काठमाडौंस्थित बसन्तपुरको गल्ली ‘यटखा प्यानल’ चौक। त्यहीँ भेटिइन्–बुनु परियार, ३०।
जहाँ उनी चटपटे बेच्नमा व्यस्त थिइन्। निलो रङ’ को उनको गाडामा चटपटे, पानीपुरी र मिठाईहरु राखिएको थियो।
भुजा,चना,दालमोड कागती लगायतको मिश्रणलाई उनको मेहनती हातले प्लाष्टिकको जगमा घाेल्छिन्। लौरोले घोलिसकेपछि पेपरमा खान दिन्छिन्। खानेहरु मुख मिठ्याई मिठ्याई खान्छन्। अनि भन्छन्, वाह, क्या मिठो चपपटे। बुनुको त हातै मिठो।
चटपटे मिठो भएकै कारण कोहि फेरि बनाउन लगाएर खान्छन्। आजसम्म पहिलो पटक चटपटे खानेहरु भोलिपल्ट पनि बुनुकोमै खान फर्किन्छन्। प्रशंसा गर्छन्।
आफूले बनाएको चटपटे अरुले मिठो मानेर खाएको देख्दा आफूलाई खुसी राखेको उनले बताइन्।
‘एकचोटी खानुहुनेहरु मिठो बनाउछ भनेर फेरि भोलि फेरि फर्केर आउनुहुन्छ, मिठो बनाउछ भन्दै खाईदिँदा खुशी लाग्छ, चटपटेको व्यापार नि बढेको छ, बुनुले भनिन्, ‘अरुले जस्तै गरी मैले पनि चटपटे बनाउने तर खै कसरी मिठो हुन्छ।’
तीन वर्षअघि मात्र उनले सिकेकी थिइन्–चटपटे, पानीपुरी बनाउन। आफूसँग काम नभएका कारण चटपटे व्यापार गरेको उनलाई अझै याद छ। उनले चटपटे पसल राख्न कानको सुन नै बेच्न परेकाे थियाे।
‘पैसा कमाउने बाटो कतै थिएन, त्यसैल २२ हजारमा सुन बेचेर चटपटे बेच्न थालेकी हुँ’ उनले विगत सम्झदै भनिन्।
उनलाई चटपटे पसल राख्ने कुनै सोच थिएन, तर सितापाइलामा चटपटेको व्यापार देखपछि उनमा पनि उत्साह जाग्यो, चटपटे र पानीपुरी बेच्ने।
‘सितापाइलामा चटपटे बेच्ने एउटी दिदि हुनुन्थ्यो, उहाँको चटपटे खानेको लर्को नै लाग्थ्यो, त्यो देखेर मलाई पनि चटपटे व्यापार गर्ने सोचेँ’ उनले भनिन्।
सुरुवाती दिनमा चटपटे बेच्दा कतिपयले बुनुलाई खिसी नगरेको पनि होइन, तर आजभाेलि उनलाई जो सुकैले जे सुकै भनुन्। कुनै प्रवाह छैनन्।
उनले भनिन्, ‘बन्द कोठामा बसेर व्यापार गरेको होइन। गरि खान मलाई के को लाज?’
बुनुलाई सुरुवाती दिनमा चटपटे बेचेर के हुन्छ भन्नेहरु धैरै थिए। तर आजभोलि बुनुलाई उनकै साथीभाईहरुले भन्छन रे, बुनुले त क्या प्रगती गरेकी छे।
पहिलाे दिनमा आफूले बनाएकाे चटपटे मिठो नभएको उनी सम्झिन्छिन्। ‘कहिले पिरो त कहिले अमिलो हुन्थ्यो’ उनी हास्ँदै भन्छिन्, ‘मान्छेले धेरै पिरो र अमिलो छ भन्नुहुन्थ्यो।’
चटपटे पसल राखेकी उनी तीन महिनापछि मात्र परिपक्क भइन्, पानीपुरी र चटपटे बेच्न। ‘यो काम हेर्दा सजिलो लाग्छ तर गाह्रो रहिछ’ उनले भनिन्।
चटपटे बनाउन जानेपछि उनले आफूले गरिरहेको ‘पार्ट टाइम’ काम गर्न पनि छोडिन्। ‘म ज्यामी काम गथेँ’ उनले भनिन्, ‘बिहान ४ बजे उठेर चटपटे र पानीको लागि सामान बनाउँथे। अनि १० बजेदेखि २ बजेसम्म आधा समय ज्यामी काम गथेँ।’
त्यसबेला उनले ज्यामी गरेकाबापत ३०० रुपैयाँ पाउथिन्। ‘चिया र भात खान दिनुहुन्थ्यो, त्यसैको लोभमा पनि ज्यामी गथेँ’ उनले भनिन्।
काठमाडौंमा एक्लै डेरा गरेर बसेकी आफूलाई दुई हात जोड्न नै मुश्किल भएको उनी बताउँछिन्। ‘मैले खाना पाउनु नै ठूलो कुरा हो’ उनले भनिन्।
चटपटे बेच्नअघि उनी लाजिमपाटको एक होस्टेलमा सरसफाईको काम गर्थिन्। जहाँ उनको बोलाउने नाम थियो–‘चम्पा’
०७७ सालमा काठमाडौं आएकी उनलाई भेनाजूले नै लगाइदिएका थिए, होस्टलको काममा।
‘मैले ५ तल्लामाथि सरसफाई गथेँ, मलाई ५ हजार तलब दिने भनेको थियो’ उनले भनिन्, ‘तर मलाई ८ महिनाको तलब दिएनन्। अनि बाध्य भएर काम छोडेँ।’
आफ्नै भेनाजूसँग काठमाडौं आएकी उनलाई दुखमा समेत दिदिले साथ दिएनन्। ‘दिदिले भेनाजूसँग लागिस् भन्दै मलाई हर्पानु हुन्थ्यो’ उनले भनिन्, ‘मैले पैसा माग्दा काम छैन कहाँबाट ल्याएर दिन्छस् भनेर गाली गर्नुहुन्थ्यो।’
दिदिलगायत आफन्तले गरेको व्यवहारकै कारण आफैँले व्यवसाय सुरु गरेको उनले बताइन्। ‘मैले अठोट गरेँ, आफैँ काम गरेर पैसा कमाउने’ उनले भनिन्।
आजभोलि आफन्तबाट हेपिएकी उनले दिनमै दुई हजार कमाउने गर्छिन्। त्यहीँ पैसाले उनी आफ्नो डेरा भाडालगायत राशन धान्ने गरेकी छिन्। ‘अब मलाई कोहीँ चाहिदैँन’ उनले भने।
अहिले आफूलाई काम कुनै पीर नभएको तर विवाहबारे चिन्ता लागेको बताउँछिन्। उनलाई अक्सर मान्छेले भन्ने गरेका छन्, ‘बिहे कहिले गर्ने?’ उनलाई त्यहीँ कुरा पिरोलिरहेको छ।
किन गरिनन् विवाह?
लमजुङको धनपुवामा ०४८ सालमा बुनुको जन्म भयो। आमा गुरुङ, बाबु परियार। त्यसैले पनि उनी बाआमाका माया पाउनबाट वञ्चित भइन्।
दलितसँग विवाह गरेकी आमाले माइतबाट साथ पाइनन्। ‘मामाहरुले गुरुङ भएर दलितसँग विवाह गरिस् भनेर आमालाई हेप्नु हुन्थ्यो रे!’ उनले भनिन्।
कान्छी श्रीमती बनेकी उनकी आमाले श्रीमानबाट पनि माया पाइनन्। ‘ठूलीआमालाई माया गर्नुहुन्थ्यो’ उनले बताइन्।
मामाघर र पिताका घरबाट माया नपाएकी आमाले आफू ४ वर्षको हुँदा संसार त्यागेको उनी सम्झिछिन्। ‘माया नपाएर नै मेरी आमा बित्नुभयो’ स्वर्गीय आमालाई स्मरण गर्दे उनले भनिन्, ‘आमाको माया लाग्छ।’
आमाको मायाबाट टाढिएकी उनले पिताको माया पनि पाइनन्। कान्छी श्रीमतीकी छोरी भएको कारण उनी पिताबाट पनि टाढिन पुगिन्।
