जून सर्कै बेल (सूर्य) पनि सर्कै तारा पनि सर्कै(आकाशमै)
वैकुण्ठ तरुँला भनेँ फेरि पनि नर्कै
डोटी शिखर नगरपालिकास्थित तिल्ताली गाउँनिवासी ७७ वर्षीया बट्टो कामी मसानी देवताका धामी हुन्।
हातभरि चाँदीका बाला, कानमा सुनका मुद्रा अनि सेता लुगामा सजिएका उनी लौरो टेकेर हिँडिरहन्छन्– कहिले कता कहिले कता।
कामीले सुनाए, ‘४२ वर्षसम्म धमेलो खाएँ। स्वासप्रस्वाससम्बन्धीे बिमारले च्याप्दै गएपछि तीन वर्षअघि काकाको छोरालाई सुम्पिदिएँ त्यो काम। काकाको छोरा काँप्न थालेपछि गाउँका जनप्रतिनिधि राखेर आफ्नो हातको बालो पहिराएर धामी बनाएँको हुँ।’
मध्य तथा सुदूरपश्चिममा धामीझाँक्रीप्रतिको विश्वास र आस्था छँदैछ। हरेक शुभकार्य र जात्रापर्वमा धामी कँपाउने प्रथा उस्तै छ। गाउँघरतिर कोही बिमारी हुँदा धामीलाई नाडी हेर्न लगाउनेदेखि कतै भूत, प्रेत वा देवताकै दोष छ कि भनेर काँप्न लगाउछन्।
यसरी धामी काँप्नुअघि दियो बालेर थालमा चामल र भेटी राखी देउतालाई दर्शन देऊ प्रभु भनी आग्रह गर्दछन्। जुन चलन शदियौँअघिदेख चल्दै आएको छ।
भन्नुपर्ने कुरा भनिसकेपछि धामी काप्न बन्द हुन्छ। त्यो भेटी र चामल धामीलाई नै दिइन्छ। जसलाई धामीले परिश्रम गरे मुताविक पाउनु पर्ने ज्यालाको रुपमा दिइएको ठान्न सकिन्छ।
विगतमा गाउँघरतिर स्वाथ्य केन्द्र नहुँदा, बढी आस्था र विश्वासको धरोहरका रुपमा हेरिन्थे– तिनै धामीझाँक्रीहरू। ठाउँठाउँबाट सङ्कलन गरिएको त्यही चामल गुजारा चलाउने आधार बन्थ्यो– तिनका लागि। हिजोआज बिमारी हुनासाथ धामी बोलाउने प्रथामा विगतको भन्दा केही कमी पक्कै आएको छ।
पानी नचल्ने जातका रुपमा हेरिँदै आएका दलित समुदायका धामी मलित भनिएकाहरूको आँगनमै बसेर देउता काँप्छन्। तिनलाई छोइयो भने घरभित्र छिर्नुअघि छोइछिटो हाल्ने चलन थियो विगतमा। ती सम्पूर्ण कुरालाई मनन् गर्दै सुनाएका थिए– बट्टो कामीले शिरानीमा राखेका डेउडा गीतका पंक्ति। उनले भेटमा भनेका थिए– ‘सबैले पुज्ने देवता हाम्रो शरीरमा काँप्ने। देवताले हामलाई छुन मिल्ले मान्सले छुन नमिल्ले। कसो चलन चल्यो हजुर !’
देशमा बेलाबखत व्यवस्था परिवर्तन भए तर दलितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएन। प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै शब्द सुने उनीहरूले। नेताहरूले चुनावका बेला होस् वा क्रान्तिताका नै किन नहोस् कैयौंपल्ट आशाका दिवार ठड्याउन लगाए तिनलाई। तर, धेरै दिनसम्म टिकेनन् ती दिवारहरू।
पुनः निराशाले बास ग¥यो उस्तै गरी। समुदायमा हरेक जातजातिका मानिसहरूबीचमा दलितले छोएको पानी चल्थ्यो भने वैकुण्ठ नै पुगिन्थ्यो भन्ने उनले सोचे र गीत बनाए। उनी आफ्नो समुदायमा गरिने विभिन्न कार्यमा भन्नु पर्ने संस्कारगत गीत, श्लोक आदि कण्ठस्थ सुनाउँछन्। तर पनि कालो अक्षर भैसी बराबर भनेझैं छ उनलाई। पढ्न लेख्न केही आउँदैन।
ती दिन सम्झेर सुनाउँछन् उनी –‘बाले स्कुल लाएइन। उही बेला स्कुल पढ्ने चलनै थिएन। दलितका चेलाचेलीको त झनै पढ्ने चलन हुने कुरै भएन। उहीबेला भूतको डर बढी हुन्थ्यो। एक्लै जानु हुनैन्थ्यो, डराउँथ्यो। अहिले केही पनि छैन्। अहिले त बरु मान्छेकै डर छ।’
जन्मभूमि दिपायल–सिलगढी नगरपालिकास्थित तिखागाउँ हो। वर्ष दिनका उनीलाई बोकेर त्यो ठाउँमा आएका थिए– उनका पिता फुले कामी। तिल्तालीमै बित्यो– उनको वाल्यकाल। सुरुमा उनी त्यो ठाउँमा आइपुग्दा बस्ती नै थिएन। पहिलो पटक त्यो ठाउँमा उनकै बुवाले बनाएका हुन् घर।
पछि चुँडी गाउँबाट आइपुगे कउछे कामी र सलुवा कामीको परिवार। बल्ल तीन परिवार भयो। सेती किनारको त्यो ठूलो फाँट बाझो थियो– लामो समयसम्म। विगतमा त्यो सारा जमीन रावलहरूको थियो। जहाँ कपास खेती मात्रै गरिन्थ्यो। बिस्तारै अरु जातिका मानिस पनि आइपुगे– बसोवास गर्न।
