पहिलो डेउडा गायक

सुदूरपश्चिमका अपवाद 

पहिलो डेउडा गायक ८४ वर्षीय धनबहादुर मल्ल
पहिलो डेउडा गायक ८४ वर्षीय धनबहादुर मल्ल

नाकमा लाउने नथिया कान्छी मेरी बैनीलाई 
नैनीसुतको नैनी फेटा जुवाई राजालाई 

डोटी शैलेश्वरी मन्दिरको आँगनदेखि करिव सय मिटरको दूरीमा रहेको घरबाट हरेक बिहान झिसमिसेमै हातमा झाडो बोकेर निस्किन्छन् ८४ वर्षीय धनबहादुर मल्ल। जो अरु उठीसक्दासम्म मन्दिर परिसरमा गरिसक्छन् सरसफाई। उनी न मन्दिरका कर्मचारी हुन् न त हुन् देउताका कारिन्दा नै।

आध्यात्मिक सोच भएका मल्ल गीतसंगीतदेखि शिक्षा, पत्रकारीता र समाज सेवाका क्षेत्रमा चर्चित नाम हो। कुनै समयमा रेडियोबाट निकै बज्थे उनले गाएका गीत पनि। शिरानीमा राखिएको  गीतको बोल उनैको स्वरमा रेकर्ड गरिएको गीतबाट लिइएको हो। जुन गीत अहिले पनि सुरक्षित नै छ रेडियो नेपालमा। ती दिन सम्झिदै भन्छन् उनी – पुरस्कार पाएको रेडियो थियो  । प्रायजसो जहाँ जादा नि साथमै लग्थेँ। एक दिन सेतीमा साथीहरुसँग माछा मार्ने क्रममा किनारमा बसेर रेडियो सुनिरहेको थिएँ। आफ्नै गीत बज्यो। निकै नै खुसी तुल्यायो त्यो पलले। मल्लले गाएको उक्त गीत पछि कतिले गाएर आफ्नो बनाए उनलाई थाहा छैन। त्यस्तै उनले २०१७ सालमा गाएको गीत होः

माल बसे घाम लागन्छ बाइजाउ गैरी डोटी 
साइकी सम्झी घाटी नै जाना घ्यू लाएकारोटी



लेखनदास बनेर जीवन चलाइरहेका बुवा मानबहादुर मल्ल मुगुको गमगढीबाट सेती नदीको किनारमा अवस्थित डोटीको नारी दाङ भन्ने ठाउँमा आइपुगे। गोर्खाली फौंजले डोटी राज्यमाथि आक्रमण गर्दाको लडाइ भएको ठाउँ थियो त्यो। जहाँ कैयौंले ज्यान गुमाएका थिए। त्यही ठाउँमा घर बनाएर बस्न थाले धनबहादुरका बुवा मानबहादुर। पछि सिलगढी बजारमै बनाए सानो घर। नेपालका प्रशासकीय चार गौंडा मध्येको एक थियो डोटी गौंडा पनि। जहाँ कालीजंग गुल्म थियो। गुल्ममा पाँच सय जनाको पल्टन थियो। सबैको कालो रंगको पोशाक थियो। तिनले कर्मचारीको जस्तो पनि काम गर्थे। शैलेश्वरीको आँगनबाट चारैतिर नजर डुलाउँदै उनी सम्झिन्छन् विगतका ती दिनहरु। 

ढुङ्गा माटो खेल्द,ै माटोको मुर्ति बनाउँदै बाल्यकाल बिताएका धनबहादुर आफ्नो प्रेरणाको श्रोतको रुपमा श्री १००८ शचिदान्द स्वामी ( खप्तड बाबा) लाई ठान्छन्। विगतका ती दिनहरु सम्ँिझदै सुनाउछन् उनी – स्वामीजी बर्षको एक पल्ट शैलेश्वरी मन्दिरको दर्शनार्थ आउनु हुन्थ्यो र शैलेश्वरी मन्दिरको अगाडी  मष्टमहाराजको मन्दिरको भित्र विश्राम कक्षमा बस्नु हुन्थ्यो। स्वामीज्यूले सुत्ने गरेको माटोको आशन अझैसम्म जस्ताको तस्तै छ। मेरो साथी भेषराज जोशी र म स्वमीज्यू कहाँ गई उहाँले भन्नु भएका ज्ञानगुनका कुरा श्रवण गथ्र्यौं। उहाँले मलाई कलाकार भनेर सम्बोधन गर्नु हुन्थ्यो, जुनवेला म कलाकार नै थिइनँ। स्वामी ज्यूको उक्त सम्बोधनले गर्दा नै माटोको मुर्ति बनाउने र कागजमा चित्र कोर्ने काम गर्न हौसिएँ।

२००४ साल अघिको कुरा हो हालको पद्मपब्लिक माध्यमिक विद्यालय स्थापना भएको थिएन। आधारभूत विद्यालय भन्ने थियो जहाँ भर्ना हुनका लागि दुई रुपैयाँ बुझाउनु पथ्र्यो। उनले भगवतीको चित्र बनाएर लगे। जुन चित्र हेरेर खुसी हुँदै शिक्षक लक्ष्मीभक्त श्रेष्ठले दुई रुपैया दिए। सोही पैसाले उनी आधारभूत स्कुलमा भर्ना भए र त्यही दिनदेखि चित्रकारीता सँगै मूर्ति बनाउने कामलाई पेशाको रुपमा अँगाले। तर, आपूmले गरेको कामको कहिल्यै मूल्य तोकेनन्। जसले जति दियो लिए। नदिदा पनि मतलब गरेनन्।

मूर्ति, शालिक के बनाएनन् र उनले। अडर गरिएको शालिक लिन आउदा घ्वाघ्वा गरेर रोएछन् कतिपय। ती आफ्ना आमा बुवाको शालिक हेरेर आँसु झार्नेहरु देख्दा कसैले नदेख्ने गरी कैयौंपल्ट लुकीछपि पुछे मल्लले पनि आफ्ना रसाएका परेली। मूर्ति बनाउँदा उनले प्रयोग गर्ने सामग्री हुन् –ढुङ्गा, सिमेन्ट र रंग। मूर्ति कुँद्ने ढुङ्गा ल्याउन नारी दाङ सेती किनार पुग्थे पहिले। अहिले यातायातको सुबिधा हुँदा बोक्नु पर्दैन। पुर्‍याइदिन्छ गाडीले एक घन्टामै सिलगढीमा। उनका लागि थकान भन्नु कुन चरीको नाम हो। बिहानदेखि साँझसम्म काममा लागि पर्छन् एकोहोरो। ‘जति नै समय लागे पनि मनले सोचेको काम पुरा गरेरै छाड्छु –मुसुक्क मुस्कुराउँदै सुनाए उनले।’
 
प्रकृतिलाई गुरु मानेर कलाकारीता क्षेत्रमा पाइला टेकेका मल्ल पहिलो पटक २०१५ सालमा काठमाडौं पुगे रेडियोमा गीत गाएर फर्किए।  दोस्रोपल्ट अर्थात २०१७ सालदेखि लामो समयसम्म सेती र महाकालीबाट सांस्कृतिक कार्यक्रममा गाउन,े बजाउन,े नाच्ने गरी वर्षेनी आठ जना कलाकारलाई लगेर गए। हरेक वर्ष प्रजातन्त्र दिवशका दिन टुडिखेलमा कार्यक्रम हुन्थ्यो। राजा स्वयम् हेर्न आउँथे। मल्लका अनुसार त्यो बेला ९ दिनमा काठमाडौं पुगिन्थ्यो। बाटो थियो डोटीबाट पैदल यात्रा धनगढीसम्म। धनगढीबाट गौरीफन्टा रक्सौल हुँदै बिरगञ्ज निस्केर त्रिभुवन राजपथ हुँदै काठमाडौं। टिएडिए सबै पाइन्थ्यो, कोषको हिसाबले  । फर्किदा लुगाकपडा किनी बाकस बोकेर बम्बैको लाहुरे झैं घर पुग्थे। उनले  एक सय जना जति कलाकारलाई काठमाडौं पुर्‍याए। त्यतिखेर रेडियो नेपालबाट बज्थ्यो  कार्यक्रम लोकलहरी। स्वर परीक्षा दिएर जानु पथ्र्यो स्टुडियोमा गाउनलाई। लाइभ गीत गाउनु पथ्र्यो। फोनोग्राममा राख्ने गरिन्थ्यो गाइएका गीतलाई। 

देउडा गीतको रेकर्डिङ दुनियामा बिर्सिनै नहुने नाम हो धन बहादुर मल्ल। तर, अधिकांश गायक गायिकालाई थाहा छैन उनको योगदान। थाहा पाउनेहरुले पनि थाहा नपाए जस्तो गरिदिए। चाहेनन् मल्लको योगदानको चर्चा गर्न। हिजोआज आफुसँगै काठमाडौं लगेर गीत गाउन लगाएका गायक गायिका सबैका नाम सम्झिन सक्दैनन् उनी। बिष्मृतिले डेरा जमाइसकेको छ मस्तिष्कमा। तर पनि उनले सुनाए केही नामहरु। ती नाम थिए –भोरलुङ स्वार (अछाम), बहादुर सिं व्यासी(दार्चुला), भगवती श्रैष्ठ(बझाङ्ग), रामबहादुर श्रेष्ठ(बझाङ्ग), परिमल स्नेही (बझाङ्ग), रणबहादुर गुरुङ (महाकाली) नन्दराज (डोटी सिलगढी), करवीर धामी (डोटी), हरिमल विष्ट (बझाङ्ग),।

त्यसताका सुदूरपश्चिममा कहलिएका गिताङ्गेमा थिए धामी र विष्ट। ती नाम कहलिएकालाई काठमाडौं लग्दा आफू निकै खुसी भएको कुरा सुनाउछन उनी। उनले नाटक लेखे, आफैं निर्देशक बनी मञ्चन गरेर गाउँ टोलमा नाटक प्रदर्शन गरे। गीत संकलन गरेर सिंहदरवारस्थित रेडियो नेपाल पुगेर गाए। डेउडा गीतको रेकर्डिङ इतिहास पल्टाउँदै जादा उनी पहिलो डेउडा गायकका रुपमा देखापरेका छन्। तर उनले कहिल्यै दाबि गरेनन्। नैपालबाट पटकपटक सुदूरपश्चिममा आइपुगेका केही गायकलाई गीत र भाका दिए उनले। ती गायकले उनको नामसम्म लिएनन्। गायक, संकलककर्ता सबै आफै बने ती गायकहरु। चर्चाको दुनियाबाट टाढै रहेका स्वाभिमानी मल्ल मात्र तल्लिन रहे सामाजिक काममा। 

पौराणिक कथामा आधारित कतिपय मिथहरु सुनिन्छन् शैलेश्वरी मन्दिरका बारेका। मन्दिर प्राङ्गण भित्रै छन् शिव,गणेश, हनुमानलगायतका मन्दिरहरु। शैलेश्वरीको प्राङ्गणभित्र देखिने अधिकांश मूर्ति र चित्रहरु सबै बनाएका हुन् मल्लले। मन्दिर प्राङ्गण भित्र उनले रोपेका रुखहरु पनि निकै ठुला भैसके। मन्दिरको ढोकाको सामुन्ने छेउमा एउटा सानो बगैचा छ जसभित्र सजिएका छन् कतिपय मूर्तिहरु। उक्त मूर्ति बगैंचा उनैले बनाएका हुन्। जहाँ देखिन्छन् खप्तड बाबादेखि नेपाल आमासम्म। मन्दिरका भित्तामा पटकपटक रंग रोगन गरे चित्र कोरे आफ्नै पैसामा। तर,सुनाइमा आयो मन्दिर व्यवस्थापन समितिवालाले आफूले गर्न लगाएको भनी एक दुई पटक बिलसमेत पेश गरेको कुरा।  

बचपनमा साथीहरु मिलेर एकान्तमा बिभिन्न किसिमका खेलहरु खेल्ने रमाइलो गर्ने चलन प्राय सबै जसो समुदाय र स्थानमा थियो र छदै पनि छ। बाल्यकालमा भाँडाकुँडी खेलेझै नाटक बनाउने र रमाइलो गर्ने चलन थियो। त्यतिबेलाका साथीहरु थिए –रत्नप्रसाद श्रेष्ठ, महेन्द्रमान श्रेष्ठ , कुमार सिंह, भेषराज जोशी, गोपाल श्रेष्ठ आदि। पछि  नाटकका माध्यमबाट समाज सेवातिर अग्रसर भए। भेषराज जोशी र उनी मिलेर गीता पुस्तकालय स्थापनार्थ महत्वपूर्ण भुमिका निर्वाह गरे। भेषराज जोशीले गीता पुस्तकालय बनाउने धारणा व्यक्त गरे। तर, पैसा आउने कुनै बाटो थिएन। त्यसपछि धनबहादुर नाटक लेखन र निर्देशन गर्न तिर लागे। स्वागत गीत तथा अन्य गीतसमेत लेखी संंगीत समेत आफैले दिई नाटक प्रर्दशन गर्न थाले। जसबाट उठेको रकमले गीता पुस्तकालयको स्थापना हुन गयो। 

