मापदण्डअनुसार निर्माण भएका घरको नक्शापास र सूचीकरणको प्रक्रिया सुरु

फाइल तस्वीर
फाइल तस्वीर

भक्तपुर नगरपालिकाले साविक मापदण्डानुसार निर्माण भएका घरको नक्शापास र सूचीकरणको प्रक्रिया शुरु गर्ने भएको छ। नगरपालिकाको चालु आठौँ नगरसभाको शनिबारको बैठकले ‘साविक मापदण्डअनुसार निर्माण भएका घर-भवनको नक्शापास र सूचीकरणसम्बन्धी कार्यविधि–२०७७’ पारित गरेसँगै त्यस्ता घरको नक्शापास र सूचीकरणको प्रक्रिया शुरु हुन लागेको हो।

उक्त कार्यविधिको उद्देश्य भक्तपुर नगरपालिका क्षेत्रभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लागू हुनुभन्दा अगाडि नक्शापास नगरी साविक मापदण्डअनुरुप भएको र मापदण्डअनुरुप नभएका वा पास भएको नक्शाभन्दा हेरफेर गरी साविक मापदण्डानुसार घर तथा भवन आदि निर्माण गरेको र मापदण्डानुसार नभएका घरहरूको नियमित एवं नक्शापास र सूचीकृत गर्ने रहेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

सो अवसरमा उहाँले नगरपालिकाले प्रजातान्त्रिक अभ्यासमार्फत नगरसभा सञ्चालन गरिरहेको र सभामार्फत संविधानले दिएको अधिकारलाई व्यवस्थित तरिकाले उपयोग गर्ने प्रयास गरिरहेको बताए। उनले  नपाले सञ्चालन गरिरहेको विभिन्न सीपमूलक तालिमले नगरवासीको व्यक्तित्व विकास, कार्यक्षमताको विकास गर्दै आएको बताउँदै देको मिवा इतापाके जग्गा एकीकरण आयोजनामा परेका उजुरीमाथि अध्ययन गरी जग्गाधनीसँग छलफल अगाडि बढाउन कार्यदल गठन गरिसकेको जानकारी दिए।

कार्यविधिमाथि सभासद सूर्यप्रसाद श्रेष्ठ, बलराम न्हिसुतु, शिवप्रसाद बाला, राजेन्द्र माक, श्यामसुन्दर मातां र गोविन्द दुवालले विभिन्न सुझाव दिनुभएको थियो भने छलफलमा उठेका विषयमा विधायन समितिका संयोजक हरिराम सुवालले जवाफ दिएका थिए। नगरसभाको विशेष समयमा सभासद् सूर्यप्रसाद श्रेष्ठ, ज्ञानकुमार मगजु, बलराम न्हिसुतु, शिवप्रसाद बाला, राजेन्द्र माक, श्यामसुन्दर माक, मङ्गललक्ष्मी शाही, जितेन्द्र मुनंकर्मी, सिद्धिराम अवाल र गोविन्द दुवालले  देशको समसामयिक राजनीति, नगरवासीको समस्या र नगरपालिकाले जनताको पक्षमा गर्नुपर्ने कार्यलगायतका विषयमा आ–आफ्नो विचार राखेका थिए।रासस

प्रकाशित मिति: : 2021-02-14 09:56:00

प्रतिकृया दिनुहोस्