पोखराबाट बझाङको बाटो भएर खप्तड पुगेको टोली थकाइ मारिरहेको थियो– खप्तडस्थित लोकबहादुर रावलको होटेलछेउमा। प्रसङ्ग उठ्दै थियो खप्तडमा घुम्नु पर्ने प्रमुख ठाउँहरूको। होटल व्यवसायी रावलले एकै सासमा भट्ट्याए– त्रिवेणी, विनायक गणेश, सहस्रलिङ्ग, खापर दह, नाग ढुङ्गा, बाबाको कुटी, घोडादाउनी, जेठीबौरानी, भीमघट्ट, हरिना चडी, छिन्टे ढुङ्गा, माइको मन्दिर, भीमघट्ट आदि।
जेठीबौरानी सुन्नासाथ मेरा कान ठाडा भइहाले। म चार पटक पुगिसके खप्तड। तर, पुग्न पाएको थिइनँ जेठीबौरानी र भीमघट्ट रहेको ठाउँमा। सुनेको थिएँ– केही मिथहरू।
कथा भन्छ– शदियौँ पहिले जेठी र बौरानी (जेठाजु र भाइबुहारी) का बीचमा प्रेम हुनगयो। त्यो समयमा समाजले चाल पायो भने उसले छोएको पानी नचलाउनेदेखि गाउँबाट निस्कासित गर्नेसम्मका सजाय सुनाइन्थ्यो। अहिलेको जसरी गाउँसमाज छोडेर बाहिर गई गुजारा चलाउन सजिलो थिएन तर ‘प्रेममा मान्छे अन्धो हुन्छ’ भनेझैँ माया प्रेम झाँगिदै गएपछि अरु कसैले चाल नपाउने सुरक्षित स्थानको खोजीमा निस्केका दुवै खप्तडका पाटनतिर लोछन्।
घोडादाउनी पाटनबाट एक घण्टाको पैदल यात्रा पछि देखापरेको एकान्त ठाउँमा ढुङ्गामा अडेस लगाई बसेछन्। दुबैले गफगाफ गर्दै अङ्गमाल गर्ने क्रममा माथिल्लो ढुङ्गामा बसेको काग त्यो दृश्य देखेर कागले भनेछ, ‘खप्तडको यो पवित्र भूमिमा आई जेठी बौरानीको पवित्र सम्बन्धको समेत ख्याल नगरी यस्तो कार्य गर्ने तिमीहरूलाई कतै बाटो नमिलोस्।’
रिसको झोकमा ती दुईले पनि कागलाई सराप्दै भनेछन्, ‘कसैैले चाल नपाओस् भनेर यति टाढा यो सुनसान ठाउँमा त हामी पुगेका थियौँ। यहाँ पनि तैले पिछा गर्न छोडिनस्। अब तैले पनि गति नपाएस्।’
यसरी एकअर्काको श्रापले गर्दा ती दुईजना जेठाजु, बुहारी र काग गरी तीनैले त्यसै ठाउँमा प्राण त्याग गरेछन्। हाल पनि टाउको निहुराएर विपरीत दिशातिर फर्किएका महिला र पुरुषको आकृति बोकेका दुईवटा ठुल्ठूला ढुङ्गा देखिन्छन्।
तिनको केही पर माथिपट्टि कागको आकृति भएको ढुङ्गा समेत देख्न सकिन्छ तर खप्तड घुम्न जाने अधिकांश पर्यटकहरूलाई थाहा छैन यो ठाउँको बारेमा। थुप्रै छन् खप्तडमा घुम्नुपर्ने ठाउँहरू जसमध्ये कोही गुमनाम छन्। कसैको बारेमा पुराना बूढापाकाहरूको मुखारबिन्दुबाट सुनिए पनि खोजीकार्य हुन सकेको छैन।
यस पटक उक्त स्थानसम्म पु¥याइदिएर ठूलो गुन लगाए– क्याप्टेन प्रदीप चन्दले। सरुवा भई दार्चुला जाने तयारी गरिरहेका चन्दसँगको दिनभरको भ्रमण निकै नै रोचक र अविष्मरणीय बन्यो। यात्राको क्रममा साथमा थिए– सैनिक जवान नवीन थापा।
मेजर शरद थापासँग अनुमति लिएर मलाई जेठीबौरानी, भीमघट्ट र नागढुङ्गाको भ्रमण गराए दुवैले। फर्किंदा साँझ परिसकेको थियो। हरिना चडीको मिथ थाहा पाउन सकेको थिइन।
बझाङ छान्नानिवासी प्रयागराज पाध्ययसँग फोनमा बात मार्दा थाहा हुन गयो– ‘हरिना चडी’ बारे। पाध्यका अनुसार, ‘हरिना चडी’ एक प्रारको चरो हो। जो जेठीबौरानीको आलङ्गन देखेर लज्जित भई अर्कोपट्टि फक्र्यो।
स्कन्द पुराणको मानस खण्डमा खप्तडलाई खेचराद्री पर्वतका रुपमा उल्लेख गरिएको पाइन्छ। खेचरेश्वर महादेवलगायत देवीदेवताहरूको क्रिडास्थल भएकाले नै यसलाई खेचराद्री अर्थात् खप्तड भनिएको हो।
स्कन्द पुराणका अनुसार, कयौं ऋषिमुनिहरूले तपश्या गरी मुक्तिको मार्ग लिएको ठाउँ हो– खप्तड। यस शैलखण्डलाई भूस्वर्ग पनि मानिन्छ। यो अछाम, बझाङ, बाजुरा र डोटी जिल्लाले घेरिएको भू–भाग हो। टेबुलमा कचौरा घोप्ट्याएजस्तो आकृतिमा रहेको खप्तड ११ हजार फिट उचाइमा अवस्थित छ। कुनै समयमा ‘कुवेरको राजधानी’ रहेको विश्वास गरिने यही क्षेत्र भएर महाभारत कालमा पाण्डवहरू कुरुक्षेत्र पुगेका थिए भन्ने जनश्रुति छ।
महाभारत युद्धपश्चात् दिवंगत आत्माहरूको चीरशान्तिका लागि अर्जुनले खप्तडको त्रिवेणीमा तर्पण दिएका थिए भन्ने मिथहरू पनि छन्। जहाँ घुम्नुपर्ने प्रमुख ठाउँहरू हुन् :
बाबाको कुटी : नेपालका विभिन्न ठाउँको भ्रमण गर्दै हिँडेका १००८ स्वामी सच्चितानन्द सरस्वती बझाङ हुँदै खप्तड पुगे। २००३ सालमा सुरुका दिनमा बाबाले खर्कमा आश्रम बनाई बस्नुभयो। पछि तत्कालीन बझाङी राजा रामजङ्गबहादुर सिंहले स्थानीय ढाँचाको स्लेटले छाएर कुटी निर्माण गर्न लगाए।
निकै जाडो हुने भएकाले कुटीभित्र जमिनमुनि साधना गुफासमेत बनाइयो। कुटीनजिकै पाहुना तथा कुरुवा बस्ने घर छ। उनै १००८ स्वामी सच्चितानन्द सरस्वती पछि खप्तड बाबाका नामले प्रख्यात हुनुभयो। बाबाले ५० वर्ष खप्तडमै बिताउनुभयो।
विष्णुप्रसाद खत्रीको ‘चिन्तनका तीस थुँगा’ नामक पुस्तमा उल्लेख भएअनुसार बाबालाई एकजना भारतीय भक्त (महिला) ले भारतमै आश्रम बनाइदिन्छु भनी आग्रह गरेकी थिइन्। बाबाको उत्तर थियो, ‘मैले नेपालमा रहेर तपस्या गरेँ। जे पनि लिएँ, यहीको लिएँ। अब अन्तिम घडीमा आएर आफ्नो अस्तित्वलाई अपवित्र पार्न चाहन्नँ। म आफ्नो शरीर यसै भूमिमा त्याग गर्छु।’
२०५३ वैशाख २७ गतेका दिन उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाबाले रिडीको कृष्णगण्डकीमाथि हेलिकप्टरमै प्राण त्याग गर्नुभयो। अहिले बाबाको कुटी सुनसान देखिन्छ।
त्रिवेणी : सहस्रलिङ्गतिरबाट बग्दै आउँछिन्– गङ्गा नदी। डाँफेकोटतिरबाट आउँछिन्– यमुना नदी। र, अन्तराभिमुख छन् सरस्वती। ती तीन वटै नदीको सङ्गम नै त्रिवेणी हो। जहाँ स्नान, तर्पण, ब्रतवन्ध आदि कर्म गरिन्छ। जेष्ठ शुक्लदशमी (दसहरा)का दिन यहाँ ठूलो मेला लाग्छ। महाभारतको युद्धपश्चात अर्जुनले दिवंगत आत्माको शान्तिका लागि तर्पण गरेको भनिएको ठाउँ पनि हो– त्रिवेणी।
विनायक गणेश : सहस्रलिङ्ग जाने बाटोमा नजिकै कालो पत्थर कुँदेर बनाइएको ठूलो मूर्ति छ जो विनायक गणेशका नामले चिनिन्छ। सहस्रलिङ्ग आउँदा–जाँदा यहाँ दर्शन गर्ने चलन छ।
