हेमन्त विवश
मुस्कुराउन सिकिरहेका चेहराजस्तै छन् वनमा पलाइरहेका रुखहरू।
फोटो खिचाउन क्यामेराको अगाडि हलचल नगरी उभिएका पाइलाझै मूर्तिवत् देखिन्छन् डाँडाहरू।
बिहानी स्कुल जाने समयसम्म सुतिरहँदा अवेर भयो भनेर ब्युझाइरहेकी आमाझैं कुहुकुहु गरिरहने कोइली छन्। रुखका हाँगा पात हल्लाई दौडिरहेको अदृश्य बतास छ।
नयाँ वर्षको आगमन हुँदै गर्दा घर सम्झेर तलबको आशमा मालिकको अनुहार हेरिरहेझैँ देखिने कामदारजस्ता निरीह केही मनहरू पनि त छन्। डाँडाको दर्शनढुङ्गा टल्केझैँ रातो माटो र कमेरोले पोतिएका केही घरहरूमा ताल्चा झुण्ड्याइएका छन्।
%20(1).jpg)
सबैलाई हेरिरहन्छु, मनमा गमिरहन्छु। सम्झना र कल्पनाका धर्साहरू आलोपालो आइदिन्छन् स्मृतिपटलमा धक्का दिन।
चैत्र महिना बिदा हुने तर्खरमा छ। आफैँमा उदाश र विरक्त बनाउने महिनाका रुपमा लिइन्छ चैतलाई। त्यसैमा कहिले कोरोना कहिले फोहोरी राजनीतिको अश्लील खेलले थपेको छ कतिपय मनमा झन् बढी विरक्ति।
तुवालोले चारैतिरका किनार धमिला देखिन्छन्। फूलहरु फुली नसकेका, वनजङ्गलतिर खोँच–खोँचमा हावाको सहयोगले थुपारिएका छन् पातहरू। देखिएकै छन् नाङ्गा रुखहरू पलाउँदैगरेका दृश्य।
बिहेवारी नहुने परम्परा चलेको यो महिनालाई चित्रित गरिएको छ- रित्तो महिनाका रुपमा। मन बरालिने महिनाको रुपमा। त्यसैले त गाउँघरतिरका बूढापाकाहरू महिलालाई हेयाएर सुनाउँछन्– ‘पाखी बेचेर पोइल जाने’ महिना हो यो।
तुलनात्मक हिसाबले विगतमा पोइल जाने अर्थात् भगाएर लैजाने कार्य चैतमै बढी भएका रहेछन्। त्यसैले गाउँघरमा हेर्न थाले- चैतलाई महिलाको पोइल जाने महिनाका रुपमा पनि। पुरुषप्रधान समाज भएकै कारण भगाउने महिना भनेनन्। भाग्ने वातावरण सिर्जना गर्ने पुरुष पर्दापछाडि नै रहे।
एउटाले बदमासी गर्दा त्यो जात, वर्ग, समूह पूरै दोषी ठानिने परम्पराको जग बस्दै गयो। कुनै ठाउँमा केही ‘अप्रिय क्रियाकलाप’ हुँदा ठाउँलाई जोडेर वर्षौंसम्म एउटा कहावत नै बनाइदिने चलन चल्दै आयो विगतमा।

परिणामस्वरुप ती महिला, गरीब, आवाजबिहीनहरू नै बनिरहे– हर पल हर क्षण दोषी। गाउँघरतिर एउटा उखान नै छ- बलियाले खाने डोटी।
त्यो ‘डोटी’ भनेको विगतको विशाल डोटी राज्य हो। जहाँ व्यवस्था परिवर्तन भयो तर विगतदेखि वर्तमानसम्म उस्तै खालको हैकम चलिरह्यो– उनै बलियाहरूको।
यो पाटोमा छुट्टै लेख आउने नै छ। यतिखेर यो गीत सम्झिन बाध्य तुल्याइ दिए गायक टेकराज अवस्थीले:
दुई बाला बयली खेल्दा ड्याली काकुनका
दुई मैना कसोरी काटुँ चैत फागुनका
चैत र फागुनका ती दुई महिना बढी समस्याग्रस्त देखिएका हुन् गरिवका लागि। भकारीमा अनाज सिद्धिदा नयाँ अन्न भित्र्याउने व्यग्र प्रतीक्षा देखिन्छ गीतमा। अहिलेको जस्तो दुई-चार पैसा कमाउने परिवेश थिएन। हातमा पैसा हुँदा समेत किन्नलाई पाइँदैनथ्यो बजारमा।
हुनेखानेसँग पैँचो माग्थे कसैले। पैँचो माग्दा पनि कयौँ दिन धाउनुपर्ने हुन्थ्यो तिनका दैलामा। लाख विन्ति बिसाउनु पर्ने हुन्थ्यो। किन्ने कार्यलाई बेसाऽ गर्नु भनिन्थ्यो। त्यो बेसाऽ गर्नु पर्ने ठाउँ पनि तिनै जमिन्दार वा हुनेखानेहरूकै घर थियो। जहाँ बेसाऽ गर्नसमेत निकै अनुनय विनय गर्नुपथ्र्यो।
मनाई गरिसकेपछि पनि कसैले नदेख्ने गरी रातको समयमा वा वरपर कोही नभएको समयमा कसैले चाल नपाउने गरी सुटुक्क ल्याउनुपर्ने हुन्थ्यो। जुन कार्य खरिद गर्नेको इज्जतसँग जोडिएको हुन्थ्यो। बेसाऽ गर्ने अर्थात् रासन किन्ने मान्छेको बद्नाम हुन्थ्यो। त्यो बदनाम भन्नु नै वर्ष दिन खान नि कमाउन नसक्ने निष्क्रियपना र अल्छिको उपाधि भिर्नु जस्तै थियो।
वर्ष दिनसम्म दुई छाक टार्ने अन्न कमाउन नसक्नुलाई हेयपूर्ण ढंगले हेरिनुलाई कृषि कार्यप्रतिको लगावका रुपमा हेर्न सकिन्छ। काम गर्ने मेहनती बानीको बिकास गराउँने पक्ष पनि थियो त्यो। तर, किन्दा वा पैँचो माग्दा अनुनय–विनय गर्नुपर्ने चाकडी बजाउनुपर्ने कार्यलाई शोषणको पराकाष्ठा नै मान्नुपर्ने हुन्छ।
त्यो अवस्थाबाट अहिलेको अवस्थासम्म आइपुग्न गाउँ समाज र आवाजबिहीनहरूले लामो समय कुर्नुपर्याे निकै संघर्ष गर्नुपर्याे तर पनि शोषकका अवशेषहरू हट्न सकेनन्। विकासको नारा लगाएर आश्वासनको गरा देखाएर राजनीतिकर्मीले बारम्बार जनतालाई ढाँटिरहनु, ठगिरहनु, अस्थिरता निम्त्याइरहनु पनि एक प्रकारले जनताप्रतिको शोषण नै हो।
हिजोका दिनमा हुनेखाने खलकका र जमिनदारले गाउँसमाजमा शोषण गरे। आजका दिनमा नेता, पूँजीपति र केही छोटेराजनहरू मिलेर संयुक्तरुपले गरिरहेका छन् जनताको शोषण। सुदूरपश्चिम प्रदेशको राजधानी सारेर धनगढी पुर्याउनु, तराईको उब्जाउ भूमिलाई घडेरीमा रुपान्तरण गर्न लगाउनु, कमिसनतन्त्र फस्टाउनु पनि एक प्रकारको शोषण नै हो।
यी सबै घटना परिघटना र परिवेश एकातिर छन्। स्मृतिपटलमा आइरहने विगतका दिनका यादका लहरहरू अर्कोतिर छन्।
डोटीका कतिपय गाउँहरू रित्तिँदै छन् दिनप्रतिदिन। तराईतिर पाइला सर्दै छन्। ताल्चा झुण्ड्याइएका केही घरहरू देख्दा निकै नै बलशाली बनेर आइदिन्छ- पुराना दिनको सम्झना। त्यो गाउँ त्यो परिवेश, गाउँलेहरूबीचको एकता विभिन्न चाडपर्वको रौनक छुट्टै थियो।
वाल्यकालमा दुईचार टुक्रा ढुङ्गा, अलिकति माटो, रुखका पात, रिठ्ठाका दाना फुटालेर भित्रको कालो बीउ(आलकुली) गुच्चा खेल्न प्रयोमा ल्याइन्थ्यो। फाटेका मोजाको भकुण्डोले दिने आनन्द छुट्टै थियो।
पात्लो खाले ढुंगा फुटालेर बनाइने सिक्का लुकीचोरी खेलेको त्यो परिवेश अवर्णनीय थियो। आकाशमा डुलिरहने सूर्य, चन्द्र र धर्तीमा डुलिरहने बालापनभित्रै त थियो सुन्दरता। जहाँ रहस्य हुन्छ, निर्दोषपना हुन्छ, जिज्ञाशाको भारी बोकेर प्रश्नमाथि प्रश्न तेस्र्याइन्छ त्यतै हुन्छ जीवनको सुन्दरता पनि। जिज्ञाशापूर्ण प्रश्न तेस्र्याउने बालबालिकाहरू पनि खासै भटिँदैनन् अचेल।
आकाशधर्ती निन्याउरा देख्छु अचेल। जताततै डढेलोको प्रकोप छ। दिपायलको बजारबाट हेरिरहेछु दिउँसै रात परेजस्तो आकाश। चारैतिर फैलिरहेछ धुँवा। सुन्दरताको च्यादर ओढिरहेकी प्रकृति निन्याउरी छन्। आकाशमा कुहिरीमण्डल छ।
रहस्यले भरिएको मान्छेभित्र कुटिलताले बास गरिरहेको छ। आत्मश्लाघामा रमाउँदै स्वार्थ र धूर्तताको भारी बोक्न पल्केको मान्छे गरिरहेकै हुन्छ दौडधुप। जहाँ छद्मभेषी पन, स्वार्थी भावना र धुत्र्याइँ हुन्छ, मै खाऊँ मैलाऊँ भन्ने सोचका तरङ्गहरू उत्पन्न भइदिन्छन् त्यहाँ अश्लीलता बढी हुन्छ। कुरुपताले राज गर्छ र देखापर्छ- हत्या, हिंसा र कलह। नेपालको राजनीतिभित्र अश्लीलता र कुरुपता बढी छ, त्यसैले त दिनानुदिन कलह बढिरहेको छ।
उता गाउँ निरीहजस्ता छन्। गाउँमा अचेल हेर्नुपर्ने उही प्रकृतिक वातावरण मात्र छ। जङ्गलमा रुखका फेदमा थुपारिएका पातपतिङ्गरहरू छन्। ती पातपतिङ्गलाई जालभित्र कैद गरेर भारी बोकिरहेका एकाद महिलाहरू देखिन्छन् बाटोमा।
ती जालमा स्याउला खाँदेझै (पत्कर) खाँदिरहनुपर्ने हुन्छ- स्मृतिपटलको जालभित्र सम्झना कल्पना, अनुभव र अनुभूतिका स्याउलाहरू। जालभित्र खाँदिएको स्याउलाको भारीजस्तै छ जिन्दगी। जसलाई बोकिरहनुपर्ने हुन्छ- उकाली ओरालीहरूमा। अडेस लगाउँदै सुइ..य्य सुस्केरा निकाल्नुपर्ने हुन्छ- कयौँ गौँडाहरूमा।
%20(1).jpg)
जाँतो थन्क्याए पनि फ्याट्टफुट्ट मात्रामा बजेकै छन् ओखल। वर्षा नभएर रातै देखिएका उजाड खेतबारीहरू छन्। मान्छेसँगै दुईचार बोरा गहुँ चामलका बोकेर कच्ची बाटोमा थर्थराइरहेका एक-दुईटा भ्यान छन्।
छैन नयाँ वर्षको आगमनको लागि कुनै चहलपहल पनि। गाउँमा मान्छे नै कम भएपछि विगतको जसरी उल्लासमय ढंगले कहाँ मनाइएला र बिसुँ पर्व पनि ?
यसपल्ट गाउँ जादा खूब हेरेँ पात खसेर नाङ्गो बनेका सिमलका रुखलाई सुन्दर तुल्याइरहेका राताम्मे पूmलहरू। अनि सम्झेँ– भुवन दाहालले गाएको गीतका पंक्ति :
घाम लाग्यो पाइलका डाँडा सिमल फुले लोली
उसोइ छ कि अनुहार उसोइ (उस्तै) छ कि बोली
यी पंक्तिले सम्झाउँछन्- विगतका दिनहरू। त्यही पुरानो अनुहार अनि उस्तै बोली छ कि छैन भनी आफैसँग प्रश्न गरिरहेका हुन्छन् कुनै प्रेमीप्रेमिकाले। सोधिरहेका हुन्छन्– कतिपयले एकअर्कालाई।

मान्छे जति विकसित युगमा प्रवेश गर्दै जान्छ त्यही नयाँ लयमा गुटमुटिरहेको हुन्छ। सम्झनामा आइरहेका हुन्छन् उसका विगतका अविष्मरणीय सुमधुर पलहरू। गुमाइरहेको हुन्छ उसले पुराना थुप्रै कुराहरू।
कुनै युवा–युवती बीचको प्रेम मात्र प्रेम हैन। सामाजिक मेलमिलाप आत्मीयता र एकअर्काप्रति मनमा जागृत हुने सकारात्मक सोचाइ पनि त प्रेम नै हो। प्रकृतिप्रेमीको प्राकृतिक सौन्दर्यप्रतिको अनुराग पनि प्रेम नै हो। सबैभन्दा बढी त आफूले आफैलाई प्रेम गर्न सिक्नु, रमाउन सिक्नु हो।
गाउँघरतिर बेलाबखत विरक्तिने मनलाई सम्हाल्न अपनाइएका हुन्थे मनोरञ्जनका पाटाहरू। जुन प्रकारका मनोरञ्जनका पाटाहरू सामाजिक हुन्थे। सद्भावले सिँगारिएका हुन्थे। भेट्घाट र भलाकुसारी गर्ने गौँडा बनिदिन्थे।
बिस्तारै ती सम्झनामा सीमित भइरहेका छन्। अनि आफ्नै मन बुझाउन आफैँसँग भनिरहनुपरेको छ, ‘बेलाबखत सम्झिरहनु पनि प्रेम नै त हो। मैले बोकिरहेकै त छु सम्झनामा त्यो ठाउँ, ती चाडपर्वहरूलाई।’ आखिर सम्झना भन्नु केही गर्न नसक्दा कुनै सीप नचल्दाको विकल्प मात्र न हो।
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया