हेमन्त विवश
निउरो पलाइरदो खोलीका किनार
दुखारीका दिन् जोखिदेऊ सुन जोख्ने सुनार
कुनै जमिनदारको ठूलो आँगन जस्तो लमतन्न पाटन।
पाटनकै छेउमा उठेका ढिस्का जस्ता अग्ला थुम्का। त्यही आँगन जस्तो देखिने पाटनदेखि थुम्काहरूमा कतैकतै फुल्न आँतुर भइरहेका भुँइफूलका कोपिलाहरू। डोटीको बाटो हिँड्दै गर्दा बाटैमा पर्ने त्रिवेणी। एकापट्टीबाट बगिरहेकी गङ्गा नदी, अर्कोपट्टीबाट बगिरहेकी यमुना नदी, अनि पुरानो धर्मशाला नजिकै गुप्त भएर बग्ने सरस्वती। ती तीनैको संगमस्थल हो- त्रिवेणी।
सम्झना, कल्पना र अनुभूतिझैँ टल्केका त्रिवेणीका त्रिकोणकार तीन कुना। आइदिन्छन्- बेलाबखत सम्झनामा।
अनि सम्झनामा आइरहन्छ खप्तडबाट फर्केपछि बाटोमा भेटिएकी देउसराले भनेको कुरा- ‘गोसाई, खप्तडका पाटन भन्ना ठुला छन् गरिबका दुःखका पाटन नैपालका सम्राटऽकनऽ के थाहा।’
खप्तडको नाम सुन्ने बित्तिकै, फोटाहरूमा नजर पर्ने बित्तिकै सम्झनामा आइदिन्छ- देउसराको उक्त भनाइ।
उनले भनेझैँ मापन गर्न नसकिने हुन्छन् दुःखका अदृश्य पाटनहरू। निरिह बनेका गाउँघरको तस्वीर। दैलोमा झुण्ड्याईएका ताला अनि बाँझो रहेको पहाडको जमिन। यी सारा कुरा समेटिएका छन्- शिरानीमा राखिएका पंक्तिभित्र।

यस्ता पंक्ति सुन्दा लाग्छ, गाउँघरमा विरह वेदना र दुःखका अदृश्य पाटनहरू खप्तडका पाटनभन्दा कयौँ गुणा ठुला छन्। मापन गर्न नसकिने ती पाटनहरूमा निस्किदिन्छन् जिन्दगीका विभिन्न आलापहरू। जुन आलापहरू वार्तालापका क्रममा सुनाउँछन् कुनै देसराहरूले।
हिजोआज समस्याका पाटन छन् मान्छेका सामु। वर्षा नहुनु, चारैतिर डढेलो लाग्नु, धुँवा धुलोले वायुमण्डल दुषित तुल्याउनु एउटा दुःख बनेको छ भने कोरोनाको लहर दोहरिदै जानु अर्को दुःख बनेको छ।
नेपालका सम्राटहरूले दिने दुःख त छदै थियो। स्थानीय सरकारका टाठाबाठाहरु पनि उस्तै प्रवृतिका देखिन थालेपछि सर्वसाधारणहरु चिन्तित छन्। कुनै काम गर्दा गठन हुन्छ उपभोक्ता समिति। उक्त समितिभित्र समेटिन्छन् सबै पार्टीका टाठाबाठाहरु। काम गरेजस्तो गरेर बुझाउँछन् बिल भौचर। अनि बाँडफाँड गरेर दिनुपर्ने नाकामा कमिसन दिएर खल्तिमा राख्छन् विकासका नाममा आएको बजेट। असहाय गरिब र आवाजविहिनहरुका दुःखका पाटा झनझन फराकिला बन्दै जान्छन्। यतिखेर दुःखसँग दाजिँएका खप्तडका पाटन स्वयम दुखी छन् छातीभरि फूल फुलाउन नसकेर।
उता मित्र अमृत भादगाउँलेले सोधिरन्छन्- पात्रो हेर्नु भयो, गङ्गा दशहरा कहिले छ नि ? एकपल्ट फूल फुल्नेबेला जानु पर्छ है फेरि।
आषाढमा ढकमक्क फूल फुलेको मौसममा खप्तडका दृश्य क्यामेरामा कैद गर्न निकै इच्छुक देखिएका छन् भादगाउँले र वसन्तप्रताप सिंह। एक पन्थ दुई काज हुने लक्षण देखिन्छ यसपल्ट। मेला हेर्नु र आषाढको पूर्वसन्ध्यामा खप्तडका फूलहरू क्यामेरामा कैद गर्नु।
तिनै पाटनबाट सम्झिने छन् भादगाउँले र सिंहले पनि कालिदाशलेझैं आ-आफ्ना वाल्यसखा वा कुनै प्रेमिकालाई।
एउटा पाटनबाट अर्को पाटनतिर लस्किदै गरेको बादलले खप्तडमा एक्कासी दर्केर आउने वर्षाले अनि बिस्तारै मनमुटुलाई छोएर जाने बतासले सम्झिन बाध्य तुल्याउँछ कालिदासको मेघदूत।
रैका ट्राभल एण्ड ट्रेक्स बुद्ध एयर र बुद्ध होलिडेजको संयुक्त व्यवस्थापनमा खप्तड पुगेको महिना दिन नाघिसकेछ। बेलाबखत पुरानो दिनको झझल्को आइदिन्छ मनमा। करिब तीन महिना अघि लेखक/पत्रकार अमृत भादगाउँले, पत्रकार वसन्तप्रताप सिंह साइक्लिष्ट भरतबिक्रम शाह र कवि युगिन विवेकसँग खप्तडका पाटनमा पाइला मिलाएको दृश्य नाच्न थाल्छ आँखा अगाडि।
तुवालोले मन उदास बनाउने चैत विदा भैसक्यो। एकदिन धर्तीबाट आफैले विदा हुनुपर्ने निश्चित नै छ। तर, पनि भावनामा चुर्लुम्म डुब्ने लोकविका ओजपूर्ण पंक्तिले हल्लाउछ भित्रैसम्म।
यसपल्ट खप्तड यात्रा गरेको केही दिनपछि संयोग मिल्यो डोटीमा पत्रकार महासंघको चुनावको रौनक हेर्ने। एलायन्सको रस्साकस्सी एकातिर थियो। उमेदवारहरूको चुनावी दौड छुट्टै थियो। यहीँ दौरानमा टेकेन्द्र देउवाजस्ता आत्मीय, सहनशील अनि संगठनको चिन्ता गरेर अरूको भलाईमा खटिरहेका मित्रहरू एकातिर भेटिए। अर्कोतिर योगेश रावलजस्ता भलाद्मी र संगठनका लागि दत्तचित्त भई दिनरात खट्न सक्ने मित्रहरूसँगको पहिलो भेट अविष्मरणीय थियो। मजस्ता चुनावी परिवेशको तमासा हेरिरहनेहरूको पनि कमी थिएन त्यहाँ।

दौडधुप गर्दै तमासा हेर्दै गर्दा ठाउँ बनाइरहेका हुन्छन् सम्झनाका लहरहरूले स्मृतिपटलमा। अचेल जताततै तमासा देखिन्छ। दुई गिलास जाँडमा बेचिनेहरूको तमासा एकातिर हुन्छ। चाकडीका दूना सोझ्याउनेहरूको तमासा अर्कोतिर। फाइफुर्ती लगाउँदै आत्मश्लाघामा रमाउनेहरूको दुनियाँ अर्कै। अनि इमानदार स्वाभिमानीहरूको मौनता अर्कै। शङ्का उपशङ्काका दिवार ठड्याई अनुमानको खेती गर्नेहरूको पनि कमी छैन मुलुकमा।
चारैतिरका घटना परिघटना हेरेर, सुनेर आफैसँग सवाद गरिरहन्छु- आखिर जिन्दगी भन्नु तमासाको मैदान पनि त हो। जहाँ कैयौँ मोडहरूले कैयौँ अनुहारहरूले तमासा देखाएर गइरहेकै हुन्छन्। फरक यति मात्र हो तमासाहरू कति सभ्य छन् अनि कति अश्लील छन्। कति परोपकारी हितप्रद छन्, कति घातक छन्।
तमासा त खप्तडमा जनकराज भारती र मोहनपूर्ण सत्यालको समूहले पनि देखाएको थियो। भरतविक्रम शाह, युगिनविवेक र वसन्तप्रताप सिंहहरूले पनि देखाएका थिए। ती तमासाका लहरहरू शालिन थिए, सिर्जनशिल थिए, रोचक थिए। प्रेमपूर्ण अनि स्वाभिमानको बलेसीले भिजेका थिए। अमर शाहीको पर्यटन कर्मले पनि देखाइरहेकै छ तमासा। जुन प्रकारका तमासाले प्रेरणा जगाउँछ। समाज, राज्य र व्यक्तिको भलो चिताएको हुन्छ। उनको कर्मठ पनले ठाउँको लागि जुझारु ढंगले लाग्नु पर्छ, परोपकारी भावना बढाउनुपर्छ भन्ने सन्देश दिई नै रहन्छ।
कतै गायन, कतै नृत्य, कतै सुन्दर दृश्यहरू क्यमेरामा कैद गर्ने होडबाजी निकै नै उल्लासमय थियो खप्तडको यात्रा। सुन्दर शालिन तमासा थिए स्वयम खप्तडका कैयौं दृश्य परिदृश्यहरू। जिन्दगीको बहुत आनन्ददायी क्षण थियो त्यो।
