….गुड्दै जाँदा आँखा अगाडिको फाँटमा ठोकिन्छ। फाँटको शिरमा छ हल्जी गाउँ। गुम्बाको नामले गाउँको नाम रहन गएको होला। करिब ३ हजार ६ सय ७० मिटरको उचाइमा रहेको हल्जी गुम्बा नेपालको सबैभन्दा पुरानो ११ औं शताब्दीमा बनेको हो।
७० भन्दा बढी प्रजातिको चरा पाइने लिमी उपत्यका चरा हेरेर रमाउनेका लागि उपयुक्त गन्तव्य हुन सक्छ। नेपालमा जङ्गली चौरी, जङ्गली घोडा/गधा हेर्न पनि लिमी उपत्यका नै पुग्नु पर्ने हुन्छ।
१ करोडभन्दा बढी पर्ने कोइचिनको बक्खु नेपालमा अन्त भेटिदैन। पृथ्वीनारायण शाहका पालाको पाथी यहाँ आजसम्म रहेको छ।
हामी दिनको १२ बजेतिर हल्जी गाउँ पुग्यौँ। वरिपारी गुचुमुच्च परेका अग्ला पहाडले घेरिएको सानो समथर भूभाग। हामी घुम्तीबाटै फोटो खिच्दै रमाउँदै हल्जी गुम्बातर्फ अगाडि बढ्यौँ।
खाना दिउँसोको १:३० बजेतिर गुम्बामै खायौं। खाना खाइसकेपछि कोही आराम गर्न थाले, कोही घुमघाममा निस्कियौं। रेनुका म्याडमलाई लेक लागिसकेको थियो। खाना खान मन नलाग्ने। मन्द टाउको दुख्ने लक्षण भएकोले औषधि खाएर आराम गर्न भन्यौं।
लोकजंग दाइ, प्रविन भाइ र म नाम्खा गा.पा. ६ को वडा कार्यालयतिर गयौं। वडा कार्यालयसँगै लिमी स्वास्थ्य चौकी पनि रहेछ। त्यहाँ हामीले वडा अध्यक्ष पाल्जोर तामाङ्गसँग विविध विषयमा छलफल तथा जानकारी लिने काम गर्याैं।
लिमी उपत्यकाका तीन वटा गाउँका मानिसहरु मिलेर अध्यक्ष छान्ने प्रचलन रहेछ। न भोट न कुनै पार्टी। केही नयाँ काम गर्नुपर्दा तीन वटै गाउँका मानिसले सल्लाह गरेर मात्र गर्दा रहेछन्। कस्तो मिलेर बसेको समाज। समाज विकासकाे अनुपम नमुना।
तर, केही समयअघि १८० घरधुरी भएको लिमीमा हाल १०० भन्दामुनि (९६) घरधुरी रहेछन्। मानिसहरु काठमाडौँ र विदेश जाने क्रम बढ्दो रहेछ। कसैले गाउँ छोड्दा तोकिएको नगद र भएको जम्मै श्रीसम्पत्ति गाउँको नाममा छोड्नुपर्ने चलन रहेछ। अझ अनौठो कुरा त के रहेछ भने नि त्यहाँबाट कुनै केटी विवाह गरी अन्त गएमा उसलाई गाउँको जनसंख्याबाट लगत कट्टा गर्ने र नागरिकता बनाइसकेको भए जिल्ला प्रशासनमा गएर नागरिकता रद्द गर्न लगाउने रहेछन्।
तर, आजभोली जिल्ला प्रशासनमा जाने क्रम केही रोकिएको रहेछ। यद्यपि लिमीमा केटा मान्छेको अभावले विवाह नगरी बस्ने कन्याहरुको सङ्ख्या बढ्दै गइरहेको रहेछ। जस्तै ५ भाइले १ जना विवाह गरेपनि घरको भाइहरुमध्ये जेठोको महत्व ज्यादा हुने रहेछ।
जन्मिने बच्चाको स्याहारसुसारदेखि सामाजिक दायित्व जेठो दाइले निर्वाह गर्नुपर्ने रहेछ। अन्य भाइहरु व्यापारको सिलसिलामा अन्त जाँदा गलफ्रेन्ड/श्रीमती राख्न पाउने रहेछन्। तर, यस्ता महिलालाई घरमा ल्याउन पाइदो रहेनछ।
त्यसरी अविवाहित महिलाबाट जन्म भएको सन्तानलाई यहाँको भाषामा न्येलु (ठिमाहा) र विवाहित सन्तानलाई रङलु (आफ्नो सन्तान) भनिने रहेछ। अन्य समाजमा अवैध मान्ने चलन भए पनि लिमीको तीन गाउँमा न्येलु राख्ने चलनलाई वैधानिक प्रथाका रूपमा लिइन्छ।
न्येलुलाई दोस्रो दर्जाको सन्तानका रूपमा स्वीकार गरी बाबुले सामाजिक परम्पराअनुसार आफ्नो क्षमता र रखौटी श्रीमतीसँगको आपसी समाझदारीका आधारमा अंश दिने चलन छ।
यहाँको बहुपति प्रथाले सबै भाइको साझा श्रीमती हुने तथा पुरुष महिलाको सङ्ख्या सन्तुलित नहुँदा न्येलु प्रथा विकल्पका रूपमा विकास भएको हुनसक्छ। हामीजस्ता फकिरहरुलाई प्रेमिका अभाव नभएजस्तो, ल्हासो।
हजारौं वर्ष पुरानो हल्जी गुम्बा जीर्ण अवस्थामा रहेछ। ७२ सालको भूकम्पले पनि केही असर गरेको पाइयो। काठका कलात्मक झ्याल ढोका र बीचको खुल्ला ठाँउमा (पटाङ्गीनी) ढुङ्गा बिछ्याइएको थियो। छत मोटोको थियो।
केही वर्ष अगाडि अनुसन्धानकर्ताले सो गुम्बामा प्रयोग भएका काठको कार्बन डेटिङ्ग गर्दा समेत सो गुम्बा हजार वर्ष पुरानो भएको निष्कर्ष निकालेका थिए। अर्को कुरा घरभित्रको छततिरको सिलिङ्गमा मसिना भोजपत्रका डाँठहरु कलात्मक तरिकाले मिलाएर सिलिङ्ग गर्ने गरेको।
हेर्दा आकर्षक देखिए पनि यसले वनको दिगो उपयोगमा चुनौती थप्ने निश्चित छ। हाम्रो टोली हल्जी गाउँमा टिकटक बनाउन खुबै व्यस्त रह्यो। केही समयपछि पल शाहको टोली पनि गुम्बामा आइपुग्यो। उनीहरु गितको छायांकन गर्दै गुम्बामा रमाए।
घोडा दौडाउने क्रममा पल लडेर सामान्य चोट लाग्यो। घोडा पनि स्वास्थ्य चौकी नजिक लडेकोले प्राथमिक उपचार गरी उनीहरु जाङ्ग गाउँतर्फ फर्किए।
हामी त्याे रात गुम्बामै बस्ने टुङ्गो लागिसकेको थियो। भोलि सिधै सिमिकोट पुग्ने याेजना थियो। बेलुकाको खाना खाएर निन्द्रादेवीसँग होस् उडायौं।
२० गते बिहानै उठेर सबै काम सम्पन्न गर्याैं। त्यहाँ गुम्बामा एउटा सामुहिक शौचालय थियो। कस्तो भने नि एकलटमा ६ जना सँगै बसेर शौच गर्न मिल्ने। संकलित दिसा, पिसाबमा जङ्गलको माटो, स्याउला सोत्तर मिसाएर प्रांगारिक मल बनाउने रहेछन्। आशा गरौं यो वर्ष लिमिमा उत्पादनमा वृद्धि हुनेछ।
बिहानको चिया खाएर हाम्रो यात्रा सिमिकोटतर्फ अगाडि बढ्यो। हामी पुन: कर्णालीको तिरैतिर नाउरका बथान, चौरिका क्याराभान, कर्णालीमा सारसहरुको नाच हेर्दै जाङ्ग हुँदै तुलुङ्ग पुग्यौ।
त्यहाँ जीपमा तेल थपियो, फिल्टर फेरियो, छुर्पी, जिम्बुलगायत केही सामनाहरु किनियो। बिहानको नास्ता खाइयो र यात्रालाई अगाडि बढाइयो।
तुलुङ्ग नजिकै जीप कर्णाली तरेर वारि आउनुपर्थ्यो। नजिकै उम्लिरहेको प्राकृतिक तातो पानीको कुण्ड थियो। पानी यति ताताे कि छुन नसकिने, बुलबुल उम्लिरहेको।
त्यही कुण्डलाई पृष्ठभूमि बनाउँदै एकलट देउडा खेलियो। लोक जंग दाइको मोटरसाईकल पनि तुलुङ्गबाट सिमिकोट ल्याउनुपर्ने थियो। विष्णु सर मोटरसाईकल चलाएर बीचबाटोसम्म आउनुभयो।
बाटोका मनोरम दृश्यअवलोकन गर्दै सेलिमा छो ताल, माछा ताल हुँदै लेक हेप्कामा बेलुका ४:३० बजेतिर खाना खाइयो। साँझ करिब ७ बजेतिर डाँडाफाया हुँदै सिमिकोट पुगेर यात्रालाई विश्राम दियौं।
त्यस्तो अफ्ठ्यारो बाटोमा ज्यानको बाजी लगाएर सकुशल सिमिकोट पुर्याउने चालक भाइहरुलाई हृदयदेखि धन्यवाद।
कुनैदिन मौका मिले सिमिकोटबाट हिँडेर हिल्सा हुँदै कैलाश पुग्ने इच्छा कैलाशपति समक्ष प्रकट गर्दै यस यात्रामा साथ सहयोग गर्नुहुने सम्पूर्ण टिमका सदस्यहरुप्रति हार्दिक आभार। विशेष धन्यवाद लोकजंग दाजु र हुम्ला वन कार्यालय परिवार।
(बिएल नेपाली सेवामा शृङ्खलाबद्ध रुपमा प्रकाशन भइरहेको कर्णाली प्रदेश उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत तेजेन्द्र रावलकाे लिमी यात्रा संस्मरण सकिएको छ। अर्काे हप्ताबाट लेखककाे डाेल्पा यात्रा संस्मरण प्रकाशन गरिनेछ। कृपया कुर्दै गर्नुहाेला।)