सुबास शर्मा
                                मानव जीवनको आरम्भ न त आफूले रोज्ने ठाउँमा हुन्छ, न त आफूले चाहेका परिस्थितिमा। जीवनको पहिलो पन्ना कहिलेकाहीँ आँशु, पीडा र अन्धकारले नै लेखिदिन्छ। तर त्यही अन्धकारबाट उज्यालो देख्न सक्नेहरू समाजलाई प्रकाश दिन्छन्। मिता राईको जीवनकथा त्यस्तै एउटा उज्यालो यात्रा हो, जहाँ बाल्यकालको शोषण, अपमान र बेदनाले उनलाई पराजित गर्न सकेन, बरु उही पीडाले उनलाई शक्ति बनायो।
मिता चार वर्षकै थिइन्। त्यो उमेरमा बच्चा आमाको काखमा खेलिरहनुपर्ने, बाबाको काँधमा बसेर मेलामा रमाउने, साथीहरूसँग स्कुलको आँगनमा हाँस्ने उमेर हो। तर उनको जीवन त्यस्तो थिएन। परिवार र समाजले उनलाई सुरक्षा दिन सकेन। त्यसबेला बालबालिका खोजतलास सेवा (१०४ ले) उद्दार गरेर उनलाई रक्षा नेपाललाई जिम्मा लगायो। त्यस दिनदेखि उनको जीवन रक्षा नेपालसँग गाँसियो।

रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले उनलाई आफ्नो संरक्षणमा लिएर शिक्षाको बाटो खोलिदिइन्। सानै उमेरमा शोषण र बेघरपनको चपेटामा परेकी त्यो बालिका शिक्षा र माया दुवै पाउन थालिन्। तर, बाटो सहज थिएन।
एकदिन विद्यालयमा कक्षा ५ मा अध्यन गर्दैगर्दा जब शिक्षकले उनलाई “monkey” को स्पेलिङ भन्न लगाए, उनले उच्चारण गर्न नसक्दा सबैको अगाडि गरिएको अपमान उनले कहिल्यै बिर्सिन सकिनन्। त्यो घटना उनको बाल मनमा एउटा गहिरो चोट थियो। समाजले बुझ्ने शैलीमा भन्नुपर्दा, त्यो अपमानले उनको आत्मसम्मानलाई झट्का दियो। तर, मिताको कथा त्यहीँ टुंगिएन, त्यो चोट नै उनको जीवनको नयाँ मोड बन्यो। उनले आफूलाई वाचा गरिन् “म अंग्रेजी सिक्छु, म यो अपमानलाई मेरो शक्तिमा बदल्छु।”

समय बित्दै गयो। संरक्षण, शिक्षा र निरन्तर मेहनतको परिणामस्वरूप उनले आफ्नो जीवनलाई नयाँ रंग दिन सकिन्। जसले कहिल्यै ‘monkey’ को स्पेलिङ भन्न सकिनन्, त्यही बालिकाले केही दिनअगाडी मात्र बेल्जियममा धाराप्रवाह अंग्रेजीमा विश्वका शिक्षाविद्, समाजसेवी र अभियन्तासामु नेपालको लोकतान्त्रिक शिक्षा, बाल अधिकार र सामाजिक यथार्थबारे आफ्नो धारणा प्रस्तुत गरिन्।
हालै बेल्जियममा सम्पन्न डेमोक्र्याटिक एजुकेशन सम्मेलनमा उनले बोलेको प्रस्तुति केवल तथ्य मात्र थिएन, त्यो जीवन्त पीडा र अनुभूतिबाट जन्मिएको सत्य थियो। उनले विद्यार्थीहरूको सक्रिय सहभागिता, स्वतन्त्र सोचको वातावरण र समावेशी नीतिबिना शिक्षा अधुरो हुने कुरा जोडदार स्वरमा राखिन्। साथै, नेपालमा अझै पनि बालश्रम, यौन शोषण र मानव तस्करीजस्ता समस्याले बालबालिकाको भविष्य धूमिल बनाइरहेको कटु यथार्थ प्रस्तुत गरिन्।

उनको प्रस्तुति सुन्दा उपस्थित सहभागीहरू मात्र भावुक भएनन्, बरु उनीसँग सहकार्य गर्ने प्रतिवद्धता पनि जनाए। अन्तर्राष्ट्रिय समुदायले उनलाई बाल अधिकार र लोकतान्त्रिक शिक्षा अभियानलाई अझ सशक्त बनाउन साथ दिने वाचा गर्यो।
तर, मिताको जीवनकथा सुन्ने सबैभन्दा भावुक क्षण भने हिजो रक्षा नेपालको सामाजिक परीक्षण कार्यक्रममा आयो। जब उनले आफ्नै विगत सम्झिँदै बोलिन् , “म चार वर्षकी हुँदा उद्दार भएर यहाँ आएँ। स्कुलमा अपमानित भएँ। तर, आज त्यही अपमानलाई शक्ति बनाएर अन्तर्राष्ट्रिय मञ्चमा उभिन सक्ने बनेकी छु।" त्यो सुन्दा उनका आँखा मात्रै होइन, उपस्थित धेरै सहभागीका आँखाबाट आँसु झर्यो। त्यो आँसुमा उनको पीडाप्रति सहानुभूति मात्र थिएन, त्यो आँसुमा गर्व मिसिएको थियो। उनी विजयको यात्रामा अघि बढेकी थिइन्।

रक्षा नेपालकी अध्यक्ष मेनुका थापा गर्वका साथ भन्छिन्, “सानै उमेरमा उद्दार भएकी, अपमान सहनुपरेकी, परित्यक्त बालिका आज अन्तर्राष्ट्रिय मञ्चमा आवाज बुलन्द गरिरहेकी छिन्। यो केवल उनको व्यक्तिगत जित होइन, यो सम्पूर्ण समाज र हाम्रो अभियानको गौरव हो।”
आज मिता केवल मिता मात्र होइनन्। उनी नेपालका हजारौं असुरक्षित बालबालिकाको स्वर बनेकी छिन्। उनको कथा एउटा प्रमाण हो,यदि हरेक बालबालिकालाई संरक्षण, शिक्षा र अवसर दिइयो भने उनीहरूले केवल आफ्नो भाग्य मात्र बदल्दैनन्, समाजकै भविष्यलाई बदल्ने शक्ति बोकेर अघि बढ्छन्।
मिताको कथा हामी सबैलाई एउटा सन्देश दिन्छ-
अपमान कहिल्यै अन्तिम होइन, त्यो शक्ति बन्न सक्छ। आँसु कहिल्यै कमजोरी होइन, त्यो परिवर्तनको श्रोत बन्न सक्छ। अनि हरेक बालबालिका, यदि मौका दिइयो भने, इतिहास लेख्ने सामर्थ्य राख्छन्।

                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया