खप्तड स्वामीको कुटीनजिक बस्दा शरीरमा ‘भाइब्रेसन’ 

हेमन्त विवश

काठमाडाैं

रैंका टुर्स एण्ड ट्रेक्सका निर्देशक अमरबहादुर शाहीले केही दिनअघि हातमा थमाइदिएका थिए खप्तड भ्रमण तालिका।

हुर्किदै गयो सेकेन्ड, मिनेट, घन्टा हुँदै समय। ढल्किदै गए बारहरू। आइपुग्यो साइत गरेको दिन अर्थात खप्तड घुम्न जाने दिन। बुद्धनगरस्थित जनकराज भारतीको ‘केक एण्ड बेक सप’ मा एकाबिहानै जम्मा भइसकेका थिए सबै जना।

यात्रा सुरु हुन्छ, अन्तर्राष्ट्रिय विमानस्थलतिर। जहाँ हातमा खादा बोकेर स्वागतका लागि पर्खिरहेका थिए, बुद्ध होलिडेजका सिनियर एक्जक्युटिभ म्यानेजर परासरजङ पाण्डे। बुद्ध एयर, बुद्ध होलिडेज र रंैका टुर्स एण्ड ट्रेक्सले उक्त टुरको व्यवस्थापन गरेका थिए। ‘वाइल्ड–वेस्ट’का चर्चित पर्यटकीय स्थानको भ्रमण गराउने हेतुले थालिएको प्रारम्भिक यात्रा थियो– खप्तड–शुक्लाफाँटा टुर।

रैंका, बुद्ध एयर र बुद्ध होलिडेजका यस्ता संयुक्त टुरहरू आगामी दिनमा निरन्तर भइरहने कुरा सुन्नमा आएको छ। खप्तड, शुक्लाफाँटा, बर्दिया राष्ट्रिय निकुञ्ज र रारा सबै गन्तव्यस्थल बन्ने छन् आगामी यात्राका।

काठमाडौं विमानस्थलबाट उडान भरेको बुद्ध एयरको जहाजमा पालैपालो भित्रिए खप्तड जान आतुर तिनै जिज्ञासु मनहरू। काठमाडौंको आकाशबाट देखिन्थ्यो केवल कंंक्रिटको जङ्गल मात्र। जब काठमाडौंको आकाशबाट अगाडी बढ्दै गयो विमान, यात्रामा देखिन थाले नदीनाला, पहाड, हिमाल, ताल–तलैया आदि। फोटो पत्रकार भरतबन्धु थापा व्याख्या गरिरहेका थिए, चाँदीझैं टल्किएका हिमाललाई देखाएर। अनि भनिरहेका हुन्थे, ‘ऊ सल्यानको कुपिण्डे ताल, दाङ उपत्यका।’

बन्धुले संस्कृति र पर्यटनका क्षेत्रमा आर्जन गरेको विज्ञता गज्जबको छ। भगवानले उनलाई जहाँ जस्तो परिवेशमा पनि बाँच्न सक्ने, रमाउन सक्ने र आफ्नो कला कौशल देखाएर अरुलाई प्रभावित तुल्याउन सक्ने शक्ति दिएका छन्। बेलाबखत यात्रामा भेटिरहेकै हुन्छन् उनले आफ्ना फ्यानहरू पनि।



‘कुवेरको राजधानी’ सम्मको त्यो यात्रा

गौँड्या भेटमा मुसुक्क मुस्कान छोडेर जाने प्रेमिकाजस्तो खप्तड



धनगढी विमानस्थलमा अवतरण गरेको करिव चालिस मिनेटपछि आइपुग्छ समिट एयरको जहाज। डोटीका लागि समिट एयरको जहाज चढ्दा हौसिएका मनहरू उडान भरेको केही समयमै आत्तिए। कैयौंको अनुहारको रङ्ग नै फिक्का हुन थालिसकेको थियो। यसो हुनुको कारण थियो –मौसमको खराबी र नयाँ पाइलटको पहिलो उडान। यति हुँदाहुँदै पनि मभित्र विगतको झझल्को दिलाइरह्यो, त्यो फुच्चे प्लेनले। 

डर लुकाएर झ्यालबाट बारम्बार हेर्न खोजेँ– त्यो आँगन, ती गरा अनि ती वन पाखाहरू। जहाँ उभिएर आकाशमा उडिरहेको हेलिकप्टर र प्लेनलाई चोर औंला देखाउँदै कराउँने गर्थेँ –ऊ चिलगाडी आयो भनेर। 

सिटबेल्ट फुकालेर झ्यालतिर लम्किदै खुब हेर्न खोजेँ त्यो ठाउँ। मेरो पछाडिको सिटमा बसेकी एयर होस्टेजले भनिरहिन सिटबेल्ट बाँध्न। म नसुनेझैं गरेर झ्यालतिर बसेका भरत बन्धुलाई असजिलो पारेर हेर्न थालेँ, त्यही अवनीतिर। जहाँ मेरो बाल्यकाल बितेको थियो। सकिनँ त्यो ठाउँ ठम्याउन। मात्र बोकिरहँे त्यतिबेलाको सम्झना। 

