डेउडा भाषा कसो हुन्छ र, गोसाई ?

हेमन्त विवश

काठमाडौं

देउसराको जिज्ञासामिश्रित प्रश्न थियो– डेउडा भाषा कसो हुन्छ र, गोसाई ? कुनै एफएम रेडियोबाट सुनेकी रहिछन् डेउडा भाषा भनेको। डेउडा भाषा हैन लोकगीत हो भन्ने कुरा सम्झाएँ उनलाई।

मध्य तथा सुदूरपश्चिमका डेउडाका विषयमा खासै अध्ययन अनुसन्धान हुन सकेको छैन। हाम्रा अग्रजहरूले बुझाउन सकेनन् या काठमाडाैँले बुझ्न सकेन। कतिपय मिडियामा डेउडा भाषा भनेको सुनिएकै छ। डेउडा भाषा हैन। यो लोक–साहित्य हो। लोकगीत हो।

वर्तुलाकार समूहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलीको पदचापमा सन्तुलन मिलाएर समूहमा लयवद्ध ढङ्गले गाइने र खेलिने (नृत्यसहितको) गीत ‘ड्यौडा’ अर्थात् ‘डेउडा’ हो। जसलाई पछि उच्चारणका क्रममा देउडा भनिन थालियो।

नृत्यसहितको डेउडा खेलमा जब दुईतिरका ड्यौडियाहरूको सवालजवाफ सुरु हुन्छ तब छाउछ मनमा एक प्रकारको रौनक। डेउडा गीत एउटै गोलबद्ध घेरामा खेलिने भए तापनि दुई समूहमा विभाजित हुन्छ।

दुवै समूहमा एकएक जना प्रतिनिधि ड्यौडिया हुन्छन्। विगतमा ती दुवै जना प्रतिनिधि पात्रको शीरमा खेल सुरु हुनुअघि सेतो पगडी बेर्न लगाइन्थ्यो र छाता ओढाइन्थ्यो। जुन उनीहरूको प्रतिभाप्रतिको सम्मानका साथै आम दर्शकले चिन्ने सङ्केत पनि थियो।

दिपायलस्थित रामबाबुको चियापसल। बिहानै देखापर्छन्– डोटी क्याम्पसका उपप्राध्यापक टीकाराम फुलारा र उद्योगवाणिज्य संघ डोटीका पूर्व अध्यक्ष नरेन्द्र खड्का। दुवैको बहस चलिरहेको थियो– डेउडा गीतको भावपक्ष र लयविधानका बारेमा।

ती दुईजना मित्रहरुले सुनाएका डेउडा गीतका पंक्तिले छोइरहन्थे मनको पाटो। पुनः बजाउँछिन्– देउसराले मेरो मोबायलको घन्टी र गर्छिन् प्रश्न– नैपालका मान्सले हामरा ठाडीभाका सुनेका छन् कि नाइ ?

डेउडा गीतका सैकडौँ भाकाहरू छन्। कति भाकाहरू गाउँघरतिर सुनिएकै छन् भने कतिपय भाकाहरू लोप भइसके।

डेउडाको एउटा शक्तिशाली भाका हो– ठाडी। यही ठाडीभित्र पनि लयात्मक सञ्जालको व्यापकता छ। यसमा डुब्न सक्नेको आलोक निकै माथि छ। जसका शब्द–शब्दमा जिन्दगी र जगतका आयाम र आलापहरू भेटिन्छन्।

मध्य तथा सुदूरपश्चिममा गाइने ठाडी भाकामा प्रायजसो विरह र वेदना पोखिन्छ। कुनै किसिमको तालको जरुरत नपर्ने यो भाकाले यतिखेरै हो डाँडाकाँडा, नदीनाला, पाखापखेरु सबैलाई स्पर्स गर्ने। मध्य तथा सुदूरपश्चिमका डाँडाकाँडातिरबाट एकातिर निस्किन्छ बाँसुरीको धुन।

अर्कोतिर सुनिन्छन् मुटु नै चिरेर लग्लान् जस्ता ठाडी भाका। बिम्बात्मक हुन्छन् ठाडीका शब्दहरू। कहिलेकाहीँ सुरुको पंक्ति दोस्रो पंक्तिसँग अनुप्रास मिलाउने ढङ्गले मात्र आएको देखिन्छ, दोस्रो पंक्तिले पूरै भावपक्ष बोकेको हुन्छ।

