राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका बेला हिरासतको तस्विर सार्वजनिक गरेका डा. निकोलस भुसालविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मा मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार जिल्ला अदालत कास्कीमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो।
भुसालले मंसिर २९ गते खिचेको तस्विर पुस ३ गते सामाजिक संजालमा भाइरल बनेको थियो। त्यस लगत्तै पक्राउ परेका उनलाई अदालतले रिहा गर्न आदेश दिएको थियो। साइबर अपराध मुद्दामा बिहीबार पुनः पक्राउ परेका भुसालको शुक्रबार नै अदालतमा बयान र थुनछेक बहस गरिएको छ।
भुसालले लामिछानेको गोप्य फोटो अनधिकृत रुपमा खिचेर सार्वजनिक गरेको प्रहरीको दाबी छ।
कन्ट्रोल टिममा कार्यरत प्रहरीहरू काममा व्यस्त रहेका बेला भुसालले अनधिकृत रुपमा सीसीटीभी मनिटरबाट लामिछाने सुतिरहेको तस्विर खिचेर सामाजिक सञ्जालमा उनले राखेको सरकारी वकिलको कार्यालयको अभियोजन पत्रमा उल्लेख छ।
अभियोग पत्रमा उल्लेख छ, ‘यी प्रतिवादीले आफूले चलाउने गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजन समेतमा आँच पुर्याउने तथा गोपनियता भंग हुने सामाग्री प्रकाशन गरी शान्ति सुरक्षामा समेत प्रभाव पार्ने कार्य गरी विद्युतीय (ईलेक्ट्रोनिक) ऐनअन्तर्गतको कसूर गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादी डा. निकोलश भुसाल भनिने कमल भुसालले उक्त कार्य गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन,२०६३ को दफा ४७ को उपदफा (१) ले निषेधित कसुर गरेको पुष्टि हुन आयो।’
सजाय माग गरिएको विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) मा कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फेलाउने वा विभिन्न जातजाती र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच बर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
भुसालको साथबाट बरामद भएको मोबाइल र सिमकार्डसमेत परीक्षणको लागि नेपाल प्रहरी प्रधान कार्यालय, डिजिटल फरेन्सिक ल्याब काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ। फरेन्सिक रिपोर्ट प्राप्त नभएकाले पछि पेश गरिने अभियोजन पत्रमा उल्लेख छ।