भारतको केदारनाथमा बिहीबार राति गएको पहिरोले साबिककाे कर्णालीमा ठुलो क्षति पुर्यायो। हालसम्म जुम्ला पातरासीका १३ जना बेपत्ता भएकाे खबर छ, भने कालीकोट खाँडाचक्रका ३ जनाको ज्यान गएकाे छ। पातरासी गाउँपालिका- ३ को चौरगाउँमा मात्रै एकै घरका सातसहित ९ जना बेपत्ता भए।
सिंगाे पातरासी शाेकमग्न छ। चाैर गाउँका कुनै पनि घर उज्याला छैनन्। कुनै पनि गाउँलेका आँखा ओभाना छैनन्। बेराेजगारीकाे भेलले केदारनाथ पुगाएका कर्णालीबासीलाई केदारनाथकाे भेलले कहाँ पुगायाे भन्ने थाहा छैन।
हालसम्म चाैरबीसले भारत गएकाहरु यसरी पहिराेमा परेर बेपत्ता भएकाे घटना बेहाेरेकाे थिएन। 'यो पहिलो घटना हो,' स्थानीय पदमबहादुर रावतले भने। धन कमाउने आशैआशमा भारत गएकाहरुकाे सास छ कि छैन अत्तोपत्तो छैन। त्यसैले गाउँमा सन्नाटा छाएको उनकाे भनाइ छ।
'पहिरोले बेपत्ता भएकाहरु अझै भेटिएका छैनन्। उनीहरु भेटिन्छन् भन्ने आश पनि छैन,' उनले भने, 'आफन्तहरु नभेटिन सक्ने भएकोले स्थानीयहरु परम्परागत विधिअनुसार अघि बढेका छन्।'
केदारनाथमा गएको पहिरोमा चौरका २८ वर्षीय अमर बोहोरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, ८ वर्षीया छोरी पिंकी, ७ वर्षीय छोरा पृथ्वी, ६ वर्षीय छोरा जटिल र ३ वर्षीय छोरा वकिल बेपत्ता भएका छन्। उनीहरुसँगै चौरगाउँकै सुखीराम रावत र बमबहादुर बोहोरा पनि बेपत्ता भए।
२ सय १९ घरधुरी रहेको चौरगाउँबाट मात्रै ७० भन्दा बढी परिवार काम खोज्दै भारतका गल्ली र गल्छेडामा पुग्छन्। बेरोजगार हुँदा पारिवारिक बिछाेड सहेर पनि भारत जानू परिरहेकाे चाैर गाउँका कालाे महताराले बताए। 'गाउँमा काम नपाएर बस्नुभन्दा उतै जानुकाे विकल्प हुन्न,' उनले भने, 'घर परिवार छाेडेर जानेहरुमा धेरैजसाे फर्कि आउँछन्। तर, कहिलेकाहीँ कहिल्यै नफिर्किने पनि हुँदा रहेछन्।'
चाैरजस्तै शाेकमग्न छ, पातरासी- २ काे पेरेगाउँ। पहिरोमा २२ वर्षीय चन्द्र नेपाली र धनराज बुढा बेपत्ता छन्। उनीहरु धन कमाउला, घर बनाउला, सुखसँग बसौंला भन्ने सपना बोकेर भारत गएका थिए। तर, नफर्कने गरी पहिरोमा पुरिएपछि गाउँमा शन्नाटा छाएकाे ६० वर्षीय बुद्धिलाल सार्कीले बताए।
'अब आउँछन् भन्ने आशै छैन। जस्ताका तस्तै गएका उनीहरुकाे अनुहार झलझली आँखै अगाडि आउँछ,' उनले आश मार्दै भने, 'बेपत्ता भएका हाेइन हाेलान जस्ताे लाग्छ। पहिरोले बगाएका मान्ठ क्यागरी आउलान?'
पहिरोमा पुरिएकामध्ये अमर होटल चलाएका बसेका थिए। अन्य युवाहरु केदारनाथमा मान्छे बोक्ने, पल्लीदारी गर्नेदेखि स्याउ बोक्ने र बगैंचाको हेरचाह गर्नेसम्मको काम गरिरहेका थिए।
पातरासीजस्तै शाेक कालिकोटकाे खाँडाचक्रमा पनि गरेकाे छ। गत वैशाखमा नयाँ वर्ष मनाएर केदारनाथ गएका खाँडाचक्र १ र २ मान्म गाउँका ३ युवकको साेही पहिरोमा ज्यान गएकाे हाे।
पहिरोमा परी ज्यान गुमाउनेमा कालीकोटको खाँडाचक्र नगरपालिका- १ मान्म कोइरेल गाउँका ३९ वर्षीय प्रकाश ताम्राकार, खाँडाचक्र- २ मान्म धैनेडीका ३२ वर्षीय टेक विश्वकर्मा र ३८ वर्षीय देवी विश्वकर्माको मृत्यु भएको खाँडाचक्र- १ का वडाध्यक्ष धर्मराज ताम्राकारले बताए।
'ज्याला मजदुरी गरेर परिवार पाल्ने ३ जना युवकको मृत्यु भएको खबर आएपछि परिवार शोकमा छ,' उनले भने, 'परिवारमा रुवाबासी छ। भारत गएर लास बुझ्न सक्ने पनि घरमा कोही छैनन्।'
भारतको कमाइले ६ जनाकाे परिवार पाल्दै आएका टेक विश्वकर्माकी ६ वर्षकी छोरी मनिषा र ४ वर्षका छोरा आयुष भएको पत्नी भद्दा विकले बताइन्। 'कमाइ भएपछि दसैंसम्म फर्किन्छु भनेका थिए,' उनले ३ दिनअघि पतिसँग मोबाइलमा कुरा गरेको सुनाउँदै भनिन्, 'दुःखद खबर आयो। मेरो त संसारै अँध्यारो भयो।'
खेतबारीको कमाइले ३ महिना पनि खान नपुग्ने उनको परिवार भारतको ज्यालामजदुरीले धानेको थियो। उनको घरमा ७८ वर्षका वृद्ध बुबा धन्सुरे र आमा थुर्पी छन्। उनीहरु दुबै हिँडडुल गर्न सक्दैनन्। दुबै दमका बिमारीले थला परेका छन्।
एक वर्षसम्म भारतको टिहीमा ज्याला मजदुरी गर्दा कमाइ राम्रो नभएपछि केदारनाथमा कण्डी (मान्छे बोक्ने काम) को काम खोज्दै केदारनाथ पुगेको देवी विकको परिवारको पनि बिचल्ली छ।
भारतको कमाइ पतिले पठाइदिएर दुई नाबालक छोराको लालनपालन गर्दै आएकी उनकी ३० वर्षीया पत्नी झुमा विक मृत्युको खबर सुनेपछि होसमा नभएको स्थानीय भवानी आवासीय विद्यालय मेग्रका प्रधानाध्यापक नर विश्वकर्माले बताए।
त्यस्तै, कोइरेल गाउँका प्रकाश पनि वैशाखमै घरबाट केदारनाथ गएका थिए। पहिरो गएको दिन देवी केदारनाथको चुचुरोबाट भारी बोकेर तल गौरीकुण्ड झरेको स्थानीय नन्दे कामीले बताएका छन्। उनी पहिरो गएको ठाउँभन्दा ३ सय मिटर पर बास बसेका थिए। केदारनाथ पहिरोमा ज्यान गुमाएकामध्ये हालसम्म ९ जनाको शव भेटिएको र अन्यको खोजी भइरहेको नन्देले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।
भारतीय सञ्चारमाध्यमहरुले केदारनाथ पहिरोमा हालसम्म तीन जना नेपालीसहित एक भारतीयको शव भेटिएको जनाएका छन्। बेपत्ताहरूको खोजी भइरहेको बताइएको छ।
गरिबी र बेरोजगारीले खान, लाउन धाै-धाै हुने हुँदा भारत वा अन्य मुलुकमा जानुपर्ने बाध्यात्मक स्थिति आइलाग्ने गरेकाे जुम्ला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा उपप्राध्यापक प्रकाशचन्द्र खत्रीले बताए।
'सरकारी तवरबाट राेजगारीका लागि कुनै प्रयास भएका छैनन्। गाउँघरमा कुनै अवसर छैन,' उनले भने, 'खेतीपातीबाट मुस्किलले ३ देखि ४ महिना धान्छ। सरकारी काम गर्यो भने दैनिक दुई सय कमाइ हुँदैन। यसले कसरी पेट पाल्न सकिन्छ ? त्यसैले भारत जानुपर्ने बाध्यता छ। जसका कारण बेलाबेला ठूला दुर्घटनाहरु व्यहोर्नु परिरहेकाे छ।'
नेपाल श्रम सर्वेक्षण (२०१९) अनुसार प्रत्येक वर्ष कम्तिमा १६ लाखदेखि २० लाख युवा रोजगारीको खोजीका लागि श्रमबजारमा आउँछन्, तर उनीहरूमध्ये पाँच प्रतिशतले मात्र देशमै रोजगारी पाउन सक्छन्।
केन्द्रीय तथ्यांक ब्युरोले अनावरण गरेको नेपाल श्रम शक्ति सर्वेक्षण २०१८–२०१९ अनुसार नेपालको बेरोजगारी दर ११.४ प्रतिशत अनुमान गरिएको छ। यसलाई सम्बोधन गर्ने कार्यक्रम सरकारले ल्याए पनि राजनीतिक दलका कार्यकर्ताको मात्र पहुँच छ। यस्तो निराशावादी अवस्थामा अधिकांश युवाहरु खाडी मुलुक वा भारतका गल्तीगल्लीमा जान बाध्य छन्।
साना विकास निर्माण आयोजनामा १०० दिनसम्म रोजगारी दिने गरी ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रममा गत आर्थिक वर्ष २०७८/७९ मा ७ लाख ०८ हजार २४५ जना सूचीकृत भएका थिए भने आर्थिक वर्ष २०७९/८० मा यो संख्या ८ लाख ४१ हजार ५०३ पुगेको सरकारी तथ्यांक छ।
दुई लाख बेरोजगारलाई कम्तिमा १०० दिनको रोजगारी दिने लक्ष्य भएपनि करिब ५ महिनाको अवधिमा एक हजारले मात्रै औसत ५४ दिनको रोजगारी पाएको सरकारी तथ्यांकमा उल्लेख छ। राष्ट्रिय श्रम सर्वेक्षण २०१८ का अनुसार बेरोजगारको हिस्सा कुल श्रम शक्तिको ११ प्रतिशत एवम् अर्धबेरोजगारको हिस्सा ३९ प्रतिशत थियो।
राष्ट्रिय योजना आयोगले प्रकाशन गरेको 'बहुआयामिक गरिबी सूचकाङ्क २०२१' अनुसार कर्णाली प्रदेशका धेरै जनतामा अन्य प्रदेशको तुलनामा बहुआयामिक गरिबी छ। सन् २०१९ को सर्वेक्षणमा आधारित उक्त तथ्याङ्कअनुसार कर्णालीका ३९.५ प्रतिशत जनता बहुआयामिक गरिबीबाट पिल्सिरहेका छन्। याे संख्या सुदूरपश्चिममा २५.३ प्रतिशत, मधेश प्रदेशमा २४.२, लुम्बिनीमा १८.३, गण्डकीमा ९.६ प्रतिशत र बागमतीमा सात प्रतिशत मात्र छ।
यस्ताे अवस्थामा साविकको कर्णालीबाट पेट पाल्नलाई घर छाेड्नुकाे विकल्प छैन। घर छाेडेर भारत वा अन्य मुलुकमा जाँदा बेलाबेलामा यस्ता खाले दुर्घटना व्यहाेर्नु परिरहेको छ।