नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले आफू कांग्रेस र कम्युनिष्ट गुणले नयाँ मान्छे भएको बताएका छन्।
बुधबार कांग्रेसका नेता स्व.चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उनले राजनीतिक जीवनको सुरुवातमा कांग्रेस निकट रहेको हुनाले आफू कांग्रेस र कम्युनिष्ट दुवै भएको बताएका हुन्।
उनले कांग्रेस सभापति देउवाको अगाडि भने, ‘शेरबहादुरजी लगायत साथीहरूलाई सुनाउन चाहान्छु, म त सामान्तवाद निरङ्कुसता राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे त्यसैले ३३ सालसम्म म कांग्रेस निकट रहें।’
कांग्रेस र कम्युनिष्टहरू भनेको लोकतन्त्रको दुई हाँगा भएको भन्दै उनले कांग्रेस र कम्युनिष्टहरूले लिएको विचार अपुरो भएको बताए।
उनले भने, ‘कांग्रेसले निजी स्वतन्त्रका मात्र कुरा गर्ने र कम्युनिष्टहरूले समानतामा मात्र जोड दियो, त्यो अपुरो थियो। तर हुनुपर्ने निजी स्वतन्त्रता साथै समानतामा भन्ने मेरो बुझाई हो। त्यसैले अलिकति कांग्रेस, अलिकति कम्युनिष्ट हो। त्यसैले म दुइवटै गुण भएको अलिकति अगाडि बढेको नयाँ मान्छे हो।’
उनले चन्द्रप्रसाद न्यौपानेसँग लोकतान्त्रिक कुराहरू सिक्न पाएको पनि बताए।