कर्णालीका छालझैँ छल्किन्थे प्रेमी–प्रेमिकाका मन

जाडो हुन्छ कम्मलले तातो गुदडीले (सिरकले)
साइका (प्रियका) गली (गालामा) छाप हानुकी मेरा मुदडी (बुलाकी) ले

पूर्वीय साहित्यका महाकवि कालीदासले केही अद्भूत काव्यकृतिहरु छोडेर गए। महाकविका मेघदूत, रघुवंशलगायतका कृतिहरुमा अत्यधिक मात्रामा श्रृङ्गार रसको प्रयोग गरेको पाइन्छ। अधिक मात्रामा उपमा अलङ्कार र विम्बको प्रयोग गरिएका उनका सिर्जनाको चर्चा चलेकै हुन्छ, जताततै।

आज प्रणय दिवस। महाकवि कालिदाुको रघुवंश महाकाव्यको आठौँ सर्गभित्रका यी पंक्ति आइदिन्छन् सम्झनामा :

कलमन्यभृतातासु,भाषितं कलहंसीषु मदालसंं गलम्
पृषतीषु बिलोलमीक्षितं पवनाधूतलतासु बिभ्रमाः

(हे प्रिय, स्वर्ग जाने समयमा मलाई आश्वासन दिनका लागि तिमीले कोकिललाई मधुर भाषण, राजहंशमा आफ्नो धीमा चाल, हरिणमा चञ्चल चित्त, वायुमा बिस्तारै हल्लाउने र लताहरुमा विलाश आदि गुण छोडेर गरौं। परन्तु ती सबै विरहमा अत्यन्त दुःखी बनेको मेरो हृदयमा कुनै प्रकारको शान्ति दिन समर्थ छैनन्।)

यहाँ अजले इन्दुमतीको मृत्युमा व्यक्त गरेको विरहपूर्ण भाव छताछुल्ल भएको देखिन्छ। संसारका कैयौं स्रष्टाहरुले खन्याएका छन्– काव्यका माध्यमबाट अन्तरहृदयका भावना। 

प्रेमको जगतमा भित्रिमनका भाकाहरु खन्याएर गए मध्य तथा सुदूरपश्चिमका केही लोककविहरुले पनि। तिनका कृति आएनन् लेख्य रुपमा। भएन तिनको कतै चर्चा परिचर्चा। तिनले रचना गरेका अधिकांश गीतहरु पनि पुराना बूढापाकाहरुसँगै सति गए। कुनाकाप्चातिर फ्याट्टफुट्ट सुनिन्छन् केही गीतहरु जो निकै नै मार्मिक छन् तर थाहा हुन सकेको छैन– कतिपय गीतका रचयिताको नाम। मनको भित्री पाटोलाई छुन सफल एउटै पंक्तिमा काव्य अडिएजस्ता ती पुराना गीतको छैन खोजनीति हुन सकेको। बुझाउन सकिएको छैन तिनको मर्म। 

मैले यहाँ मध्य तथा सुदूरपश्चिमका लोककविलाई महाकवि कालिदास वा अन्य कुनै कविसँग दाज्न खोजेको हैन। र, दाज्न पनि मिल्दैन। भन्न खोजेको यति मात्रै हो संवेदनशील हृदयलाई हल्लाउने भाव जरुर बोकेका थिए ती लोककविका सिर्जनाले। 

हिजै मात्र सुनाएका थिए– डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्र खड्काले सिरानीका पंक्ति। प्रेमिकाको उद्घोष सुनिन्छ– आफ्नो प्रियको गालामा मुन्द्री अर्थात् बुलाकीको छाप बसाली दिने। जुन छाप जीवनभरिका लागि प्रेमको निशानी बनिदेओस्। 