तमासा त ओली सरकारले पनि देखाइरहेकै छ। जुन भद्दा छ। अर्थहीन छ। जहाँ सत्ता लम्ब्याउन विभिन्न खेल खेलिदैछ। रिक्त रहेका पदमा आफ्नाहरूलाई पदस्थापन गरिदैछ। रबैया देखाइदैँछ। यो देशका चटकेहरूले देखाइरहन्छन् बेलाबखत गजबको तमासा। उता टुक्रिन नसकेकाहरूको रोइलो छ। यता केही दलको सरकार बनाउने रस्साकस्सी छ। देश बनाउने सोच पलाएन कसैको, कहिल्यै पनि। अनि आभाष गर्न थाल्छन् सर्वसाधारण जनताले दुःखका पाटनको।
शुक्लाफाँटाका मयुरले पनि देखाए तमासा भरतबन्धुको क्यामेराको लेन्स अगाडी नै नृत्य गरेर। जनावर, पशुपंक्षी र प्रकृतिले देखाउने तमासाको गरिमा छुट्टै छ। सुन्दर आलोक छ त्यहाँ। जहाँ लोभ लालच, शत्तामोह हुँदैन, मस्तराम जिन्दगी हुन्छ त्यतै हुन्छ जीवनको मर्म पनि। त्यो पन पनि बनिदिन सक्छ कसैका लागि तमासा।

जिन्दगी आफैमा एक तमासा हो। जहाँ उल्लास छ। उमङ्ग छ। सुन्दरता छ। सभ्यता छ। यी सारा कुरा बिर्सेर ठिक उल्टो दिशातिर गैदिन्छ मान्छे। दरिद्र, अधिर्जी, कहिल्यै नअघाउने मान्छेको जात सक्दैन सन्तोषको सास फेर्न। चाहदैन अरुको अस्तित्व स्विकार्न। र त दुखी र निरिह बनिदिन्छ।
धेरै कुरा हुँदाहुँदै पनि गरिब छ मान्छे। कयौँ प्रकारका सुविधा भोग्न पाएपनि दुखारी नै देखिन्छ मान्छे। कमै देखिन्छन् स्वाभिमानको शिर ठड्याउनेहरू। बहुसंख्यक मानिसको शिर स्वाभिमानले नभई अहंकारले ठडिएको देखिन्छ। अहंकार जीवनको एजेरु हो। जसले नजानिदो पाराले सिध्याइरहेको हुन्छ जिन्दगीलाई।
पद, पैसा र चाकडीको साम्राज्य चलिरहेको यो समय। घुस्याहा, चाकडीवाज र टपरटुय्याहरूसँगको सङ्गतभन्दा कतै एकान्त स्थानमा भीरमा अड्केको पत्थर हेरेर दिन बिताउनु निकै श्रेयष्कर हुन जान्छ। गहिरिएर मनन् गर्दै जाने हो भने जीवनको असली मर्म त्यो भीरले बताउँछ। संघर्षको असली पाटो ससाना टुक्राको आडमा वर्षौदेखि अड्किरहेको त्यो बडेमानको पत्थरले पनि सिकाउँन सक्छ।
मान्छे कुटिल प्राणी हो। जो सुकर्म भन्दा कुकर्मतिर बढि तानिरहेको देखिन्छ। त्यसैले निकै ठूला देखिन्छन् मान्छेका दुःखका पाटनहरू। नेपालका ती सम्राटहरु गाउँका ती सर्वसाधारण गरिबहरु जति पनि सुखी छैनन्। फेरि पनि दम्भ गर्न छोड्दैनन्। भित्रभित्रै महत्वाकांक्षाका पाल टाँगेका, कल्पनाका महल ठड्याइरहेका, कयौँलाई ठगिरहेका, भ्रष्टाचारका तानावाना बुनिरहेका तिनी जस्ताे चिल्लो गाडीमा दगुरे पनि तड्पिरहेका छन्, दुखीरहेका छन् दिनरात। तर सबैले अनुमान गर्न सकिरहेका हुँदैनन् तिनका दुःखका पाटनलाई।
केवल गरिब र असहायहरुका दुःखका पाटन टल्किरहेका हुन्छन्। जसले सम्झाइरहन्छ गाउँघरतिर सुनिदै आएको एउटा भनाई- ‘सस्तो को भन्यो रे परिघरको राज’ अर्थात् सस्तोको भनेर सोध्दा सजिलै भनिदिए पल्लोघरको राज।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया