सुख् भया बाँडेर खानु दुःख एक्लै काट्नु
सुखसँग दुःखका माना काँ गएर साट्नु
बारम्बार फुर्सदको समयमा छोरीहरूको निधार चुम्थिन् आमा धानादेवी धामी । आफूले भोगेका दुःखको वर्णन गर्थिन् । छोरीहरूलाई सम्झाउँथिन्। सारा पीरव्यथा सहेर,परेलीका डीलसम्म पुग्ने आँसु लुकाएर छरिरहिन् छोरीहरूका सामु कृत्रिम हाँसो। भित्रैबाट आउने असली हाँसो कस्तो हुन्छ बिर्सिसकेकि छन् उनी । तर पनि जिन्दगीका पाइलाहरू चालिरहिन् संघर्षको गोरेटोमा। अरुले आमालाई धर्तीको उपमा दिएझैं उनी बनिदिइन सहनशील धर्ती।
डोटीका ड्यौडिया नरेन्द्र खड्काले फेसबुकको भित्तामा राखेका शिरानीका पंक्तिहरू सम्झिन मनलाग्छ यतिखेर। उनले भनेझैं कल्ले दिन्छ र अरुको दुःख लिएर आफ्नो सुख । आखिर को भेटिन्छ र दुःखका माना, दुःखका कुटुरा अनि दुःखका भारीसँग सुख साट्ने। यो संसार यस्तै न हो। सुखमा साथ दिन्छन् सबैले। दुःख त केवल एक्लै भोग्नु न हो। यसरी दुःख भोग्दै एक्लै एक्लै यात्रारत सङ्गीता धामीको कथा सुनेपछि सकिन नलेखी चुपचाप बस्न पनि।
साग गेममा कुस्तीमा स्वर्ण पदक विजेता सङ्गीता धामीलाई प्रमाण पत्रमा राख्ने हेतुले सोधिएछ बुवाको नाम। जीतको खुसीले रंगीन बनेको मन क्षणभरमै खिन्न हुन गएछ। उदाश देखिएछ चेहरा। अनि छातीमा भक्कानो च्यापेर उनले भनिछन् – मम्मीको नाम राखिदिनू। यो कुरा सुनेपछि मेरा मित्र राजेन्द्र कुँवर र म हानियौं सुनधारास्थित उनी बसिरहेको हाटेलतिर। कुराकानीको सुरुवात भयो त्यही कुराबाट। आखिर किन त ? निन्याउरो बनेको मुहार अनि आँसु लुकाउने बाहानामा हाइकाटिरहेको मुखबाट निस्कियो आवाज – म सानो छदा नि बाबालाई अंकल भन्थे रे। शायद बाबा भन्न जुरेको थिएन रैछ र त त्यसो भने कि ?' यति मात्रले त किन भन्दिहुन् र मम्मीको नाम राखिदिनू। म एकोहोरो त्यही कुरा खोतल्न थालँे। उनी रुन थालिन्। सम्झाउन मुस्किल प¥यो। एकातिर लागिरह्यो किन सोधेँ हुँला सुरुमै यो कुरा। फेरि सोचेँ सोधि त हाले अब त जसरी नि भन्न लाउनु पर्छ त्यो कथा। प्रसंग मोड्दै गएर नजानिदो पाराले पुनःफर्किएँ त्यही कुरामा। तब नभनी धरै पाइनन् उनले। अनि आँसु पुछ्दै सुनाउन थालिन् त्यो घटना।
उनका हजुरबुवा देवताका धामी थिए। उनले आफ्ना छोरा नन्दसिं धामीलाई बारम्बार भनिरहन्थे रे त्यसबाट(सङ्गीताकी आमाबाट) छोरा हुँदैन अर्को बिहे गर। दुई छोरीकी आमा धाना देवीलाई पत्तै नदिई अर्को बिहे गरेछन् नन्दसिं धामीले। त्यतिबेला सङ्गीता पेटमै थिइन। बिस्तारै उक्त कुराको सुइको पाए पछि भनिछन् धानादेवीले – गर्नु गरिहाल्यौ अब अरु त के नै रह्यो र भन्नलाई। यी छोरीहरूलाई पाल्ने पढाउने र हेरविचार गर्ने गरिदिनु।' सुरुसुरुमा फकाएछन् दुबैलाई उत्तिकै माया गर्छु र हेर्छु भनेर। दुईचार महिनासम्म बेलाबखत घरतिर आएर खर्च पनि दिएछन्। नेपाल प्रहरीमा जागिरे उनी पछि कान्छीलाई लिएरै आएछन् गाउँमा। केही वर्ष गाउँमै बसेछन्।
होटेलको त्यो सानो कोठामा कान थापेर सुनिरहेका थिए अरु खेलाडीहरू पनि। सङ्गीताले भनिरहिन – बहिनी रीता मम्मीको पेटमै थिइ, बाबा कान्छी आमा लिएर एकाएक हिँडे त्यो ठाउँ नै छोडेर। पेन्सिन पट्टामा पनि इच्छाइएको व्यक्तिको नाम राख्ने ठाउँमा अटेन छ मम्मीको नाम। उनी कता छन् दाङ सल्यानतिर थाहा छैन। सुरुसुरुमा त फोन गर्दा कुरा गर्थे पछि बिस्तारै छोडिदिए सम्पर्क गर्न पनि। सानो छदा बुवा भनेपछि हुरुक्क हुन्थी जेठी दिदी। जेठो सन्तान भएर होला बुवाले पनि उत्तिकै माया गर्थे। दश वर्ष अघिको कुरो हो जसै आफ्नो बिहेमा आइदिन अनुरोध गर्न दिदीले छिमेकीको लेण्डलाइनबाट फोनमा 'बाबा मेरो बिहे हुँदैछ आउनु है ?' भनेकी थिइन् कल्पना नै नगरेको वाक्य सुम्पेछन् बाबाले– 'को पागल हो बाबा भनिरहेको, म चिन्दिनँ।' यति भन्दाभन्दै पुनः उनको गाला अवरुद्ध भयो।
एकातिर ८ कक्षामा पढ्दै गरेको १४ वर्षे उमेरमा पढाईसँगै साथीसंगी र जन्मघर छोड्नु परिरहेको पीडा थियो उनकी दिदीको मनमा। अर्कोतिर त्यति माया लाग्ने बाबाको मुखबाट त्यस्ता शब्द सुन्नु पर्दा निरन्तर झर्न थालेछ आखाँबाट आँसुको बलेसी। निकै नै गाह्रो परेछ उनलाई सम्झाउन। केही वर्षपछि एस.एल.सी पास गर्ने बित्तिकै अर्की दिदीको पनि बिहे भएछ। त्यतिबेला उनले डाको छोडी रोएको पनि सम्झिन्छिन् सङ्गीता। उनी भन्छिन् – 'म नि सानो सानो कुरामा रोइदिन्छु । बुवाको बारेमा कसैले सोद्धा बोल्नै सक्दिन। कसैले यो प्रसङ्ग नै ननिकालि दिए हुन्थ्यो लाग्छ। बाबा भन्ने शब्द नै सुन्नु नपरे पनि हुन्थ्यो ठान्छु।'
'बाबासँग भेट भयो भने बोल्छ्यौ कि नाइर्' – बिचैमा मैले प्रश्न तेस्र्याएँ।
'बोल्ने मन त छदै छैन। समयपरिस्थितिले बोल्नु परिहालेछ भने भन्नेछु छोरी भनेर हेला गर्नु भयो। छोरीले पनि गर्न सक्दा रैछन् नि हैन र ? – पुनः आँखा टिलपिल पार्दै सुनाइन।'
बाबाको अन्य आफन्तहरूसँग सम्पर्क भैरहन्छ भन्ने चाल पाएपछि उनले फेसबुकमा बाबाको नाम सर्च गरिछन्। फ्रेन्ड रिक्वोइस्ट पठाइछन्। त्यो अनुरोधलाई एसेप्ट पनि गरिएछ तर कुरा गर्न खोज्दा बोल्न चाहेनछन् ती बाबा भनाउदाले। दुई तीन पटक म्यासेन्जरमा लेखेर पठाइछन् –हेलो बाबा। आएनछ कुनै प्रतिक्रिया। 'हेलोको रिप्लाइ नै नआएपछि आँसु बगाउनु शिवाय अरु म के नै गर्न सक्थे र' – निरिह स्वरमा उनले सुनाइन।
सबैले भन्छन् खेलाडीले डाइड पेल्नु पर्छ। तर उनका लागि डाइड भनेको त्यही रोटी भात थियो। विगत सम्झिदै भन्छिन् उनी – मामाघरबाट पाडो ल्याएर पालेकी हुन् मम्मीले। त्यही पाडो हुर्किदै गएपछि ब्यायो। त्यसकै दूध, ध्यू बेचेर गुजारा चलेको हो। मम्मीले दूध खान कर गर्नुहुन्थ्यो दूध मलाई मन पर्दैनथ्यो। तताउने बेलाको ताजा ध्यू पाएपछि अलिकति खान्थेँ। मम्मीले चना बदाम किनिदिनु भयो एकदुई पटक तर मैले नखाएपछि किन्न छोड्नु भयो। उनी यति भनेपछि रोकिइन होटेलको कोठाको भित्तातिर हेर्न थालिन। एताउता दृष्टि पु¥याएजस्तो गरेर आँसु लुकाउने प्रयत्न गरिरहिन्।
'किन खाइनौ त चना, बदाम ? के त्यो नि मन परेन?'– पुनः प्रश्न गरेँ।
'मैले खाँदा मम्मी र बैनी त्यतिकै हेर्ने। सबैलाई सधै यस्ता कुरा किन्न पैसा कहाँबाट पाउनु। बहिनी सानै थिइ। विचरी उसले के बुझोस् र। म पनि खान्छु भनिहाल्थि। त्यो सानी बैनीलाई नदिएर, आमालाई नदिएर कसरी खानु।
मनमनै सोचेँ म त्यतिकै बलियो छु। ह्या पर्दैन कुनै डाइडसाइड खानु। तालिममा गुरुहरूले भन्नु हुन्थ्यो – नखाए नि पैसा काटिन्छ भने किन खान्नौ ? खाऊ। अनि आँखा बन्द गरेर दूधको गिलास रित्याउथेँ। मासु नि तीन चार टुक्राभन्दा बढी खान सक्दिनँ। मम्मीलाई सम्झिन्छु र खान छोडिदिन्छु। मम्मीलाई हजुरआमा हजुरबुवाले पेटभरि खान पनि दिएनन् रे। शायद छोरी मात्रै जन्माइ भनेर होला' –बिस्तारै त्यो रहस्य बताउँदै गइन उनी।
हिजोआज उनी बारम्बा सम्झाउछिन् मम्मीलाई। ढाडस दिदै भन्छिन् – 'अब चिन्ता नगर्नु म छदैछु।' त्यसो भन्दा मम्मी पनि फुरुङ्ग परेर आँसु पुछ्दै सुनाउँछिन छरछिमेकलाई मेरी छोरी ठूली भैसकी, यसो भनी भनेर। करिव तीन वर्ष भयो उनले खेल क्षेत्रमा प्रवेश गरेको। राम्रा खेलाडी छान्न गुरु राजेन्द्र चन्द र लक्ष्मी खत्रीले अभियान चलाए स्कुल स्कुलमा धाउने।
यसैक्रममा भेटेछन् दस कक्षामा अध्ययनरत सङ्गीतालाई पनि। उसो त सानै देखि रुचि थियो संगीतको पनि खेल क्षेत्रमा। तर तालिम गर्दा पैसा तिर्न सक्ने क्षमता नभएकै कारण उनी आफ्नो इच्छालाई भित्रै दबाएर बसेकी थिइन। कुस्तीको तालिम लिदा पैसा तिर्नु नपर्ने भन्ने थाहा पाएपछि उनले पाइला टेकिन् यो क्षेत्रमा। पढाइ र गेमलाई सँगसँगै लगिन्। १२ कक्षा पास गरिसकेकी उनी स्नातक तहमा भर्ना हुने सोचमा छिन्। यसअघि काठमाडौंमा भएको डोमेस्टिक गेममा पनि उनी प्रथम नै भएकी थिइन।
उनी एकदमै कन्फिडेन्टका साथ खेल्छिन्। यसैले उनलाई अगाडी बढ्न सहयोग पु¥याइरहेको छ। यसपटकको सागमा पनि रजत अथवा काश्य पदक त कसो नजितौंला भन्ने लागिरहेको थियो। तर स्वर्ण पदक नै त जित्छु कि जित्दिनँ भन्ने कुरा बारम्बार खेलिरहन्थ्यो रे उनको मनमा। उनी भन्छिन् – 'बाह्य देशका खेलाडीले राम्रो ट्रेनिङ गरेका होलान् ठान्थँे। तर हाम्रो पनि कम रहेन छ।'
उनले ५५ केजी समूहबाट स्वर्ण पदक जित्न सफल भइन्। गेम जित्ने बित्तिकै साथीलाई मम्मीको नम्बर डाइल गर्न लगाइन्। तर बोल्न सकिनन्। ती साथीले नै सुनाइदिइन उनकी आमालाई सुखद खवर। उनी मात्र रोइरहिन्। त्यो आँसु सुखको त पक्कै थियो तर पनि उनले बढी विगतका दिन सम्झिन। गुरुहरूले दिएको हौसला र प्रेरणा सम्झिन।
आमाको दुःख सम्झिन र झन बढी बगाइन आँसु। साँझपख उनले आमालाई फोन गरेर भनिन् – 'खै पैसा त कहिले पाइन्छ थाहा छैन्। गेम चाही जिते मम्मी।' हर्षले भवविभोर भएको स्वरमा सुनाइछन् उनकी मम्मीले – 'नपाए नि केही छैन हल्का नाम त कमाइस्। मेरो शिर त ठाडो पारिस्। यही नै सम्पत्ति हो छोरी।' यी यस्ता कुराले उब्जाइ दिन्छन् आँसु। दुःख होस् वा सुख जुनसुकै अवस्थामा पनि यही आँसु अघिलाग्दो रहेछ। आखिर जीवन भनेको कतै आँसुकै पर्यायवाची त हैन ? मनमनै गम्न थालेँ म।
कञ्चनपुरको तिलकपुर भन्ने गाउँमा माटाको साझा घर थियो पहिले। बिस्तारै जीर्ण हुन थालेपछि काठमाडौंमा बसोबास गरिरहेका उनका ठुल्बुवाले आफ्नै जमिनमा सानो घर बनाइदिएछन् जहाँ हाल सङ्गीताका आमा छोरी बसिरहेका छन्। आफ्नो भन्नु आधी कट्टा जमिन छ सम्पत्तिको नाममा। त्यो पनि नन्दसिंकै नाममा रहेको। जसको अगडीको मोहडा नै निकै कम छ। घरबनाउन मिल्ने खालको छैन्। सरकारले दिने भनेको रकम पाएपछि ठुल्बुवासँग उक्त आधी कट्टासँगै जोडिएको अगाडी पट्टीको थोरै जमिन मागेर घर बनाउने योजना छ उनको।
अस्तिको ताका काठमाडौं आउँदा मम्मीको लागी चाँदीको औंठी बनाएर लगिदिएकी रहिछन्। यतिखेर कपडा किनेको कुरा सुनाउँदै भनिन्– 'मेरो मम्मीले न त कहिल्यै पेटभरी खान पाउनु भयो नत राम्रो लुगा अनि गरगहना नै लगाउन पाउनु भयो। सधै अभावको जिन्दगी बाँच्नु भयो।' नन्दसिंले उनकी मम्मीसँग बिहे गर्दा ताका पनि बिहेको दिन अरुका गहना मागेर लगेका रहेछन्। सुदूरपश्चिममा त्यस्ता गहनालाई धकौटा भनिन्छ। कामकाज सकिए पछि त्यस्ता धकौटा गहना वा लुगा जसका हुन् उसैलाई फिर्ता दिनु पर्छ। त्यसैले धानादेवीसँग बिहेको दिन पाएका गहना पनि छैनन्। दार्चुलाको अरलेक भन्ने गाउँको घरमा भित्र्याएका थिए नन्दसिंले धानादेवीलाई। जुन गाउँमा आठ कक्षामा पढ्ने ताका नै गएकी थिइन सङ्गीता। पहाडको मनोरम दृश्यले लोभ्याइरहदा पनि मन लागेनछ उनलाई धेरै दिन त्यहाँ बस्न।
सबैले फलानाकी छोरी भनेर उनका बुवाको नाम उच्चारण गर्न थाले पछि नराम्रो लागेछ उनलाई। धानादेवीकी छोरी हो भनिदिए पनि हुन्थ्यो नि भन्ने कुरा खेल्न थालेछ उनको मनमा। पछि उनले नागरिकता बनाउदा समेत आमाकै नामबाट बनाउन लगाइन। आमाको नामबाट बनाउँदा नि झुण्डिहाल्दो रैछ बुवाको नाम पनि। त्यतिबेला सोचेकी थिइन रे उनले आर्मीको जागिर खाने कुरा। त्यो समयमा उनी खुब खेलाउथिन मनमा कुराहरू– 'जागिरको दौरानमा कतै न कतै त होला बुवासँग भेट। त्यतिबेला एक झापड हानेर सोध्ने छु मम्मीलाई किन छोडेको ? अनि रुने छु बेस्सरी।' यी त थिए केवल उमेरगत हिसाबले मनमा उब्जिएका भावनाहरू। उसो त उनी अहिले पनि जम्मा उन्नाइस वर्षकी मात्र त भइन। तर हिजोआज धेरै कुरा बुझिसकिन उनले। त्यसैले त उनी भन्छिन् – 'म सोच्थेँ हाम्रो घरमा मात्र दुःख छ। तर सबैसँग केही न केही दुःख हुँदो रहेछ।'
