सम्राटले के जान्दथे विसुँको महत्व 

‘आज त मेरा बा आउन्या हुन् देश है’ भनेर अरूलाई सुनाउँदै फुरुङ्ग पर्ने बाल्य पाइला बोक्ने कयौं आँगनहरू सुस्ताएका छन्।

उहिले कसैको आँगनमा काग कराउँदा त्यस घरका केटाकेटीलाई भन्ने गर्थे- ‘आज तेरा बा आउन्या हुन्। बिहानै तमरा आँगनमी कौवा बाेल्लाथ्यो।’

त्यो समय इतिहास बनिसक्यो। अचेल हातहातमा मोबाइल छन्। कहिले आउनेदेखि बाटोमा कहाँ पुगे भन्ने सबै समाचार सुनिन्छ मोबाइलबाट। सुन्तली मिठाई र पेपरमिन्ट बाँड्ने चलन पनि हराइसकेको छ। लाहुरेहरू प्रायजसो जुँगा पालेका हुन्थे।

लुङ्गी बेरेका, सटका कलर मिलाएझैं जुँगामा ताउ लगाउँदै दुईचार दिन फुर्तिफार्ती गर्ने लाहुरेहरू देखिदैनन् अचेल। अचेल देखिने लाहुरेहरू उहिलेको जसरी टेपरेकर्डर घन्काएर पनि आउँदैनन्। हातहातमा ठुल्ठूला मोबाइल बोक्छन् र हेरिरहन्छन् एकान्तमा नव दुलहीले ऐना हेरेझैं गरेर। घटघट पिउछन् प्लाष्टिकका ठेउका(क्वाटर) र फुर्ति गर्न थाल्छन्। रक्सीको नशा बढ्दै जाँदा हुन थाल्छ एक आपसमा झगडा।



दुई महिना कसरी काँटू ?



चैत्र महिनामै रातो माटो र कमेरो बोकेर घर पोत्ने कार्य सकिसकेका हुन्छन् महिलाहरूले। हिजोआज अधिकांश ठाउँमा गाडीमा लग्न थालेका छन् माटोका बोराहरू। प्रायःजसो गाउँमा देखिँदैन माटो बोक्दै उकालो चढिरहेका महिलाको लर्को। अनि चौतारीमा अडेस लगाइएका देखिँदैनन् माटो भरेका डोकाहरू। लाहुरेका पाइतालाले टेक्ने गरेका पुराना बाटाहरू पनि छैनन् प्रयोगमा आएका। विगतको जस्तो हलचल देखिँदैन गाउँघरतिर। दसैंमा जस्तै सिगारिने कतिपय घरहरू रङ्ग खुइलिएका कपडाजस्ता सुस्ताएका छन्। गाउँघरतिर देखिदैन विगतको जस्तो रमाइलो वातावरण।

दार्चुला र बैतडीको चलन अनुसार चैत महिना चेलीबेटीको महिना हो। सुदूरपश्चिमका यी दुई जिल्लामा चैत महिनाभरि माइती पक्षबाट छोरीचेलीलाई कोसेली बोकी भेट्न जाने चलन छ। जुन चलन अरू जिल्लामा माघ महिनामा हुन्छ। यस्ता कतिपय चलनहरू जो विगतमा अनिवार्य मानिन्थे, अचेल बिस्तारै कम हुँदै गइरहेका छन्। हरेक चाडपर्वहरू आधुनिक बन्दै गएका छन्।

यतिखेर गौरीफन्टा नाका र गड्डाचौकी नाकामा चलिरहेको छ जात्रा। विसुँ पर्वका लागि घर फर्किनेको लर्को लामै देखिन्छ। हरेक दिन हजारौंको संख्यामा देखापरिरहेका छन् लाहुरेहरू। भारतमा दरवानी गरेर फर्केकाहरूलाई लाहुरे भन्ने चलन पुरानै हो। 



पहिलो डेउडा गायक



अंग्रेजको शासन छदै देखि जाने गर्थे सुदूरपश्चिमेलीहरू भारतमा काम गर्न। जनसंख्या बृद्धिसँगै राजनेताको अभाव महसुस गरिरहेको मुलुकमा दिनप्रतिदिन बेरोजगारीको संख्यासँगै बढ्न थालेको छ भारततिर गइरहनेको सङ्ख्या। जसरी जानेको संख्या बढ्दै गइरहेको छ त्यही अनुपातमा देखिन्छ नयाँवर्ष र दसैंमा फर्किनेको संख्या पनि। यी दुई पर्वको निकै महत्व रहेकोछ सुदूरपश्चिममा।

विसौँ अर्थात विसुँ पर्व भन्नासाथ सम्झनामा आइपुग्छ सिस्नु। यो पर्वको आकर्षण भन्नु नै सिस्नुले पोल्नु हो। देवर भाउजु, नन्द भाउजु र सालीभिना बीचमा सिस्नु लगाएर यो पर्व मनाउने गरिन्छ। सिस्नु पानीले छ्याप्ने होडबाजी नै चल्छ। 

घाटो हेरेर लुकीछिपी एक अर्कालाई मरणासन्न हुने गरी सिस्नु लगाउने चलन पछिल्लो समयमा कम हुँदै गइरहेको छ। कोही नहुनेले आफैंले आफैंलाई च्वास्स लगाउँछन् वैसाख सङ्क्रान्तिका दिनमा सिस्नु। सङ्क्रान्तिका दिन सिस्नुले पोलेपछि शरीरको रोगव्याध कम हुँदै जाने र वर्षभरि छालासम्बन्धी रोग नलाग्ने जनविश्वास रहँदै आएको छ।

अट्रिक्यासी परिवारको पोल्ने झारका रुपमा परिभाषित सिस्नो नेपालको मध्य पहाडी तथा उपत्यकामा बढी मात्रामा पाइन्छ। यसलाई उमालेर खाने पनि गरिन्छ। विगतमा सुदूरपश्चिमका धेरैजसो ठाउँमा दलितहरूले मात्रै खाने गर्दथे सिस्नोलाई।



स्याल कराउने जमानामा लुकेका कस्तुरी 



त्यतिबेला बाहुन क्षेत्रीहरू धोती फेरेर भान्सामा भात खाने चलन थियो। भातको माड र पिडालु राखेर पकाउँदा मात्रै सिस्नु मिठो हुन्छ भन्ने मान्यता पनि थियो। भातको माड मिसाएर पकाउने चलनका कारण यसलाई भान्सा बाहिर पकाउन र खान जुठो मानिन्थ्यो। अरू तरकारी परिवारका भान्सा नखाने सदस्यहरूले पकाएर दिँदा पनि चल्थ्यो।

दोस्रो कुरा, कोदो, फापर, सिस्नो, कागुनो जस्ता अन्न र सागपातलाई हेयका दृष्टिले हेर्ने गरिन्थ्यो।

भोकमरीको बेला गरिबले प्रयोगमा ल्याउने खाद्यान्न थिए ती सबै। सिस्नोमा भिटामिन सी, डी र ए पाइन्छ। पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थले युक्त सिस्नोको प्रयोग पूर्वी तथा उत्तरी युरोपमा बढी मात्रामा भएको पाइन्छ।

२५ प्रतिशतसम्म प्रोटिन पाइने सिस्नो शाकाहारीका लागि निकै नै उपयोगी तथा उत्तम भोजनका रुपमा लिइन्छ। यति मात्रै नभएर सिस्नोले पोल्दा कतिपय रोगहरू निको हुने वैज्ञानिक मान्यता पनि रहेको छ। तर, सुदूरपश्चिमेलीहरूले वैज्ञानिक मान्यता अनुसार प्रयोगमा ल्याएका पक्कै पनि हैनन्। 

वर्षको सुरुवातिका दिन मिठो खाने कुरा खादा, नयाँ लुगा लगाउँदा वर्षभरी त्यस्तै पाइन्छ भन्ने जनविश्वास पुरानै हो। वैसाख संक्रान्तिका दिन मिठोमिठो परिकार बनाउने र नयाँ पोशाक लगाउने चलन पनि पूर्वजका पालादेखि चल्दै आएको हो।



हराउँदै गए पुराना पहिरनहरु 



अछाम बझाङ बाजुरालगायतका जिल्लाका केही भागमा महिलाहरूले पुतला खेल खेल्ने चलन छ। कतिपय ठाउँमा कुलदेवताको पूजा गरिने र यसै दिन जाँत अर्थात् जात्रा मनाउने चलन पनि छ।

नयाँ वर्षको बिहान स्नान गरिसकेपछि घरमा पाकेको मिष्ठान्न भोजन ग्रहण पश्चात सुरु हुन्छ- ग्वालाहरुको लठ्ठी पुजा। जङ्गलबाट काटेर ल्याएको लठ्ठीलाई आगोमा सेकेर बाहिरको बोक्रा निकालिन्छ।

बोक्रा निकाली सकेपछि लाठीमा बुट्टा कोर्ने र विभिन्न रंगले रङ्गाउने गरिन्छ। घरमा जति जना सदस्यहरु छन् त्यति नै लठ्ठी बनाएर लठ्ठीलाई पुज्ने चलन छ। यो लाठी पुज्नु वनदेवताको पूजा पनि हो। गाईबस्तु चराउँदा होस् वा घरछोडेर कतै अन्य गाउँतिर जाँदा नै किन नहोस् त्यही लाठीको मात्र प्रयोग गर्ने गरिन्छ।

बाघ र स्याल बनेर खेल्ने, दही चामल चपाउँदै थुक्ने र रमाइलो गर्ने गरेको दृश्य हेर्न लायक हुन्छ। बाघभालु स्याल जस्ता जनावरको नाश भई गाईबस्तुको संरक्षण होस् भन्ने हेतुले यस्तो खेल खेल्ने गरेको किम्बदन्तीहरु पनि सुनिन्छन्।

हिन्दू धर्मावलम्बीहरूले विक्रमादित्यको जन्मोत्सवको खुशियाली स्वरुप पौराणिक कालदेखि नै यो पर्व मनाउँदै आएको कुरा सुन्नमा आउँछ। यति हुँदाहुँदै पनि यो दिन सबैको ध्यान सिस्नोतिरै गइरहेको हुन्छ।



डेउडा भाषा कसो हुन्छ र, गोसाई ?



यौवनरुढ महिला र पुरुषतिरै गइरहेको हुन्छ। जहाँ साली-भिना, देवर-भाउजूका बीच हानाहान भइरहेका हुन्छ। सिस्नो चेतनाको प्रतीक पनि हो। जसरी बाटोमा हिँड्दा वा खेतबारीमा काम गर्दा अचानक पोल्छ- सिस्नोले र सतर्क तुल्याउँछ।

विगतमा कसैलाई सजाए दिनुपर्दा पानीमा चोपेको सिस्नुले हिर्काउने गरिन्थ्यो। प्रकृतिले कोरोनारुपी सिस्नो पठाइन् मान्छेलाई सजाए दिन तर मान्छेले क्षणभरको दुखाई ठाने र वास्ता गर्न छोडिदिए।

सुदूरपश्चिममा त विसुँ पर्वका दिन अर्थात् नयाँवर्षका दिन मात्र सिस्नु हानाहान गर्छन्। राजनीतिको आँगनमा एकले अर्कालाई वर्षैभरि वर्षाएकै छन सिस्नुका डाठ। छ्यापाछ्याप गरेकै छन् पानी तर सुदूरपश्चिमेलीको जसरी प्रेमपूर्वक छ्याप्न जान्दैनन् तिनले सिस्नु। आत्मियता छैन तिनमा। मात्र कलह छ। मपाइत्व छ। दम्भ छ। अहंकार छ।

चाडपर्वका दिन गोरस नहुनेको घरमा दूधदही प्रसस्त मात्रामा हुन्छ सुदूरपश्चिममा। गोरस हुनेले एक एक गिलाश दिने गर्दछन्। सबैले दिएको जम्मा गर्दा गोरस हुने घरको भन्दा बढी हुन्छ नहुनेको घरमा।

यसरी आफू मात्र नखाएर अरूलाई पनि दिउँ भन्ने भावना छैन् सिंहदरवारसँग। मखाउँ मैलाउँको सिद्धान्तमा रमाइरहेका कमाउनिष्ट नेताहरूलाई के थाहा बिसुँ पर्व कसरी मनाउँदैछन् सर्वसाधारणले। सर्वसाधारण आवाजबिहीनका पीडा कस्ता छन्। सिमानामा कति दुःख पाइरहेका छन्।

सुदूरपश्चिममा नयाँ वर्षको सुरुवातको बिहानीलाई अर्थात बैशाख संक्रान्तिलाई विष पखाल्ने संक्रान्तिका रुपमा पनि मनाइन्छ। संक्रान्तिको बिहान सबेरै उठेर महिला पुरुष सबैजना हिँड्छन् नदी, धारा, तलाउ, र पँधेरातिर।



‘कुवेरको राजधानी’ सम्मको त्यो यात्रा



बालकदेखि बृद्धसम्मले अनिवार्य नुहाउनु पर्ने दिन हो त्यो। नुहाउँदा जौं,तिल र तितेपातीको पातले शरीर मल्ने चलन छ। विशेष गरी शरीरको जोर्नीमा तितेपाती राखेर नुहाउने गरिन्छ। जसलाई बिष पखाल्नु पनि भनिन्छ।

वर्षभरि शरीरमा जमेको विष पखालेपछि शरीरका खराबीहरू नाश हुन्छन् भन्ने मान्यता रही आएको छ। वर्षको सुरुवातीको दिनमा नुहाइधुवाई गरी सफा सुग्घर बन्दा वर्षभरि त्यस्तै बानीको विकास हुन्छ भन्ने मान्यता पनि हो।

विगतका खराबीलाई त्यागेर नयाँ दिन र आशा गरिएको समयको स्वागत गर्नु पनि हो विसुँ पर्व। तर, कसैको बाटो कुर्दा कुर्दै आँखा थाकिसकेपछि बढ्न थाल्छ देउसराहरुको मनमा खिन्नता। 

लाहुरबाट छोरो नआउने खबर पाएपछि सुनाउछिन् उनी दुई पंक्ति गीतका :

बैसाख लागनु भन्दा लामो होइजा चैत 
आइजा काल लैजा पन दुःखी हुना है त 

कसैलाई उरन्ठेउलो चैतको महिना छिटो गैदिए हुन्थ्यो जस्तो लाग्छ भने कसैलाई वैसाख नआईदिए हुन्थ्यो लाग्छ। मान्छेले भने अनुसार कहाँ हुन्छ र। आउने आइरहन्छ। जाने गइरहन्छ। 



कर्णालीका छालझैँ छल्किन्थे प्रेमी–प्रेमिकाका मन



ऋतु अनुसार तय गरिएका हाम्रा चाडपर्वहरू फुर्सदको समयमा मनोरञ्जन दिलाउने माध्यम पनि हुन्। एक्लै हुँदा घरका सदस्य नआइदिँदा दिक्दारी बढाउने, अश्रुपूर्ण नयन बनाउन लगाउने खिन्नताका मुहान पनि हुन्।

प्रायःजसो ऊर्जापूर्वक बाँच्न सिकाउने क्षणहरू हुन् हाम्रा चाडपर्वहरु। जुन जीवन जिउने क्रममा अर्थपूर्ण र अविष्मरणीय बनिदिन्छन्।

प्रकाशित मिति: : 2021-04-14 15:20:00

प्रतिकृया दिनुहोस्