स्याल कराउने जमानामा लुकेका कस्तुरी 

हेमन्त विवश

काठमाडाैं
Breaknlinks
Breaknlinks

तल सेती नदी सुसाइरहेकी थिइन्। चौतर्फी फैलिँदै थिए–सूर्यका बिहानी किरण। हट्दै थियो हुस्सुको पछ्यौरी।
सेतीको बगरभन्दा मास्तिरको अलिकति अग्लो देखिने जमिनमा रहेको जिल्ला आयूर्वेद अस्पतालमा घाम ताप्दै बिमारीलाई सेवा दिइरहेका थिए त्यहाँका कर्मचारीहरू।

पूर्वआरपी तथा हाल दिल्पेश्वर माविका शिक्षक लक्ष्मीराज ओझाले पुर्याएका हुन् मलाई त्यहाँ। ओझाले साँझ बिहान करिब डेढ घण्टा योगाशन गर्ने र केही समस्या हुँदा आयूर्वेदिक औषधि मात्रै सेवन गर्न थालेको लामो समय भइसक्यो।
बाटोमा हिँड्दा पनि निकै सकश हुन्थ्यो मोटो ज्यान उनलाई।अहिले उनको शरीर निकै नै छरितो र फुर्तिलो छ। अचेल अरुलाई योग गर्न र आयूर्वेदमा विश्वास गर्न सल्लाह सुझाव दिइरहन्छन् उनी। उनकै सल्लाह सुझावलाई मनन् गरी उनीसँगै पुगेको थिएँ– म उक्त आयूर्वेद अस्पतालमा। जहाँ भेटिए कठमाडौंमा नसाको अप्रेसन गरेर पनि खासै केही सुधार हुन नसक्दा त्यहाँ धाइरहेका ५० वर्षे तारासिंह धामी।

धामीका हातखुट्टा झम्झमाउने र खुट्टा नचल्ने समस्या छ। पूर्वकर्म गर्न थालेदेखि केही सुधार होला कि भन्ने आश पलाएको छ उनमा। आयूर्वेदका अनुसार मानिसमा देखापर्ने रोगहरू तीन प्रवृतिका छन्। जसलाई वाथ, पित्त र कफ भनिएको छ।

यसअन्तर्गत वाथ रोगको उपचारमा उत्तम मानिने पद्धति हो पूर्वकर्म।

जिल्ला आयूर्वेद अस्पताल डोटीका वरिष्ठ वैद्य रङ्गलाल महतका अनुसार कफ प्रवृत्तिका बिरामीका लागि पनि यो लाभदायक नै हुन्छ तर पित्त प्रवृत्तिका बिरामीलाई यो कर्म गर्नु हुँदैन। 

महतका अनुसार, प्रेसरकुकरमा अडिटका दाना, दशमूल चूर्ण, दशमूल तेललगायतका जडिबुटी उमाल्ने काम गरिन्छ। उमाली सकेपछि सिठी खोलेर त्यहाँ पाइप जडान गरिन्छ। जुन पाइप पठाइएको हुन्छ– बाकसभित्र।

हावा नछिर्ने गरी बनाइएको काठको बाकसभित्र बाफ पठाइन्छ जहाँ टाउको बाहिर निकालेर १०–१५ मिनेटसम्म राखिन्छ बिरामीलाई। शरीरका अङ्गहरू छुट्टाछुट्टै सेक्नसमेत पानीको फोहरा फालेझैं वाफद्वारा सेक्ने काम गरिन्छ। उक्त कार्यलाई पूर्वकर्म भनिन्छ। 

के.आई. सिंह गाउँपालिका, डोटीकी ६७ वर्षीया कमला खड्काले पोहर साल ११ पटक र यो वर्ष सात पटक आइसकेको बताइन्। उनलाई टाउको दुख्ने, हात–खुट्टा दुख्ने, ग्याष्ट्राइटिक्स  जस्ता समस्या थिए। पूर्वकर्म गर्न थालेदेखि सञ्चो हुँदै गइरहेको कुरा सुनाइन् उनले। 

वैद्य महतका अनुसार, अस्पतालले पूर्वकर्मका साथसाथै अन्य रोगको पनि उपचार गर्ने गरिएको छ। जसअन्तर्गत २३ वटा औषधिहरू निःशुल्क वितरण गर्नेगरेको छ। अस्पतालमा नभएका अन्य औषधिहरू बिरामीले बाहिरबाट किन्नुपर्ने हुन्छ।

विगतमा चिसोबाट बच्न आगोमा कपडा तातो पारेर सेक्ने, बोतलमा तातो पानी राखेर सेक्नेदेखि तावामा नूनका ढिका तताएर कपडामा बेरी सेक्ने चलन थियो गाउँघरतिर। जुन पद्धति अपनाउँदा सर्दी जुखाम सञ्चो गर्नेदेखि ग्यास्ट्राइटिक्स, बाथ र दमका बिमारीलाई समेत निकै लाभदायी हुन्थ्यो। 

तातोपानीका कुण्डहरूमा निकै बेरसम्म जीउ डुबाएर बस्ने चलन पनि थियो। यसले पनि माथि उल्लिखित समस्या समाधानमा सघाउनुका साथै छालाको रोग निको पार्दथ्यो। ती सबैको सजिलो र विकसित रुप हो– पूर्वकर्म अर्थात् वाफमा बस्नु। 

पूर्वजका पालादेखि चल्दै आएको जडिबुटी खाने चलन छँदै नै छ गाउँघरतिर। जो पुर्खाका पालादेखिको मौलिक ज्ञान पनि हो। पछिल्लो समयमा यस्ता थुप्रै मौलिक ज्ञानहरू लोप हुँदै गइरहेका छन्। 

यसै सन्दर्भमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. दिनेशराज भुजू सुनाउँछन्, ‘पछिल्लो समयमा प्रकाशित अनुसन्धान पत्रहरूका अनुसार ७७ प्रतिशतले यस्तो ज्ञान लोप हुँदै गएको जनाएका छन्। यसका तीन प्रमुख कारणहरू ठम्याइएका छन् : भूमण्डलिकरण, आधुनिकीकरण र बजारीकरण। 

भुजूले भन्दै गए, ‘दुःखको कुरा नेपाल यसबाट अपवाद छैन। नाफाखोर बजार अर्थतन्त्रबाट निर्देशित हुने यो प्रचलन जति छिटो अघि बढ्छ, त्यति नै छिटो मानिसले सयौँ वर्षको परीक्षण र परिश्रमले आर्जन गरेको परम्परागत ज्ञान पनि लोप हुुँदै जाने कुरामा दुई मत छैन।’

त्यस्तै आयूर्वेदिक क्षेत्रमा लामो समयदेखि काम गरिरहेका अनुसन्धानकर्ता डा. कमल अधिकारीले भने, ‘परम्परागत ज्ञानमा आधारित उपचार पद्दतिहरू प्राकृतिक श्रोत संरक्षणको हिसाबले निक्कै महत्त्वपूर्ण मानिन्छन्। यस्ता उपचारहरूबाट केही रोगहरू र स्वास्थ्य समस्याहरूको निराकरण पनि हुँदै आएको छ।

प्राकृतिक स्वरूपमै कच्चा पदार्थहरूको प्रयोग गर्दा पनि रसायनिक औषधिहरूको जस्तो ‘नकारात्मक असर’ पनि खासै देखिँदैन तर माथि उल्लेख गरे जस्तै यस्ता उपचार पद्दतिहरूले साँच्चिकै काम गरिरहेका छन् भनेर पुष्टि गर्ने कुनै आधार नभएकोले प्रभावकारी हुँदाहुँदै पनि यिनीहरूको प्रयोग गर्न कतिपय मानिस हिच्किचाउँछन्।’

अधिकारीले सुनाए, ‘यहाँ मनन् गर्नुपर्ने कुरा के हो भने हामीले आजभोलि प्रयोग गर्ने थुप्रै आधुनिक औषधिहरूमा यिनै परम्परागत जडिबुटीहरू कच्चा पदार्थको रूपमा प्रयोग हुन्छन्। यसर्थ हाम्रा परम्परागत उपचार पद्धतिहरू अपुष्ट छन् भनेर बेवास्ता गर्नुभन्दा पनि यिनीहरूभित्र लुकेर बसेका वैज्ञानिक तथ्यहरूको खोजी गरेर परम्परागत ज्ञान र आधुनिक विज्ञानलाई एक–अर्काको परिपूरक बनाउने अर्थात् नयाँ अध्ययनहरूतर्फ मोडिनुपर्छ।’

सानो छँदा पेटमा गडबढी भयो भन्नासाथ आमाले बिरेनुन, हिङ् आदि पानीमा घोलेर पिलाउनुहुन्थ्यो। जसले क्षणभरमै सञ्चो तुल्याउँथ्यो। गर्मीमा चामलको चौलानीमा पुदिनाका पातको रस मिश्री मिसाएर पिलाउने चलन थियो। विगतका पुर्खाहरूले तरुल, भ्याकुर, गिठा कोरेर खाने गरेका कथा सुनिएकै हुन्। 

ऋषिमुनिहरूले योग साधना गरेर शदीयौँसम्म धर्तीमा बसोबास गरेको कुरा हाम्रा धार्मिक ग्रन्थहरूमा उल्लेख भएकै छन्। कुन समयमा के खाने के नखाने जस्ता कुराहरूका बारेमा पनि समाजमा विगतदेखि वर्तमानसम्म चर्चा भएकै छ। यी सबै हुन् आयूर्वेदकै कुरा। संस्कृतमा एउटा श्लोक पनि छ :

अमन्त्रम् अक्षरं नास्ति नास्ति मूल मनौषधम् 
अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः । 

– शुक्राचार्य
(त्यस्तो कुनै अक्षर छैन जो मन्त्र नहोस्, त्यस्तो कुनै वनस्पति छैन जो औषधि नहोस्,त्यस्तो कुनै व्यक्ति छैन जो कुनै कामको नहोस्। अतः सबैलाई यथायोग्य काममा लगाउनु पर्दछ।) 

आयूर्वेदको प्रंसङ्ग उठ्नासाथ सम्झिनुपर्ने हुन्छ  सबैभन्दा पुरानो ग्रन्थ वेदलाई। जहाँ औषधिमूलोदेखि योगका कुरा उल्लेख भएका छन्। उसो त के छैन र वेदमा ! सबै कुरा उल्लेख भएका छन्। 

वेदमा रोग नै लाग्न नदिने खुराकहरू छन्। गीत सङ्गीत र योगका कुरा छन्। जीवनमा अपनाउनु पर्ने आचरणका कुराहरू छन्। ज्ञान विज्ञानका कुराहरू छन्। तथापि हामीले यसको न गहिरो अध्ययन गर्न सक्यौं। न त अध्ययन गरेका कुरालाई कार्यन्वयनमा नै ल्याउन सक्यौं। 

विगतमा समाजमा चल्दै आएका पुराना आयूर्वेदिक पद्धतिहरू मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्थे। पछिल्लो समयमा ती घरआँगनबाट विस्थापित भइरहेका छन्। बिजयसालका भाँडामा राखेको पानी पिउनाले पेटमा देखा पर्ने ग्यास्ट्राइटिक लगायतका केही समस्याहरू हराउँदै जाने विश्वास गरिन्थ्यो।

हिजोआज विजयसालका भाँडाकुँडाको  चलन हराउँदै गयो। गिठी (काठको जात) का ठेकीहरूमा दूध, दही, मोही, घ्यू राख्ने चलन प्रायःहराउन थालिसक्यो। काठका यी भाँडाहरू स्वास्थ्यका दृष्टिकोणले निकै नै लाभदायक मानिन्थे। तिनका सट्टा बजारमा देखापरेका छन् सिल्भर र प्लास्टिकका भाँडाहरू। काठका पुराना ठेकीहरू गाउँघरतिरबाट १० रुपैयाँ केजीका दरले खरिद गरेर भारत पु¥याउने काम भइरहेको छ पछिल्ला दिनमा। 

गाउँघरतिर सामान्य चोटपटक लाग्दा होस् वा अलि गम्भीर प्रवृतिकै रोग लाग्दा पनि निको पार्ने वैधहरू रहेनन्। विभिन्न रोगमा औषधिको रुपमा प्रयोगमा आउने कतिपय जडिबुटीहरू लोप भइसके। नयाँ पुस्तामा देखा पर्न सकेका छैनन् पुराना पुस्ताको ज्ञान सीपलाई अनुसरण गर्नेहरू। 

विश्वकै पुरानो चिकित्सा प्रणालीका रुपमा हेरिने आयूर्वेद पद्धति वैदिक कालअघि नै सुरु भएको मानिन्छ। नेपालको लागि यो मौलिक र प्राचीन चिकित्सा पद्धति हो। शदियौँदेखि चल्दै आएको यो पद्धति संस्थागत रुपमा सुरुवात भयो वि.सं. १७२७ मा सिंहदरबार वैद्यखानाको स्थापनासँगै। 