बाआमाबाट अलगिएपछि उनलाई मामाघरले साथ दियो। ‘आमासँग रिसाए पनि मलाई माया गर्नुभयो’ उनले भनिन्।
मामाघरमा बसेकी उनले कक्षा ८ सम्म मात्र पढ्न पाइन्। भन्छिन्, ‘पढ्न मन लागेन, ‘घरधन्दा सम्हालेर स्कुल जानुपथ्यो। स्कुल पनि टाढा थियो। त्यसैले पढ्न छोडेँ।’
आत्मनिर्भर बन्नुपर्छ भनेर सोच राखेकी उनले १० वर्षको उमेरदेखि नै काम गर्न सुरु गरिन्।
त्यसैबेला सानी बुनु भारी बोक्ने काम गर्थिन्। उनको काम थियो–‘पसल–पसलमा सामान पुर्याउने।’
उनले त्यो बेला ५ केजी सामानको भारी बोकेर ५ रुपैयाँदेखि १० रुपैयाँसम्म कमाउने गर्थिन्। जसबाट उनी घरमा नुनभुटनको जोहो गर्थिन्।
‘मामाघरमा हुर्किएपनि आफूले सकेजतिको काम गर्नुपर्छ जस्तो लाग्थ्यो’ उनले भनिन्, ‘काम गरेर पैसा पाउँदा खुसी हुन्थेँ।’
भारी बोक्ने बुनुलाई अझै याद छ, त्यो दिन। जसबेला उनी भारी पुर्याउन एकदिन लगााएर हिडेँकी थिइन्। ‘घर फर्किदा ढिला भयो, त्यसैले सडकमै सुतिदिएँ’ उनले भनिन्।
गाउँकै सोझी र मेहनती थिइन्–उनी। त्यसैले उनलाई ‘काका’ पर्नेले इण्डिया लैजाने प्रस्ताव राखे।
काकाको कुरा सुनेकी उनका जोश आयो– बाहिर जाने अनि पैसा कमाउने।
त्यसैले उनी काकासँग भारतको दिल्ली गइन्। जहाँ उनको काम थियो–घर सरसफाई गर्ने।
महिनाको दुई हजार तलब पाउने लोभमा दिल्ली पुगेकी बुनुले त्यहाँ पनि सुख पाइनन्। उनले त्यहाँ काम त गरिन् तर तलब पाइनन्। ‘काकाले सबै पैसा खाइदिनुभयो’ उनले भनिन्, ‘काम गर्नुबाहेक अरु केही विकल्प थिएन।’
भारतमा काम गरेको ५ वषपछि उनले स्वदेश फर्किने प्रण लिइन्। ‘आफ्नै देशमा काम गर्न मन लाग्यो’ उनले भनिन्।
पैसा कमाउन खाली हात लिएर भारत पुगेकी उनी फर्किदा पनि रित्तै हात फर्किइन्। त्यसैले उनले कमाएको सम्पति थियो–‘चार आना सुन।’
भारतबाट घर फर्किएकी उनी कामबिना नै गाउँ बस्न चाहिनन्। त्यसैले उनी भेनाजूको सहयोगमा काठमाडौं आइन्।
काठमाडौं आएपछि काम गर्न थालेकी बुनुको प्यारो साथी बने–जर्मनका ‘टोनी’। जसलाई उनले मन पराउन थालेकी थिइन्।
उताबाट टोनीले पनि भन्ने गथे–‘तिमी जर्मन आँऊ, हामी विवाह गरौँ।’
टोनीको कुरा सुनेर बुनु पनि मख्ख थिइन्। आफूले माया गर्ने मान्छेले नै विवाह गर्ने प्रस्ताव राख्दा। तर उनको खुसी धेरै टिक्न सकेन।
टोनी गाडी दुर्घटनामा परे। जहाँ उनले हिडँन सक्ने शक्ति नै गुमाए। ‘ढाड भाचिँएछ, अब कहिल्यै पनि हिड्ँन सक्दैन रे!’ उनी भावुक हुँदै भन्छिन्, ‘मैले आफूलाई माया गर्ने मान्छे घुमाएँ।’
आजभोलि अशक्त बनेका टोनीले नै भन्ने गरेका छन्, ‘मलाई बिर्स। म तिम्रो लायक छैन।’
उनले टोनीलाई फकाउन पनि नखोजेको होइन। तर टोनीले नै टाढा गरेपछि आफूले पनि बिर्सिने कोसिस गरेको उनी सुनाउँछिन्।
‘मलाई थाहा उनले जस्तो मलाई कसैले माया गर्देन। मैले माया गर्ने मान्छे त पाइनँ अरुसँग विवाह गरेर के गर्नु?’ उनले भनिन्, ‘त्यसैले मलाई कसैसँग विवाह गर्न मन लाग्दैन।’
हालसालै टोनीको मायाबाट टाढिएकी बुनुको एउटा सपना छ–विदेश जाने।