गाउँदा पनि प्रायः भावपक्ष बोकेको पंक्ति दोहो-याएर गाउने गरिन्छ। पीर, व्यथा, बिछोड र श्रृङ्गारका गहन पाटाहरू बोकेका त्यस्ता गीतहरूको अझै हुन सकेको छैन गतिलो अध्ययन।

गाईभैंसी चराउँदा होस् वा मेलापात जाँदा वा कतै एकान्तको क्षण भेट्दा नै किन नहोस् गुन्गुनाउँछन् त्यहाँका महिलाले ठाडीका लयहरू। ठाडीमा अक्सर विरह, वेदना, जीवन दर्शन, अन्याय, र अत्याचारका आलापहरू बढी सुनिन्छन्।

प्रेम र श्रृङ्गारका पक्षहरू पनि त्यत्तिकै हावी भएका हुन्छन्। तथापि बढीजसो विछोडकै धर्साहरू देखिन्छन्। छाती नै चिरिने गरी सुनिन्छन्– भावपूर्ण विरह र वेदनाका झङ्कारहरू। भाषा र व्याकरणको कुनै ज्ञान भएका मान्छेले रचेका होइनन् ती गीतहरू।

यस्ता गीतमा कुनै नियमको खाँचो पनि हुँदैन। यस्ताखाले गीतहरू भन्नु नै जिन्दगीका यथार्थ अनुभूति हुन्। समय परिस्थितिले मनमा उब्जाएका भावहरू हुन्। जहाँ रमाउन जान्नेहरूको आलोक धेरै माथि छ। ती गीतको गहिराइमा पुग्नेहरू नै त्यस क्षेत्रका सच्चा काव्यिक मनहरू हुन्।

अब प्रश्न उठ्छ देउसराले भन्न खोजेको मूलधारको। उसो त ठाडी भाकाहरू मूलधारमा नआएकै भन्न सकिदैन। बेलाबखत झुल्किएकै हुन्। काठमाडौंको लागि ती त्यति चासोका विषय बन्न सकेनन्।

पुरुष स्वरमा परिमल स्नेही, नन्दकृष्ण जोशी, नरेन्द्र रेग्मी, भोजराज भट्ट, राजाराम भाट, हरिशचन्द्र कडायत, हिरालाल ताम्राकार, दीपेन्द दाहाल, भुवन दाहाल, गोरख थापा, प्रकाश थापा, डोटेली कान्छालगायतका ठाडी भाका चर्चामा नआएका हैनन्।

महिला गायिकाहरूमा डीक्रादेवीसँगै लोचन भट्टराई, इन्दिरा गुरुङ्ग, हरिना साउँद, राधिका हमाल, पवित्रा भण्डारी, निर्मला भण्डारी, सङ्गीता शाहलगायतका ठाडी पनि चर्चित नै थिए।

पछिल्लो समयमा पनि कैयौं गायक–गायिकाका स्वरमा गुञ्जायमान भइरहेकै छन् तर तीमध्ये तथा सुदूर–पश्चिममै मात्र बढी चर्चित बने।

सुरु–सुरुमा अक्सर महिलाले सुरिलो स्वरमा ठाडी भाका गाउँदा वनजङ्गल गुञ्जायमान हुन्थे। पुरुषप्रधान समाजमा अक्सर महिलाहरू दबिएका थिए। अन्याय, अत्याचारको शिकार बनेका थिए।

त्यो पीडा ठाडीभाकाका माध्यमबाट प्रष्फुटन हुन्थ्यो केवल एकान्तमा। त्यसरी विरह पोख्दा पनि निकै सजक रही चोरी–चोरी गाउनु पर्ने हुन्थ्यो।

कारण त्यहाँ प्रश्न उब्जाइन्थ्यो– कुन चाहिँ केटालाई सुनाउन गायो। अर्थात्, लाल्छना लागाइयो कहीँ कतै कसैसँग प्रेम हुनुपर्छ। जातभातका कारण, धनी गरिबका बीच देखापरेका खाडलका कारण साच्चै प्रेममा धोका पाएकाहरूले पनि ठाडी भाका सुसेले। एकछिन हलुका बन्नलाई मात्रै भए पनि पोखे मनको वह।

केटी– म त हुँ लुहार कि चेली पकाया खाल्ला कि ?
तमी मरे मैसती जाउला म मरे जाल्ला कि ? 

लुकिछिपि मोजमस्तीमा पल्केको आफूलाई माथिल्लो जातको ठान्ने पुरुषले त्यसको उत्तर तयार पा-यो र भन्न थाल्यो :

सिल्देवी जाँतका बाजा बजे गजाउँगजाउँ
स्वास्नी मर्दा लोग्ने सती को गयो रे म जाउँ

विगतमा धन खाएर छोरी बेच्ने चलन थियो मध्य तथा सुदूरपश्चिममा। त्यो प्रथा हटेको धेरै भएको छैन। साहू–महाजनको ऋणको बोझ थपिँदै गएपछि अन्तिम विकल्प हुन्थ्यो– पैसा खाएर छोरीको बिहे गर्ने।

तब पोखियो भक्तबहादुर बलायरको मनको वह–

मेरा बाले मलाई बेच्यो भैंसी बेच्या जनि
आज घर अनारो(अँध्यारो) होला म नहुँदा पनि  

लोकगीतका अधिकांश रचयिताहरू ओझेलमै हुन्थे। जसले जुनसुकै परिवेशमा रचना गरे तापनि एक कान दुई कान हुँदै त्यो लोकको गीत हुन जान्थ्यो। अहिलेको जस्तो हक अधिकारका कुरा थिएनन्। प्रतिलिपि अधिकारका कुरा थिएनन्। न रचनाकारले त्यसको महत्त्व ठम्याउन सके न त लामो समयसम्म त्यसको अध्ययन अनुसन्धानमा कोही लागिपरे।

कैंयौ गायकगायिकाले एल्बम निकाल्दा पनि सङ्कलनकर्ताको नामै लिएनन्। त्यसो हुँदा गायकगायिका मात्रै चर्चामा रहे। शब्द र भाका सङ्कलन कर्ताहरूमा ऊर्जा थपिन पाएन। कैयौं मन छुने भाकाहरू हराएर पनि गए। दूरदराजतिर अझै भेटिन्छन् केही पुराना भाकाहरू। तिनको खासै सङ्कलन हुन सकेको छैन।



हराउँदै गए पुराना पहिरनहरु 

स्याल कराउने जमानामा लुकेका कस्तुरी 


सुरुका दिनमा अधिकांश मात्रामा ठाडी भाका सुसेल्नेहरूमा महिला नै हुन्थे। पुरुषले आफू पुरुष भएकै घमण्डका कारण वियोग व्यथा र असमानताका विरुद्धमा निस्कने ठाडीका तरङ्गहरू धक खोलेर सुनाउन चाहेनन्।

वनजङ्गलतिर लुकीछिपी ठाडी भाका सुसेलिरहेको कुनै पुरुष स्वर सुनियो भने सजिलै अनुमान लगाउन सकिन्थ्यो। त्यो कुनै दलित वा पिछडिएको वर्गभित्रको पुरुष स्वर हो भनेर।

प्रायःजसो त्यही वर्गका पुरुषहरूले नि बाँसुरीमा सुसेल्थे ठाडी भाका र बाँसुरीको धुनमा नै मिसाउँथे आफ्नो पीडा।  समाजमा महिला दिन–प्रतिदिन अन्याय अत्याचार र शोषणको शिकार बन्दै गएपछि निस्किन थालेका हुन्– ठाडी भाकाहरू मनको वह पोख्नको लागि भनेर।

ठाडी भाकाहरू केवल मनको वह पोख्ने माध्यम बने। कुनै आवाजविहीन हुन् वा पीडित महिला हुन् या कुनै अन्याय अत्याचारमा परेका गरिब गुरुवाहरू र प्रेममा धोका पाएका युवायुवती, सबैले वनजङ्गलतिर गएको बेला कानमा औंला घुसाएर ठाडी भाकामा स्वर तान्दै बह पोखे र चित्त बुझाए। त्यस्ता खालका शब्द र लयले पाएनन् अहिलेका जस्ता मञ्च पनि।

कतै मञ्च पाइहाल्दा पनि महिलाहरूलाई केवल घरको दासीका रुपमा हेर्ने समाजले बाहिर निस्कन अनुमति दिने कुरै भएन। सुरु–सुरुमा त एल्बम निकाल्नेहरूले सुदूरपश्चिमबाट स्टुडियोसम्म पुग्ने महिला स्वर नै भेटाउन सकेनन् र पूर्वतिरका गायिकाहरूलाई गाउन सिकाएर गीत रेकर्ड गरे।

आफूलाई उपल्लो दर्जाका ठान्ने सम्राटहरूले कतैबाट सुरिलो स्वर गुञ्जेको सुन्दा कान थापेर अरूका स्वरको आनन्द लिए तर आफ्ना घरका सदस्यहरूलाई गाउन दिएनन्। उल्टै भनी दिए, ‘गीत गाउने काम हाम्रो जात र खलकको हैन।’

गाउँघरतिर हैकम हुनेहरूको गायकगायिकालाई हेर्ने दृष्टिकोण नै फरक देखिएपछि सामान्य परिवारका चेतनास्तर कमजोर भएका मनहरूले यसको महत्त्व बुझ्न सक्ने कुरै भएन। अरूलाई चिनाउने, अरूका प्रतिभाको कदर गर्ने चाहना त्यहाँका सामन्ती सोचका मानिसमा हुने कुरै भएन। कसैले गीत गाउन थाल्दा बरु उल्टै भनिदिए, ‘यो त कस्तो ढोली भाँण जसो गीत पो गाउन थाल्यो।’

ठाडी भाकामा उनिएका गीतले क्रान्तिको विगुल फुक्न सक्छन्। ठूलो ताकत हुन्छ ती गीत र भाकामा। स्रोताहरूलाई भित्रैसम्म छोएर सजिलैसँग अन्याय र अत्याचारको विरुद्धमा उत्रने बनाइदिन्छन्।

यस अर्थमा पनि भित्रबाट परिवर्तन नचाहने, जातभातको पगडी गुथिराख्ने, सत्ताको दुनो सोझ्याइरहने र आफूलाई अरूले सदा मानिराखुन् भन्ने वर्गले, गाउँदेखि केन्द्रसम्मका सम्राटहरूले महत्त्व दिएनन् ठाडी भाकालाई।

बाज गुराँसका दाउरा बल्दा गुरुगुरु
साइकी नाडी मेरा हात चल्ली सुरुसुरु 

यहाँ दोस्रो पंक्तिले निकै नै गहिरो भाव व्यक्त गरेको छ। अन्याय अत्याचार गरिरहने मालिकको नालीबेली सबै थाहा हुँदाहुँदै पनि आवाजबिहीन भएकै कारण केही भन्न नसकेकाले ती मालिकको हैकम चलि नै रहेको कुरा मार्मिक रुपले प्रस्तुत गरिएको छ।

एकातिर समाजका अगुवाहरूको हेयपूर्ण दृष्टिकोणका कारण ठाडीभाका गाउनेहरू लामो समयसम्म अगाडी आउन सकेनन्। अर्कोतिर ठेट डोट्याली भाषा, बिम्ब र अलङ्कारको प्रयोग गरिएको गहिरो साहित्य हो ठाडी। जसको मर्म त्यो भाषाको ज्ञान नहुनेले बुझ्न सकेनन्।

लामो समयसम्म ठाडीको महत्त्व कसैले नबुझिदिएपछि, ठाडी भाका आउन सकेनन् मूलधारमा। यसरी ठाडी भाका मूलधारमा आउन नसक्दा ठाडीकै माध्यमबाट बारम्बार प्रश्न गरिरहिन् डीक्रादेवीहरू:

छाल खाउत तातो पानी बीच जाउत गैलो
सनिसार मै जसो छ कि ? दिनदिनैको रैलो

(नदीको किनारको पानी खाउ त तातो छ। खान सक्दैन। नदीको बीचमा जाउ भने गहिरो छ। जान सक्दैन्। गाउँघर समाजमा जहिले सुकै एक प्रकारको झमेला छदै छ। दिनदिनै अनेक प्रकारका झै–झमेलाले सताएकै छ। के यो संसार पनि मजस्तै छ त?)

डीक्राहरूले सम्बोधन गरेको त्यो संसार त्यही काठमाडौं थियो विगतमा जसलाई सुदूर–पश्चिमेलीले नैपाल भन्ने गर्थे। त्यो त्यही सिंहदरबार थियो जसले बारम्बार सपना देख्न लगाइरह्यो। त्यही सेतोघरमा पुनः सम्राटहरूको हैकमबादी सोच हावी भयो।

सम्राटहरुको सहरमा डेउडा सम्बन्धी अध्ययन नै नगरी डेउडा भाषा भनिरहेका केही सञ्चारकर्मीलाई देउसराले झैं प्रश्न सोध्न मन छ– डेउडा भाषा कसो हुन्छ र गोसाई ?



खप्तड स्वामीको कुटीनजिक बस्दा शरीरमा ‘भाइब्रेसन’ 

‘वाइल्ड–वेस्ट’ ले तान्न थाल्यो नेपाली पर्यटकको मन 

‘कुवेरको राजधानी’ सम्मको त्यो यात्रा

प्रकाशित मिति: : 2021-04-02 12:04:00

प्रतिकृया दिनुहोस्