सुरुका दिनमा सिंहदरबार वैद्यखानाबाट उत्पादित औषधिहरू राजा–महाराजाले मात्र प्रयोग गर्ने चलन थियो। चन्द्रसमशेरकै पालादेखि औपचारिकरुपमा प्राविधिक जनशक्ति उत्पादन गर्न पहल गरिएको देखिन्छ। वीर अस्पतालको स्थापना हुनुअघि नै सेनामा वैद्यको दरबन्दी रहने गरिएको इतिहास पनि पढ्न पाइन्छ। तर यति पुरानो यो पद्धति को खासै विकास र विस्तार हुनसकेको देखिँदैन। 

मान्छेलाई आयुर्वेदिक पद्धतितिर अग्रसर तुल्याई स्वस्थ भएर बाँच्न सिकाउनु अत्यावश्यक भइसकेको छ। पछिल्ला दिनहरूमा चारैतिर एलोप्याथिक औषधिले गलाएका मनहरू मात्र भेटिन्छन्।

सरकारले आयूर्वेदमा केही गतिविधि बढाए पनि यसको महत्व उजागर गरी देशका कुना काप्चासम्म प्रभावकारी ढंगले प्रचारप्रसार गर्न सकेको छैन। पछिल्लो समयमा कोरोनाबाट बच्न गुर्जो, बेसार, तेजपत्ता, तुलसीका पात जस्ता जडीबुटीको सेवन गर्नु पर्ने भन्ने कुरा जसरी प्रचारमा आयो यसले थोरै मात्र भए पनि चारैतिर आयूर्वेदको महत्व दर्शाएको कुरा नकार्न सकिँदैन। 

तथापि जिल्ला र जिल्लाका स्थानीय तहमा रहेका आयूर्वेद अस्पतालको औषधि प्रयोग गर्नेको संख्या निकै नै कम छ। आयुर्वेदको महत्व दर्शाउन सकेका छैनन्– सम्बन्धित निकायहरूले। त्रिफला र अभिपत्तिकर चूर्ण पाइने ठाउँको रुपमा मात्र हेरिन थालेका आयूर्वेदिक स्वास्थ्य केन्द्रहरूमा सरकारले लगानी लगाए जस्तो लाभान्वित हुन सकेका छैनन् जनता।

लामो समय पछि २०५२ सालमा राष्ट्रिय आयूर्वेद स्वास्थ्य नीति त ल्याइयो। जसले परिकल्पना गरेका कतिपय क्षेत्रीय आयूर्वेद चिकित्सालयहरू निर्माणाधीन छन् भन्नु शिवाय कुनै विकल्प छैन्। अनुसन्धान तथा तालिमका लागि उपयुक्त जनशक्तिको अभाव देखिएकै छ। 

नेपालभन्दा निकै पछाडि आयूर्वेद अस्पताल सञ्चालन गरेका मुलुकहरूले यो क्षेत्रमा छोटो समयमै निकै ठूलो फड्को मारिसकेका छन्। यहाँ आयूर्वेद पद्धतिको प्रभावकारी कार्यान्वयन र उपयुक्त संरचनाको विकाससम्म हुनसकेको छैन्। अनि सकिएको छैन यो क्षेत्रको महत्व दर्शाउन पनि।

आयूर्वेद शाश्वत, सार्वभौम र सर्वजनिन पद्धति हो। जहाँ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाको भाव निहीत छ। पछिल्लो समय जलवायु परिवर्तनसँगै विभिन्न वनस्पति लोप हुँदै जाने क्रम बढिरहेकै छ।

आयूर्वेदमा विश्वास गर्ने जमात घटिरहेको छ। गाउँघरतिर जडिबुटि चिन्ने र विभिन्न रोगका लागि ओखती बनाउन सक्नेहरू समेत नभेटिनुले सम्झना दिलाउँछ डेउडा गीतका यी दुई पंक्तिकोः
बुका खोला बहुलिने छन् मूल पानी सुक्न्या छन् 
स्याल कराउने जमानामा कस्तुरी लुक्न्याछन् 

प्रकाशित मिति: : 2021-03-22 19:53:00

प्रतिकृया दिनुहोस्