सागमा भिड्नु अघि महेन्द्रनगरमा करिव दुई महिना र हेटौडामा पाँच महिनासम्म लगातार तालिम लिइन उनले। महेन्द्रनगरमा जिल्ला खेलकुद समितिकै हलमा तालिम हुन्थ्यो। तर त्यो हल पनि पर्याप्त थिएन। उनका गुरु राजेन्द्र चन्दका अनुसार नेपालमै कुस्तीको ट्रेनिङ सेन्टर छैन्। न त अफिस नै छ। कोचहरू पनि थप्नु पर्ने देखिन्छ। कुस्तीका मुख्य प्रशिक्षक ब्रह्मदेव यादव लगाएत पाँच जना गरुहरूबाट तालिम लिएकी सङ्गीताले गोल्डमेडल जितेपछि आर्मी, पुलिस, शसत्र सबै ठाउँबाट अफर आएको छ जागिर खान। तर उनले कता जाने भन्ने निर्णय गर्न सकेकी छैनन्। कञ्चनपुरमा नगरवासीहरु निकै नै उत्साहित छन्। कञ्चनपुरबाट सागमा समावेश भएका खेलाडीहरुले १ स्वर्ण ३ रजत र ३ काश्य पदक जिते। कुस्तीमा भागलिने १४ जना खेलाडीहरु मध्य ७ जना कञ्चनपुरकै थिए।
विगतमा बाटामा भेटिने आफन्त र शुभचिन्तकहरूले राम्रो गर भनेर उनलाई सम्झाउने गर्थे । उनीहरूले बुवाले छोडिसके, मम्मीलाई राम्ररी हेरेश् भन्दै गर्दा बर्सिन थाल्थे उनका आँखामा झरी। उनी जति आँसु बगाउथिन् त्यति नै दृढसंकल्पका साथ मनमनै भन्थिन –'एकदिन म मेरी मम्मीको नाम राख्छु।' सङ्गीतालाई भन्नु पर्ने बाध्यता आइलाग्छ कही कतै बुवाको नाम। त्यो नामका अक्षरहरूले हिर्काउछन् अन्तर हृदयमा नमिठो गरेर। बढाइदिन्छन् वेदना। उब्जाइदिन्छन् आक्रोश पनि। यिनै आक्रोश वेदना, दिकदारी, आँसुमै टेकेर खोज्न थालेकी हुन् उनले आफ्नो वर्तमान। सजाउन थालेकी हुन् सपना। ख्याल गर्न सिकेकी हुन् समयको। र भन्न थालेकि हुन् – 'म पनि केही गर्न सक्छु।' यही शाहसले बढ्न सहयोग पु¥याएको हो अगाडी। खेल सँगसँगै पढाइलाई अघि बढाउने सोच छ उनको। बिस्तारै दुःखका दिनहरु ओरालो लाग्दैछन्। तर पनि उनी सुनाउछिन्– 'ती पुराना दिन त कसरी भुल्न सकिएला र।'
भारतकी प्रसिद्ध साहित्यकार अमृता प्रितमका शब्द सापट लिएर भन्नु पर्दा मानवको छाती शायद रातजस्तै हुन्छ। सूर्यले रातलाई चिरेर झुल्किनु परेझै मानवको कहानीले मानवको छाती चिरेर झुल्किनु पर्ने हुन्छ। आजको सूर्योदयको छुटेको कहानी भोलिको सूर्योदयले बताउने छ। कुस्तीमा सङ्गीताले पाएको स्वर्णपदक ३८ वर्ष पछिको पहिलो सूर्योदय हो। दुःखमा टेकेर गुलावझैं मुस्कुराइरहेकी सङ्गीताको कहानी समाजका लागि प्रेरणा बन्दै जाओस्। कन्टिन्यूड टु नैक्सट जनरेसन भनेझैं सङ्गीता भित्रको शहनशीलता,धैर्यता र लगनशीलताको सूर्य उदाइरहोस् आउँदो पुस्तालाई बाटो देखाउन र प्रेरणाको स्रोत बन्नका लागि पनि।