मुहारमा प्राकृतिक रङ्ग भर्ने रवि लुकेका थिए, तुवाँलोमा।
धर्ती मलिन थिइन त्यही प्रदुषण प्रकोपले। चैत्र १५ गते दिपायलमा जमघट गरिरहेका थिए केही पत्रकार मनहरु। एकआपसमा रङ्ग लगाएर साटासाट गरिरहेका थिए प्रेम।
शिखर नगरपालिका अन्तर्गत पर्ने चुँडी गाउँस्थित गुरुकुल विद्यापिठको होली हेरी भाइ मोहन पनेरुको सहयोगले मिसिन पुगेको थिएँ म पनि त्यही समूहमा।
केही दिन अघिनै उद्योग वाणिज्य संघ डोटीका पूर्वअध्यक्ष नरेन्द्र खड्काले निम्तो दिइसकेका थिए–डोटी फुलौट गाउँमा होली हेर्न जाने। सोही निम्तोअनुसार उनकै मोटरसाइकलको पछाडी बसेर जाँदै गर्दा देखिन्थे सडकमा विभिन्न दृश्यहरु। राजमार्गको मुन्तिर रहेका गाउँमा चहलपहल बढेको थियो।
ठूलो आँगन, जहाँ जामा पगडीमा सजिएर घाँटीमा लामो माला लगाएर बाजाको तालमा खुट्टाको चाल मिलाउँदै होली गीत गाइरहेका थिए केही पुरुषहरु। राती देउडा गीतमा सवालजवाफ गराउँने हेतुले बाजुरादेखि बोलाइएका महिलाहरुले खेल्न पाएनन् डेउडा गीत। कोरोनाका कारण दिएन प्रशासनले अनुमति। तथापि होलीको खेल भने गाउँलेहरु मिलेर धुमधामसँग खेले। एकअर्कामा रङ्ग लगाई उल्लास र उमङ्गका साथ मनाए होली।
होरी अर्थात् होली हाम्रो लोक संस्कृतिको प्रमुख पाटो हो। जसले सबै जातजातीहरूलाई एकताको सूत्रमा बाँधेर मायाप्रेम साटासाट गर्न लगाउँछ। फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म मनाइने यस पर्वका गीतलाई पूर्णिमाको भोलिपल्टसमेत गाइन्छ। धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएका भगवान् राम, कृष्ण, र शिवका मिथमा आधारित रहेर सिर्जना गरिएका गीत नै होरी गीत हुन्।
विभिन्न पुराणमा आधारित मिथक र किंवदन्तीहरु जोडिएको छ होली पर्वसँग। दैत्यराज हिरण्यकशिपुका पुत्र प्रह्लाद भगवान् विष्णुका भक्त थिए। हिरण्यकशिपु नास्तिक हुनुका साथै विष्णुलाई अफ्ना भाइका हत्याराका रुपमा हेर्थे। जति सम्झाउँदा नि प्रह्लादले विष्णुको भक्तिमा तल्लिन रहन नछोडेपछि हिरण्यकशिपुले ब्रह्माजीबाट अग्निशमन गर्ने तान्त्रिक सिद्ध च्यादर पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर अग्निकुण्डमा प्रवेश गर्न लगाए। अग्निशमन गर्ने तान्त्रिक सिद्ध च्यादर उडेर प्रह्लादको शरीरमाथि आयो। होलिकालाई अग्नीले खरानी बनायो, प्रह्लाद बाँचे। सोही अवसरमा सत्यको जित भएको ठानी विभिन्न प्रकारका रङ्गहरू घसेर विजयोत्सव मनाइयो। त्यसै दिनदेखि होली अर्थात फागु मनाउन थलिएको भन्ने मान्यता छ।
द्वापरयुगमा आफ्नोे स्तनमा विष लेपन गरी कृष्णलाई दूध चुसाई मार्ने उद्देश्यले गोकुल पुगेकी मायाविनी पुतनाको दूधमात्र नभई उसको प्राण नै चुसेर कृष्णले सिध्याएपछि खुसीयालीमा ब्रजबासीहरूले पुत्ला बनाई जलाए र एकआपसमा रङ्ग लगाई खुसी व्यक्त गरे। जुन दिनलाई पछिल्ला वर्षमा होली पर्वका रुपमा मान्दै आए। होरी अर्थात् होली सम्बन्धी थुप्रै छन् पौराणिक मिथ तथा किंवदन्तीहरु। कतैकतै होरीपर्वलाई राधाकृष्णको प्रेमसँगसमेत जोडेर व्याख्या गर्ने गरेको पाइन्छ। ती सबैले दिने सन्देश प्राकृतिक परिर्वतनलाई आत्मसाथ गरी मायाप्रेमको साटासाट गर्नु, सत्यलाई अँगाल्नु र अष्ठमीमा गाडिएको चीरलाई पूर्णिमाको दिन जलाएझैं आफूभित्र पलाएको अहंकार जलाउनु अर्थात सिध्याउनु नै हो।
विभिन्न ठाउँमा आआफ्नै ढङ्गले मनाउने गरेका छन् होली पर्वलाई। सुदूरपश्चिमको हकमा होलीको रौनक जति अछाममा छ त्यति अरू जिल्लामा देखिदैन। अछाममा भारतबाट आएका डण्ड स्वामीले होली भित्र्याएको कुरा सुन्नमा आउछ। अछामबाटै सिकेर ल्याएका हुन्, डोटी पूर्वी चौकी गाउँपालिकामा पनि होरीका गीत।
फुलौट गाउँ निवासी एकेन्द्र बहादुर खड्काका अनुसार वर्षौअघि अछाम जिल्लाको लुङ्ग्रा भन्ने ठाउँबाट ल्याएर भित्र्याइएको हो, डोटीको पूर्वीचौकीमा होली। ६७ वर्षिया गोरखबहादुर खड्का बताउँछन्- ‘२००७ सालदेखि मनाउन थालिएको हो पूर्वीचौकीको फुलौट गाउँमा होली। विगतका दिनमा निकै राम्रो होली हुन्थ्यो। रमिता हेर्ने मान्छेको निकै ठूलो भीड लाग्थ्यो। खुट्टा राख्ने ठाउँ हुँदैनथ्यो। अछामको लुङ्ग्रामा इष्टमित्रहरु थिए। उतै गएर सिके यहाँका केही व्यक्तिहरुले र यता पनि होली मनाउन सुरु गरे। सुरुमा सानागाउँको धौलाबस्तीमा मनाउन थालेका हुन्। त्यसपछि फुलौटमा सुरुवात गरे। काँडामाडौं, कलेना, गाँजरी, पोखरी बोगटानका गाउँबाट समेत आउँथे रमिता हेर्न। बिस्तारै यो हाम्रो विशेष पर्व बन्न गयो।’
यसै प्रसङ्गमा डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्र खड्का बताउँछन्- ‘गाउँघरमा सुरुका दिनमा गजीका कपडा बनाउँने गर्थे। होलीमा पहिरने झगुला (जामा) गजीका हुन्थे। लोप भइसके त्यतिबेलाका चर्खादेखि अरू कतिपय सामग्रीहरु। अचेल बजारबाट सेतो कपडा किनेर बनाउँछन्, जामा र फेटा। दिदी बहिनीहरुले पिडुलासम्म पुग्ने लामो माला बनाइदिन्छिन्, दाजुभाईलाई पहिराउन। डोटी पूर्वीचौकी क्षेत्रको सबैभन्दा महत्वपूर्ण पर्व नै होली हो। होलीकै बेला आउँछन्, दरवानी गर्न भारत छिरेकाहरु पनि।’
यतिबेला गाउँघरतिर पाइँदैनन् सयपत्री, मखली लगायतका फूल पनि। त्यसैले होला असुराको पूmल उनेर बनाइएका माला देखिन्थे सबैका घाँटीमा। गजीको कपडा कस्तो हुन्थ्यो भन्ने नमुनासम्म हेर्न पाएनन् पछिल्ला पुस्ताले। एकेन्द्र खड्काका अनुसार २०३८ सालमा फुलौटका केही व्यक्तिले कठमाडौंमा समेत देखाएका थिए होली।
