आत्मनिर्भर महिलाको कथा –२

‘फूल बेचेरै छोरालाई अस्ट्रेलिया पठाएँ, बाँचुञ्जेल फूल बेच्न पाइराखुँ’

मेरी छोरी, मेरो दुख बुझ्ने तिमी एउटी हौ, तिम्रो बाबाले सबैजना छोराछोरीलाई पढाउन सक्दैन, त्यसैले तिमी नपढ् है छोरी।

BreaknLinks
BreaknLinks

‘मेरी छोरी, मेरो दुख बुझ्ने तिमी एउटी हौ, तिम्रो बाबाले सबैजना छोराछोरीलाई पढाउन सक्दैन। त्यसैले तिमी नपढ् है छोरी। एकदिन छोरी मान्छे माइतीघर छाडेर श्रीमानको घर जानैपर्छ। छोरी मान्छे पढेर पनि काम छैन। यदि मैले तिमीलाई पढाएँ भने तिम्रा दाजुभाइहरुले पढ्न पाउँदैनन्। त्यसैले अबदेखि तिमीले पढ्न छोड्देउ है मेरी ज्ञानी छोरी!’

आफूलाई सबैभन्दा माया गर्ने बुबाले नपढ् भन्न थालेपछि बूढानीलकण्ठ नगरपालिका–१ की सीता नेपालीले सदाका लागि पढाइ त्यागिन्।

हुन त उनलाई पढेर ‘टुरिस्ट’ घुमाउने, ठूलो ‘गाइड’ हुने थियो तर बाबाको कुरा सुनेर उनले नपढ्ने निधो गरिन्।

घरकी जेठी छोरी थिइन्, सीता। घरको अवस्थाबारे उनले राम्रैसँग बुझेकी थिइन्। घरमा साँझ-बिहानकाे लागि खानेकुरा जुटाउन नै मुस्किल थियो। घरको अवस्था देखेर दुखी बनेकी उनले बूढानीलकण्ठ क्षेत्रमा गाइडको काम गर्ने सोच बनाइन्।

पञ्चकन्या प्राथमिक विद्यालयमा कक्षा दुईसम्म पढेकी उनले धेरथोर अक्षर चिनेकी थिइन्। त्यसैले उनमा पर्यटक घुमाउने आत्मविश्वास बढ्यो। नभन्दै सिताले बाहिरबाट नेपाल घुम्न आएका पर्यटकहरुलाई मन्दिरलगायत ‘विष्णुद्वार’ घुमाउन थालिन्।

पर्यटकलाई आफ्नो सहर घुमाएकी उनले दिनकै ५० डलरदेखि सय डलरसम्म कमाएर घरमा ल्याउन थालिन्। जुन पैसा उनले बुबाकै हातमा थमाउने गर्थिन्। सानै उमेरदेखि काम गरेर परिवार पाल्न थालेकी उनी आमाको भन्द बुबाकी प्यारी थिइन्।

उनले आमाको माया कहिल्यै पाइनन्। उनी भन्छिन्, ‘आमाको माया मैले कहिल्यै पाइनँ। सायद घरकी जेठी छोरी भएकोले होला, मप्रति आमाले कहिल्यै चासो दिनुभएन।’

पर्यटक डुलाएर घर चलाउने उनले आफ्नै घर नजिकै डेरामा बस्ने युवकसँग १५ वर्षको उमेरमा विवाह गरिन्।

‘उहाँसँग बोलेको दुई दिनमै विवाह भयो’, उनले भनिन्। माइतीघरमा दुख पाएपनि उनले श्रीमानको साथमा सुखी रहने सपना बुनेकी थिइन्। तर विवाह गरेको केही महिनापछि नै उनले श्रीमानको साथ पाउन छोडिन्।

माइतीघरमा जसोतसो दुख गरेकी उनले विवाह गरिसकेपछि पनि दुख नै पाइन्। श्रीमानको अपहेलना पाएकी उनले १६ वर्षको उमेरमा छोरालाई जन्म दिइन्। छोराको जन्मपश्चात उनले बूढानीलकण्ठ मन्दिरमा फूल बेच्न सुरु गरिन्।

सीताले फूल बेचेरै छोरालाई अस्ट्रेलिया पठाइन्

मन्दिर छेउमा उनले एउटा फूल, नरिवल र बत्ती राखेर नाङ्लो पसल सुरु गरिन्। पहिलोपटक पाँच सय रुपैयाँले पसलको थालनी गरेको उनले बताइन्।

‘मलाई मन्दिरमा पसल गर्न कसैले भनेको होइन, मैले आफैँ सुरु गरेकी हुँ’, उनले भनिन्, ‘मैले सय रुपैयाँमा किनेको मूर्ति पाँच सय रुपैयाँमा बेचेको देखेँ। त्यसपछि मैले पनि पसल खोल्न सुरु गरेँ।’ छोराको उज्वल भविष्यका लागि पसल थापेकी उनले छोरालाई पनि आफैँसँग पसलमा बसाइन्। उनी मन्दिर आउने दर्शनार्थीहरुलाई फूलहरु बेच्थिन्। छोरालाई भने पसल छेउमै ‘क्रेन’ मा सुताउँथिन्।

उनको छोराप्रतिको लगाव र प्रेम देखेर छरछिमेकहरु समेत सीतालाई माया गर्थे। श्रीमान भएपनि माया नपाएकी सीताले त्यही पूजा पसलबाट छोराहरुलाई शिक्षा दिइन् र जेठा छोरालाई दुख गरेर अस्ट्रेलिया पठाइन्।

‘बाबुले मेरो दुख बुझेर बाहिर गयो’, उनी भन्छिन्, ‘अहिले म खुसी छु। तर मलाई कान्छा छोराको पनि भविष्य बनाउनु छ।’ छोरा अस्ट्रेलिया पुगेको एक वर्ष भयो। उनी आमालाई काम नगर्न भन्छन् तर उनी बाँचुञ्जेल फूल पसलकै काम गर्न रुचाउँछिन्। आफूलाई दुखमा साथ दिएको पूजा पसल नै आफ्नो पहिचान भएको उनी बताउँछिन्।

माइतीघरसँग सम्बन्ध छैन

विवाह गरेर दुख पाएकी उनले माइतीलाई नहेरेको पनि होइन। उनी घरमा राशन मात्र होइन, आमाको औषधि पनि आफैँ किन्दिने गर्थिन्।

बिहानको तीन बजेदेखि दुख गरेर बेचेको फूलबाट कमाएको पैसा माइतीलाई खर्चिरहँदा सीताका बुबाले उनलाई भन्ने गर्थे, ‘छोरी, आफ्नो लागि पैसा बचत गरेर राख्। तैँले दिउन्जेल मात्र तेरो पछि लाग्छन्, तैँले हेर्न छोडेपछि तँलाई वास्ता गर्दैनन्। छोरी म मरेपछि यहाँ तँलाई माया गर्ने कोही हुँदैनन्।’

अहिले सीता बुबाले भनेका बितेका कुरा झलझली सम्झिन्छन्। ‘मेरो बुबा बित्नुभएको ८ वर्ष भयो’, आँसु पुछ्दै उनी सुनाउँछिन्, ‘मेरो माइतीघरसँग सम्बन्ध टुटेको ६ वर्ष भयो। मैले कमाएर हेर्दा सबैकाे प्यारो थिएँ, हेर्न छोडेपछि सम्बन्ध टुट्यो।’ माइतीघरसँग आफ्नो कुनै सम्बन्ध नभएको बताउँदै उनी भन्छिन्, ‘मेरो सहारा भनेकै मेरा दुई छोराहरु हुन्।’

‘लकडाउनमा राहतको चामल खाइनँ’

सीताले मन्दिरमा पूजाको सामान बेचेको साढे दुई दशक भयो।  त्यहीँबाट कमाएकाे पैसाले उनी १५ तोला सुन जोड्न सफल भइन्।

नाङ्लो पसलबाट सुरु गरेको काम नै उनको जीविकोपार्जनको स्रोत बन्यो। कोरोना कहरको समयमा पनि आफूले कसैसँग हात नफैलाएको उनले बताइन्।

‘कोरोनाको समयमा लकडाउन भयो, कामहरु ठप्प भए। हुनेखाने मान्छेहरुले राहतको चामल लिए तर मैले कसैसँग केही लिइनँ’, उनले भनिन्, ‘दुखले कमाएको सुन बेचेरै छोराहरुलाई खुवाएँ।’

जेठा छोरालाई अस्ट्रेलिया पठाएर आत्मनिर्भर बनाएकी सीताको अब एउटै सपना छ, कान्छा छोरालाई पनि दाजु भएकै ठाउँमा पठाउने।

दुई छोरा नै आफ्नो बूढ्यौलीको सहारा भएको बताउँदै सीता भन्छिन्, ‘मैले छोराहरुलाई राम्रो ठाउँमा पठाउन सकेँ भने त्यही नै मेरो लागि खुसीको कुरा हो।’ 

प्रकाशित मिति: : 2023-03-21 17:00:00

प्रतिकृया दिनुहोस्