यो गीत बिछोड हुने पक्का भइसकेपछि अन्तरहृदयबाट निस्केको प्रेमको राग थियो। सुदूर तथा मध्य–पश्चिममा विगतमा प्रेममा बिछोडिनुपर्ने अवस्था बढी हुन्थ्यो। जसको कारण समाजमा ठूलाबडाहरु नै न्यायमूर्ति बन्नु। उनैले सुनाएको सजायको भागेदार बन्नु। बलियाको हैकम चल्नु। प्रेम विवाहलाई त्यति साह्रो मान्नेता नदिनु। जातभातको समस्या देखिनु र जात मिलिहाल्दा पनि प्रेम विवाह गरेर ल्याउँने बित्तिकै जात खस्केको मानिनु आदि। त्यसैले त्यतिखेर लुकिचोरी खुकुरीको धारमा टेकेर गरिन्थ्यो प्रेम। 

गाउँ पनि चनाखो अरी कुकुर पनि भुकाई 
तेरीखाने मायाजाल जीउज्यान मात्र सुकाई

जिन्दगीले सहेकै हुन्छ– बेला बखत केही न केही। त्यो केही न केही भित्र पर्दछन् आँसु, विरह, वेदना, अन्याय आदि। जुन बढी मात्रामा छताछुल्ल भइदिन्छन् प्रेमको दुनियाँमा। जहाँ उब्जिन्छन् अर्थात् सिर्जना भइदिन्छन् भावुक बनाउने अर्थात् मनछुने पंक्तिहरु। मुगुका ९५ वर्षीया दानबहादुर मल्ल सुनाउँछन्, ‘लिखित रुपमा आउन नसकेका यस्ता थुप्रै गीतहरु हराउँदै गए।’

उनी सम्झिन्छन् जवानीमा छोट्टी (केटी) सँग गरेका सवालजवाफ :

मल्लः चुल्ठीको झुगेलो (डोरी/तुइन) लगाई म पारि तर्न देऊ
नथनिउँदो (बुलाकीमा) पासो लाउछु कोलौदो(काखमा) मर्नदेऊ
केटी :कति आए कति रहे हाटका हटौर (हाट जानेहरु) 
दै (प्रिय मान्छे) मरे म मरी जाउला देश होला कठौर(मलामी)

उनले सुनाए, ‘आहा ! त्यो बेलाको प्रेम र सद्भाव। अहिले त बलत्कारका घटना मात्र सुनिन्छन्। त्यतिबेला प्रेम गरिन्थ्यो अहिले बालात्कार गरिन्छ।’ 
प्रेम गर्नेहरुले सधैैँजसो मनाइरहेकै हुन्छन् प्रेम दिवस। फुर्सदिलो समय हुँदा भेटघाट गर्छन्। समय नहँुदा सम्झिन्छन्। सम्झेको मान्छे कहाँ बाडुली पुगेको हुनुपर्छ भन्ने विश्वास राख्छन् अचेल पनि कतिपयले। बाडुली पाउनेले पनि फलानोले सम्झेछ कि क्या हो भन्दा यदि हो भने बाडुली लाग्न बन्द हुने मान्यता राख्छन्। 

मध्य तथा सुदुरपश्चिममा बाडुलीलाई सम्झनाको प्रतीकका रुपमा लिने चलन आज पनि उत्तिकै मात्रामा छ। अँगेनामा आगो भरभराउँदा समेत कसैले सम्झेको अनुमान गरिन्छ। 

घाँस काट्दा बाहुलीमा बिझ्यो अथरिया बीन (एक प्रकारको काँडा) 
लाइदिउँकी बाडुली खुड्को ब्यूझाइदिउँकी निन (निद्रा)

प्रेम शदियौँदेखि चल्दै आएको छ गाउँदेखि सहरसम्म। उहिले–उहिले प्रेम गर्नेहरु निकै नै त्यागी हुन्थे। अहिले गरिने प्रेममा भने स्वार्थ मिसिएको पाइन्छ। प्रेममा रुप, यौवन, धनि, गरिब, जातभात केही हेरिंँदैन भन्छन् विज्ञहरु। 

त्यसैले भनिएको हुनुपर्छ– ‘प्रेम अन्धो हुन्छ।’ गाउँघरतिर अहिलेको जस्तो सुविधा थिएन। न्याय दिलाउने कुनै संघ–संस्था र न्यायाधीशहरु पनि थिएनन्। थिए केवल ठूलाबडा हैकमवादी मात्र। खेती किसानी गरेर जिविका चलाउने समुदायमा भागेर अन्यत्र जाने सम्भावना पनि थिएन भन्दा नै हुन्छ।

आफुखुसी प्रेम गरेको कसैले थाहा पाएमा समाजमा ठूल्ठूला सजायहरु भोग्नुपथ्र्यो। पानी नचलाउनेदेखि गाउँ निकाला गर्नेसम्मका सजाय सुनाइन्थ्यो। यसरी केही विकल्पहरु नहुँदा प्रेम गरिएको मनलाई औपचारिक रुपमा अँगाली हाल्न सम्भव थिएन। 

टाठाबाठा र ठूलाबडाका छोराछोरी वा उनीहरु स्वयमले कसैसित प्रेम गरेको वा अन्याय गरेको कुरा मिलिसक्थ्यो भित्रभित्रै। उनीहरुविरुद्ध औंला ठड्याउने साहस कसको हुनु र त्यतिबेला। दुख्ने त उही गरिब र निर्धाहरुको बस्ती न हो। तिनै अःसहाय मनहरु न हुन् जो मनमै सजाउँथे प्रेमको राजधानी र सुसेल्थे विरहका गीतहरु।

त्यो समयमा रचिएको गीतका पंक्ति सुनाउँछन् जुम्लाका तुङ्गनाथ उपाध्याय –

राइसुवा कर्मौदा भया चिना लेखिदा हौ 
पुण्णा(पर) जाउ पराया मालौ किन देखिदा हौ 

(मन पराएको मान्छे भाग्यमा भए त जुडमेल गरिदो हो।  अर्काको सम्पत्ति बनेका तिमी पर जाऊ किन मेरो नजिकमा देखिन्छौ।)

बिम्ब, प्रतीक र अलङ्कारले सिँगारिएका त्यतिखेरका गीतहरुको भावपक्ष पनि निकै नै गहिरो भित्रैसम्म छुने खालको हुन्थ्यो। 
त्यसैले त सुनाउँछन्– बझाङका लोककवि जयराज जोशी :

कैल जाने लेक औंल कैले जाने गढी 
तोलेनी जून पडे जसी होइजा मैना चडी

( हे प्यारी, सम्मपरेको उपत्यका जस्तो ठाउँमा पूर्ण चन्द्रको दृष्टि परेजस्तै बनिदेऊ।)
 
तुङ्गनाथ भन्छन्– पुराना र अहिलेका गीतहरुको तुलनै गर्न मिल्दैन। अहिले जताततै राजनीति हावी भएको छ। जसबाट डेउडा क्षेत्र पनि अछुतो रहन सकेको छैन्। अहिलेका राजनीतिक रङ्ग पोतेका गीतमा अर्थ छैन।

त्यतिखेर प्रेम गर्नेहरुको यौटै उपाय हुन्थ्यो– राती सारा बस्ती निदाइसकेपछि गाउँभन्दा टाढा डाँडाको खोचमा गएर केटाकेटीहरुले डेउडा खेल खेल्नु। त्यसको लागि पनि ठूलै रिक्स मोल्नुपर्ने हुन्थ्यो। झ्यालबाट हाम फलेर निस्किनुपर्ने समेत हुन्थ्यो। 

केटीहरुको सवालमा भने कोही महिनावारी हुँदा गोठमा उसलाई साथ दिने निहुँ गरेर एकै ठाउँमा चार पाँच जनासम्म बस्ने हुँदा निस्किन सजिलो हुन्थ्यो। त्यस्तो खाले डेउडालाई चोर डेउडा भनिन्थ्यो। चोरेर खेलिने डेउडा भएकोले यसलाई चोर डेउडा भनिएको हो। 

अझै भन्नु पर्दा अरुलाई थाहा नदिलाई दिउँसो नै सल्लाह गरेबमोजिम चोरेर सुटुक्क कसैले चाल नपाउने गरी घरबाट निस्की रातभर डेउडा खेल खेल्ने र बिहान उज्यालो नहुँदै बिरालोको चालमा आ–आफ्नो घरभित्र पसिसक्ने पद्धति अपनाइने भएको हुँदा यसलाई चोर डेउडा भनिएको हो। यसरी चोर डेउडा खेल्दा वरपरका गाउँमा आवाज नपुग्ने स्थानको चयन गरिन्थ्यो।

उता कर्णाली अञ्चलमा टाढाका गोठमा गएर बसेर रातभर सवाल जवाफ गर्ने गरिन्थ्यो। यसरी डेउडा खेल्दा सुरक्षित स्थानको चयन गरिन्थ्यो। जहाँको आवाज गाउँलेको कानसम्म आइपुग्दैनथ्यो। रातभरि मनका बह पोखिन्थे डेउडा गीतका माध्यमबाट।

सवालजवाफ जजसले गरे पनि सहभागी सबै जनाको दशा उस्तै हुने हुँदा अधिकांशको जीवनसँग मेल खान्थे ती गीतहरु। त्यतिखेरको प्रेम मन जित्ने प्रेम हुन्थ्यो। अहिलेको प्रेम तन जित्ने प्रेमका रुपमा देखापर्न थाल्यो।

तुङ्गानाथका अनुसार, दिउँसै केटा पक्षबाट कसै एक जनाको रुमाल गलबन्दी वा अरु कुनै चिज केटीले राख्ने र केटीपक्षको पनि रुमाल, पछ्यौरी, पोते जस्ता कुनै चिज केटा पक्षले राख्ने चलन थियो।

यसरी दुवै पक्षले आफूले लिएका चिज राति डेउडा खेल खेल्न जाँदा मात्र फिर्ता गर्थे। यसको अर्थ हुन्थ्यो– वाचा गरेको वा राती आउने कुरा पक्का भएको।

यसरी डेउडा खेल्ने उचित समय भनेकै प्रायःजसो हिउँदको बेला हुन्थ्यो। हिउँदमा जाडोको कारण समयमै सबै जना घरभित्र पसिसकेका हुन्थे। हिउँदमा रात पनि लामो हुने भएकाले ढुक्कले दुईचार घण्टा डेउडा खेल्न पाइन्थ्यो।

फेरि हिउँदमा खासै कामकाज पनि हुँदैन, जसले गर्दा सन्चो नभएको बाहना गरेर दिनभरि घाममा बसेर निदाउन पनि सजिलो। गाईबस्तु चराउन वनतिर गएर घाम ताप्दै निदाउन नि हुने। त्यही भएर होला गाउँघरतिर दिउँसो निद्रा लाग्यो भन्दा सीधै भनिहाल्छन् के राती डेउडा खेल्न गाथिस् र ?
विगतमा मध्य तथा सुदूरपश्चिममा प्रेमको तलाउमा डुबुल्की हानेका कैयौँ प्रेमी–प्रेमिकाहरुले चोखो माया गर्दागर्दै पनि विभिन्न कारणले बिछोडिनुपर्दा विरह र वियोगका गाथाहरु सुसेले।

बाजुराका आइते साउदले पत्नी–वियोगपछि रचना गरे– यी पंक्ति :

अभो सल्लो घुतिमति उधो सल्लो नाङ्गै 
चारो छदै खुँडी  रित्तै बाज उडेर काँ गै 
अछामीको बोली राम्रो उलठी उलठी 
काँ गए दाडिमे दन्त काँ गै है चुलठी 

डोट्याली भाषामा यसरी विरहका भाका गुनगुनाउनुलाई ककौला काट्नु भनिन्छ। यस्ता ककौला प्रेममा विरक्तिएका, कृशकाय भइसकेकाहरुले गीतका माध्यमबाट सुनाउने गर्दथे। पछिल्लो समय केही गायक गायिकाले पनि गाएका छन् मन हल्लाउने केही पंक्तिहरु :

रोजे फूल कैले ब लैग्यो काँ जाउँ कैका खोज 
आसुँले भात मिची खाएँ साइका जन्तिभोज

– भुवन दाहाल

अग्लो डाँडो भत्किजाओस् मेरो साइ धेकिजाउ
कोल बसी दिन बिताउनु कर्ममा लेखिजाउ

– हरिना साउँद

कथा भन्छ–बर्खामा गाड उर्लिरहेछ। वारि केटा, पारि केटी भैंसी चराउन दिनहुँ आइरहन्छन्। वारिबाट केटाले बाँसुरी फुक्दा पारिबाट केटीले सुसेल्न थाल्छिन् सुमधुर स्वरमा गीत। त्यही बाँसुरीको धुन र भेट्न नसक्दा निस्केका विरहपूर्ण गीतका पंक्ति नै बनिदिन्छन् ती दुबैका प्रेमका प्रतीक। त्यहाँ उच्छृङ्खलता छैन। अभद्रपन छैन।

छैन कुनै किसिमको बेइमानी। जहाँ मात्र प्रेम छ। प्रेमिल हृदय हल्लाउने भाव छ। समयको अन्तरालमा सधैँ बाँसुरीको धून सुनिने ठाउँ एकाएक निःशब्द भइदिन्छ।

भैँसी उनै हुन् तर गोठालो अर्कै देख्छिन् केटीले। मनमा खुल्दुली भएपछि गीतका माध्यमबाट तेर्स्याउँछिन् पारिडाँडाबाट प्रश्न –

पुराना सिपाहीको लाउने खाकी जीनको जामा 
मेरो कलि (प्रिय) तेरो रित्थ्ये (मालिक) काँ छ भैसी आमा 

आँ अर्दा अलङ्कार बुझेझैँ केटाका बुवाले बुझिसक्छन् गीतको भाव। आँखाबाट वर्षाउँदै बलेसी फर्काउछन् उत्तर –

कलेश्वर बजुरे लप्टन गैगयो गैगयो 
तेरो कलि मेरो छोरो कालले लैगयो।

मध्य तथा सुदूरपश्चिममा थुप्रै थिए यस्ता कथा, व्यथा, घटना, परिघटनाहरु। जसले जिन्दगी र जगत बोकेका थिए। अहिले जताततै प्रेमको नाटक रचिन्छ। कतिपय ठाउँमा दुर्घटनाहरु निम्तिन्छन्। देखावटी रुपमा प्रेम गर्नेहरुलाई के थाहा, असली प्रेमीप्रेमिकाका अन्तरहृदयबाट सेतीकर्णालीका छालझैं छल्किने काव्यात्मक पंक्तिहरुको गहिराई।

राति चोर डेउडा खेल्दाखेल्दै उज्यालो हुन थालेको सङ्केत दिएर आकाशमा जब देखापर्थ्याे ध्रुवतारा छोड्नुपर्ने हुन्थ्यो खेल। जुन भाव छल्किन्छ यी पंक्तिमा –

भोटको कोदाले ढुङ्गो कमिल्लीको (कमिलाको) चारो
दै (प्रिय मान्छे ) छुटाउने म रुवाउने आइग्यो ध्रुबतारो।

– आर्काइभ

प्रकाशित मिति: : 2021-12-31 08:06:00

प्रतिकृया दिनुहोस्