सेती नदीको किनारको डाँडाँमा ठोक्किएला झैं गरेर चिल घुमेझैं जहाज घुम्दा केही यात्रुले होस् गुमाउन थालिसकेका थिए। दिपायल एयरपोर्टमा अवतरण गर्न नपाउँदै देखिएका थिए, हातमा खादा बोकेर विमानस्थलमा स्वागतार्थ पर्खिरहेका पर्यटन क्षेत्रका हस्ती अमरबहादुर शाही। 

टोली नेताको जिम्मेवारी जनकराज गिरीलाई सुम्पेर शाही दुई दिनअगाडी नै पुगिसकेका थिए दिपायल। दिपायलमा रिभरसाइड होटेलको भोजन पश्चात सुरु हुन्छ, यात्रा शैलेश्वरी मन्दिर हुँदै झिग्रानास्थित दीपक खड्काको होमस्टेसम्मको।



खप्तडसँग मुस्कान साटी चिलगाडी उडाएर फर्के क्याप्टेन लामा 

खप्तड पुग्न हेली टुर



शैलेश्वरी मन्दिरको प्राङ्गणमा भेटिएका बहुप्रतिभाका धनि धनबहादुर मल्लसँगको भेट अविष्मरणीय थियो सबैका लागि। झिग्राना पुगेर साँझ आँगनमा क्याम्प फायरसँगै सुरु भएको थियो, मोहनपूर्ण सत्यालको हाँसो ठट्टा। परिहासमा रमाउने सत्याल समूहका सम्पूर्ण सदस्यलाई भरपुर आनन्द दिलाएर यात्रा गर्न सफल थिए। 

त्यो रमाइलो यात्रामा मन्द मुस्कान दिइरहेका थिए, जनकराज भारतीका आकर्षक जुँगा। राजु श्रेष्ठको सहयोगीपन र सत्कार गर्ने व्यवहार देख्दा लाग्थ्यो–‘उनी कतै डोटीका स्थानीय बासिन्दा त होइनन्, जो अतिथि सत्कारमा सक्रिय छन्।’

यात्रा आफैमा सिकाइको महत्वपूर्ण पाटो हो। यात्राकै क्रममा देखा पर्छन्, कतिपय अनुहार। जसका केही गुण अनुकरण गर्न लायक हुन्छन्। यस पटकको यात्राका सबै मनहरू प्रिय थिए। रसिक थिए। अनि थिए, उत्तिकै आत्मिय पनि। सबैसँग थिए, अनुकरण गर्न लायक केही न केही गुणहरू। 

खप्तडको प्रवेशद्वार झिग्रानाबाटै सुरु हुन्छ उकालो। बेलाबखत आगामी दिनमा झझल्को आउने खालका गतिविधिसँगै लम्किरहेका हुन्थे, पाइलाहरू। जसरी विगतको झझल्को सुटुक्क आइपुग्थ्यो, मोहनपूर्ण सत्यालको स्मृतिपटलमा। जिन्दगी स्वयममा एक प्रकारको झझल्को नै त हो। जसले निम्त्याइरहन्छ, कहिले विगतका दिनमा भएका गतिविधिको झझल्को त कहिले विछोडमा बोकिदिन्छ, कसैको झझल्को। 

अन्तमा जब धर्तीबाट विदा हुनुपर्ने हुन्छ, तब बोकाएर जानुपर्ने हुन्छ अरू कतिपयलाई झझल्को। लोकगायक लोकबहादुर क्षेत्रीको स्वरको झझल्को आइदिन्थ्यो, खप्तडको उकालोमा कसैले उनका गीतका यी पंक्ति गुनगुनाउन थाल्दाः

ऐसेलु काफ्लको 
पोको पारी दिएको रुमालको
दुई आँखाको गाँजलको, लाग्छ झझल्को।

थुप्रै थिए त्यो यात्रामा झझल्को आउने क्षणहरू। दिनभरिको हिँडाइ पश्चात थकित ज्यानले साँझ खप्तडको पाटनमा खुवाएको मिष्ठान्न भोजनको तारिफ गर्न शब्द नै छैनन्। अमर बहादुर शाहीको व्यवस्थापन र गोङ्बु कुलुङ, पासाङ शेर्पा र दीपक राईले खप्तडमा बनाएको भोजनको पनि बेलाबखत आइरहन्छ झझल्को। त्यो परिवेश नै जीवनका गोरेटोमा सम्झिनलायक थियो ।
जनकराज भारती, राजु श्रेष्ठ, मोहनपूर्ण सत्याल, सुमन पोख्रेल, कृष्णप्रसाद तिमिल्सिना, दीपक अर्याल, जगन्नाथ गिरी, नारायण ज्यालो, सम्पूर्ण श्रेष्ठ, भरतबन्धु थापा, अनुप घिमिरेलगायतका सबै यात्री खप्तड यात्राको त्यही झझल्को भित्र बेरिएर मनको भित्रि पाटोमा सजिलै बस्न सक्ने प्रिय अनुहारहरू हुन्। त्यो आध्यातमिक भूमिमा भगवानसँग आफ्नी पूर्व प्रेमिका र वर्तमानकी प्रेमिका दुबैको सुख शान्तिको कामना गरिरहे जस्ता देखिन्थे, केही अनुहारहरू।

बिहानीका किरणहरू जब छरिन्छन् खप्तडका पाटनमा। केही सीप नचलेर विलिन हुन थाल्छन् शीतका थोपाहरू। जसरी समर्पित भइदिन्छ, प्रेमी प्रेमिकामा। भक्त भगवानमा। झझल्को मानसपटलमा। त्यसैगरी विलिन भइदिन्छन् खप्तडको पाटनमा जुनेली रातसँगै टल्किने शीतका थोपाहरू। बिलाउनुअघि घामका किरणसँगै टल्किने शीतका थोपाले पनि दिएर जान्छन्, मानव जीवनलाई केही सन्देश। तर मनन् गर्दैन मान्छे। जसरी रातभर हैकम जमाइरहेको शीत बिलाउँछ क्षणभरमै। त्यसैगरी बिलाउँछ मानव चोला पनि। लाग्छ– घामका किरणहरूले मुक्ति दिलाएका छन् उसलाई। त्यो दृश्य सृष्टिको सुरुवातदेखि नै सुरु भएको थियो। त्यही दृश्य देखेर गीत सिर्जना गरे कयौं लोककविले।

एकातिर तानेजस्तो। अर्कोतिर धकेले जस्तो। कतै लुकामारी खेलेजस्तो। कतै सिरसिरे बतास पठाई गड्याङगुडुङ गरी तर्साए जस्तो। यस्तै हरेक पल के–के गरिरहन्छ खप्तडले। यसरी प्रेमपूर्वक सताउने काम खप्तडले मात्रै गर्दैन्। संसारका अधिकांश प्रेमिले ठाउँ र मनहरूले गरिरहेका हुन्छन्। त्यसैले त भने होलान लोककविलेः

जिन्दगीका गौडा उस्तै बाटो लाग्दो फेरै
रिस पनि तोइदेखि उठ्दो माया पन तेरै।

जसरी समयमा नआएर निकै बेर कुराउने प्रेमि–पे्रमिकाले उठाइरहेका हुन्छन् एक अर्कामा रिस। त्यस्तै अब आउला, तब आउला भन्ने सोच्दा सोच्दै, हेर्दाहेर्दै डाँडाँमा घाम अस्ताइरहेको दृश्य देख्दा रिस उठाइरहेको हुन्छ खप्तडले पनि मनमा। तर सूर्योदय हुँदाका हुन् या सुर्यास्त हुँदाका किरण नै किन नहुन्, ती सबैलाई आफ्नो छातीमा ठोक्किन लगाई मुस्कुराइरहेको खप्तड देख्दा माया पनि उसैको लागेर आउँछ। याद बनेर मनमुटुमा बास बस्न पनि आफै ठाउँ बनाइरहन्छ खप्तडले। 

खप्तड जिन्दगीका फराकिला पाटनको प्रतिनिधित्व गर्ने एउटा शक्तिशाली बिम्ब पनि हो। प्रकृतिले सजाएका कयौं पर्यटकीय गन्तव्यको प्रतिनिधि क्षेत्र पनि हो। आध्यात्मिक गोरेटोमा तान्ने भूगोल पनि हो। अनि दिनको पारिलो घाम, रातमा पानी नै जम्ने चिसो तापक्रम, जुनेली रातको आभा सबै हेर्न लगाएर, अनुभव गर्न लगाएर संघर्षको पाठ सिकाउने पाठशाला पनि हो।

खप्तडको त्रिवेणी झै जिन्दगी पनि दुःख, सुख र संघर्षको त्रिवेणी हो। जहाँ खप्तडजस्ता केही पूण्यभूमिको भ्रमणले भित्रैबाट हाँस्न सिकाउँछ। आनन्द दिलाउँछ। जसरी पर्यटनकर्मी परमानन्द भण्डारीले खप्तड स्वामीको कुटी नजिक बस्दा शरीरमा भाइब्रेसन आएको अनुभव सुनाएका थिए। भण्डारीको पनि मनमा केही महिनाअघिदेखि आइरहेकै छ, खप्तडको झझल्को।

प्रकाशित मिति: : 2021-03-14 15:15:00

प्रतिकृया दिनुहोस्

    हाम्रो यात्रालाइ सुन्दर अभिलेख बनाइदिनु भएकोमा साहित्यकार हेमन्त विवस दाजुलाइ धेरै धेरै धन्यवाद।

    • 3 बर्ष अगाडि
    • सुमन पोखरेल