नाम्खा गाँउपालिकाको तुलुङ्गमा लिमी उपत्यकाका तीन गाउँ जाङ्ग, हल्जी, तिलका मानिसहरु मिलेर सञ्चालन गरेका होटलहरु थिए। २, ३ वटा होटलहरु र केही चौरी गोठ। मैले अगाडिको टोलीलाई आफू झण्डै छुटेको कुरा जानकारी गराएँ।
अगाडि पुगेको टोलीले मौसम बारे जानकारी लिएर सबै योजना बनाइसकेको थियो। दिउँसोको खाजा खाएर त्यही दिन लाप्चा पुग्ने योजना रहेछ।
हामी खाजा खाएर भर्खर यताउताको पर्यावरण/चौरीगोठ, नदी, मिनी कैलाश नियाल्दै थियौँ। वातावरण शान्त थियो। आँखा चिम्लेर मिनी कैलाशतर्फ फर्केर फोक्सोले धित मरुन्जेल शुद्ध वायूको स्पर्श गर्याेँ। फोक्सो लट्ठै भयो। मन एकाग्र भयाे।
अर्को टोली अर्थात् विजय दाई, पल शाह, दुर्गेशलगायत पनि तुलुङ्ग पुग्नुभयो। उहाँहरुलाई खाजा खानेबेला सम्म पर्खेरसँगै लाप्चा जाने कुरा भयो।
हाम्रो लागि लोक जंग दाइले २ वटा जीपको व्यवस्था मिलाउनु भएको थियो, त्यो रुटमा चल्ने जीपहरू उहाँका आफ्नै रहेछन्। हामी ३:४५ बजेतिर तुलुङ्गबाट लाप्चातर्फ लाग्यौं।
४२ सय मिटरको उचाइमा जीपमा कच्ची बाटो छिचोल्दै, रमणीय तिब्बती पठार दृश्यावलोकन गर्दै, नाउरहरुको बथान नियाल्दै, कष्टका साथ फुलेका एकाध फूलहरुको बासनामा विलिन हुँदै, जंगली गधा र लोप भइसकेको भनिएको जङ्गली चौरी देख्ने अभिलाषाका साथ उचाईमा चड्दै अगाडि बढ्दै गयौं। साँझको ६:१५ बजे हामी लाप्चा पुग्यौं।
घाम अझै डुबिसकेको थिएन। कस्तो मज्जाको समय र स्थानमा पुगिएछ भने नि कैलाश पर्वत र मानसरोवर ताल लाप्चाबाट (५१ सय मिटर) समानान्तर बिन्दुमा दर्शन गर्ने ऐतिहासिक संयोग मिल्यो।
सबै मन्धमुग्ध, सबै मनमगन, कोही ध्यानतिर, कोही पूजाआजामा, मलाई पनि के सुर चल्यो खै सबै लुगा खोलेर सेन्डो पोजमा जनै जप्न थालिहालेँ।
दुर्गेश र पल चिसो खप्न सकिरहका थिएनन्। मलाई हेरेर छक्कै परे। यो एक अनुभूति हो, चिन्तन हो, बोध हो, मुक्ति मार्गमा डोरिएको मन हो, सकारात्मक उर्जा हो। मानिसका अहंकारहरुलाई पलभरमै निस्तेज गर्नसक्ने अलौकिक दृश्य, आत्माहरु शून्यतातर्फ आकर्षित भइरहेको आभाष। मनमा रुमलिरहेका हजारौं प्रश्नहरु मौनतामा विलिन भए।
केहीबेर फोटो भिडियो खिच्ने क्रम चलिरह्यो। नायक, गायकसँग फोटो खिचियो। भलाकुसारी गरियो। उनीहरु चोली तुनैले भन्ने गीतको छायाङ्कनका लागि हुम्ला पुगेका रहेछन्। उमेरले दुवै भाई, कदले दुवै होचा। पल केही शालीन, दुर्गेश भने गीतमा जस्तै लाग्याे।
चीनले सिमा मिचेर बनाएको भौतिक संरचना लाप्चा मुनितिर थिए, संयुक्त पशु क्वारेन्टाइन भनेर निर्माण गरिएको संरचनाले सीमा अतिक्रमणको रुप लिएको रहेछ। छिमेकीहरुले दुबैतिरबाट सीमा मिच्ने क्रम रोकिनेवाला छैन।
नागरिकहरुले विरोध गरे पनि हाललाई सीमा समस्या सुल्झीने अवस्था देखिदैन। सत्यको खोजीमा खुशी हराउँन सक्ने डर नहुँदो हो त मान्छेहरु दु:खको व्यापारमा रमाउने थिए।
राष्ट्र कमजोर हुँदा नागरिक निरिह हुनुको विकल्प हुँदोरहेनछ। राष्ट्रवादी हुन नसकेको एक देशभक्त झैं भइयो। खासमा संयमित जीवन बिताउनु र हमेशा काममा जुटिरहनु हामी गरीबहरुको निम्ति विवेकसंगत सुख अनि राज्यका लागि "समृद्धि र शक्ति" को मार्ग हो।
हामी साँझ ७:०५ बजेतिर लाप्चाबाट तुलुङ्गतर्फ फर्कियौँ। कैलाश र मानसरोवरको ती दृश्य, त्यो अनुभूति मष्तिस्कमा नमेटिने गरी कैद भइसकेका छन्।
म यस्तै यात्रा गर्न रमाउने मान्छेलाई यस यात्राले थप उत्साहित बानाएको छ। हामी राति अबेर पुन: तुलुङ्ग पुग्यौं र चौरीको सुकुटीसहित खाजा/खाना खायाैं। अबेरसम्म गफिदै बस्याैं। अन्तसम्म म, पल र दुर्गेश बाँकी थियौँ। तालतालमा मिज्जु पललाई कर्णालीको पर्यटन दूत बनाउछु भनेर गफ हानेछु।
सुत्नको लागि केहीलाई त्यहीँ र केहीलाई अलि उताको अर्को ठाउँमा व्यवस्था गरिएको थियो। म अर्को ठाउँमा गएँ। त्यहाँ भरत भिना, विष्णु सर। डोर सर र पदम सरलाई सुत्ने प्रबन्ध मिलाइएको रहेछ। त्यो उचाइमा बसोवासको राम्रै व्यवस्था थियो।
१९ गते बिहानै उठेर सबैजना फरक–फरक दिशामा भागदौड गर्न थाले। शौचालय थिएन। खुल्ला प्रकृतिमा ढुङ्गा/बोटबिरुवाको आडमा "क्या लेकर आया बंदा क्या लेकर जाएगा" माटो ढुङ्गाले मलखाद छोप्ने काम भयो।
४२ सय मिटरको उच्च हिमाली भेगलाई चिरा पार्दै कलकल बगेको कर्णाली नजिकै थियाे। सोचे मानसरोवरमा डुबुल्की मार्न त सकिएन अब यही कर्णालीमा नुहाएर भएपनि चित्त बुझाउनु पर्याे। कतै न कतै मानसरोवरको पानि रसाएकै होला। मन थाम्नै नसकेन कर्णालीमा डुबुल्की मारेँ। आजका मितिसम्म गरेका सानातिना पापहरु समुन्द्रतिर तर्काएँ। मन हलुङ्गो भयो, चिसो अनुभव नै भएन।
म नुहाएर फर्केको २ घण्टापछि मात्र पल र दुर्गेश ब्युझिए। नुहाएको भिडियो देखेर अरुलाई चिसो लग्यो। स्थानियहरुले यता विमारी परे सीधै कैलाश हो नि सर भनेर मृत्युपल सम्झाए। मैले शरीर बिर्सेर मनको कुरा सुनेको रहेछु। जिन्दगीमा जब कुनै कुरा निश्चित हुँदैन, तब सबै सम्भव हुन्छ।
अब बिहानको खाजा खाएर हामी हल्जीतर्फ अगाडि बढ्ने भयौं। पलहरुको टोली भने गीतको छायाङ्कनका लागि हिजो गएकै ठाउँतिर जाने भयाे। हाम्रो टोली २ वटा जीपमा हल्जीतर्फ अगाडि बढ्यो।
केहिबेरको यात्रापछि हामी जाङ्ग गाउँमा पुग्यौ। त्यहाँको सामुदायिक भवनमा चिया चिसो लगायत खाजाको व्यवस्था गरिएको रहेछ। छेउको ठूलो माटोको चुल्होमा भोजपत्रको दाउरा दन्दनी बलिरहेको थियो। छततिर भोजपत्रकै सिलिङ्ग। ट्री लाइनको अन्तिम प्रजाती भएर पनि यसको प्रयोग विविधता त्यहाँ देख्न सकिन्छ।
चिया खाएर गाउँमा रहेको फिग्याल गुम्बा दर्शन गर्याैं र यात्रा हल्जीतर्फ अगाडि बढायौं। कर्णालीको तिरै तिर, अलिअलि ओरालो, पाक्ने उमेरका उवै उवा, फापर, आलुहरु र केही सागसब्जीको खेति।
बेलाबेलामा बाटोमा फलेका तिब्बती डाले चुकको स्वाद लिदै जाँदै गर्दा दिनको करिब १२ बजेतिर अचानकको घुम्तीमा जीप रोक्न लगाइन्छ, आँखा अगाडिको फाँटमा ठोकिन्छ…….।
(कर्णाली प्रदेश उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत तेजेन्द्र रावलकाे लिमी यात्रा संस्मरण बिएल नेपाली सेवामा शृङ्खलाबद्ध रुपमा प्रस्तुत भइरहेको छ।)