सहस्रलिङ्गः सहस्रलिङ्ग भएको क्षेत्र खप्तडको सबैभन्दा उचो भूभाग हो। यहाँ टाकुरामा सहस्रेश्वर महादेव, पार्वती र गणेशसहितको ठूलो शिला छ। जसका मुन्तिर हजारौं लिङ्गाकार गणहरू छन्। सहस्रलिङ्गको दर्शन–पूजा गर्दा ब्रह्महत्यासम्मको पाप नाश हुने विश्वास रहेको छ।
केदार ढुङ्गा : त्रिवेणीबाट करिब तीन सय मिटरको दूरीमा आरक्षणको कार्यालय जाने बाटोमा पर्ने अग्लो शिलालाई नै केदार ढुङ्गा भनिन्छ। महाभारतको युद्धमा मारिएकाहरूको आत्माको शान्तिका लागि तर्पण गर्न त्रिवेणी पुगेका अर्जुन महादेवको दर्शनका लागि निकै नै तड्पेको देखेर राती देवीले सपनामा भनिछन्, ‘महादेव राँगोको रूप धारण गरेर तिम्रै आसपासमा त्रिवेणी क्षेत्रमै डुलिरहनुभएको छ।’
दोस्रो दिन अर्जुनले चिनेर दौडिँदै नजिकमा जाँदा राँगोको रूप धारण गरेका महादेव त्यहीँनिर धर्तीमा टाउको जोतेर भासिन पुगेछन्। यसरी भासिने क्रममा टाउको पशुपति पुग्यो छाती हालको भारतको केदारनाथ पुग्यो र पुच्छरसहितको पछाडिको भाग त्यहीँनिर शिलामा परिणत हुँदा केदार ढुङ्गाका नामले चिनियो भन्ने रमाइलो ‘मिथ’ सुन्नमा आउछ।
खप्तड दह : सय मिटर लम्बाई ५० मिटर चौडाई भएको यस दहको उद्गम र निकास छैन। यसको उत्तर–पश्चिममा जगन्नाथ मन्दिर छ। स्थानीय एक जना सार्की जातिको मान्छेले निगालो काट्दा बोटबाट रगत बग्न थालेपछि उनले चामल चपाई लगाउँदा रगत बग्न बन्द भई जगन्नाथ विष्णु भगवान् प्रकट भएको जनविश्वास छ। यहाँ भाद्र महिनामा पर्ने अनन्त चतुर्दशीको रातमा मेला लाग्छ।
घोडा दाउने पाटन : खप्तडका पाटनहरूमा ठूलो र सुन्दर पाटनमध्येमा पर्दछ। जहाँ विगतदेखि नै घोडाहरूलाई दौडिन अभ्यास गराउने गरिन्थ्यो। यो पाटनबाट अपी, सैपाल, जेठीबैरानीलगायका हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ।
नागढुङ्गा : घोडा दाउने पाटनबाट ४५ मिनेट हिँडेपछि पुगिने यो क्षेत्रमा करिब ५०० मिटरको दूरीमा दुई अग्ला शिला छन्। जसमा प्रशस्त मात्रामा सर्पको आकृति देखिन्छ। कुनै कालिगढले कुँदेजस्तो लाग्ने यी दुई ढुङ्गा शदियौँदेखि यस्तै देखिन्छन्। जहाँ प्रकृतिले नै कुँदेको कला छ।
खप्तडमा यस्ता थुप्रै छन्– घुम्नुपर्ने ठाउँहरू। एक दिनको घुमाइले पुग्दैन। कम्तिमा पनि चार दिन त्यतै बस्नेगरी चाँजोपाँजो मिलाउन सके निकै नै रोचक हुनजान्छ– यात्रा। पर्यटनका साथै ऐतिहासिक र पुरातात्विक हिसाबले पनि महत्व बोकेको छ– खप्तडले।
शदियौंँअघि यसै ठाउँबाट गएर छरिएका हुन् देशका विभिन्न ठाउँमा बस्नेतहरु। जो अहिले पनि आफूलाई खप्तडी बस्नेत भनेर चिनाउँछन्।
त्यस्तै थापाहरु पनि छन् यतैबाट गएका। उनीहरू आफूलाई खप्तडी थापा भन्छन्। २२५ वर्ग किमि क्षेत्रफल ओगटेको खप्तड हरेक दृष्टिकोणले महनीय छ। विशाल छ। खप्तडको इतिहास लेख्न बाँकी नै छ। खप्तड देख्न बाँकी नै छ।