लामो समयसम्म नाटक प्रर्दशन गर्ने काम गरे। जसमा लेखन, निर्देशकदेखि अभिनयसम्म आफैले गरे। नाटक देखाएर उठेको पैसाले पद्मपब्लिक माबिमा ८५ वटा बेन्च उपलब्ध गराए। डोटी क्याम्समा समेत फर्निचर हस्तान्तरण गरे। २०१८ सालमा जिल्लाव्यापी साहित्य सम्मेलन गराए। उनले रेडियो नाटक समेत लेखे। रेडियो नाटक लेख्दाको परिवेश सम्झिदै सुनाए उनले – ‘अधिराज्यभरीबाट नाटक मगाइएको थियो। ७५ वटा नाटक पुगे छन् केन्द्रमा जसमध्ये १५ वटा मात्र छानिने प्रावधान थियो। आधि घन्टामा लेखेर फ्याक्स गरी पठाएँ। फ्याक्स गर्ने वालाले भनेका थिए –‘खै के छानिएला यति हतारमा लेखिएको।’ संयोगले १५ वटा नाटक मध्ये मेरो नाटक पनि पर्‍यो।’ भविष्य बोल्छ वर्तमान, आमा, आमाको मन, अदृश्य हात जय दुर्गे , ध्रुव, सत्यमेव जयते, शैलेश्वरी महात्मे, भरत मिलाप भलाइ,  मिलाप , परिवार , संघर्षलगायत थुप्रै नाटक लेखेर मञ्चन गरे उनले। उनका दायित्व र भविष्य बोल्छ वर्तमान नाटकले काठमाडौंमा समेत राम्रै चर्चा कमाए। तर पनि प्रकाशित गरेनन् उनले ती नाटकहरु। थन्किएर बसेका छन् थुप्रै पाण्डुलिपी घरमा। 

पत्रकारिताको कुरा गर्ने हो भने भैरव रिसालको सहयोग र प्रेरणाले आफू पत्रकार बनेको कुरा बताउछन् उनी। २०१८ सालमा जनगणनाको सिलशिलामा डोटी पुगेका रिसालले सम्बाददाता बन्न सल्लाह दिए र सगरमाथा सम्बाद समितिको सम्बाददाता बनाए। तिनै रिसाललाई पत्रकारीताका गुरु ठान्छन् उनी। त्यतिखेर नेपाल समाचार समिति र सगरमाथा सम्बाद समिति छुट्टाछुट्टै थिए। मालिका यात्रा शीर्षकको उनको पहिलो लेख छापियो गोरखापत्रमा। पछि सगरमाथ संवाद समिति र नेपाल संमाचार समिति मिली गैरसरकारी ढंगले राष्ट्रिय समाचर समिती गठन हुन गयो। गोबिन्द प्रधान महाप्रवन्धक बने। सबै पत्रकारहरु बसिरहेका थिए।  प्रधानले उनलाई बोलाएर नियुक्ति दिए। नियुक्ति बुझेर चार पाइला अगाडी बढेका मल्ललाई पुनः बोलाएर भनेछन् – ओहो यो त ख्यालै गरिएको थिएन तिमी त भाग्यमानी रहेछौं पहिलो नियुक्ति त तिम्रो पो भयो। ल फेरि पनि बधाई छ। यसरी उनी राष्ट्रिय समाचार समिति(रासस)का प्रथम संम्वाददाता बने। उनले केही समय काठमाडौंमै बसेर पत्रकारीता गरे। काठमाडौंमा रमाउन नसकेका उनी डोटी फर्किएर सक्रिए बने पत्रकारीतासँगै शिक्षण पेशामा। 

खुकुरी नाच नाच्न समेत कहलिएका बहुमुखी प्रतिभाका धनी मल्ल सुदूरपश्चिमकै लागि अपवाद हुन्। समाजमा उनको काम र नाम दुबैले महत्वपूर्ण अर्थ बोकेका छन्। करिव हजारको संख्यामा होलान् उनले बनाएका चित्र र मूर्ति दुबै गरेर। दूरपश्चिमका थुप्रै ठाउँमा फिजिएका छन् उनका कलाकृतिहरु।

उदार दिलका समाजसेवी मल्ल घरवारी भएर पनि एक फकिर जस्ता देखिए सधैभरि। आफ्नै मस्तिमा रमाएँ। मनले चाहेको काम गरे। सामान्य ढंगले व्यतित गरिरहे जिन्दगी। हाल आएर बुढेश कालले छोएको छ। विस्तारै स्मृति शक्ति कमजोर हुँदै छ। तर, यी कुराले कुनै अर्थ राख्दैन उनका लागि। बिहान चार बजेदेखि साँझ नौ बजेसम्म केही न केही गरिरहेकै हुन्छन् उनी। प्राय जसो शैलेश्वरी मन्दिरको आँगनमै भेटिन्छन्। २०६३ सालमा शिक्षकको जागिरबाट सेवा निवृत बनेका मल्लले गतिशिलता नै जिन्दगीको अर्को नाम हो भन्ने भनाई रामैसँग मनन् गरेका छन्। त्यसैले अहिले पनि उनी सक्रिए नै देखिन्छन् शैलेश्वरीको आँगन बढार्न देखि चित्र तथा मूर्ति बनाउन। 

प्रकाशित मिति: : 2021-04-07 13:00:00

प्रतिकृया दिनुहोस्

    आफुलाई बरिष्ठ पत्रकार र बरिष्ट गाएक, बरिष्ठ कलाकार भन्नेहरुले मल्ल जी लाई पनि सम्झनु पर्छ ......

    • 3 बर्ष अगाडि
    • प्रकाशराज भट्ट