सुरुमा शिवरात्रीका दिन साजघाटको साजेन्द्रेश्वर मन्दिरमा बाजागाजासहित गएर होली जगाउँथे। त्यही दिनदेखि खेल्न सुरु गर्थे। पूर्णिमासम्म दिनहुँ गाउने कार्य गर्नाले घाँटी नै बसिसकेको हुन्थ्यो। आवाज दबिसकेको हुन्थ्यो। पछि आर्मीका लप्टन करि खड्काले फाल्गुन शुक्ल अष्टमीका दिन मयलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकाकासाथ सिँगारेर गाड्न लगाए। गाडिएको चीरमा पूजाआजा गरेपछि होली शुरु भएको मानिन्छ। पूर्णिमामा पुरोहितलाई बोलाएर पूजाआजा गरी चीर दहन गर्ने परम्परा सुरु भयो। लप्टन खड्काले जागिरका क्रममा कतिपय ठाउँमा पुग्दा देखे फाल्गुन शुक्ल अष्ठमीका दिन चीर गाड्ने गरेको र पूर्णिमामा चीर जलाउने गरेको। यही परम्परालाई अनुसरण गरेर उनले गाउँमा पनि सोही मुताविक गर्न लगाएको कुरा अनुमान गर्न सकिन्छ।
फाल्गुन र चैत महिना मनमा उदास थप्ने महिनाका रुपमा चित्रित गरिएका छन्, सुदूरपश्चिममा। विरहलाग्दो हुन्छ यतिखेरको परिवेश। आगोमा घ्यू थपेझैं थपि दिन्छन्, कोयलीको कुहुँकुहुँ र बाँसुरीको मनै छुने सङ्गीतले। यस्तो बेला हर्सोल्लासका साथ रम्नका लागि मायाप्रेम साटासाट गर्नका लागि तय गरियो होली पर्वको। जहाँ रङ्गको वर्षा गरिन थालियो। जामा र पगडीमा सजिएर होलीका गीत गाउन थालियो। एक दिनले मात्र पुग्दैन ठानेर दुईचार दिनसम्म निरन्तर मनाउन थालियो कतिपय ठाउँमा। पूर्णिमाको राती चीर दहन गरिसकेपछि पनि होलीको खेल जारी नै रहन्छ।
पूर्णिमाको भोलिपल्ट पनि दिनभर खेल्ने गर्दछन् होलीका गीत। त्यतिबेलाको परिवेश नै अर्कै हुन्छ। करुण रसका गीतहरु बढि गाइन्छन् त्यो दिन, किनकी होलीको खेल खेल्ने अर्थात गीत गाउने त्यो अन्तिम दिन हो। तीन चारवटा ढोलकको तालमा जब सुनिन्छ आवाजको रौनक, गीतको लय तब मन भावुक हुनजान्छ। अन्तिम दिनमा गाइने गीतका पंक्तिमा होलीको विदाई गरेको। अब एकैपल्ट वर्ष दिनमा मात्र होली खेल्न पाइने कुरा उल्लेख गरिएको हुन्छ। एक वर्षपछि पनि निश्चित नै कहाँ हुन्छ र गाउँमा जुठो प¥यो भने बार्नु पर्ने हुन्छ रङ्ग। पहिरन पाइँदैन जामा पगडी।
होली त देशमा पनि चलिरहेकै छ जुन राजनीतिक कलेवरको उत्ताउलो पाराको छ। जहाँ रङ्ग छैन। रङ्ग विहीन छ। मायाप्रेम सदभाव केही छैन। मात्र कोलाहल छ। वर्षदिन पछि आउने सर्तमा विदा भएको होलीले भावनाका लहर देखाएर गयो। आत्मीयता, एकता र सद्भावको करुण भाका सुसेलेर गयो। त्यसैले भोलिको आश भन्दा आजको सासलाई नै सजाएर अन्तिम दिनमा गायका थिए फुलौट वासीले होलीकाे गीत: रङ्गीलो होरी बाइजान (गैजान) लाग्यो।