहरु कारबाहीमा परे। यदि, यस्तै रह्यो भने आउँदो दिनमा एमालेको भविष्यमाथि प्रश्नवाचक चिह्न लाग्न सक्छ।