बट्टो कामीका दुई छोरा तीन छोरी हुन्। कान्छो छोरा ३६ वर्षको उमेरमै बिदा भए धर्तीबाट। उनीबाट नाति–नातिना छन्। तर, बट्टो कामीलाई कसैले सोध्दा भन्ने गरेका छन्– एक छोरा तीन छोरी। थाहा पाएको मान्छेले सोध्छन्, ‘दुई छोरा हैनन् र ?’ उनले सहजै भनिदिन्छन्, ‘मरेकालाई नि के गन्नु र, हजुर।’
निकै दिन भइसक्यो– उनले हातमा पहेलो बस्त्रले बेरेको पोको बोकेर पण्डित, ज्योतिषको दैलो धाउन थालेको। त्यो वस्त्रभित्र हुन्छन्– पितापुर्खाका पालामा लेखिएका केही सामग्री। नेपाली कागजमा लेखिएका ती कपीहरू कामी जातिको संस्कारसँग जोडिएका छन्। उनले यसरी हिँड्नुको एउटै उद्देश्य हुन्छ कसैले ती च्याँतिदै गरेका कापीमा लेखिएका कुरा अर्को कापीमा राम्ररी उतारी दिन्छन् कि अर्थात पुर्नलेखन गरिदिन्छन् कि भन्ने। दुर्भाग्य ! उनी जहाँ पुग्छन् त्यहाँबाट निराश बनेर फर्किन्छन्।
कापीका पाना च्यातिएका छन्। दायाँबायाँका अक्षर काटिएका छन्। न ती अक्षर पढेर अर्थ लगाउन सक्ने मान्छे भेटाउछन् उनी, न त तिनलाई पुनर्लेखन नै गर्न सकिने सम्भावना छ भन्ने कुरा कसैको मुखारविन्दबाट सुन्न सकिरहेका छन्।
जसरी सकिँदै गइरहेका छन्, जिन्दगीका पानाहरू उसैगरी सकिँदै छन्– पिता पुर्खाका पालाका चालचलन र संस्कारका पाना पनि।
‘धर्म संस्कार सबै सकिन लाग्यो। पुराना दिनका कुरा पनि कहावत हुन लागे। यो इसो के समय आयो। एकलोइ बस्या बेला खुब सोचन्छु अचेल’, भेटमा सुनाएका थिए उनले।
बाहुन–क्षेत्रीले सत्यनारायणको कथा लगाएझैँ लगाउँछन्, यो समुदायकाले पनि। मात्र पद्धति फरक छ। वाचन गरिने कथा फरक छ। सुन्ने र सुनाउने श्लोकहरू फरक छन्।
कामी जातिले कथा लगाउनुलाई समाज लगाउने भन्छन्। विगतमा यस्ता कर्म गर्ने र गराउनेहरू थुप्रै थिए समाजमा तर पछिल्लो समयमा सबै कुरा लोप हुँदै गइरहेकोमा चिन्तित देखिन्छन् उनी। उनका अनुसार, विगतका क्रियाकलापहरू धर्म र संस्कारमा मात्र सीमित छैनन्। तिनले आपसी सरसहयोग र संवेदनाको पक्षलाई मजवुत तुल्याउँथे। सहयोगी भावना बढाउनुका साथै मर्दापर्दा आफ्नै भाइबन्धु चाहिने कुरा अथ्र्याएका थिए।
समाज र समुदायको महत्व दर्शाउँदै मनोरञ्जन दिलाउन समेत अर्थपूर्ण मानिन्थे ती विभिन्नखाले चाडपर्व र केही संस्कारगत क्रियाकलापहरू। विश्वकर्मा समुदायमा जन्मदेखि मृत्युसम्मका संस्कारहरूको महत्व छुट्टै छ।
मान्छे मर्दा गीत गाउँदै लैजान्छन् लाशलाई घाटतिर। त्यतिबेला गाइने गीतका दुई पंक्ति सुनाएका थिए उनले :
कति जना मिली बाहिर निकाला है राम बाहिर निकाला है।
दोचार मिली बाहिर निकाला है राम बाहिर निकाला है।
कति जना मिली खटालो बनाया है राम खटालो बनाया है।
दोचार मिली खटालो बनाया है राम खटालो बनाया है।
यस्ता कार्यमा गरिने क्रियाकलापहरू छुट्टै छन्। अहिले पनि मान्छे वितेपछि १५ दिनका दिन सबै काम सकेर पछि समाज लगाउँछन्।
कुराकानीकै क्रममा उनले सुनाएका थिए – तमीलाई त किताब मात्र देखाया हुँ हजुर ! रुद्राक्षका माला, घण्ट, गणेशको मूर्ति, शिवजीको मूर्ति आदि भितर बाकसभरि छन्। विवाह न्वारन लगायतका शुभ कर्ममा समाज लगाउने, आरति घुमाउनेजस्ता कर्म गर्छौं। त्यति बेला यस्ताखाले भजन पनि गाउँछौं :
आशन दिए गुरु सिंहासन दिए, दिए हो वगम्बर छाला।
हातैमा डमरु कानैमा झोला बाउली कञ्चन माला .............
थुप्रै छन्– उनीसँग पुर्खाका पालामा लेखिएका संस्कार सम्बन्धी कुराहरू। जसको अर्थ लगाउने मान्छे मात्र हैन छुट्टिएका पाना मिलाउन सक्नेहरू पनि छैनन्।