कोरोनाविरुद्धको प्रयासलाई प्रभावकारी बनाउन वाइडेनद्वारा १० कार्यकारी आदेश जारी

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोना भाइरसविरुद्धको प्रयासलाई प्रभावकारी बनाउनका लागि १० कार्यकारी आदेश जारी गरेका छन्।

बिहीबार जारी गरिएकाे १० कार्यकारी आदेशमा खोपको उत्पादन तथा वितरणलाई बिस्तार तथा तीव्र पार्ने एवम् पीपीइको उत्पादन तथा परीक्षणलाई बढाउने, अत्यावश्यक सामग्री वितरणमा सुरक्षाकर्मीलाई परिचालन गर्ने, विज्ञहरुको बोर्ड खडा गर्ने, कोरोना भाइरसको अध्ययनलाई बिस्तार गर्नेसहित रहेका छन्।

कार्यकारी आदेश अनुसार खोप अभियानलाई तीव्रता प्रदान गरिने छ। वाइडेन प्रशासनले पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने योजना बनाएको छ।

यता काेराेनापरीक्षणको दायरा बढाइने छ। मास्कसहितका अत्यावश्यक सामग्रीको उत्पादन बढाउनका लागि आकश्मिक कानून लागु गरिने छ।

यस्तै खोप उत्पादनका लागि चाहिने सामग्री तथा पीपीइ उत्पादनका लागि डिफेन्स प्रोडक्सन एक्ट कार्यान्वयन गरिने वाइडेनले बताएका छन्।

कोरोना भाइरसविरुद्धको अभियानका लागि १० अभियानको घोषणा गर्दै वाइडेनले महामारीमाथि विजय प्राप्त गर्न केही महिना लाग्ने भए पनि अमेरिका यसबाट बाहिरि निस्कने बताए।

राष्ट्रपति वाइडेनले अवस्था सुधार हुनु पूर्व खराब भइरहने बताए। आउँदो महिनासम्ममा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच लाख नाघ्न सक्ने चेतावनी दिए।

दोस्रो विश्वयुद्धमा भन्दा धेरै अमेरिकीले कोरोना महामारीका कारण ज्यान गुमाएको स्मरण गर्दै वाइडेनले अहिलेको अवस्थालाई युद्धावस्थाका रुपमा चित्रित गरे। 

अमेरिकामा कोरोनाका कारण चार लाख ८ हजार भन्दा बढिको ज्यान गएको छ। अहिलेसम्म अमेरिकामा दुई करोड ४५ लाख ५२ हजार भन्दा बढि संक्रमित भएका छन्।
 

प्रकाशित मिति: : 2021-01-22 07:27:00

प्रतिकृया दिनुहोस्